प्रधानमन्त्री ओली किन कतै केहि देख्दैनन् ?
ओलीका सल्लाहकारहरुको ‘बेकामे हैसियत’
काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अपरान्ह एउटा निजी संचारमाध्यमसँग कुराकानी गर्दै फेरिपनि उहि धारणा दोहोर्याएका छन् — ‘अज्ञानता भएको ठाउँमापनि खाने कुरामा नजर नलागोस् भनेर बेसार प्रयोग गर्ने चलन छ । बेसार हालेपछि नजर लाग्दैन । मान्छेको नजर त लाग्न सक्दैन भने त्यो किटाणु(कोरोना भाइरस)को के कुरा’ ! प्रधानमन्त्रीको यो धारणा आउनासाथै तत्कालै सामाजिक संजालमा टिप्पणी र प्रतिटिप्पणी आउन थालिहाल्यो । किनभने शनिबार(अगष्ट २९) मात्रै कोरोनाकै कारण नेपालमा २० नेपालीको मृत्यु भएको तथ्यांक पुष्टि भएर समाचारमा आइसकेको थियो । शनिबारसम्ममा कोरोनाका कारण मृत्यु हुनेको संक्रमित संख्या दुई सय जना नाघिसकेको छ । प्रधानमन्त्री ओलीको कोरोना मन्तव्य आउनासाथै एकजना सक्रिय पत्रकार नारायण अमृतले टिप्पणी गरिहाले—‘सन्त्रास र संकटको भूमरी फनफनी घुमेको छ । सारा नेपाली त्राही छन् ।
राज्यप्रति विश्वास दिनानुदिन पातलिँदो छ । तर, प्रधानमन्त्रीसँग उही अहं, दम्भ र उही खोक्रा तर्कहरु छन् । ‘बेसारले मान्छेका त आँखा लाग्दैनन् भने किटाणु त के ?’ अब योभन्दा तल नझर्नुहोला प्रम ज्यू । लाज पनि लजाएर थाकिसक्यो ।’
राजधानी काठमाडौंसहित मुलुकका अधिकांश जिल्लामा कर्फ्यु सरहको निषेधाज्ञा सुरु भएको दुई साता पुग्नै लागेको छ । काठमाडौंसहित देशका अन्य शहरका अस्पताल र स्वास्थ्य केन्द्रहरु कोरोनाका बिरामीले भरिएका छन् । आइसोलेसन कक्ष र भ्यान्टिलेटर सुविधा पाउन छाडेपछि धेरैजसोले घरमैं क्वारेन्टाइनदेखि आइसोलेसन कक्षसम्म बनाउन थालेका छन् । यहि सन्त्रासको स्थितिबिच प्रधानमन्त्रीले ढुक्क बोलीमा भनेका छन्—‘यहाँ कोरोनाले मात्रै मृत्यु भएको हो भन्न सक्ने अवस्था छैन । जनतामा सचेतनामा कमी र अन्य केही कारणले गर्दा समुदाय स्तरसम्म कोरोना संक्रमण फैलिएको हो । यसमा सरकारको कुनै दोष छैन’ ।
कोरोना नियन्त्रण र परीक्षण तथा उपचारमा तदारुकताको माग राख्दै सडक आन्दोलनमा उत्रिएका ‘इनफ इज इनफ’ अभियानलाई लक्षितगर्दै प्रधानमन्त्री ओलीले भने—‘के अर्थ हो, इनफ इज इनफ को ? अब हामीलाई पुग्यो, जा कोरोना भनेको हो कि ?’ जबकि यो आन्दोलनका अभियन्ता पुकार बमलाई प्रधानमन्त्री ओली स्वयंले एक महिनाअघि भेटेर कोरोना नियन्त्रणमा सरकारी सक्रियता बढाइने आश्वासन दिएका थिए । ‘प्रधानमन्त्रीले मुलुकको यथास्थिति नदेखिरहेको यो अवस्था आफैंमा दुखद छ,’कुटनीतिज्ञ डा. दिनेश भट्टराईले नेपालप्लसलाई बताए—‘सिंगो मुलुक संक्रमणको अवस्थामाझ गुज्रिरहेको छ, यसबेला यो असहज स्थिती नियन्त्रणमा पहल देखिनुपर्नेमा प्रधानमन्त्री स्वयं नचाहिँदा कुरामा बहस गर्दै समय खर्च गरिरहनुभएको छ ।’
गएको चैत महिनादेखि सुरु भएको कोरोना संक्रमण र बढ्दो भयावह स्थितिका माझ आम जनतालाई सेवा–सुरक्षा, स्वास्थ्यको ग्यारेन्टी र जीविकोपार्जनको उपाय नदिँदा रोगसँगै अब भोकले पनि आम नागरिकको ज्यान जान सक्ने स्थिती डा. भट्टराईले औंल्याए । ‘तर, वरिपरिको यो त्रासद स्थिती देख्न नसकेको अवस्था र यो संकटमा सल्लाहकारको भूमिका समेत नदेखिनु आफैंमा अनौठो छ, पूर्व प्रधानमन्त्री शुशिल कोइरालाका परराष्ट्र मामिला सल्लाहकारसमेत रहेका डा. भट्टराईले भने ।
कहाँ छन् सल्लाहकार ?
