शनिबार, मंसिर ८, २०८१

यसरि सुधार्न सकिन्छ त्रिभुवन विश्वविद्यालयको अवस्था

डा. प्रशान्त ध्वज अधिकारी२०८० असोज २० गते २१:३८

भनिन्छ, घर-परिवार हुँदै समाज र देशलाई असफल पार्न अरु केहि गर्नु पर्दैन, शिक्षा क्षेत्रलाई ध्वस्त पारिदिए पुग्छ। यो क्षेत्र ध्वस्त भए राज्यका हरेक अंग बिस्तारै आफैँ तहस-नहस हुँदै जान्छन । त्रिभुवन विश्वविद्यालयको केन्द्रिय परिसर अध्ययन, अध्यापन र अनुसन्धानको निति, नियम, नयाँ-नयाँ कार्यक्रम विकास र तर्जुमा गर्ने थलो हो। तर यो स्थान अनसन, तालाबन्दी, घेराबन्दी, बन्दबिरोध गर्ने ठाउँको रुपमा विकासित हुँदैछ। यो केन्द्रिय रोग यसको आंगिक क्याम्पसहरुसम्म पुगिसकेको छ।

विश्वविद्यालयको पदाधिकारीहरु, आंगिक क्याम्पसहरुका प्रमुख, सहायक प्रमुख सब राजनीतिक पार्टीहरुले भागबन्डाका आधारमा नियुक्ति गर्ने चलन बसिसकेको छ। तर, कुनै अमुक पार्टीले आफ्नो भाग नपाए, स्वयं प्राध्यापक र कर्मचारीले आफ्ना पार्टीमा आबद्द विध्यार्थी संगठनलाई बिरोधमा उतारी भाग लिने बानी परिसकेको छ। यो रोग राज्यका हरेक क्षेत्रमा बिस्तार र विकास हुँदैछ।

स्वबियु, विधार्थी नेता र प्राध्यापक संघ-संगठनका नेताहरुको विश्वविद्यालयमा एक किसिमको दबदबा छ। किनकी, यिनीहरुलाई नै सत्तासिन वा ठुला राजनीतिक पार्टीहरुले आफु अनुकुल उपयोग एक-आपसमा गर्ने गर्छन। राजनीतिक पार्टीहरुले त्रिवीवीलाई यसरी नै हस्तपेक्ष गर्दै जाने र आफ्ना विध्यार्थी संगठन वा स्ववीयुलाई यही तरिकाबाट समर्थन गर्ने हो भने त्रिवीवी र आंगिक क्याम्पसहरु थप धरासायी हुनेछन् ।

विश्वविद्यालय भनेको अनुसन्धान केन्द्र हो । विश्वका विकासित मुलुकमा संचालन गरिएका विश्वविद्यालयमा कुनै पनि समूहको राजनीतिक हस्तपेक्ष हुँदैन । वातावरणलाई शैक्षिकमय बनाइएको हुन्छ । यसले गर्दा नै तिनीहरुले विश्वमा आफ्नो छबि बनाउन सफल भएका छन।

त्रिभुवन विश्वविद्यालयको बर्तमान अवस्था

त्रिभुवन विश्वविद्यालयको स्तर सुधार तब हुन्छ, जब अहिले भोगेका चुनौतीहरुलाई पार गर्दै अघि बढ्न सकिन्छ। तर, बर्तमान अवस्थामा त्रिवीवीको शैक्षिक वातावरण धेरै नै बिग्रिसकेको छ। विश्वविद्यालयहरुमा शिक्षाको अवस्था सुधार गर्न सम्झनुपर्ने पक्ष भनेको साना साना सुधारबाट ठूला ठूला समस्या समाधान हुनसक्छन् कि भन्ने हो । यस लेखमा उच्च शिक्षाको क्षेत्रमा आवश्यक संरचनात्मक परिवर्तनभन्दा पनि अहिलेका कानुनभित्र रहेर संगठन भित्रैबाट सुधार्न सकिने कामका बारेमा बहस गर्नु रहेको छ।

