सोमबार, चैत २४, २०८१

तथास्तु  !

- बिनु भट्टराई / काठमाडौं २०८१ चैत २३ गते ८:४५

“प्रेम के दो मीठे बोल”

हिन्दीमा वचपनमै सुनेको उक्त शब्द साँच्चिकै मीठो हुन्छ तब लाग्यो जब लामो समयपछि उनको एउटा मेसेज आयो “भेटुँ न है निलु ।”

शब्दसँग एउटा झङ्कार हो या तरङ्ग ! शिरदेखि पाउ हुँदै प्रत्येक अङ्ग अङ्ग गुञ्जिँदै म वरिपरिको वातावरणसम्म फैलियो। हुनत यो अनुभूती नितान्त व्यक्तिगत हो। तर म स्तब्ध भएछु । मैले देखिन केही कतै । म कहाँ छु,के गरूँ चेतना थिएन ममा । यदि यही अवस्थालाई शून्य भनिन्छ भने मेरो शून्यता उनीभित्रको विराटतामा घुसिसकेर सतहमा पुगि ठोकिएपछि मात्र म ब्युँझिएँ  । त्यो तरङ्गबाट र पुन: यही भ्रमको दुनियाँमा फर्केर मेसेज रिप्लाइ दिन खोजें।

“हुन्छ नि “भेटुँ भोलि या पर्सि ।

मैले यही भन्न खोजिराथेँ हजुरले नै बोलाउनु भयो”

कयौँ पटक टाइप गरेर मेटाएँ । पठाउन सकिन। अधिक प्रेमले मौन बनाउँदो रहेछ। प्रेमकै भाषा संप्रेषण गर्छ प्रेमले। प्रेमको आफ्नै दुनियाँ हुँदो रहेछ। न्यानो लाग्ने तापाग्नी सहितको वेब आउँदो रहेछ वारपार भएर। नत्र किन एउटै समय उस्तै इच्छाहरू ठोकिन्छन् एक अर्कामा र आउँछन् वेब र मेसेज एकै चोटि ?

पावर, एनर्जी वा दैवीक शक्ति खै कुन्नि के को प्रवेश थियो हाम्रो सम्बन्धमा ! यसलाई जे भनेर बुझ्न सहज हुन्छ, त्यही उपमा प्रयोग गर्दा हुँदोरहेछ । तर म जागृत भइरहेँ।

प्रेम अनुभूत गरेर पुलकित भएँ। बगेँ उनीसँगै, खिचिएँ चुम्बकसरि।

तरङ्गबाट ब्युँझेपछि कल्पना गर्नलाई समय सिङ्गो रात थियो मसँग । मेसेज सन्ध्यामा आएको थियो। उनको विराटतामा विलीन भएर निराकार हुनु थियो मलाई । साँच्चिकै शरीर पञ्चतत्व नभएर सिर्फ एक तत्त्व (तरल) हो। झैँ लागिरह्यो र बगिरह्यो ।

सुक्ष्म आकृति लिएर उभिएका  उनी मूक छन। आभा मात्रै थियो मसँग उनको। कसरी जानेका होलान् यसरी प्रेम गर्न ! म विचाराधीन भएँ ।

सोचको दायरा जति बढ्यो उति नै प्रश्नहरू उब्जिए। सिङ्गो ब्रह्माण्ड घुमिरह्यो मन मस्तिष्कमा। भौतिक शरीरको सङ्गमलाई प्रेमको नाममा किन्न खोज्नेहरू, आऊ एक पटक हेर उनको विराटताभित्र खोजेर नभेटिने योनि र लिङ्गजस्ता कुनै अङ्गहरू छैनन् । न त छन् अहमको प्यास तृप्त पार्न मेशिन या कुनै इन्द्रियहरू।

यो कस्तो खालको प्रेम हो।

शुक्ष्म तत्त्वको मिलनबाट जीवनलाई ऊर्जा भर्ने उनी हृदय फुटाएर प्रेमको महासागर बगाइ रहन्छन। म उनको आवाजमा ध्यानस्थ हुन्छु । शब्दमा मग्न भईजान्छु  । शैलीमा कहाँ कहाँ पुग्छु । आनन्दको सरोवरमा  पौडिँदै, उत्रिंदै घरी किनार, घरी मझधारमा रमाईरहन्छु । मेरो स्वतस्फूर्त छलाङ थियो प्रेमिल सागरमा। न कुनै बन्धन न कुनै तृष्णा, अपेक्षा रहित।

हुनत यसो भनिरहँदा दर्शनवादिहरूले  गीज्याउँछन मलाई बेस्सरी । ‘ओभर हाईपोथेसिस (परिकल्पनाभन्दा माथि)’  भन्ने ट्याग लाग्छपनि ।

के फरक पर्छ र नदेखेको उसपार भन्दा देखेको यही पार ठीक छ नि हैन र ? उसपार पुगिएछ भने फेरी सोचौंला।

