शुक्रबार, जेठ २४, २०८२

बेलायतमा तामाङ समुदायका चुनौती : पहिचानदेखि पुस्तान्तरणसम्म

बिशाल स्याङबो तामाङ / बेलायत २०८२ जेठ २३ गते २१:०२

बेलायत एक बहुसांस्कृतिक मुलुक । यहाँँ बाँच्न पाइने अवसर आफैंमा गौरवको विषय मान्नेहरु धेरै छन । तामाङहरूले पनि यही माटोमा शिक्षा, रोजगारी, व्यापार, र समाजसेवा लगायत विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरिरहेका छन्। तर, यस अवसरको छायाँमा कतिपय चुनौतीहरू छन्, जसले हाम्रो जातीय अस्तित्व, भाषा, संस्कार र समुदायको एकतालाई मौन रूपमा दबाइरहेको छ।

आज हामी बेलायतमा रहेका तामाङहरूको सामु उभिएका पाँच प्रमुख चुनौतीबारे खुलेर कुरा गरौं।

पहिचानको प्रश्न

बेलायतको जनगणनादेखि संस्थागत फर्मसम्म हामी  “नेपाली ” भनेर चिनिन्छौं । तर “तामाङ” भनेर हाम्रो छुट्टै जातीय पहिचान कतै सूचिकृत छैन। हामी आफैंलाई चिनाउन नसक्दा हाम्रो भाषा, संस्कार, र परम्परा अन्योलमा पर्ने जोखिम छ। बेलायतमा आदिबासी जनजाती महासंघ छ भन्ने सुनिन्छ । तर सबै सुचिकृत आदिबासी जनजातीहरुको प्रतिनिधित्व गरि ठोस मुद्दा र कार्यगत एकतामा कमि छ । महासंघ होला । तर नाम मात्रको । त्यसको कुनै दिर्घकालिन अभियान र कार्यदिशा देखिँदैन । सकृयतापनि देखिन्न ।

जातीय पहिचान केवल साँस्कृतिक प्रश्न होइन । यो नीति, अवसर र भविष्यको मुद्दा पनि त हो। त्यसैले हामीले अब संस्थागत तहमा “तामाङ” पहिचानलाई स्थापित गर्नसक्ने प्रमाण, दस्तावेज र आवाज तयार पार्नै पर्छ।

पुस्तान्तरणको संकट

दोस्रो पुस्ता — अर्थात् बेलायतमै जन्मेका वा हुर्किरहेका हाम्रा बालबालिकाहरू तामाङ भाषा बोल्दैनन् । तामाङ लिपि पढ्दैनन् । धेरैले त “ ल्होछार” किन मनाइन्छ भन्ने पनि नबुझेका होलान।

यी बालबालिकालाई दोष दिन मिल्दैन । हामीले उनिहरूलाई दिने साँस्कृतिक आधार नै कमजोर भएको हो। अब समय आएको छ भाषा कक्षा, युट्युब सामग्री, तामाङ कथाहरू सुनाउनु र सिकाउनुपर्छ । आफ्नो समुदायको गीत–संगीत, समावेशी सांस्कृतिक कार्यक्रममार्फत नयाँ पुस्तालाई आफैंप्रति गर्व गराउने वातावरण हरेक समाजले मिलाउनै पर्छ ।

स्मरणरहोस, तामाङ घेदुङ रेडीङले गत आइतवार देखि नै भाषाविद तथा तामाङ अभियन्ता अजितमान तामाङलाइ नेपालबाट अनलाइन आमन्त्रण गरि कक्षा संचालनको जमर्को गरेको छ ।

अस्थिर एकता प्रयास:

बेलायतमा थुप्रै संस्था थिए तामाङ समुदायको । ति संघसंस्थाहरू छुट्टाछुट्टै तरिकाले सक्रिय थिए। सबैको उद्देश्य एउटै त थियो । तर अलग अलग कार्यक्रम गर्दा बाटाहरू फरक–फरक भएजस्तो देखिन्थ्यो । बास्तविकता त त्यो होइन। व्यक्तिगत इगो, टोलिवाद र नेतृत्वमा असमझदारीले एकताको सम्भावना पटक–पटक टुटिरहेको देखियो।

यद्यपि, अहिले पाँच संस्थाहरू एक भएर “तामाङ घेदुङ युके” को नाममा अगाडि बढिरहेका छन । यो सकारात्मक संकेत हो। तामाङ समुदायको लागि मात्रै होईन । अन्य नेपाली समुदाय, संघसंस्थाका लागि पनि यो प्रेरक प्रसंग हो । तर, एकता कायम राख्न नेतृत्वले पारदर्शिता, समावेशिता र साझा सोचलाई आत्मसात गर्नु भने अत्यन्त जरुरी छ।

