मंगलबार, भदौ ३०, २०८३

बाढीपहिरोमा ज्यान गुमाएकाहरूको सम्झनामा पेरिसमा दीप प्रज्वलन

नेपालप्लस संवाददाता / पेरिस२०८३ भदौ २९ गते २१:४६

गत २६ अगस्टमा नेपालका विभिन्न जिल्लामा आएको बाढी तथा प्राकृतिक विपत्तिमा ज्यान गुमाएकाहरूको सम्झनामा फ्रान्सको राजधानी पेरिस स्थित विश्व प्रसिद्द आइफल धरहरा अगाडी दीप प्रज्वलन गरिएको छ।

आइतबार, १३ सेप्टेम्बरमा पेरिसस्थित ऐतिहासिक प्लास दु थ्रोकादेरो ए दु ११ नोभेम्बरमा आयोजित कार्यक्रममा सहभागीहरूले दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेका थिए।

एनआरएनए फ्रान्सको नेतृत्व तथा समन्वयमा आयोजित कार्यक्रममा फ्रान्सका लागि नेपाली राजदूत सुधीर भट्टराई, एनआरएनए फ्रान्सका अध्यक्ष दिलीप गुरुङ, विभिन्न नेपाली संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि, सञ्चारकर्मी, समाजसेवी, बुद्धिजीवी तथा फ्रान्सवासी नेपालीहरूको उल्लेखनीय सहभागिता थियो।

कार्यक्रममा राजदूत सुधीर भट्टराईले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै विपत्तिबाट प्रभावित परिवारको सहयोगका लागि गैरआवासीय नेपाली समुदाय एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए।

उनले विपत्तिको समयमा विदेशमा रहेका नेपाली समुदायले मानवीय सहयोग र ऐक्यबद्धता प्रदर्शन गर्दै मातृभूमिप्रतिको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए। साथै, फ्रान्समा नेपाली समुदायलाई एकताबद्ध गर्दै सामाजिक तथा मानवीय क्षेत्रमा एनआरएनए फ्रान्सले निर्वाह गर्दै आएको भूमिकाको प्रशंसा गरे।

एनआरएनए फ्रान्सका पूर्वअध्यक्ष निर्मल अर्यालले विपत्तिबाट प्रभावित परिवारको साथमा उभिन सबै नेपालीलाई आग्रह गरे। उनले कार्यक्रम श्रद्धाञ्जलीमा मात्र सीमित नभई विपत्तिको समयमा नेपाली समुदायबीच एकता र सहयोगको भावना अझ बलियो बनाउने उद्देश्यले आयोजना गरिएको बताए।

कार्यक्रममा एनआरएनए फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल र संस्थाकी वरिष्ठ महिला उपाध्यक्ष विष्णुकुमारी तिमिल्सिनाले पनि मन्तव्य राखेका थिए।

कार्यक्रममा गोरखाली समाज फ्रान्स, मोना फ्रान्स, तमु समाज फ्रान्स, नेपाली साहित्यिक मञ्च फ्रान्स, स्याङ्जा समाज फ्रान्स, मगर समाज फ्रान्स, ईनास फ्रान्स, नेपाली सांस्कृतिक गृह फ्रान्स, नेपाली एकता समाज, पाकोफेन, नेपाली जनसम्पर्क समिति फ्रान्स तथा प्रवासी नेपाली मञ्चलगायत विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधिहरू सहभागी थिए।

सहभागीहरूले दीप प्रज्वलन गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गरेका थिए। साथै, विपत्तिमा घाइते तथा प्रभावितहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै पीडित परिवारप्रति ऐक्यबद्धता जनाएका थिए।

कार्यक्रम चलिरहँदा आइफेल टावर तथा थ्रोकादेरो क्षेत्र घुम्न आएका सयौँ विदेशी पर्यटकले समेत दीप प्रज्वलन कार्यक्रमप्रति चासो देखाएका थिए। नेपाली समुदायले मातृभूमिमा भएको विपत्तिमा शोक व्यक्त गर्दै आयोजना गरेको कार्यक्रमप्रति उनीहरूले समेत चासोपूर्वक अवलोकन गरेका थिए।

पेरिसको प्रसिद्ध थ्रोकादेरोमा आयोजित दीप प्रज्वलन कार्यक्रमले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति फ्रान्समा रहेका नेपाली समुदायको चासो, संवेदना र मातृभूमिप्रतिको सम्बन्धलाई समेत उजागर गरेको थियो।

कार्यक्रमको समन्वयमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै आयोजकहरूले एनआरएनए फ्रान्सका अध्यक्ष दिलीप गुरुङ तथा कार्यक्रममा सहभागी नेपाली राजदूतावास, विभिन्न संघसंस्थाका प्रतिनिधि, पत्रकार, सामाजिक अभियन्ता, बुद्धिजीवी तथा फ्रान्सवासी नेपाली समुदायप्रति धन्यवाद व्यक्त गरेका छन्।

तपाइँको प्रतिक्रिया

फेसबुक