शुक्रबार, चैत ६, २०८२

बेल्जियममा नेपालीको व्यापारिक चमक सँगै चुनौती र संभावना

मदन दवाडी / बेल्जियम २०८२ चैत ६ गते १७:२८

बेल्जियममा नेपाली समुदायको उपस्थिति आज केवल बसोबासमा सीमित छैन । यो एक सशक्त र विस्तार हुँदै गएको व्यवसायिक समुदायको रूपमा स्थापित हुँदै छ। यद्यपि कति नेपाली व्यवसायी यहाँ सक्रिय छन् भन्ने ठोस तथ्यांक उपलब्ध छैन । करिब ६०० व्यवसायी परिवार रहेको अनुमानले यो समुदायको आर्थिक सक्रियता र उद्यमशीलताको स्पष्ट संकेत गर्दछ। तथ्यांक संकलनमा देखिएका चुनौतीहरू—जस्तै सबै व्यवसायी संघमा आबद्ध नहुनु, पहिचानको अभाव, तथा समन्वयको कमीले यो संख्या अझ व्यवस्थित रूपमा अभिलेख गर्न बाँकी नै छ।

इतिहासलाई फर्केर हेर्दा, बेल्जियममा नेपालीहरूको बसोबास करिब १९७९ तिरबाट सुरु भएको बुझिन्छ। त्यसपछिका वर्षहरूमा विशेषगरी १९९५ देखि २००५ को बीचमा ठूलो संख्यामा नेपालीहरू यहाँ आएका हुन्। प्रारम्भिक चरणमा कानुनी हैसियत प्राप्त गर्ने संघर्ष, भाषा र प्रशासनिक जटिलता, तथा आर्थिक सीमितताका कारण व्यवसायमा लाग्नु सहज थिएन। त्यसैले धेरैले सुरुमा अन्य देशका व्यवसायीहरूका पसल तथा रेष्टुरेन्टहरूमा काम गर्दै अनुभव संकलन गरे । सिप र अनुभव बटुलेपछी बिस्तारै आफ्नै व्यवसाय स्थापना गर्न थाले।

समयसँगै नेपाली व्यवशायीहरू साना पसलबाट रेष्टुरेन्ट व्यवशायतर्फ उन्मुख भए। अहिले विशेषगरी जापानी परिकार सुशी रेष्टुरेन्ट व्यवसायमा नेपालीहरूको उल्लेखनीय उपस्थिति देखिन्छ। करिब ३५० जति सुशी रेष्टुरेन्ट नेपालीहरूले सञ्चालन गरिरहेका छन् भन्ने अनुमानले यो क्षेत्रमा उनीहरूको प्रभुत्व देखाउँछ। यसले हजारौं मानिसलाई रोजगारी दिएको छ र नेपाली समुदायलाई श्रमिकबाट उद्यमीमा रूपान्तरण गर्ने महत्वपूर्ण भूमिका खेलेको छ। साथै, होलसेल, निकासी-पैठारि, एशियाली खाद्य सामग्री, माछा व्यापार तथा नयाँ पुस्ताबाट आइटी र प्राविधिक क्षेत्रमा पनि व्यवसाय विस्तार हुँदै गएको छ।

यसरी व्यवसायिक विस्तारसँगै नेपाली व्यवशायीहरूको साझा हित, समस्या समाधान, सूचना आदानप्रदान र अवसर सिर्जनाका लागि नेपाली व्यवसायी संघ बेल्जियमको स्थापना भएको हो। सन् २००६ मा थोरै व्यवसायीहरूको पहलबाट सुरु भएको यो संस्था अहिले ठूलो संख्यामा सदस्यहरू समेट्ने अवस्थामा पुगेको छ। संघले व्यवशायीहरूलाई संगठित गर्ने, सहभागी व्यवस्थापनको अवधारणालाई अघि बढाउने र सामूहिक रूपमा समस्या समाधान गर्ने वातावरण निर्माण गर्ने काम गरेको छ।

संघले व्यवसाय स्थापना तथा सञ्चालनसम्बन्धी आवश्यक जानकारी उपलब्ध गराउने, कानुनी, प्राविधिक तथा भाषिक समस्यामा सहयोग गर्ने र विभिन्न सरोकारवाला निकायसँग समन्वय गर्दै सदस्यहरूको पक्षमा पहल गर्ने कार्य निरन्तर गर्दै आएको छ। विभिन्न तालिम, कार्यशाला र अन्तरक्रिया कार्यक्रममार्फत व्यवसायीहरूको क्षमता अभिवृद्धि गर्ने प्रयास पनि उल्लेखनीय छ। साथै, सामूहिक खरिद र नेटवर्कमार्फत छुट तथा सहुलियत उपलब्ध गराउने, सेवा प्रदायकहरूसँग संवाद गर्ने र ‘नेपालिज फुड फेस्टिभल’ जस्ता कार्यक्रममार्फत व्यवसाय प्रवर्द्धन गर्ने कार्यहरूले संघको सक्रियता देखाउँछ। नेपाल र युरोपबिच व्यापारिक सम्बन्ध विस्तार गर्ने सोच पनि यसै प्रक्रियाको महत्वपूर्ण हिस्सा हो।

