ढुङ्गाका अक्षर र रुखका घाउहरू
खण्ड १५ : ढुङ्गाका अक्षर र रुखका घाउहरू
समयको अविरल प्रवाहसँगै अभयको शरीर र मनमा पनि ऋतु परिवर्तन हुन थाल्यो। हिजोसम्म ’बिरालो कहिले बाघ होला’ भनेर सोच्ने त्यो अबोध बालक अब बिस्तारै यौवनको नयाँ क्षितिजमा पाइला राख्दै थियो । ऐनामा हेर्दा ओठमा बस्न थालेका जुँगाका मसिना रेखीहरूले उसलाई एउटा नयाँ अस्तित्वको आभास दिन्थे । उसको बोलीको धोद्रोपन र शरीरको परिवर्तन—यी सबै एउटा वयस्क अभयको आगमनका सङ्केतहरू थिए।
हिजोसम्म जताततै फोहोर गरेर हिँड्ने अभय अब आफ्ना कपालका लट्टा मिलाउन थाल्यो। खल्तीमा सधैँ एउटा सानो काइँयो हुन्थ्यो, र हरेक पसलको ऐना वा शान्त पोखरीको पानीमा उसले आफ्नो प्रतिबिम्ब हेरेर सोच्थ्यो— “के कुनै केटीले मलाई आज राम्रो भन्ली त?“ संसारका सबैभन्दा ठूला दुःखहरू बिस्तारै गौण हुन थालेका थिए र त्यसको ठाउँ एउटा नयाँ ’पीडा’ ले लिँदै थियो— जुन मिठो थियो, तर बेचैन बनाउने खालको थियो । दशैँ र नयाँ वर्षका बेला रङ्गीन पोष्टकार्डहरूमा मनपर्ने नायकको तस्बिर टाँसेर, मुटु ढुकढुक बनाउँदै कसैको नाममा पठाउनु उसको जीवनको सबैभन्दा ठूलो मिसन हुन्थ्यो।
उसको त्यो एकोहरो प्रेमको साक्षी अब मुटु होइन, प्रकृति हुन थाल्यो । उसले आफ्नै र मनपरेकी केटीको नामका पहिलो अक्षरहरू कहाँ मात्रै खोपेन र?
रुखका बोक्राहरूमा जहाँ समयसँगै ती नामहरू पनि बढ्दै जान्थे । आँधि खोलाका सम्म परेका ढुङ्गाहरूमा जसलाई पानीले पखाल्न सक्दैनथ्यो । बगरमा, बालुवामा र ढुंगाहरुले कुँदेर । स्कुलका डेस्क र गाडी हिँड्ने कच्ची बाटोका धुलोहरूमा उसले आफ्नो मन परेकी केटीको नाम लेख्न बिर्सेन ।
कापीको अन्तिम पेजमा जहाँ होमवर्कभन्दा बढी कसैको नामको अक्षरको ’प्राक्टिस’ हुन्थ्यो । त्यो केटीको नाममा उसले हजारौ स्वहस्ताक्षर गरेर कापीको सत्यानास गर्यो । भ्यालेन्टाइन डेको दिन कसैको घरको सुटुक्क गुलाब चोरेर, किताबको बीचमा लुकाउँदै स्कुल लैजाँदाको त्यो डर र रोमाञ्चकता अर्कै थियो । त्यो प्रेम थियो कि केवल उमेरको एउटा आकर्षण? उसले कहिल्यै ठम्याउन सकेन । ऊ त केवल एउटा यस्तो न्यानोपनको खोजीमा थियो, जसले उसको भित्री एक्लोपनलाई भरिदेओस् ।
“जब मानिसले पहिलो पटक कसैको लागि मुटु धड्किएको महसुस गर्छ, उसले बिर्सिन्छ कि संसारमा वियोगका पुराना घाउहरू पनि छन् ।
एकोहोरो प्रेमको मधुर विवशता त्यो एकतर्फी प्रेमको संसारमा अभय आफैँ राजा थियो र आफैँ प्रजा । उसले पठाएका पत्रहरूले कहिले जवाफ पाउँथे, कहिले ती कसैको झोलाको कुनामा हराउँथे । तर अभयलाई त्यसको चिन्ता थिएन । उसलाई त केवल कसैलाई ‘मन पराउनु’ मा एउटा अनौठो तृप्ति मिल्थ्यो ।
आमाको बिछोडको त्यो पुरानो रिक्ततालाई सायद यो नयाँ आकर्षणले केही समयका लागि ओझेलमा पारिदिएको थियो। पाटी, पौवा र गाउँका धाराहरूमा उसले कोरेका ती प्रेमका हस्ताक्षरहरू वास्तवमा उसको ‘अस्तित्व’ प्रमाणित गर्ने प्रयासहरू थिए । ऊ चाहन्थ्यो— कसैले उसलाई हेरोस्, कसैले उसको उपस्थितिको महसुस गरोस्।
