शुक्रबार, मंसिर ७, २०८१

जहाँ भीमसेनले किच्चकलाई मारेका थिए

डा. हरिकुमार श्रेष्ठ२०७८ माघ २० गते १५:०८

लक्ष्मीमाया श्रेष्ठ र म पौषको १० गते विहान करिब ८ बजे काठमाडौँबाट प्रस्थान गरी करिब ९ बजे झापाको भद्रपुर विमानस्थलमा अवतरण गर्‍यौँ । काठमाडौँभन्दा निकै नै न्यानो महसुस भयो । काठमाडौँको जाडोले ककर्किएर चाउरिएको अनुहारका छाला पनि तन्कँदै नरम बन्न थाल्यो । हामीलाई लिनको लागि गाडिचालक भाइ गोपाल त्यहिँ प्रतिक्षारत रहेछन् । यो पहिलो भेटघाट थियो उनीसँग हाम्रो । उनको गहुँगोरो र हँसिलो अनुहार, अग्लो र खाइलाग्दो रुप निकै नै लोभलाग्दो थियो । बिहान छिप्पिसकेको थियो । त्यसपछि हामीले समग्र भ्रमण अवधिको तालिका बनाउँदै आजको यात्राको पहिलो गन्तव्य किचकबधतिर हुइँकियौँ ।

म भद्रपर पहिला दुईपटक गए तापनि मेरी श्रीमतीको लागि भने पूर्वी क्षेत्रमा पाइला टेकेकी त्यो ठाउँ नै पहिलो थियो । हामी विस्तारै झापा चोक पुग्यौँ जहाँबाट पश्चिम भागको सडकतिर लागेमा झापाको रंगेली हुँदै विराटनगर पुगिने रहेछ । तर हामी सिधै ज्ञान चोक, देउनीया खोला पुल, पृथ्वी नगर क्षेत्र पारगदैँ सगरमाथा चोक पुग्यौँ जहाँ सडकको बायाँतिर किचकबध पार्क वा धार्मिक क्षेत्र जाने प्रवेशद्वारले हामीलाई स्वागत गरेको थियो ।

करिब डेढ किलोमिटरको दूरी पार गरेपछि देब्रेतिर हाम्रो पहिलो गन्तव्य किचकबध क्षेत्रको प्रवेशद्वार पुग्यौँ । उक्त प्रवेशद्वारको उराठिलो तथा टिठलाग्दो रुपरङ्गले त्यसभित्रको परिवेश सजिलै आँकलन गर्न सकिन्थ्यो । यद्यपि, त्यो क्षेत्रमा पिकनिक जाने केटाकेटी, युवायुवतिहरु र छिमेकी देश भारतदेखि भ्रमणको लागि आउने मानिसहरुको पनि ताँति नै थियो । सुनौलो बिहानीको भविष्य बोकेका कलिला विद्यार्थीहरुको उपस्थिति पनि मनग्यै थियो । उनीहरुमध्ये केही फोटो खिच्दै टिकटक बनाउन पनि व्यस्त देखिन्थे । दैनिक सरदर १००–२०० जना आन्तरिक पर्यटकहरुले भ्रमण गर्दा रहेछन् त्यो क्षेत्रको ।

हामी भित्री प्रवेशद्वारबाट प्रवेश गरी अगाडि बढ्दै गयौँ । चाउरिएको सडकको दायाँबायाँ बगैँचा र जङ्गल पार गर्दै किचकबधको पहिचान बोकेको मुख्य स्थलमा पुग्यौँ । किचकबध भद्रपुर नगरपालिकाको वडा नं. २ मा पर्दछ । यसको क्षेत्रफल करिब १० विगाहा भएको जानकारी पाइयो । ईण्टरनेटमा उल्लेख भए अनुसार वि.सं. २०५९ सालमा त्यहाँको उत्खनन् गर्दा यो २,००० वर्ष पुरानो दरवार क्षेत्र रहेछ, जुुन पुरातात्विक महत्व बोकेको क्षेत्रमा पर्दोरहेछ ।

किचकको कुदृटि भने द्रौपदी (मालिनी) मा पर्न गएको कुरा हल्लाखल्ला भएपछि पाण्डवहरुमा रिसको पारो बढेछ । रिसले चुर परेका भीमसेन सम्हालिन नसकेर उनले किच्चकलाई मारेकोले त्यसपछि त्यो ठाउँको नाम किचकबध भनेर राखिएको रहेछ ।

