बुधबार, भदौ ४, २०८२

डढेलो नियन्त्रणमा ल्याउन स्पेनमा थप सेना तैनाथ

नेपालप्लस संवाददाता / फ्रान्स२०८२ भदौ ३ गते १७:१३

केहि सातादेखि फैलिएको डढेलो नियन्त्रमा ल्याउन नसकेपछी स्पेनमा थप सेना तैनाथ गरिएको छ । स्पेनी अग्निनियन्त्रकहरूले अझै पनि उत्तरपश्चिम ग्यालिसिया क्षेत्रमा १२ वटा प्रमुख र सक्रिय डढेलो निभाउन भरमग्दुर प्रयास गरिरहेका छन् ।

दक्षिणी युरोपको धेरैजसो भाग अचाक्ली तातो तापक्रमबाट पीडित छ। स्पेनी प्रधानमन्त्री पेड्रो सान्चेजले अघिल्ला रेकर्ड तोड्नेगरी युरोपमा गर्मीको लहर बढेको बताएका छन । त्यस बीच सुक्खा जंगलमा फैलिएको डढेलोसँग लड्न थप ५०० सैनिकहरू तैनाथ गरिने उनको भनाई छ ।

विशेष गरी उत्तर-पश्चिमी ग्यालिसिया क्षेत्रमा जंगलमा लागेको डढेलो नियन्त्रण गर्न अधिकारीहरूले संघर्ष गरिरहेका छन । अन्य युरोपेली देशहरूबाट समेत अग्नी नियन्त्रक र अग्नी नियन्त्रक विमान आगमनको प्रतीक्षा गरिरहेका छन । डढेलो नियन्त्रण नभएपछी स्पेनले १,४०० भन्दा बढी सेना थप्ने निर्णय गरेको छ ।

ग्यालिसियन क्षेत्रीय सरकारका प्रमुख अल्फोन्सो रुएडाका अनुसार अग्नि नियन्त्रकहरू हाल १२ वटा ठूला डढेलोसँग जुधिरहेका छन् र ती सबै ओरेन्से शहर नजिकै छन् ।

“घरहरू अझै पनि खतरामा छन् । त्यसैले हामीले ति घरमा तालाबन्दी गरेका छौं र खाली ठाउँहरूमा आवाश क्षेत्र बनाएर स्थानीयलाई राखेका छौं,” रुएडाले भनेका छन “ग्यालिसिया एक हप्ताभन्दा बढी समयदेखि फैलिएको आगोसँग लडिरहेको छ।”

स्पेनको राष्ट्रिय मौसम एजेन्सी, एएफएमईटी (AFMIT) का अनुसार आगामी आइतबार स्पेनका केही क्षेत्रहरूमा तापक्रम ४५ डिग्री सेल्सियससम्म पुग्न सक्छ। गत शनिबार दक्षिणी शहर कोर्डोबामा रेकर्ड गरिएको उच्चतम तापक्रम ४४ दशमलव ७ डिग्री सेल्सियस थियो।

युरोपेली संघको युरोपेली वन अग्नि सूचना प्रणालीका अनुसार यस वर्ष स्पेनमा लागेको आगोले ३,४३० वर्ग किलोमिटर क्षेत्रफल जलाएको छ। त्यो क्षेत्रलाई तुलना गरेर हेर्ने हो भने बेलायतको लन्डन महानगर जत्तिकै आकारको हो ।

विज्ञहरूका अनुसार युरोपमा १९८० को दशकदेखि विश्वव्यापी औसतभन्दा दोब्बर छिटो तापक्रम बढिरहेको छ। वैज्ञानिकहरूका अनुसार जलवायु परिवर्तनले युरोपका केही भागहरूमा गर्मी र सुख्खापनको आवृत्ति र तीव्रतालाई बढाइरहेको छ, जसले गर्दा यो क्षेत्र डढेलोको जोखिममा छ।

तपाइँको प्रतिक्रिया

फेसबुक