हरिसिंह वाइबा जस्ता हक्की तामाङ अभियन्ता बेलायतबासी तामाङहरुले संयोजकको रुपमा पाउनु पनि एउटा सौभाग्य नै हो । वहाँकै नेतृत्वमा दुइ वटा संयुक्त ल्होछार पर्व भब्य रुपमा सम्पन्न भैसकेका छन । भाबी एकीकृत तामाङ घेदुङ युकेको अध्यक्षको रुपमा पनि वहाँलाई नै अगाडी बढाउने पाँच संस्थाका अभियन्ताले सहमती जनाईसकेको अवस्था छ । यो अर्को सकारात्मक पाटो हो, एकताको । समझादारीको ।

यस एकताको अभियानका बिचारकहरु दावा स्याङबो, आइतसिङ मम्बा, पूर्ण पाख्रिन, कुमार स्याङतान, कविराज घिसीङ, हर्क तामाङ, होम बहादुर लोप्चन र उदय कुमार घिसिङहरुको नाम छुट्यो भने त अन्याय नै हुन्छ ।

राजनीतिक तथा सार्वजनिक पहुँचको सीमितता

भारतीय, पाकिस्तानी, बंगलादेशी आदि अन्य आप्रवासी समुदाय बेलायतको स्थानीय राजनीति, काउन्सिल, स्कुल बोर्ड, प्रशासनिक तहमा प्रभावशाली छन्। तर हामी तामाङहरू अझै पनि मौन अल्पसंख्यक (Silent Minority) को रूपमा बसिरहेका छौं।

हामीले पनि अब आफ्ना युवाहरूलाई नेतृत्वको तालिम, सहजिकरण, जागरण, सामुदायीक सहभागिता, समावेशिकरण तर्फ लगाएर बेलायती राजनीतिक संरचनामा सहभागी बनाउने बाटो खोल्नुपर्छ।

 समाजप्रति युवाहरूमा कम चासो

धेरै तामाङ युवाहरू आज आफ्नो व्यस्तता, व्यक्तिगत उपलब्धि र डिजिटल संसारमा डुबिरहेका छन्। समाजका कार्यक्रम उनीहरूका लागि बेकारको, निरर्थक, झ्याउ लाग्दो, पट्यारिलो, कुनै चाख र रसरङबिनाको लाग्न थालेको छ।

तर समाजलाई नयाँ पुस्ताले नहेरे, वेवास्ता गर्दै गए के हुन्छ ? आफ्नो पहिचान त गुम्छ गुम्छ । त्यो समाज लोप हुन्छ। हामीले युवालाई सहभागिता गराउने शैली बदल्नुपर्ने छ अब । परामर्श, रचनात्मक प्लेटफर्म, युवा-नेतृत्व कार्यक्रमहरू जस्ता माध्यमबाट उनीहरूलाई अगाडि ल्याउने वातावरण बनाउनु पर्दछ । बाल तथा युवा उन्मुख कार्यक्रमहरु सिर्जना गर्नैपर्छ ।

युवायुवती, किशोरकिशोरीहरुसित प्रत्यक्ष संवाद गरेर तीनका चासो र चाख समेटिने गरि, तीनलाई रस पस्ने गरी कसरी कार्यक्रम गर्न सकिन्छ भन्ने थालनी गर्न ढिलो भैसकेको छ । पाका पुस्ताले आफ्नो अनुकूल लाद्न खोज्दा तीनको रहर, चासो र उमांगलाई समात्न सकिएन कि ? यो नसोची भएकै छैन ।

निष्कर्ष :

बेलायतमा तामाङहरूको उपस्थितिलाई अब हामी मौन रूपमा लिने होईन । संगठित हुनैपर्छ । गर्वका साथ उठ्नुपर्छ । र स्पष्ट पहिचानसहित प्रस्तुत गर्नसक्ने चरणमा जुन पाईला टेकेका छौं, जुन सामुहिक प्रायत्न भैरहेको छ त्यसलाई अझै झ्यांगिन, लहलह झुलाउन दिएर शिखरमा पुग्नै पर्छ । लटरम्मै फलाउनुपर्छ । हामी फलाउने र झुलाउने छौं ति बाला । पुग्ने छौं शिखरमा । पुगेरै छोड्ने छौं ।

त्यसो भन्दैमा चुनौतीहरू छैनन त ? फ्याट्टै सजिलै पुगिन्छ र ? त्यो पनि होईन कि ? तर तिनलाई निम्ट्याउनु, पन्छाउनुको बिकल्प छैन । भाषा, पहिचान, एकता र सबल तथा सहनशिल, धैर्यपूर्ण नेतृत्व — यी चार आधारशिला मजबुत भएमा बेलायतको समाजमा तामाङहरूले दीर्घकालीन योगदान दिनसक्ने छन्। अब हाम्रो आवाज फेरि मौन होइन — हाम्रो अस्तित्व, संस्कृति र भविष्यको पक्षमा लागिरहनुपर्छ ।

(लेखक ल्ह म्हेंदो तामाङ समाज युकेका बर्तमान महासचिव र संयुक्त ल्होसार समारोह समितिका सदस्य हुन । केहि समयदेखी उनी बेलायतका सबै संस्थालाई एक ठाउँमा ल्याउने अभियानमा सक्रिय छन्)

तपाइँको प्रतिक्रिया

फेसबुक