किचकबध स्तम्भमा दुईवटा मूर्तिहरु सहजै देख्न सकिन्थ्यो, जहाँ भिमसेनले किचकलाई मार्न लागेको दृश्य समेटिएको छ । पुरानो मूर्ति बिग्रिन लागेकोले धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र संरक्षण कमिटिले हालको नयाँ मूर्ति स्तम्भ बनाएको रहेछ । त्यो क्षेत्रमा प्रत्येक वर्षको माघे शुक्ल पूर्णिमाको दिन धार्मिक पर्वको रुपमा मनाउँदै आएका रहेछन् भने राजवंशी समुहले भने किचकबध पोखरीमा विशेष पूजापाठ पनि गर्दै आएका रहेछन् ।

किचकबध मूर्ति स्तम्भ त्यहाँको डाँडा भागमा थियो, जहाँबाट उभिएर वरिवरि हेर्दा बगैँचा, जंगल, मन्दिरहरु, पोखरी, त्यहाँको उर्वर खेतका विशाल फाँटहरु र फाँट माथिका खुला, फराकिला नील गगन देख्न सकिन्थ्यो । अझ नजिकै देउनीया खोलाको झोलुङ्गे पुल र बेलाबेलामा चराहरु उडेको दृश्यहरुलाई मेरो आँखाहरुले सर्लकै नाप्यो, कैद गर्‍यो र राख्यो एक दिमागी नक्शा बनाएर । वास्तवमा उक्त प्राकृतिक दृश्यहरुले त्यो क्षेत्रको शोभा निकै नै बढाएको थियो । काठमाडौँको कंक्रिट शहरमा बस्दाको क्षणहरुले अमिलिएको मनमा यो प्राकृतिक धरोहरले वास्तवमै बहार ल्याइदियो हामीमा । अझै, त्यो क्षेत्रलाई व्यवस्थित गरी विभिन्न फलफूलका रङ्गिचङ्गि बोटबिरुवाहरुले हराभरा गर्न सकेको भए अहा झनै कति मनोरम देखिन्थ्यो होला ।

किचकबधको मूर्ति स्तम्भ अगाडि लक्ष्मीमाया श्रेष्ठ

हामी त्यस क्षेत्रको बारेमा न त जानकार नै थियौ न त त्यहाँ जानकारी दिने कुनै गाइड थिए । त्यसैले हाम्रो कौतुहलता झनै जाग्यो । यसको बारेमा जान्ने प्रयास पनि गर्‍यौँ । त्यहाँ उपस्थित एक वृद्धलाई सो ठाउँको बारेमा हामीलाई जानकारी दिनको लागि निकै आग्रह गर्‍यौँ । किनकि ती वृद्धले भनेका थिए, उनी त्यो ठाउँको रैथाने जस्तै हुन् । उनमा त्यहाँको बेलिविस्तार लगाउने कुनै क्षमता रहेनछ । बरु हामीले नै उनलाई सिकाउनपर्ने जस्तो पो देखियो । त्यसपछि, मैले इन्टरनेटबाट त्यो ठाउँको जानकारी लिएँ । यदि त्यहाँ व्यवस्थित किसिमले केही स्थानीयहरुलाई तालिम दिएर गाईड बनाउन सके उनीहरुलाई थप आयआर्जनको बाटो पनि हुने र नव आगन्तुकहरुले पनि त्यो क्षेत्रको बारेमा धेरै जानकारी लिएर थप पचारप्रसारमा पनि सहयोग पुग्ने देखिन्छ ।

त्यस क्षेत्रको नामाकरणसम्बन्धी प्राप्त किम्बदन्ति अनुसार त्यहाँ विराट राजाले राज्य गर्नेरहेछन् । महाभारतकालमा वलपर्वपछि विराटपर्वमा पाण्डवहरु त्यहाँ मत्स्यदेशका राजा विराटको दरवारमा एक वर्षको लागि अज्ञातवास वा गुप्तवास बस्न गएका रहेछन् । त्यहाँ गुप्तबास बस्नेक्रममा युधिष्टिर जुवाडेको रुपमा, भीमसेन खाना पकाउनेको रुपमा, अर्जुन वृहन्नाला (संगीत गुरु) को रुपमा, रानी द्रौपदी सैरान्ध्रि (महिला नोकर्नी) को रुपमा, नथुलसहदेव घोडशाला तथा गाईपालन हेरालुको रुपमा बसेका रहेछन् । विराटशाला तथा मत्स्यदेशका राजा विराटका सेनापति भने उनकै रानी सुदेश्नाको भाइ किचक रहेछन् ।