करिब दुइ घण्टाको अठखेलीपछि निर्धक्क भई मेसेज लेखेर पठाएँ “आउँछु जरुर”।

कुरै कुरामा उनले भनेका थिए –

“निलम  तिमी चाहिने भन्दा अधिक सोच्न छोडिदेऊ।”

हो, सोच्न छोडेर भेट्न आउँदै छु। थाहा छैन भेटे के हुन्छ ! केही हुँदैन । हामी केही पल बाँच्नेछौँ । हेर्ने छौँ आ-आफ्नो अनुहार एकअर्कामा । डुब्ने छौँ सबथोक भुलेर एकअर्काको आँखामा। मैले छानो महशुस गर्न पाउँछु उनको छातीमा । ऊर्जा भेटाउँछु उनैका दिव्य बाणीमा। ऊनि पनि बिश्राम हेतू  शिर टेकाउनेछन  कन्धामा । किनकि हामी दुबैलाई थाहा छ सिङ्गो जीवनको भार थेग्ने शिरले, जति मजबुत भएपनि आफ्नै कन्धामा शिर टेकाएर विश्राम लिन मिल्दैन र त खोजी रहेछौँ आफैंमा आफैंले विश्राम लिन।

एक अर्कामा निहित भएर रमाएको त्यो केही पलले हामी कति लामो जीवन बाँच्नेछौँ। र उनले गर्लान फेरि उस्तै प्रेमिल गुनासो ।

“दुरी नबढाऊ त निलु, छिट्टै भेट्ने गर्नुपर्छ।”

म चुपचाप सुनिदिनेछु उनका गुनासाहरुलाई।

मैले मनमनै भनुँला उसै गरी-

“हजुरको  समीपताले हजूर बाचेका भौतिकताका कठिनाइहरू प्रष्ट्याइदेला। म कायर छु। म थाम्नै सक्दिनँ आफूलाई, म सिर्फ आत्मिक खुसी देख्न खोज्छु त्यों अनुहारमा ।

कसरी भेटुँ र म, मलाई मैले नै रोजेको मार्गको बिसौनीमा भेट भए पुग्छ। किनकी  तपाई  कोमल हुनुहुन्छ  म जस्तै, म दुख्छु तपाईजस्तै।

फेरि तपाई दोहोर्याउनु हुन्छ उही वाक्यांश-

“धेरै नसोच न ल।”

म सोच्न छोडिदिन्छु। हामी दुबैका आँखा रसाउँनेछन किनकी हृदय निचोरिएपछि बग्ने मार्ग नयन नै हुन् । दुई बुँद आँशुमा प्रेमिल महासागर समाहित भएको प्रष्ट हुनेछ। र पनि प्रेमको दुई मीठो शब्दमा समायोजन भित्रको त्यो महासागरको महिमा गाउन कहाँ सकिन्छ ? तर महासागर भन्दा पहिला म मान्छे हुँ। सायद मान्छे हुनुको चरम आनन्दमा म यसरी नै रमाइरहेछु त्यसैले यी अपुग शब्द केरिरहेछु।

यहि नै त हो म बाँचेको जिवन्त पल । यिनै पलहरुमा मिश्रित छन् जीवनका गहिरा अनुभुतिहरु !   यतैकतै भेट्छु आफू आफै हुनुको प्रयोजन,सार,तत्व,प्राप्ती,अर्थ,काम,मोक्ष  सबै सबै। र यहि मोक्षसम्म पुग्न ह्युमन नेचर (मानव स्वभाव) भित्र आउने विभिन्न अड्चनहरुमा,  यदि कोहि हृदयत प्रवेश भइ मानव विरानमा स-शब्द आघात गर्छ र  प्रेमको सुमधुर झंकार भर्न सक्छ भने जिवनको यो भन्दा ठूलो उपलब्धि अरु के हुन सक्ला र ! महशुस गर्नु पर्दछ।

प्रेमका यिनै मिठा दुइटा शब्दले गर्दा नै जीवन, जिवनलाई सुहाउँदो रङ्गमा रंगिँदो रहेछ!

कल्प-सागर भित्र किन कोहि यत्ति बिधि डूब्छ हँ ?  हुनसक्छ काव्य अन्तर्गतको यो कला जीवन प्रवेशको लागि या अनुभूती, आनन्द, सेवा वा आत्मरति अन्तर्गत हो। रहस्यमय नै छ सबथोक । कल्पनाको महासागर नै सही यथार्थ भन्दा परको कुरालाइ जसरी सकिन्छ आजमाउनु सम्म त हो। बाँच्नु सम्म त हो।

हाँसीखुशीका साथ उमंग बोकर बाँचौ न !

कल्पनाको दुनिँयामा पावन्दी छैन त।

जी भर के जियों, तथास्तु………..!!!

तपाइँको प्रतिक्रिया