बुधबार, जेठ १५, २०८२

मसानहरूसँग खेलिने जुवा जस्तो एनआरएनएको आइसिसी पद

मदन दवाडी / बेल्जियम२०८२ जेठ १४ गते २०:५०

हामी साना छँदा जब बाहिर खेलिरहेका हुन्थ्यौं, घाम डुब्न लागेर पहेँलो भएको हुन्थ्यो। घरबाट बोलावट हुन्थ्यो, “पहेँलो घाम लाग्न थाल्यो । भुतले खाजा खाने बेला भयो । बाहिर नजाउ । घरमा आउ ।”

डर लाग्थ्यो र घर फर्कन्थ्यौं। भुत साँच्चिकै हुन्छ कि हुँदैन भनेर हजुरआमालाई सोध्दा, “भुत हुन्छ, मसान हुन्छ” भन्नुहुन्थ्यो। अनि नडराउन भनेर होला सायद, “मसानलाई त मैले काममा लगाउँछु । बेसिमा दाइँ हाल्ने । धान झार्ने काम मसानले गरिदिन्छ” भन्नुहुन्थ्यो। ठूलाबुबाहरुले पनि “एकादशी बजारमा हामी मसानहरूसँग जुवा खेल्छौं” भन्नुहुन्थ्यो।

खैर, अब भुत हुन्छ कि हुँदैन ? यिनीहरूले खाजा खान्छन् कि खाँदैनन् ? साँझ घाम डुब्ने बेलामै खान्छन् ? भन्ने कुरा अलग हो। तर दिन समाप्त हुनलाग्दा, भुतले खाजा खाने भनाइ रहनु, कुनै पनि वस्तु समाप्त हुन लाग्दा प्राप्त भएको कुरा हो भने त्यसलाई ‘भुतले खाजा खाने बेलाको’ भन्ने परिप्रेक्ष्य निकै महत्वपूर्ण छ।

मेरो लागि यो गैर-आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (ICC) को सदस्य पद त्यस्तै भयो। यो पद पहेँलो घाम हुँदा लिएको जस्तो भयो।

हुन त घाम पहेँलो त उदाउँदा पनि हुन्छ । र अस्ताउँदा पनि उस्तै देखिन्छ। मैले सोचेँ, यो पहेँलो घाम उदाउँदै छ। किनभने ओदाने अध्यक्षीय (ओदानका तीन खुट्टा हुन्छन्) प्रणालीबाट अधिवेशन पश्चात् अब एकमात्र अध्यक्ष छानिएर सबै कुरा नयाँ दिशाबाट सुरु हुँदै थियो। तीन अध्यक्ष हुँदा संघले चरम घृणा बेहोर्नु परेको थियो। सबैले यसप्रति सचेत भएर निःस्वार्थ, निष्पक्ष ढंगले अधिवेशन गरेर पुनः नयाँ सुरुआत गर्ने आशा गरेका थियौं। तर त्यो आशा पुनः निराशामा परिणत भयो। त्यो पहेँलो घाम वास्तवमा अस्ताउँदै गरेको रहेछ । र भुतले खाजा खाने बेलाको रहेछ भन्ने प्रमाणित तबा भयो जब मतपरिणाममा प्राविधिक समस्या देखियो। समस्याको उचित समाधान गर्नुभन्दा पनि जितेको भनिएका पक्षले सपथग्रहण गर्न हतार गरे । हारेको भनिएका पक्षले अर्को अधिवेशन गरे।

हुन त यो आइसिसी पद यत्तिकै पनि ‘दोसाँझको’ जस्तो पद हो । वा भनौं, ‘भुतले खाजा खाने’ बेलाकै पद हो भन्ने भनाइ पुराना आइसिसी सदस्यहरूबाट सुन्न पाइन्थ्यो। “यो केही न कामको, झुन्डिएको पद हो। यो पद लिएर खासै काम गर्न पाइँदैन” यस्तो भनाइ चल्तीमा थियो।

तर म स्वभावैले जहाँ आबद्ध हुन्छु त्यहाँ सक्रिय भएर लाग्ने मान्छे हुँ। आइसिसी सदस्य बन्नु वा नबन्नु भन्ने निर्णय गर्नुअघि मैले यसको भूमिका, विधान, पदको स्थिति र आवश्यकता बुझेँ। अनि अकबर-बीरबलको एउटा कथाको याद आयो।