यसो भनेर उच्च शिक्षामा संरचनात्मक सुधार आवश्यक नै पर्दैन भन्ने पनि होइन। यदि अब पनि स्तर नसुधार्ने हो र यही अवस्थाबाट अघि बढे धेरै केन्द्रिय बिभागहरु नै बन्द हुने छन । जसले गर्दा बिध्यार्थी नपाई, यो संस्थामा आबद्व कर्मचारी र प्राध्यापकहरुले हाजिर गरी तलब खाने दिन आउने छ। यो बेला राजनीतिक पार्टीहरुमा आबद्व विध्यार्थी संगठनले कहाँ गएर होला राजनिति गर्ने? विश्वविद्यालयहरुका केहि वर्षका तथ्यांक हेर्ने हो भने, अधिकांश विश्वविद्यालयहरुमा कम संख्यामा नयाँ भर्ना हुने र भर्ना भएपनि बिचमै छोड्ने विध्यार्थी संख्याको सूचांक धेरै नै उकालो लाग्दो छ ।

त्यसो त, विश्वविद्यालयमा विद्यार्थी संख्या घट्नुका विभिन्न कारण छन् । अहिलेका पुस्ता वा विद्यार्थी पूरै समय विद्यार्थी मात्रै नभएर आय-आर्जनका निम्ति श्रमसँग जोडिने मानसिकताका छन । किनकी उनिहरु परनिर्भर हुन रुचाउँदैनन्। अर्को कुरा समाजसँग सम्बन्धित छ । बाहिर मात्रै भविष्य छैन, हामीकहाँ भएका विषय पढ्दा पनि भविष्य छ भनेर विद्यार्थी, अभिभावकलाई विश्वास गर्ने वातावरण हामीले निर्माण गर्न सक्नुपर्थ्यो, तर त्यसो हुन सकेन। नेपालमा रहँदा आयस्रोत पनि नहुने, आंशिक काम गर्दै पढ्ने अवस्था पनि नहुने।

तर, आकांक्षाहरू विश्वव्यापी हुने भएपछि राम्रो अवसरको खोजी गर्दा जहाँ भविष्य सुरक्षित देख्छन् त्यतै जान्छन। यस बाहेक, विश्वविद्यालयबाट उत्पादित जनशक्ति व्यवस्थापन गर्न सबै जिम्मेवार हुनुपर्थ्यो। सरकारले आवश्यक ठाउँमा दरबन्दी खोल्ने र विश्वविद्यालयले पनि लोक सेवा वा राज्यलाई हामीले पढाएको यो विषयको उपादेयता छ, त्यसको लागि दरबन्दी हुनुपर्छ भनेर पहल गर्नुपर्थ्यो, त्यो पनि हुन् सकेन।

शिक्षा आर्जन गर्ने देशकै सरकारी र नेतृत्वदायी प्रमुख शैक्षिक धरोहर पार्टीमा आबद्व नभएका बौद्धिक प्राध्यापकहरुलाई छोडेर राजनीतिक पार्टीहरुको कार्यकर्ता उपकुलपति, शिक्षाध्यक्ष, रजिस्ट्रार, डीन, कार्यकारी निर्देशक, परीक्षा नियन्त्रक र क्याम्पस प्रमुख बन्छन् भने तिनले गुणस्तरीय शैक्षिक र प्राज्ञिक संस्था बनाउँछन् भन्ने बिश्वास राज्यको लागि गम्भिर त्रुटि थियो। यसको निरन्तरतामा राज्यले सच्याउनुपर्ने हो, तर यी शैली झन-झन मौलाउँदो छ।

