चौधौं महाधिवेशन सभापति पदमा दावी : उछिन्लान शशांकले शेरबहादुरलाई ?
एक बर्ष अघिको समय । एक पटक विराटनगरस्थित कोइराला निवास पुगौं । ३ भदौ, २०७६ मा कांग्रेस महामन्त्री शशांक कोइरालाले घोषणा गरिदिए,‘अबको महाधिवेशनमा म वा शेखरदा मध्ये एक जना सभापतिको उम्मेदवार बन्छौं । कोइरालाहरुले आफ्ना महत्वपुर्ण अभिब्यक्ति कोइराला निवास,विराटनगरबाटै दिन्छन भन्ने संकेत पनि थियो त्यो । यसअघि झिनो स्वरमा सभापति पदको चाहना ब्यक्त गरेपनि शशांकलाई धेरैले हलुका रुपमा लिएका थिए । तर दाजु शेखरलाई पनि साथै राखेर दिएको उक्त अभिब्यक्तिपछि भने उनको दावीलाई गम्भिरता पुर्वक लिन थालिएको हो । यो त्यही बिन्दु हो जहाँ उनी शेखरसँग उभिएका थिए र उनको उचाइ बढे जस्तो देखिएको थियो । त्यसपछि पटक पटक शशांक र शेखरले आफूहरुमध्ये एक जना सभापति पदमा उठ्ने दोहर्याउँदै गए । तर उक्त अभिब्यक्तिको एक बर्षपछि शशांकले दाजु शेखरको नाम लिन छाडे । र सार्वजनिक रुपमै भने,‘कोइराला परिवारबाट म नै सभापतिको उम्मेदवार हुँ, कांग्रेसको नेतृत्व अब मैले लिन्छु ।’
शशांक यतिमै रोकिएनन,‘देउवालाई शेखर दा, प्रकाशमान, विमलेन्द्र वा अरु कसैले पनि हराउन सक्दैन’ शशांकको हुँकार थियो- ‘देउवालाई यदि कसैले हराउन सक्छ भने त्यो म नै हुँ, यसैले देउवाको विरुद्घ मेरो नेतृत्वमा हामी सबै एकजुट हुनुपर्छ ।’ सभापतिमा उम्मेदवारीको घोषणा गर्नुलाई उनले आफ्नो राजनीतिक बाध्यता भनेका छन् । तर त्यो कस्तो बाध्यता हो ? उनले केही खुलाएका छैनन । तर भनेका छन,‘अब कसैको पछि लागेर मैले राजनीति गर्ने होइन ।’बुझ्न गाह्रो छैन, उनको यो संकेत रामचन्द्र पौडेलतिर हो । यसको मतलब यो समूह भित्र गहकिलो किचलो छ र शशांकको पक्षमा माहौल बन्न निकै कसरत चाहिन्छ । अर्कोतर्फ शेखर बोलेका छैनन् । उनी नबोल्नु भनेको मौन सहमती पक्कै होइन ।
एउटै सहारा, हिन्दु एजेण्डा
हिन्दु राष्ट्रको वकालतले नै वैतरणी पार गराएर सभापतिको कुर्सीसम्म पुरयाउँछ भन्ने आत्मविश्वास शशांकमा देखिन्छ । उनले आफ्नो यो एजेण्डा लुकाएका पनि छैनन् । शशांकले खुलेरै हिन्दु धर्मको पक्षमा वकालत गर्दैै आएका छन् । जनमतसंग्रह गरिए हिन्दु धर्मको पक्षमा जनमत आउने दाबी गर्दै पनि आएका छन् । तर धर्मको विषयलाई भने आउँदो महाधिवेशनमा उठाउने कुरा उनले लुकाएका पनि छैनन् । हिन्दुत्वको मुद्दामा बढ्तै जोडिएका छन् उनी । संघीयता, समावेशतिाबारे भने उनको विचार प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष खड्गप्रसाद शर्मा ओलीसंग मिल्दोजुल्दो देखिन्छ । जुन कांग्रेसको निर्णायक समूहले पत्याउन सक्ने अवस्था देखिँदैन । शशांकलाई खुमबहादुर खड्काको निधनपछि उक्त समुहभित्र रहेका कुलबहादुर गुरुङदेखि लक्ष्मण घिमिरेसम्मको सहयोग महाधिवेशनमा रहन सक्छ भन्ने आश हुन सक्छ । यो त्यो समूह हो जुन कुनै बेला कोइराला परिवारभित्रै थियो । पार्टीभित्र विचल्ली अवस्थामा रहेको यो समूहकालागि शशांक आफैंमा वरदान पनि हुन् । यो मुद्दाबाट महाधिवेशनमा मतदातालाई कति रिझाउन सक्छन् ,त्यसमै उनको भविष्य निर्भर रहनेछ । राजतन्त्रलाई फेरी ब्युँताउनुपर्ने भन्ने जेठा दाजु प्रकाशले बोकेको मुद्दामा भने उनी प्रष्ट छैनन् ।