तर किचकको कुदृटि भने द्रौपदी (मालिनी) मा पर्न गएको कुरा हल्लाखल्ला भएपछि पाण्डवहरुमा रिसको पारो बढेछ । रिसले चुर परेका भीमसेन सम्हालिन नसकेर उनले किच्चकलाई मारेकोले त्यसपछि त्यो ठाउँको नाम किचकबध भनेर राखिएको रहेछ । त्यसैले, किचकबध स्तम्भले पनि कुदृष्टिले कसैले कसैलाई हेरेमा उस्ले पनि त्यस्तै नियति भोग्नपर्ने सन्देश प्रवाह गरिराखेको थियो स्तम्भले ।

किम्बदन्ति अनुसार त्यहाँ विराट राजाले राज्य गर्नेरहेछन् । महाभारतकालमा वलपर्वपछि विराटपर्वमा पाण्डवहरु त्यहाँ मत्स्यदेशका राजा विराटको दरवारमा एक वर्षको लागि अज्ञातवास वा गुप्तवास बस्न गएका रहेछन् ।

यि जानकारी लिएपछि हामी तल सतिदेवी, विष्णुपादुका मन्दिरहरुको साथै सानो कमल पोखरी पनि घुम्न गयौँ । पोखरी निकै नै फोहर भएतापनि बीच भागमा भएको कमल फूलको मुस्कानले सुन्दरता छरिराखेको थियो । पोखरी मात्र नभई त्यहाँको समग्र पार्क, मन्दिर, बाटिका, बाटोघाटोको सरसफाई साथै अन्य व्यवस्थापन पक्ष पनि निकै नै नाजुक देखिन्थ्यो । भएको बार तथा गेट पनि लथालिङ्ग थियो । यसले मनमा चसक्क चसक्क बिजाउन पुग्यो । सायद उक्त क्षेत्रको संरक्षण तथा विकासको लागि प्रत्येक वर्ष बजेट त पक्कै पनि छुट्याइएको होला । तर नेपालमै जकडिएको भ्रष्टाचारको गन्ध त्यहाँ पनि फुस्फुसाएको अनुभूति गर्न सहजै सकिन्थ्यो ।

त्यहाँ विराटराजाको घोडशाला भए तापनि हामीले हेर्न बिर्सिएछौँ । अझै भन्ने हो भने, त्यहाँको व्यक्तिहरुको कुराकानि अनुसार त त्यहाँ जमिन मुनि निकै भग्नावशेषहरु छन् । तर ती सबैको उत्खनन्, संरक्षण, विकास तथा प्रचारप्रसारमा त्यति प्रभावकारी रुपमा काम भए जस्तो देखिन्न । सबै चिजहरु परित्यक्त अवस्थामा देखिन्छन् । त्यहाँ कसैले केही चिज उठाएर अन्यत्रै लगे तापनि कसैलाई केही मतलव पनि नहुने जस्तो लाग्यो । त्यसैले, त्यहाँबाट पहिला पहिला झन् कति हराए होलान् पुरातात्विक महत्व बोकेका बहुमूल्य प्राचिन सामग्रीहरु !

त्यसैले, स्थानीय निकायले यो क्षेत्रको अन्वेषण, उत्खनन्, संरक्षण तथा विकास गरी व्यापक प्रचारप्रसार गर्न जरुरी छ जसलेगर्दा धार्मिक तथा ऐतिहासिक महत्व बोकेका नेपालका अन्य विकसित स्थानहरु जस्तै यो क्षेत्रमा पनि बढीभन्दा बढी पर्यटकहरु पुग्नसक्ने देखिन्छ । यसमा त्यहाँको सुरक्षा व्यवस्था, सरसफाई तथा अन्य व्यवस्थापन पक्षलाई चुस्त दुरुस्त राखी आगन्तुकहरुसँग पनि व्यवस्थित किसिमले प्रवेश शुल्क लिएर त्यहाँको सुधार तथा विकासमा थप आर्थिक जोहो गर्न सकिन्छ ।