यि उपलब्धिहरू महत्वपूर्ण भए पनि वर्तमान अवस्थालाई गहिरो रूपमा विश्लेषण गर्दा एउटा गम्भीर चुनौती स्पष्ट रूपमा देखिन्छ—हामी अझै पनि मुख्य रूपमा साना तथा पारिवारिक व्यवशायमा केन्द्रित छौँ। साना व्यवशायहरूले प्रारम्भिक अवस्थामा स्थायित्व र आत्मनिर्भरता दिएपनि दीर्घकालीन रूपमा यसले व्यवसायिक पुस्ता हस्तान्तरणमा समस्या सिर्जना गर्न सक्छ। अहिले हामीले सञ्चालन गरिरहेका व्यवसायहरू हाम्रा सन्तानहरूको रुचि वा भविष्यको पेशागत आकांक्षासँग मेल नखान सक्ने सम्भावना उच्च छ।

नयाँ पुस्ता फरक परिवेशमा हुर्किरहेको छ। उनीहरू मध्ये कोही लेखा क्षेत्र, कोही कानुन, कोही स्वास्थ्य, कोही सूचना प्रविधि त कोही अन्य पेशागत क्षेत्रमा अगाडि बढ्नेछन्। यस्तो अवस्थामा यदि हाम्रो व्यवसाय संरचना सीमित रह्यो भने उनीहरूलाई आफ्नै समुदायभित्र समेट्न कठिन हुनेछ। त्यसैले अबको आवश्यकता साना व्यवशायलाई मात्र निरन्तरता दिने होइन, बरु क्रमशः ठूला, संगठित र कर्पोरेट स्तरका व्यवसायतर्फ उन्मुख हुनु हो।

कर्पोरेट स्तरको व्यवशायमा विभिन्न विभागहरू हुन्छन्—वित्त, कानुनी, मानव संसाधन, सूचना प्रविधि, सञ्चालन आदि—जसले विभिन्न रुचि र सीप भएका व्यक्तिहरूलाई एउटै संरचनाभित्र काम गर्ने अवसर प्रदान गर्दछ। यसरी हेर्दा कर्पोरेट सोचले केवल व्यवशाय विस्तार गर्ने मात्र होइन, आगामी पुस्तालाई आफ्नै समुदायभित्र अवशर सृजना गर्ने आधार पनि तयार गर्दछ। यसले व्यवशाय हस्तान्तरणलाई सहज मात्र बनाउँदैन बरु दिर्घकालीन रूपमा दिगो र प्रतिस्पर्धात्मक पनि बनाउँछ।

यस सन्दर्भमा नेपाली व्यवसायी संघको भूमिका अझ सशक्त बन्न आवश्यक छ। अब संघले आफ्नै स्थायी कार्यालय स्थापना गर्ने, दक्ष कर्मचारी राख्ने र व्यवसायीहरूको समस्या समाधानका लागि संस्थागत रूपमा पहल गर्ने दिशामा अघि बढ्नुपर्छ। हालसम्म धेरै कामहरू स्वयंसेवी प्रयासबाट सम्भव भए । तर अब भविष्यमा अझ प्रभावकारी र दिगो सेवा दिनका लागि पेशागत संरचना अनिवार्य देखिन्छ।

त्यसैगरी, बेल्जियमको आर्थिक नीति, कर प्रणाली, श्रम कानुन तथा व्यवशायसम्बन्धी नियमहरू निरन्तर परिवर्तन भइरहेका हुन्छन्। धेरै व्यवशायीहरू यी परिवर्तनसँग समयमै अपडेट हुन नसक्दा समस्यामा पर्ने गरेका छन्। यसलाई ध्यानमा राख्दै संघले मासिक वा त्रैमासिक रूपमा व्यवशायिक बुलेटिन प्रकाशन गर्न सक्दछ, जसमा नयाँ कानुनी प्रावधान, आर्थिक परिवर्तन, बजारको अवस्था तथा अवसर र चुनौतीहरूको विश्लेषण समावेश गरिनु आवश्यक छ। यसले व्यवसायीहरूको निर्णय क्षमता सुदृढ बनाउनेछ।