सधैं बेसुरा झैं मन्तव्य राख्ने र हास्यब्यंग्यमैं बढि रुची राख्ने प्रधानमन्त्री ओलीले पछिल्लो चरणमा भारतीय राष्ट्रिय निस्सा ‘सत्य मेव जयते’लाई अपभ्रंस गराएर ‘सिंह मेव जयते’ बनाएको र राम अयोध्याभूमी नेपालमैं रहेको भनेर बोलेपछि उब्जिएको बिग्रहमा परराष्ट्र मन्त्रालयले ‘क्षमा’ माग्नुपरेको थियो । तर, क्षमा मागिसकेपछि पनि प्रधानमन्त्री ओलीले राम जन्मभूमी नेपालमैं रहेको भन्ने दावी फेरि पनि गरिरहेकै छन् । पछिल्ला दिनमा प्रधानमन्त्री ओली लहडी बनेर बोलिरहेको सन्दर्भमा उनका सल्लाहकारको पनि खोजी हुन थालेको छ । प्रत्यक्ष देखिने उनका सल्लाहकारमा प्रमुख रुपमा बिष्णु रिमाल, परराष्ट्र मामिला डा. राजन भट्टराई, प्रेस मामला सूर्य थापा, बिज्ञान–प्रविधि अस्गर अली जस्ता नामहरु बाहिर आइरहेकै छन् । तर यी नामहरु पनि कहिले सार्वजनिक अभिव्यक्ति वा कहिले अरु कारणमा विवादमा पर्दै आएका छन् ।
यसैबीच, यो साता फेरि एकजना सल्लाहकारको नाम राष्ट्रिय जासुसको श्रेणीमा सप्रमाण दह्रिएर आएपछि प्रधानमन्त्री कार्यालयको अर्थ र हैसियत स्पष्ट भएको देखिन्छ । ‘प्रधानमन्त्रीका सल्लाहकार नै जासुसीको आरोपमा मुछिएपछि’ शिर्षकमा सत्तारुढ खेमाकै अनलाइनमा एक समाचार छापिएपछि सल्लाहकार डा. राजन भट्टराईको नाम र काम प्रधानमन्त्रीसँग जोडिएर बद्नाम हुने क्रममा छ । समाचार अनुसार, प्रधानमन्त्री ओलीका परराष्ट्र मामला सल्लाहकार डा. भट्टरााई माथि ‘रिसर्च अन नेपाल–इन्डिया रिलेसन’का लागि चिनियाँ दुतावासबाट सन् २०१७ अक्टोबर १५ मा १५ लाख रुपैंया लिएको आरोप लागेको छ ।
त्यसबेला भट्टराई नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपीजी) मा नेपाली टोलीका सदस्य रहेर काम गरिरहेका थिए । त्यसबेला उनी २०७४ सालमा भएको संघीय निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ४ बाट एमाले उम्मेद्धार समेत बनेका थिए । पूर्ववर्ती प्रधानमन्त्री माधवकुमार नेपालका पालामा समेत परराष्ट्र सल्लाहकार रहेका भट्टराईले इपीजी टोलीमा रहेकै बेला कतिपय सूचना र दस्तावेज समेत चिनिया पक्षलाई उपलब्ध गराएको आरोप उनले अहिले खेपिरहेका छन् । यो भनाइलाई ‘निराधार र कपोलकल्पित’ भनेर भट्टराईले खण्डन गरेपनि उनकै नेकपा दलका सांसद र नेताहरुले यो