धानका कुन्यु र घोलमा हिउँदे धानको नर्सरी ब्याड

समयको पाउवन्दिले गर्दा हामी त्यहाँ लामो समय रहन सकेनौँ । त्यसपछि हामी त्यहाँबाट निस्केर पुनः आएकै बाटो फर्केर लाग्यौँ कचनकवलतिर । झापामा बाटोको दायाँ बायाँ खेततिर भएका अनगिन्ति धानका कुन्युहरुले झापालाई धानमा अब्बल क्षेत्रको रुपमा पहिचान दिलाएको हुन्थ्यो । यसबाहेक कताकति हिउँदे धानको ब्याडहरु थिए । कतै भर्खर बीउ छरेको त कतै भर्खर उम्रेको  देखिन्थ्यो । कताकति फलफूल र तरकारी खेती पनि देखिन्थ्यो भने ठाउँ ठाउँमा बाँसका घारीहरुले पनि त्यस क्षेत्रलाई हरियाली बनाउन मद्दत गरेका थिए । जाडो मौसम भएकोले दाम्लोमा बाँधिएका गाईहरुले पारिलो घाम तापिरहेका थिए ।

हामीमा छिमेकीले सबैतिर सीमा स्तम्भ सारेको नकारात्मक छाप परेको यो दिमागले एकपटक सोच्न बाध्य पार्‍यो कि के ती सीमा स्तम्भहरु पनि नेपालको भूभागतिर रातारात स्थानान्तर भएका त छैनन् ?

जब हामी सुकुना चोक पुग्यौँ, हाम्रो आँखा एक्कासि त्यहाँ सडक किनारामा राखिएको एक सूचना बोर्डमा पुग्यो । त्यहाँ कचनकवल गाउँपालिकाले पर्यटकहरुलाई हार्दिक स्वागत गरेका शव्दहरु पढ्न पाइन्थ्यो । यसबाहेक त्यहाँ नेपालकै सबैभन्दा होँचो स्थान कचनकवल (समुद्र सतहबाट ५८ मिटर उचाई) स्तम्भ जाने बाटो (दूरी ३.७ कि.मि.) भनी उल्लेख गरिएको पनि थियो । त्यसैले, हामी नयाँ नै भए तापनि कचनकवल जानको लागि कसैको सहायता नलिई ढुक्कसँग पक्कि बाटो छाडेर लाग्यौँ कचनकवलतिर । बाटोमा ठूलाठूला चियावगान पनि देख्न सकिन्थ्यो ।

एकैछिनपछि हामी अलिअलि बाङ्गोटिङ्गो र कच्चि बाटोमा धुलो उडाउँदै किचकबधदेखि करिब २१ किलोमिटरको दूरी पार गरी कचनकवल पुग्यौँ । कचनकवललाई केचनाकवल तथा केचनकवल पनि भनिंदो रहेछ । कचनकवलको वरिवरि चारैतिर समथर भूभाग देख्न सकिन्थ्यो । त्यहाँबाट दक्षिण र पूर्वतर्फ भारतको हरियो जङ्गल तथा बस्तिहरु देखिन्थे भने नेपाल–भारत सीमामा ठडिएका सीमा स्तम्भहरु ठाउँ ठाउँमा सेताम्यै देखिन्थे । हामीमा छिमेकीले सबैतिर सीमा स्तम्भ सारेको नकारात्मक छाप परेको यो दिमागले एकपटक सोच्न बाध्य पार्‍यो कि के ती सीमा स्तम्भहरु पनि नेपालको भूभागतिर रातारात स्थानान्तर भएका त छैनन् ? के केही सीमा स्तम्भहरु अन्य सीमा क्षेत्रतिर जस्तै गायव त भएका छैनन् ? के त्यहाँका जनताले पनि पश्चिमतिरका अन्य सीमा क्षेत्रहरुका नेपालीहरुले जस्तै सास्ति र पीडा त भोग्न परेको छैन ? के त्यहाँको सुरक्षाबलले पूर्ण रुपमा जनतालाई सुरक्षाको अनुभूति दिलाउन सकेका छन् त ?