यो किशोर उमेरको उटपट्याङ् हरकतभित्र एउटा यस्तो अभय लुकेको थियो, जो प्रेमको माध्यमबाट संसारसँग फेरि जोडिन खोज्दै थियो। उसले बुझ्न सकेन कि यो आकर्षण हो कि मोह, तर उसले यति मात्र जान्यो— यी रंगीन भावनाहरूले नै उसलाई फेरि एक पटक ’जिउँदो’ भएको महसुस गराएका थिए ।
खण्ड १६ः नामबिहीन पत्र र हराएको गन्तव्य
दशैंको रन्को थियो। चारैतिर पिङको मच्चाई र जमराको सुगन्ध फैलिरहेका बेला अभयको मन भने एउटै ‘पोष्टकार्ड’ मा अडिएको थियो । उसले निकै जतनले शब्दहरू छानेर एउटा पोष्टकार्ड पठाएको थियो, तर उताबाट कुनै जवाफ आएन । मौनताले मन अमिलो त बनायो, तर अभयको बाल–हठले हार मान्न जानेको थिएन।
स्कुलका बगैचाहरुमा । उकाली ओरालीहरुमा । गाडीमा । बाटामा । खेल्ने मैदानमा । खाजा खाने घरमा । पानी पिउने धारामा । ट्वाइलेटमा ऊसँग जम्काभेट हुँदा अभयको मुटुले ढ्याङ्ग्रो ठोक्थ्यो । आँखा जुध्थे, तर शब्दहरू घाँटीमै अड्किन्थे । बोल्ने हिम्मत नभएपछि उसले एउटा अन्तिम अस्त्र प्रयोग गर्ने निर्णय गर्यो— प्रेम पत्र ।
एउटा अधूरा पत्रको जन्म उसको मानसपटमा उब्जिन थाल्यो । उसले कापीको बीचको पाना च्यात्यो । कलम समातेर घण्टौँ सोच्यो । उसलाई कसरी लेख्ने थाहै थिएन, न त ’प्रेम’ को परिभाषा नै । उसले केवल आफ्नो आवेगलाई कापीमा पोख्यो। पत्रको शिरमा ठूला अक्षरले लेख्यो— “प्रिय“। त्यसपछि उसले लेख्यो तिम्रो माया सागरभन्दा गहिरो, सियो भन्दा तिखो र आकाशभन्दा चौडा अनि सगरमाथा भन्दा गहिरो लाग्छ । आजभोली उसले लेखेको यो पत्रको ढाँचा सम्झेर ऊ मनमनै हाँस्छ र भन्छ ‘बेवकुफ’ ।
तर उसले, भित्र के–के लेख्यो, त्यो उसैलाई मात्र थाहा थियो, तर पत्रको अन्त्य भने उसले त्यही तीन शब्दबाट गर्यो, जुन सुन्न र भन्नका लागि उसले रातभरि सपना देख्ने गर्थ्यो —
“आई लभ यू”।
तल पटिृ आफ्नो नाम लेख्यो । तिम्रो उहि माया गर्ने अभय,
तर, हतार र डरको त्यो मिश्रणमा उसले एउटा भयानक गल्ती गरिदियो। उसले पत्रमा न ती केटीको नाम लेख्यो, न त उनको कक्षा नै । सायद उसलाई लागेको थियो— “मेरो मुटुको भावना जसका लागि हो, उसले आफैँ बुझ्नेछ ।”
गन्तव्य मोडिएको सन्देश, के भयो भने, जब उसले त्यो पत्र स्कुलको एउटा सानो बच्चालाई ‘फलानोलाई दे’ भनेर अह्यायो । त्यो सानो बच्चाले गल्तिले अर्कैलाई दिन पुगेछ । तर नियतिले एउटा सानो ठट्टा गरिदियो । त्यो पत्र अभयले चाहेको केटीको हातमा पुग्नुको साटो अर्कै केटीको सामु पुग्न पुग्यो । नाम नभएको पत्र ‘लावारिस’ जस्तै भयो, र जसले पहिले भेट्यो, उसैले आफ्नो सम्झियो जस्तो हुनुपर्ने ।
अभयको त्यो पहिलो प्रेम–पत्र एउटा यस्तो तिर थियो, जसले निसाना त ताकेको थियो, तर धनुष छोड्ने बेला आँखा चिम्लिदिँदा अर्कै दिशामा लाग्न पुग्यो।
“अपूर्ण ज्ञान र अधिक आवेगले मानिसलाई सधैँ यस्तै दोबाटोमा ल्याएर उभ्याउँछ, जहाँ लक्ष्य एकातिर हुन्छ र यात्रा अर्कैतिर।” सिक्नुपर्ने कुरा यहि नै रहेछ ।