अर्कोतर्फ, संघले व्यवसायीहरूको एकीकृत तथ्यांक प्रणाली निर्माण गर्न, अनुसन्धानमा आधारित प्रतिवेदन प्रकाशन गर्न र बेल्जियममा नेपाली व्यवशायीहरूको आर्थिक योगदानलाई स्पष्ट रूपमा प्रस्तुत गर्न सक्छ। यसले समुदायको पहिचान र प्रभाव दुबै बढाउनेछ। डिजिटल प्लेटफर्म विकास, आफ्नै सेवा प्रणाली, तथा समुदायभित्र आर्थिक प्रवाहलाई सुदृढ बनाउने पहलहरू पनि अबको आवश्यकता हुन्।

यससँगै, अब नेपाली व्यवशायी संघले नेपाली दूतावास ब्रसेल्ससँग अझ सशक्त समन्वय गरेर अघि बढ्नुपर्ने आवश्यकता पनि उत्तिकै महत्वपूर्ण देखिन्छ। कूटनीतिक माध्यममार्फत बेल्जियम सरकारसमक्ष यहाँका नेपाली व्यवशायीहरूको आर्थिक योगदान, रोजगारी सृजना तथा सामाजिक भूमिकालाई स्पष्ट रूपमा प्रस्तुत गर्ने पहल गरिनु आवश्यक छ। यसले नेपाली व्यवशायीहरूको पहिचान र विश्वसनीयता दुवै बढाउने छ। साथै, दूतावासलाई पूलका रूपमा प्रयोग गर्दै नेपाल सरकारसँगको समन्वय बढाई आर्थिक कूटनीतिक संस्थाको रूपमा पनि संघले भूमिका निर्वाह गर्न सक्छ। यसमार्फत नेपाल–युरोप व्यापार बिस्तार, लगानी प्रवर्द्धन र द्विपक्षीय आर्थिक सहकार्यलाई अझ मजबुत बनाउन सकिने सम्भावना रहेको छ।

अब बेल्जियममा नेपाली व्यवसायी समुदाय एक महत्वपूर्ण मोडमा उभिएको छ—जहाँबाट भविष्यको दिशा निर्धारण हुने छ। यही सन्दर्भमा आगामी अप्रिल २७ मा हुन गइरहेको नेपाली व्यवसायी संघको अधिवेशन अत्यन्तै महत्वपूर्ण अवसर हो। यस अधिवेशनले केवल नेतृत्व चयन गर्ने मात्र होइन, आगामी वर्षहरूका लागि स्पष्ट दृष्टिकोण र कार्ययोजना तय गर्ने जिम्मेवारी पनि वहन गर्नेछ।

अब आउने नेतृत्वले यहाँ उल्लेख गरिएका विषयहरू—व्यवसायिक एकीकरण, कर्पोरेट सोचको विकास, सेवा प्रणालीको संस्थागतकरण, सूचना प्रवाहको सुदृढीकरण र समुदायभित्र आर्थिक संरचना निर्माणलाई व्यवहारमा उतार्ने स्पष्ट पहल गर्नुपर्छ। संघलाई अझ सशक्त, उत्तरदायी र परिणाममुखी बनाउने दिशामा नेतृत्वको भूमिका निर्णायक हुनेछ।

त्यसैले, सम्पूर्ण नेपाली व्यवशायीहरूलाई संघसँग आबद्ध भई सदस्यता लिन र यस प्रक्रियामा सक्रिय सहभागिता जनाउनेगरी समेट्नु जरुरी छ । सदस्यता केवल औपचारिकता होइन । यो आफ्नो अधिकार, अवसर र भविष्यप्रतिको जिम्मेवारी पनि हो। जब सबै व्यवशायीहरू एउटै छातामुनि आउँछन्, तब मात्र सामूहिक शक्ति निर्माण हुन्छ । त्यसबाट ठूला उपलब्धिहरू सम्भव हुन्छन्।

अन्ततः बेल्जियममा नेपाली व्यवशायीहरूको यात्रा संघर्षबाट सफलतातर्फको यात्रा हो। अबको आवश्यकता भनेको यस सफलतालाई अझ संगठित, दिगो र पुस्तान्तरण योग्य बनाउने हो। यदि हामी सबै एकताबद्ध भई सही दिशामा अघि बढ्न सक्यौँ भने नेपाली व्यवशायी समुदायले बेल्जियममा मात्र होइन, समग्र युरोपमै एउटा सशक्त आर्थिक शक्ति बन्ने सम्भावना पूर्ण रूपमा बोकेको छ।

(दवाडी नेपाली ब्यवशायी संघ युरोपको सदस्य सचिव हुन्)

तपाइँको प्रतिक्रिया