हालसालै प्रकासित ‘टाइम्स हायर एजुकेसन’ को २०२४ को सर्वेक्षणले विश्वभरका विश्वविद्यालयमा त्रिविवीको स्थिति हजारभित्र पनि सूचीकृत नभएको देखाएको छ। यस सर्वेक्षणका लागि विभिन्न मापदण्डहरु राखिएका हुन्छन। जस्तो-विद्यार्थी संख्या, प्राध्यापक, कर्मचारीको विवरण, जग्गाजमिनलगायत भौतिक संरचना, शिक्षण विधि, अनुसन्धान कार्यलाई अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशन, जर्नलमा प्रकाशित लेखको महत्व-साइटेसन, विदेशी प्राध्यापक र विद्यार्थी, आर्थिक गतिविधि, अन्तर्राष्ट्रिय छवि इत्यादि । यि विषयहरुलाई समेट्न पहिला विश्वविद्यालय भित्र स्वच्छ शैक्षिक वातावरण हुनुपर्यो।

माथि उल्लेखित धेरै समस्या निम्त्याउने कारक चाहीँ राजनीतिक नै हो। शैक्षिक संस्थासँग राजनिति नजोडिन प्रधानमन्त्री र शिक्षामन्त्रीले लिइने विश्वविद्यालयका उपाधि हटाउन पनि ढिलो भैसकेजस्तो लाग्छ। सकिन्छ भने अहिले रहने उपकुलपतिलाई नै विश्वविद्यालयको अध्यक्ष बनाउँ र उनैलाई विश्वविद्यालयको सबभन्दा उच्च तह मानौं। विश्वका धेरै विकसित देशमा यस्ता अभ्यास पनि पाइन्छन् । राजनीतिक नेतृत्वले यस्ता त्रुटिहरुलाई सच्याउने हो भने पनि त्रिवीवीको अहिलेको अवस्थालाई सुधार गर्दै विश्वविद्यालयको स्तर उकास्न सकिन्छ।

त्रिभुवन विश्वविद्यालयको स्तर र चेएर प्रोफेसर

आज संसारमा विश्वविद्यालयबाट सेवा निबृत्त भएका प्राध्यापकका प्रोफाइल हेरिन्छ । उनीहरुको अनुसन्धान र अरु शैक्षिक गतिबिधि उत्कृष्ठ छ भने चेएर प्रोफेसरको रुपमा नियुक्ति दिने चलन छ। यही विधिबाट चीन, कोरिया, ब्राजिल, मलेसिया, साउदी अरब, पहिलाको सोभियत राज्यहरु, ताईवान र अन्य रास्ट्रहरुले आपनो विश्वविद्यालयलाई उत्कृष्ठ बनाउँदै लगेका छन। अझ हाम्रो जस्तो राजनीतिले तहस-नहस पारेको शिक्षा क्षेत्रलाई, यो अवस्थाबाट माथि उठाउन यस्ता प्रोफेसरलाई केहि समयसम्म भित्र्याउन सकिन्छ कि भनि यो लेखलाई यहाँ उठान गरिएको हो।

सेवा निबृत्त जीवन, नयाँ ठाउँ र आपनो वैभव देखाउन, सिकाउन उनीहरु तयार हुने भएकोले हाम्रा जस्ता देशको लागि सानो रकम वा रकम बिनापनि वातावरण भएमा यस्ता प्रोफेसर आउन वा बाहिरबाट झिकाउन सक्ने स्थिति छ। अझ हाम्रो जस्तो राजनीतिक खिचातानिमा परेको विश्वविद्यालयलाई यसबाट जोगाउने उतम उपाय यो पनि हुनसक्छ, किनकी हामीकोमा बौद्विक भनिने प्राध्यापक पनि कुनै न कुनै पार्टीमा आबद्व हुने भएकोले जो नेतृत्वमा पुगे पनि बिरोध आउन सक्ने स्थिती छ। म स्वयं पनि यस्तै चेएर प्रोफेसरको अन्डरमा पि एच डी गर्ने सिलसिलामा ताईवान रास्ट्रिय प्रबिधि विश्वविद्यालयमा जोडिन पुगेको हुँ।

