बेलायतमा बुद्ध जयन्ती: करुणा, समर्पण र पहिचानको पूनर्स्थापना
गत १२ मे का दिन बेलायतको रेडीङ स्थित पाकिस्तानी कम्युनिटी हलमा २५६९ औ बुद्द जयन्ती मनाईयो । थाउजेण्ड बुद्द युके, शाक्यलिङ बुद्द युके, तामाङ घेदुङ रेडीङ, पासापुष गुठि रेडीङ र शेर्पा एसोसिएसन युके (साउथ सेन्ट्रल) द्वारा संयुक्तरुपमा आयोजित थियो । यस वर्षको बुद्ध जयन्ती कार्यक्रम एक धार्मिक उत्सव मात्र थिएन बरु आध्यात्मिक, सांस्कृतिक र सामाजिक पहिचान गर्ने पुनर्स्थापनाको थलो बन्यो। त्यसैले होला, मानिसहरु ओइरिएका थिए ।
कार्यक्रममा विशेष अतिथि नेपालबाट आमन्त्रित गरिएको थियो । महागुरु टुल्कु (अवतारी लामागुरु) लोप्सङ नामग्याल रिन्पोछेले बुद्ध धर्मको मर्मस्पर्शी प्रवचन दिनुभयो । उहाँको प्रवचन सुनेर निम्तालुहरु मन्त्रमुग्धनै बने । सहभागीहरूलाई उहाँले वाङ (अनुज्ञा आशीर्वाद) प्रदान गर्नुभयो। उहाँको उपस्थितिले कार्यक्रममा आध्यात्मिक गहिराइ थप्यो। रिडिङका मेयर ग्लेन डेनिसनै उपस्थित हुनुभयो । उहाँ उपस्थिति उल्लेखनीय मात्र होइन, नेपाली समुदायप्रतिको सम्मान हो । माया, बुद्धप्रतिको स्नेह र बुद्ध धर्मावलम्भिप्रतिको आस्था र सम्मानको प्रतीक पनि बन्यो।
कार्यक्रमपछि रेडिङका मेयर ग्लेन डेनिस (Glen Dennis) सित भेट भयो । उहाँसितको छोटो संवादमा मैले नेपाली समुदायबारे केहिबेर चिन्तनमनन गरें। उहाँले सुरुमै भन्नुभयो: “When we hear ‘Nepal’, we immediately think of Gurkhas – strong, brave, and disciplined (जब हामी ‘नेपाल’ सुन्छौं, हामीलाई तुरुन्तै गोर्खालीहरूको सम्झना आउँछ, बलिया, बहादुर र अनुशासित गोर्खा) ।”
मैले सम्मानपूर्वक उहाँलाई भनें “गोरखा हाम्रा शान हुन् । तर हामी नेपालभित्रका विविध जात, जनजाति, भाषा र संस्कृति मिलेर बनेको विशाल रङ्गशाला हौं। रेडीङमा मात्र होइन बेलायतको हरेक शहरमा हामी तामाङ, गुरुङ, मगर, नेवार, राई, लिम्बु, मधेसी, थारू, मुस्लिम आदि जातजातिहरू एकै समुदाय भएर शान्तिपूर्वक बसिरहेका छौं।”
उहाँले मुस्कुराउँदै भन्नुभयो “That’s beautiful. I’d love to learn more about Nepal’s diversity (त्यो सुन्दर पक्ष हो । मलाई नेपालको विविधताको बारेमा अझ बढी जान्न मन छ।).” ग्लेनलाई मैले भनें ’जुनसुकै जाति, जनजाति, धर्म र पृष्ठभूमिका नेपाली भएपनि बुद्धको सन्देश जातमा होइन, चेतनामा आधारित हुन्छ ।’ ग्लेन निकै रुचिका साथ मसँग गफिनु भयो ।
कार्यक्रममा विशेषत बेलायतमा रहेका चार समुदायको उपस्थिति थियो । तामाङ, गुरुङ, नेवार र शेर्पा । रेडीङमा सम्पन्न बुद्ध जयन्ती कार्यक्रम साँच्चै प्रेरणादायी बन्यो । तर मनभित्र भने एउटा मौन प्रश्न घोत्लिरह्यो — हामी यस्ता साझा चाडहरू सबै संस्था, समूह र सम्प्रदाय एकै ठाउँमा भेला भएर एकैसाथ मनाउन किन सक्दैनौं ?