विभ्रम र बेचैनी अभयलाई यो कुराको पत्तो थिएन। ऊ त केवल एउटा सुखद जवाफको प्रतीक्षामा थियो । उसले नाम लेख्न नजानेको होइन, बरु त्यो उमेरको ‘एकोहोरोपन’ मा उसलाई लागेको थियो कि उसको प्रेम यति विशाल छ कि नाम लेखिरहनु पर्दैन । उसले पहिलो पटक पत्र लेख्दै थियो, र पहिलो पटकमै उसले ‘प्रेषक’ र ’प्रापक’ बीचको त्यो प्राविधिक दूरीलाई भावनाले मात्र भर्न खोज्यो।
यो उटपट्याङ हरकतले उसको जीवनमा एउटा नयाँ रङ्गीन झमेला थपिदियो । एकातिर ऊ वास्तविक प्रेमको पर्खाइमा थियो, अर्कोतिर उसको नामबिहीन पत्रले अर्कैको मनमा कौतूहल र भ्रमको बीउ रोपिसकेको थियो ।
खण्ड १७ः लभ लेटर अर्कैको हातमा पुग्दा
त्यो पत्र अभयका लागि एउटा प्रेमको प्रस्ताव थियो, तर स्कुलका केटीहरूका लागि त्यो एउटा ’रहस्यमयी सनसनी’ बनेर फैलियो । भोलिपल्ट जब अभय स्कुलको प्राङ्गणमा छिर्यो, वातावरणमा एउटा अजिबको भारीपन थियो । केटीहरूका समूहमा ’गाइँगुइँ’ चल्न थाल्यो । कोही उसलाई देखेर टोलाउँथे, त कोही मुख छोपेर मुसुमुसु हाँस्थे ।
अभयलाई लाग्यो— “कतै मेरो प्रेम स्वीकार त भएन? कतै यो हाँसो खुसीको त होइन?” तर, उसको त्यो भ्रम धेरैबेर टिकेन । बिबादित पत्रको चर्चा यतिसम्म चुलियो कि उसकै गाउँकी दिदी, जो ऊसँगै पढ्थिन्, उनी पनि त्यो चर्चाको केन्द्रमा थिइन् । उनको हेराइमा स्नेह होइन, एउटा गम्भीर चेतावनी थियो ।
स्कुल छुट्टी भएपछि अभय सधैँ झैँ आफ्नो घरतर्फ लाग्दै थियो । बाटोमा ‘रानीरह’ भन्ने एउटा एकान्त ठाउँ थियो, जहाँ बाँसका झ्याङहरूले बाटोलाई अलि अँध्यारो र सुनसान बनाउँथे । त्यहाँ पुग्दा अभयले एउटा दृश्य देख्यो, जसको उनले सपनामा पनि कल्पना गरेका थिएनन् ।
बाटो छेकेर पाँचजना केटीहरू उभिएका थिए । तिनीहरूका हातमा प्रेम–पत्र होइन, लामा–लामा बाँसका भाटाहरू थिए । उनीहरूको अनुहारमा आक्रोशको डढेलो बलिरहेको थियो ।
जसरी अभय नजिक पुग्यो, एउटीले गर्जेर भनी— “हो, यही हो त्यो! तैँले होइन लभ लेटर लेख्ने?”
अचम्म! अभयले केही बोल्न नपाउँदै एउटीले उसको अगाडि बाँसको भाटा तेसारी, र अर्कीले बिनाकुनै भूमिका उसको खुट्टामा प्रहार गर्न थाली ।
त्यो भाटाको चोटभन्दा पनि ठूलो चोट अभयको आत्मसम्मानमा लाग्यो । भाटाका प्रहारहरू खाँदै गर्दा उसको मस्तिष्कमा एउटा बिजुली चम्कियो— “ओहो! मैले नाम नलेखेको त्यो पत्र त गलत ठेगानामा पुगेछ!”
उसले बुझ्यो, उसको त्यो ‘प्रिय’ र ’आई लभ यू’ लेखिएको कागजको पाना अब प्रेमको चिनो रहेन, त्यो त एउटा ‘अपराधको प्रमाण’ बनेर उसकै विरुद्ध खनिएको थियो । जसलाई उसले आफ्नो मुटु सुम्पिन चाहेको थियो, उसको साटो अर्कै समूहले उसलाई सजाय दिइरहेको थियो ।
“जब भावनाले व्याकरण र ठेगाना बिर्सिन्छ, तब प्रेमको बाँसुरी बज्नुको साटो अपमानको भाटा बर्सिँदो रहेछ।” उसले बुझ्यो । बाफरे । हाम्री दिदी पर्ने पनि । मलाई पिट्न तम्सेकी ।
उसले मात्र यति बुझ्यो कि प्रेम पत्र लेख्नु भन्दा अगाडि ‘पात्र’ चिन्नु र ‘नाम’ लेख्नु कति अनिवार्य रहेछ ।
(पौडेलको प्रकाशोन्मुखकृति ‘उज्यालोपछिको अँध्यारो’ उपन्यासको अंश)