झल्कोमात्र वीपीको
देउवा आफू सभापतिका रुपमा असफल भएर नै शशांकले उक्त पदमा दावी गरेका हुन् । देउवालाई रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र नीधि, शेखर कोइराला कसैले हराउन सक्दैनन् भन्ने उनको जिकिर छ ।
कांग्रेसलाई कोइराला परिवार त्यसमाथि वीपीपुत्र बाहेक कसैले चलाउन नसक्ने भन्दै देउवाका असफलता लिपिवद्ध गरिरहेका छन् । तर स्वयं उनले बिर्सेको कुरा के हो भने सभापति देउवासँगै महामन्त्रीका रुपमा उनको समिक्षा गर्दा नतिजा शुन्य नै आउँछ । कांग्रेस महामन्त्रिका रुपमा उनको प्रस्तुती ईतिहास मै कमजोर छ । नेपाली कांग्रेसको कस्सिएको धरातल जरैदेखि हल्लिएको छ । पार्टीको संरचना देउवाले नराम्रो सँग कोपरेका छन् । कांग्रेस पार्टी निभ्न लागेको दियो जस्तो देखिएको छ । महामन्त्रिको रुपमा शशांक पनि उत्तिकै जिम्मेवार छन् । गतिलो महामन्त्रिले सभापतीलाई ट्र्याकमा हिँडाएको ईतिहास कांग्रेस भित्रै छ । त्यसकारण उनले सोचे जस्तो सहज छैन, कांग्रेसको १४ औं महाधिवेशन । उनले एक अपील गर्नासाथ देउवा इतरबाट सभापतिको दावी गरिरहेका नेताहरु दगुर्दै उनलाई सभापति स्विकार्ने कुरा तत्कालकालागि सम्भव देखिँदैन । उनी वीपीपुत्र हुन, वीपी कोइराला होइनन् । उनी गिरिजाका भतिज हुन, गिरिजाप्रसाद कोइराला होइनन् । शशांकसँग बीपीपुत्र हुनुकोे लाभबाहेक अरु केही देखिँदैन । ‘आफुले जिते पार्टी जोगाउँछु भन्नकालागि कोइराला थर झुण्डयाएरमात्रै हुँदैन । यसकालागि स्पष्ट कार्ययोजना र एजेण्डाबारे पार्टी पंक्तिलाई बुझाउन सक्नुपर्ने हो । के छन् त उनी सँग एजेण्डा ? कसैले थाहै पाएको छैन- उनी बोक्रो छोडाएको केरा जस्तो देखिएका छन् ।
यहि विन्दुमा आएर शशांकमा आलस्यताको हद भेटिन्छ । अनुहारमा वीपीको झल्को आउँदैमा र उनले घोषणा गरेकै आधारमा कांग्रेसजनले उनलाई सभापति स्विकार्नुपर्ने बाध्यता कांग्रेसमा छ भने बेग्लै कुरा हो । नत्र कोइराला थर लाई योग्यता बनाएर यसैको बलमा बिना एजेण्डा बिना कुनै कार्यदिशा सभापतिमा उम्मेदवारी घोषणा गर्नु उनको सतहि लहड मात्र भन्न सकिन्न । विरासतवाला राजनीतिमाथि यसपटकको महाधिवेशनमा कांग्रेसजनको रुची होला कि नहोला ? सायद शशांकले नाडी छामेका छन् । पार्टी दुर्दशामा परेकोले पनि यसलाई वीपीको बाटोमा हिँडाउनुपर्छ, मसंग प्रष्ट योजना छ’ भन्न थालेका शशांकले निर्वाचित महाममन्त्रीको जिम्मेवारी पाउँदा किन आफ्नो उपस्थिती दह्रो गरी देखाउन सकेनन भन्ने प्रश्न जताततै उठेको छ । वीपीको मार्गचित्रमा पार्टीलाई हिँडाउनु त बेग्लै कुरा पार्टीको महामन्त्री र निर्वाचित सांसदको हैसियतमा शशांकले संसद, पार्टी,निर्वाचन क्षेत्र वा कुनै पनि सार्वजनिक फोरमहरुमा प्रभाव जमाउन नसकेको देखिन्छ । यतिमात्र होइन, विधि, विधान र परम्पराविपरित सभापति देउवाले लिएका कदममा शशांक मौन बस्दै आएको कुरा महाधिवेशनसम्म कार्यकर्ताको स्मरणमा ताजै हुनेछ । यस्तो स्थितीमा देउवालाई उनको अकर्मण्यताका आधारमा अस्विकार गर्ने हो भने महाधिवेशनमा मतदाताले शशांकलाई किन र केकालागि स्विकार गर्ने ?