नेपालको बौद्ध परम्परामा आधारित धेरै संघसंस्था बेलायतमा क्रियाशील छन्। तर प्रायः सबैले आआफ्नै पाराले कार्यक्रम गर्छन् । आआफ्नै गुट र संरचनामा सीमित हुन्छन् ति। अहंकार, वरिष्ठताको दाबी, जातीय पक्षपात, नेतृत्वको लोभ र कहिलेकाहीं राजनीति पनि कारण बन्ने गर्छ। तीनले सम्झिनुपर्ने बुद्धले भनेको बचन “अत्तहि अत्तनो नाथो” । अर्थात ‘आफू नै आफ्नो सहारा हो।’ तर आज हामी साँस्कृतिक, आध्यात्मिक र सामुदायिक अस्तित्व जोगाउन एक अर्काको सहारा बन्न सकेका छैनौं। आजको पुस्ता सँगै बस्न नसके भोलिको पुस्ताले बुद्ध धर्मलाई किताबमा मात्रै पढ्ने छन्, चाडमा होइन। उनीहरूले ‘हामी नेपाली हौं, बौद्ध धर्म हाम्रो जरो हो’ भन्न लाज मान्न सक्छन्। त्यसैले अब समय आएको छ — एकै मञ्चमा बसेर, सबै संस्थाहरू मिलेर, अहंकार छाडेर साझा रूपमा बुद्ध जयन्ती जस्ता चाडहरू मनाउने। त्यो मात्र एउटा कार्यक्रम बन्ने होइन बरु हाम्रो आत्मचिन्तन, संस्कारको अभ्यास र भावी पुस्तालाई दिने एउटा शिक्षा हुनेछ। रेडीङको कार्यक्रम एक प्रेरणादायी उदाहरण हो । तर यस्ता कार्यहरूलाई निरन्तरता दिन साझा प्रयास, खुलेको मन र सामुहिक एकता जरुरी छ।
बुद्धलाई टाढा, अन्यत्र खोज्दै जानु पर्दैन । बुद्ध हाम्रै मनभित्र छन् । तिनलाई बोलाउनु अब हामी सबैको धर्म हो।
थाउजेंड बुद्द युकेका अध्यक्ष समुन्द्र गुरुङसँग यसै कार्यक्रममा पहिलो पटक भेट भयो । भेट पहिलो भएपनि सामिप्यता उत्तिखेरै बढ्यो । पहिलो त वहाँ पनि पोखरेली हुनुहुँदो रहेछ । दोस्रो, सोच पनि हामी दुबैको समान पायौं । यस्तै सोच राख्ने अर्का अभियन्ता दावा स्याङबो भने अत्यन्त व्यस्त देखें ।
म, मेरी पत्नी शान्तीय र मेरी बहिनी बिनिता हल भित्र छिर्ने बित्तिकै घेदुङ रेडीङका अध्यक्ष उदय कुमार घिसीङ सित भेट भयो । अर्का अग्रज प्रबल सोनाम घिसिङ सहितले बडो सत्कारका साथ नास्ता गराउनुभयो । त्यहाँअँ असाध्यै जैविक शाकाहारी नास्ता गरियो । निशुल्क शुद्द शाकाहारी खानाको ब्यवस्था गर्नुभएको रहेछ । आयोजक समुन्द्र दाइले भन्नुभयो “बिशाल भाई यी सबै खाना यिनै आमा दिदीबहिनीहरुले घरबाटै बनाएर ल्याउनुभएको हो ।” शान्तीय छक्कै परिन । उनी शाकाहारी खाना रुचाउँछिन । त्यसैमा उनको दिलचस्वी छ ।
कार्यक्रम तामाङ घेदुङ रेडीङका महासचिव धन तामाङले संचालन गर्नुभएको थियो। बौद्ध धर्मलाई प्रवासमा जगेर्ना गर्न थुप्रै संस्था प्रयासरत छन् । विभिन्न तामाङ समाज अन्तर्गतका ध्यान केन्द्रहरू छन । बुद्दिस्ट, कम्युनिटी सेन्टर युके लगायत अन्य थुप्रै ध्यान र शिक्षा केन्द्रहरू ध्यान, प्रवचन, सामाजिक सेवा र पुस्तान्तरणको कार्यमा लागिपरेका छन्। यी सबै संस्था एकै मञ्चमा आएर संयुक्त बुद्ध जयन्ती मनाउने वातावरण बनेमा कस्तो हुन्थ्यो होला ? हाम्रो संस्कृति, समुदाय र चेतनाको महान विजय हुने थिएन होला ?
(लेखक ल्ह म्हेंदो तामाङ समाज युकेका बर्तमान महासचिव र संयुक्त ल्होसार समारोह समितिका सदस्य हुन । केहि समयदेखी उनी बेलायतका सबै संस्थालाई एक ठाउँमा ल्याउने अभियानमा सक्रिय छन्)