अकबरको दरबारमा एक कर्मचारी थिए । उनी जहाँ पनि जिम्मेवारीपूर्वक काम गर्थे । डाह गर्नेहरूले उसलाई घोडाको लादी सोहोर्ने काम लगाए। सोचेका थिए—‘अब यसले के राम्रो काम गर्छ र ?’ तर त्यो कर्मचारीले लादी हेरर घोडालाई दाना नदिइएको, घाँस मात्रै दिइएको पत्ता लगाएर राजालाई खबर गरे। राजा प्रसन्न भएर फेरि पुरस्कृत गरे।

यसले के देखाउँछ भने, काम गर्ने इमानदार मान्छेले जुनसुकै स्तरको जिम्मेवारी लिएर पनि उत्कृष्टता देखाउन सक्छ। मैले पनि यही सोच राखेको हुँ। आइसिसी पद यत्तिकै भए पनि यसको सहि प्रयोग गरिनुपर्ने हो।

सैद्धान्तिक रूपमा आइसिसी सदस्य एनसिसी र आइसिसीबीचको पूल हो। एनसिसीको बैठकमा सहभागिता, सुझाव, अनुगमन, आइसिसी बैठकमा निर्णय प्रक्रियामा सहभाहिता, एनसिसीको कार्यसम्पादनको रिपोर्ट तयार पारेर क्षेत्रीय समितिमा बुझाउने—यी सबै जिम्मेवारी विधानमा स्पष्ट छन्। तर व्यवहारमा यी कुरा निस्प्रभावी छन्।

प्रत्येक देशमा कम्तीमा एक जना आइसिसी सदस्य हुन्छ। बेल्जियममा तीन जना छौं । अष्ट्रेलियामा आठ जना। तर आइसिसी समितिसँग कुनै औपचारिक काम छैन। बैठकका जानकारी वा सूचना आइसिसी सदस्यलाई कहिल्यै दिइँदैन। सूचना सिधै एनसिसी अध्यक्ष र महासचिवलाई पठाइन्छ। यदि सबै सूचना सिधै एनसिसीलाई दिनु हो भने आइसिसी सदस्यको औचित्य के ?

संगठनात्मक अनुशासन, सूचनाको शृङ्खला भंग हुँदै जाँदा, सूचना सम्प्रेषण अपूरो, भ्रमपूर्ण र प्रभावहीन हुन्छ। सूचनाको आत्मा, सन्दर्भ र भाव सब टुट्छ। आइसिसीको सदस्यलाई त्यसैले पेन्डुलम भनिएको रहेछ—न कामको, न अधिकारको।

त्यस्तै, आइसिसी सदस्यको निर्वाचन जुलाईमा हुन्छ । तर सपथ अक्टोबरमा मात्रै। त्यो पनि आइसिसी निर्वाचनपछि। चार महिना बिना सपथ, बिना अधिकार, मात्र नामको पद । यो संरचनात्मक त्रुटि होइन र ?

आइसिसी सदस्यहरूको रिपोर्टिङ दायित्व पनि कागजमा मात्र सीमित छ। न त कसैले तयार पार्छ न कसैले माग गर्छ। क्षेत्रीय समितिको हालत पनि त्यस्तै अवस्थामा छ।

गैर-आवासीय नेपालीका लागि बनाइएको यो संस्थाले सदस्यता शुल्क त उठाउँछ, तर सदस्यहरूले पाउने सुविधा के हो ? नेपालमा लगानी, विपद राहत र अन्य कार्यक्रम हुन्छन्। तर प्रवासका नेपालीका लागि के ? “एक देश एक परियोजना” भनिएको छ—नेपालका लागि। तर प्रवासी नेपालीको हितका लागि त परियोजना देखिएको छैन।

त्यसैले मेरो अभिप्राय थियो—आइसिसीको बजेटबाट कम्तीमा एक कार्यक्रम बेल्जियमका नेपालीहरूका लागि गरौँ। तर आइसिसी भित्रको विवाद, संवादको अभाव र संरचनात्मक कमजोरीले गर्दा त्यो पनि सम्भव भएन।

त्यसैले यो पद, जुन मैले उदाउँदै गरेको घाम सम्झिएर लिएँ, वास्तवमा अस्ताउँदै गरेको पहेँलो घाम रहेछ । भुतले खाजा खाने बेलाको ।

(नेपाली व्यवशायी संघ, बेनेलक्स (बेल्जियम, नेदरल्याण्ड,लक्जमबर्ग)मा आवद्द दवाडी एनआरएनएका आइसिसी सदस्य हुन्)

[email protected]

तपाइँको प्रतिक्रिया

फेसबुक