कचलकवल स्तम्भ भएको ठाउँ झापा जिल्लाको कचनकवल गाउँपालिका वडा नं. ४ मा रहेछ । यो नेपालको सबैभन्दा होँचो ठाउँमा भएको मानिन्छ तापनि कहिलेकाहीँ जनकपुर धनुषाको मुखियापट्टि मुसर्नियालाई पनि नेपालको होँचो ठाउँ भन्ने गरेको सुनिन्छ । वास्तवमा कुरा बुझ्दै जाँदा कचनकवलको उचाई ६० मिटरभन्दा बढी हुँदा वि.सं. २०१७ को मापनमा मुखियापट्टि मुसर्नियाको उचाइ ५९ मिटर रहेछ । त्यसैले उक्त ठाउँलाई होँचो भनिएको रहेछ । तर पछि फेरि २०४४ सालमा सर्भेयरले मापन गरेको तत्थ्याङ्कमा भने कचनकवलको उचाइ ५८ मिटर भनी कायम भएकोले यो ठाउँ धनुषा जिल्लाभन्दा होँचो नै भई त्यसै समयदेखि नेपालको सबभन्दा होँचो भूभाग भनी कचनकवललाई प्रमाणित भएको रहेछ ।

यो क्षेत्र नेपालको पूर्वी–दक्षिणी भूभागमा पर्दछ । नेपाल–भारतको सीमादेखि जम्मा ५०० मिटर जतिको दूरीमा पर्ने यस क्षेत्रमा एक सशस्त्र प्रहरीको कार्यालय पनि छ, जुन सुरक्षा र उनीहरुको सुविधाको हिसाबले कमजोर नै छ । त्यो ठाउँको नजिकै एक प्रतिक्षालय पनि निकै नै जीर्ण भई मर्मत तथा सम्भारको प्रतिक्षामा रहेको देखिन्छ ।

संसारकै उच्च शिखर सगरमाथाको चुचुरो चुम्न नसके तापनि नेपालकै सबभन्दा होँचो स्थानलाई चुम्न पाउनु पनि गौरवकै कुरा भयो  ।

खास गरेर स्वर्गीय राजा वीरेन्द्रको वि.सं. २०४४ साल पौष १६ गते पूर्वाञ्चल भ्रमणको क्रममा त्यो ठाउँको पनि अवलोकन भ्रमण गरिएको रहेछ । त्यसै समयमा त्यो होँचो भागमा कछुवाको आकृति माथि करिब २० फिट अग्लो स्तम्भ स्थापना गरिएको रहेछ । सोहि समयदेखि उक्त स्थानको नामाकरण कचनकवल भनेर गरिएको रहेछ । त्यहि नामले प्रचलित भएको रहेछ । यो स्थान करिव ४ विगाहा क्षेत्रफलमा फैलिएको रहेछ ।

हाल उक्त स्तम्भ भएको स्थानमा सानो पोखरी निर्माणाधिन छ जसको बीच भागमा माछाको आकृति उत्तर–दक्षिण लमतन्न भएर बसेको छ । उत्तरपट्टि मुख फर्केको आकृतिको आँखा भागमा स्तम्भलाई राखिएको रहेछ । पोखरीको दक्षिणतिरको उत्तर–पूर्वी भागमा अलिकति उठेको माटोको ढिस्को छ जहाँबाट पोखरी, माछा तथा स्तम्भलाई सजिलैसँग नियाल्न सकिन्छ । त्यसमाथि अझ स्तम्भको पानीमा परेका छायाँले त उक्त ठाउँको शोभा निकै नै बढाएको छ ।

कचनकवलमा नेपालकै अल्पसंख्यक आदिवासी गनगाई जाति (गणेश) को समेत बसोबास रहेको पाइने रहेछ । यो ठाउँ नेपालकै होँचो भाग भएकोले पर्यटकीय दृष्टिकोणले निकै नै महत्वपूर्ण स्थलको रुपमा मानिएको छ । तापनि दैनिक सरदर ५०–६० जना मात्र आगन्तुक हुन्छन् भन्ने सुनियो । वर्षादको समयमा बढी पानी जम्ने कारण दलदलमा परिणत हुने हुँदा हिउँद याममा त्यहाँ निर्मित आधार स्तम्भसम्म पुग्न सजिलो हुने रहेछ ।

तर पर्यटकीय हिसाबले धेरै महत्व बोकेको यो स्थानको संरक्षण, विकास तथा प्रचारप्रसारमा कमी नै भएको पाइन्छ । किनकि, त्यस क्षेत्रमा एउटा पनि रुखहरु नभएकोले व्यवस्थित वगैँचा हुनु भनेको त “आकाशको फल आँखा तरी मर” भने जस्तै भएको छ । त्यसैले, पर्यटकहरुलाई गर्मी तथा वर्षादको समयमा राम्रो ओत लाग्ने ठाउँ पाउन पनि मुस्किल छ । भरखर कच्चि बाटो पुगेको रहेछ । तर त्यहाँ न त होटेलको व्यवस्था नै छ, न त कुनै संरक्षण तथा विकास नै छ । राम्रो शौचालयको व्यवस्थापनि छैन ।