प्रकरणमा छानविन हुनुपर्ने सरोकार उठाइरहेका छन् । सल्लाहकारको भट्टराईको फोन नम्बर, हस्ताक्षर समेत मिल्दो लेटर प्याडमा १५ लाख रुपैंया बुझेको प्रमाणसहितको कागज बाहिरिएपछि प्रधानमन्त्री कार्यालयको हैसियत र स्थिती सार्वजनिक भएको हो । यहि प्रकरणमा सांसद रामकुमारी झाँक्रीले उक्त समाचारको लिंक ट्वीटरमा राख्दै शुक्रबार बिहान प्रधानमन्त्रीका प्रमुख सल्लाहकारलाई सम्बोधन गर्दै ट्वीट गरेकी छिन्—‘के हो यो बिष्णु रिमाल काकु ?’
रिमाललाई प्रमुख सल्लाहकारका रुपमा उनले जिज्ञासा राखेपनि यसको प्रत्यक्ष जवाफ भने आएको छैन । र, यसबारे छानविन पनि हुन सकेको छैन । उनै राजनीतिक सल्लाहकार रिमालले ट्वीटमा लेखेका छन् —‘सार्वजनिक पदमा रहेका आफ्ना प्रतिष्पर्धीको चरित्र शिकार गर्न शिकारीको छद्म लगानीमा संचालित ‘पानी अनलाइन’ मार्फत चरित्र हत्या गर्न रचिएको कथा सार्वजनिक गरिन्छ । शिकारीहरुले सार्वजनिक ओहोदामा रहेका दर्जनौं व्यक्तिहरुको चरित्रको शिकार गरिसकेका छन् । यो श्रृङ्खलाको पछिल्लो ‘टार्गेट’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईलाई बनाइएको छ । प्रधानमन्त्री कार्यालयका आइटी बिज्ञ अस्गर अलीले आफूले मनखुशी रुपमा बिभिन्न पोर्टल ‘ह्याक’ गर्ने गरेको खबर पुष्टी भैसकेको छ भने प्रेस सल्लाहकार सूर्य थापा समेत प्रमको ट्वीटर ह्यान्डलमा चिप्लने गरेका उदाहरण आइरहेकै छन् । ‘अरुभन्दा कुटनीतिक संवेदनशिलता र जनताको प्रत्यक्ष जीवनमा जोडिएको स्वास्थय मामलामा प्रधानमन्त्रीले बेसार टाइपका मन्तव्य नराखिदिए हुन्थ्यो भन्ने हो,’कुटनीतिज्ञ डा. दिनेश भन्छन्—‘तर यसो हेर्दा लाग्छ, प्रधानमन्त्री अरु कसैको कुरा सुन्नुहुन्न । न सल्लाहकारलाई छेउ पर्नै दिनुहुन्छ । उहाँ निरो बाँसुरी बजाइरहेछ शैलीमा एक्लै हिँडिरहनुभएको छ ।
प्रधानमन्त्रिको यो शैली भयानक छ । कुनै बेला गिरिजाप्रसाद कोइरालाको यस्तै शैली थियो । देशले उनको जनता अवज्ञाको मुल्य पटक पटक तिर्यो । केपी ओली अझ भयानक बाटोमा छन् । कोइराला भन्दा झनै माथि । यिनका भित्रिया भनिएका सबै भारदारहरु कुनै न कुनै काण्डमा फसेका छन् । देश रित्याउने खेल चलेको छ । उखान टुक्का छरेर महामारिको औषधी भेटिने हो भने छुट्टै हो नत्र प्रधानमन्त्रीले किन केही देख्दैनन ?