परिवारमा वर्चश्व
कांग्रेसभित्रको परम्परागत शक्ति कोइराला परिवारभित्रका अहिलेका घरमुलीहरु हुन्, वीपीपुत्र प्रकाश कोइराला, तारिणीपुत्र ज्योती कोइराला र गिरिजाप्रसाद पुत्री सुजाता कोइराला । यी त्रय कोइराला चाहन्छन्, आगामी महाधिवेशनमा कांग्रेसको नेतृत्व फेरि कोइराला परिवारकै पकडमा आओस् । कोइराला परिवारमा अहिले मुखिया रहेका प्रकाश, ज्योती र सुजाताको रोजाई शेखरभन्दा शशांक नै हो । यदि यसो हुन नसके कुनै बेला कोइराला क्याम्पकै भरोसायोग्य पार्टीका वरीष्ठ नेता रामचन्द्र पौडेल उनीहरुको दोस्रो विकल्प हुन सक्छन् । बिर्सन नहुने कुरा के हो भने गत महाधिवेशनमा कोइराला परिवारबाट सहमतिमै शशांक पौडेलको प्यानलबाट महामन्त्रीको उम्मेदवार बने । विजयी भए । तेस्रो विकल्पमा उनीहरु छलफल पनि गर्न चाहँदैनन् । तर शशांकले पाँच वर्षसम्म पार्टी महामन्त्री र सांसद बनेर प्रदर्शन गरेको भूमिकालाई हेर्ने हो भने घर भित्रका मुखियाहरुले तेस्रो मात्र होइन चौथो र पाँचौं बिकल्पका बारेमा पनि सोच्नु पर्ने हुन्छ ।
देउवाको डर
पार्टी स्थापनादेखि नै वीपी र उनका परिवारका सदस्यहरुको हालीमुहाली रहेको कांग्रेसको नेतृत्व पाँच वर्षअघि शेरबहादुर देउवाको हातमा आइपुगेको हो । तर अबको महाधिवेशनबाट शशांकले पार्टीको लगाम फेरि कोइराला वंशको हातमा ल्याउन सक्लान् ? देउवा विरुद्द लड्न इतर पक्षबाट शशांकले सबैको धाप पाउने हो भने यसै भन्न सकिन्न । तर यसकालागि सभापति पदमा आफ्ना दाजु शेखर कोइरालाले देखाएको चाहनाको ब्यवस्थापन यसपटक शशांककालागि उति सहज छैन । यसबाहेक वरिष्ठ नेता पौडेलदेखि कृष्ण सिटौला, प्रकाशमान सिंह, अजुर्ननरसिंह केसी, रामशरण महत, महेश आचार्य, बलबहादुर केसी लगायतका प्रभावशाली नेताहरुको साथ लिन उनीहरुको राजनीतिक ब्यवस्थापन गर्ने कला शशांकमा रातारात देखिए अलग कुरा हो, नत्र तत्काल उनमा यस्तो क्षमता देखिँदैन ।
त्यसो त ‘बाहिरिया’ ले यस्तो क्षमता देखाएर शशांकलाई काँधमा बोकेर कांग्रेस मुखिया बनाउन पनि सक्छन भन्ने एकथरीको अनुमानको अर्थ छ- शशांकमा देउवालाई चुनौती दिन सक्ने हनुमान शक्ति भारतीय संस्थापनपक्षबाट आएको बुझ्न कठिन छैन । यस्तै शक्ति गणेशमानपुत्र प्रकाशमान सिंहलाई पनि आएको छ । सिंहको गुनासो शशांकसँग छ । किनभने शशांकले संसदिय दलको नेता छनौटको निर्वाचनमा सिंहलाई होइन देउवालाई नै रोजेका थिए । तर भारतीय संस्थापनपक्ष फुस्ल्याएर भएपनि सिंहलाई शशांकको ‘सेकेण्डम्यान’ बनाउने पक्षमा छ । जे हुन सक्दैन भनिन्छ, राजनीतिमा त्यो हुन असम्भव पनि छैन । देउवालाई यहि कुराको डर छ । उनलाई थाहा छ, अबको बाँकी जीवनमात्र होइन, महाधिवेशन पनि सोचे झैं नहुन सक्छ ।