सुपरभाईजर जापानिज महिला प्राध्यापिका, तर जापानबाट रिटायर्ड हुनै लाग्दा ताइवानको यस विश्वविद्यालयसँग आबद्व हुन पुग्नुभयो। त्रिवीवीका केन्द्रिय बिभाग वा अन्य निकायमा यस्ता चेएर प्रोफेसरलाई छोटो समयसम्म राख्न सके पनि संगठनसँग बिदेशी प्राध्यापक पनि रहेको सन्देश जाने र यसले बिदेशी विद्यार्थीलाई आकर्षण पनि गर्न सक्ने आधार बन्न सक्छ। त्यो भन्दा महत्वपूर्ण शैक्षिक वातावरण कायम गर्न चाहिने आचरणगत र कार्यशैलीगत पक्षमा गरिने गतिबिधिको भूमिका कस्तो हुन्छ भनि सिक्ने अवशर पनि संगठनलाई प्राप्त हुने छ। किनकी, यस्ता सुधारबाट हासिल गर्न सकिने नतिजा पनि महत्वपूर्ण पाटो हुन्छ भन्ने चाहीँ हामीले भुल्न हुन्न।

अर्कोतिर यस्ता ब्यक्ति विश्वविद्यालयमा जोडिएमा अन्तर्राष्ट्रिय स्तरमा देशप्रति गलत सन्देश जाने डरले अहिलेको निरन्तरतामा क्रमभंगता हुनपनि सक्ला । मेरो सुपरभाइजरलाई धेरै वर्षपछि एक अन्तर्राष्ट्रिय मन्चमा फेरी भेट्ने मौका पाएँ। कफि गफमा गुरुआमाले ‘आपना धेरै विध्यार्थी प्रोफेसर भैसकेका, तिमी पनि नेपालको विश्वविध्यालयसँग जोडिएको हेर्न चाहन्छु’। हिजो विध्यार्थीकालमा पनि भनिराख्नुहुन्थ्यो, फेरी पनि भन्नुभयो। यो बिचमा अन्तिम बिन्दुसम्मका अन्तर्वार्ताहरुमा आफू पुगे पनि नेपालको विश्वविद्यालयसँग जोडिन नसकेको, तर नेपालका निजी कलेजको उच्च प्रोग्राममा अनलाईन वा भौतिक उपस्थितिमा कक्षा लिईरहेकोले नेपालको शिक्षा क्षेत्रसँग सम्बन्ध चाहिँ नटुटेको बताएँ ।

कता-कता नेपालको विश्वविद्यालयसँग गुरुआमा जोडिन चाहनुभएको त हैन जस्तो लाग्यो। प्रख्यात प्राध्यापकले विश्वविद्यालयको मात्र स्तर बढाउने हैन, स्वयमसंग आबद्व व्यक्तिहरुको पनि स्तर बढाउन सहयोग पुर्याउँछन। आफू स्वयं पनि यो मामिलामा भाग्यमानी ठान्छु। किनकी, एक अनुसन्धानकर्तालाई आवश्यक पर्ने शिप प्राप्त गर्न सके जस्तो अनुभूति चाहिँ अहिलेसम्म मलाई पनि भैरहेको छ।

अन्त्यमा, समाज बदल्ने हो भने नीति निर्मातादेखि, शिक्षक एवं विद्यार्थी र आमनागरिक सबैलाई अध्ययन गर्ने संस्कार बसाल्नुपर्छ । जसले विषयवस्तु बुझ्न र मनन् गर्न सहयोग पुगोस। मुलत; संबृद्धिका सपना पुरा गर्न व्यावहारिक आकार नपाईनाले पनि हामी अनेकौं उल्झनमा फस्दैछौं । आम नागरिकलाई शिक्षा र स्वास्थ्यमा निःशुल्क सेवासँगै आय-आर्जनका योजनामा गाँसिदिए मात्र पनि विकासका अन्य बाटाहरु फराकिला हुँदैजाने र शिक्षा क्षेत्रका अरु धेरै बाधा पनि आफैं खुल्दै जाने थिए।

तपाइँको प्रतिक्रिया