खास गरेर स्वर्गीय राजा वीरेन्द्रको वि.सं. २०४४ साल पौष १६ गते पूर्वाञ्चल भ्रमणको क्रममा त्यो ठाउँको पनि अवलोकन भ्रमण गरिएको रहेछ । सोहि समयदेखि उक्त स्थानको नामाकरण कचनकवल भनेर गरिएको रहेछ ।

संसारकै उच्च शिखर सगरमाथाको चुचुरो चुम्न नसके तापनि नेपालकै सबभन्दा होँचो स्थानलाई चुम्न पाउनु पनि गौरवकै कुरा भयो मेरो लागि । कैयौँ वर्षदेखिको त्यहाँ पुग्ने यो मेरो अधुरो सपना पूरा भएको छ यो दिन । धेरैतिर टिकटक बनाउने तथा युटुव पत्रकारहरुको राम्रै उपस्थित भए तापनि त्यस स्थान भने सुनसान नै थियो त्यतिखेर । यस अघि यस स्थान एक विशाल रमणीय सुविधा सम्पन्न पार्कको रुपमा विकसित भएको होला भन्ने ठानेको थिएँ । तर मेरो सोँचाईले बल्ड्याङ् खायो । पहिलो पटक पूर्वी क्षेत्रको भ्रमणमा निस्केकी मेरी श्रीमतीको पनि पहिलो गाँसमै ढुङ्गा लागेजस्तो भयो । उनले पनि भनिन् कि झापामा त निकै नै ठूलाठूला नेताहरु छन् तर किन यो ठाउँको यस्तो दुर्दशा होला ?

हुन पनि हो, वास्तवमा यो स्थान पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा वली, पूर्व गृह मन्त्री कृष्णप्रसाद सिटौला, राष्ट्रिय प्रजातन्त्र पार्टिका अध्यक्ष राजेन्द्र लिङ्देन र अन्य थुप्रै पार्टि नेताहरुको राजनीतिको लागि अति नै सुगम र उर्बर स्थल हो । तर त्यो क्षेत्रमा हालसम्म कुनै बहार आउन नसकी निकै नै कुरुप, रुग्न, पीडादायी, अपहेलित तथा पिछडिएको अवस्थामा बत्ति मुनिको अँध्यारो बनेर उज्यालोको प्रतिक्षामा छ कचनकवल । सायद नेतृत्व वर्गले पनि यो लेख पढ्न भ्याएभने अलिकति दिलमा चस्का हान्छ कि ?

यदि यो ठाउँको संरक्षण, विकास तथा प्रचारप्रसार गर्न सकेमा वास्तविक रुपमै त्यहाँ पर्यटकहरुको उपस्थिति निकै नै बढ्न जाने हुँदा त्यो क्षेत्रले सामाजिक तथा आर्थिक क्षेत्रमा काँचुली फेर्ने देखिएको छ । त्यसैले सम्बन्धित क्षेत्रले सोँचेर कामको थालनी गरिहाल्न उचित देखिन्छ । अन्यथा भोलीका दिनमा छिमेकीले आँखा नलगाउलान् भनेर भन्न पनि सकिन्न । किनकि सीमाबाट करिब आधा किलोमिटरको दूरीमा मात्र छ यो ठाउँ ।

बिहानै काठमाडौँ घरमा खानापीन गरेकोले पेटभित्र मुसा नाच्न थालिसकेको थियो । तापनि हामी दुखभित्र खुसी खोजेर रमाएका थियौँ । सायद यो क्षेत्रको संरक्षण र विकासले उत्सर्ग चुमेको अवस्था भएमा फेरि भेट्ने लक्षका साथ अब हामी सर्वप्रथम पेटपूजापछि गन्तव्यतिर जाने निधो गर्‍यौं । त्यहाँबाट हामी आएकै बाटो लाग्यौँ मेची नगर, चारआली तिर ।

नागार्जुन १०, स्युचाटार, काठमाडौँ
माघ १८, २०७८

तपाइँको प्रतिक्रिया