शनिबार, फागुन १७, २०८१

जनतासित सरोकारै नराखिएको संविधानसभा

सरोज बराल२०८१ फागुन १७ गते ०:३३

वि.सं२०६२/६३ मा आन्दोलन हुँदैगर्दा देश र जनताको लागि नेपाली कांग्रेस वा नेकपा (एमाले) ले देशको लागि केही गर्छन् भन्ने त लागेकै थिएन । तत्कालीन नेकपा (माओवादी) ले जनताको पक्षमा केही गर्ला कि भन्ने आशा चाहिँ धेरैलाई थियो । मलाई पनि थियो । २०६३ साल बैशाख ११ गतेको घोषणालाई दलहरुले विजय भएको घोषणा गरेर १२ गते इनरुवा सुनसरीको विजय जुलुसमा म सहभागी भइँन । स्थानिय व्यापारी सुरेश शर्माको पसलमा बसेर जुलुस हेर्दैथिएँ । केही साथीहरुले विजयको अबिर लगाउन खोज्दैगर्दा मैले मानिनँ । कारण राजा नारायणहिटीमा राखेर गरिएको सम्झौता र उनै राजाले पुनर्स्थापना गरेको संसदमा जानू कसरी विजय हो भन्ने लागेको थियो ।

इनरुवामा भएको जुलुसमा सबैभन्दा पहिले ‘गणतन्त्र नेपाल-जिन्दावाद’ नारा लगाउने चिरञ्जीवी रेग्मी र म थियौं । ६३ को जेठ १५ गते संसदले राजतन्त्र निलम्बन गर्दै केही घोषणाहरु गर्‍यो । मैले विजय जुलुस ठिक होइन भनेर गलत पो गरें कि भन्ने लाग्यो ।

पछि भएको संविधानसभा निर्वाचनमा मैले नेकपा (माओवादी) भोट हालें । ऐतिहासिक संविधानसभाको निर्वाचनमा भोट दिन पाउँदा खुशी पनि लाग्यो । आफूले भोट हालेको उम्मेदवारले नजिते पनि ।

संविधानसभाको निर्वाचनपछि एकपटक सभासदहरु जनताको चाहना के कस्तो छ भनेर बुझ्न केही प्रश्नहरु लिएर आएका थिए । ती प्रश्नको जवाफ के कस्तो थियो भन्ने जानकारी कहिल्यै पनि बाहिर आएन र त्यसपछि कुनै विषयमा पनि छलफल गर्न जनता समक्ष कहिल्यै कोही आएन । अब त संविधानसभामा संविधानमा राखिने बुँदाबुँदामा छलफल होला र त्यहाँबाट हरेक धाराहरु सभासदहरुको खुल्ला मत सहित पास हुँदैजाला, त्यहाँ व्हिप नलाग्ला कि भन्ने झिनो आशा थियो । तर संविधानसभामा कुनै दिन र कुनै विषयमा पनि छलफल भएको थाहा पाइएन ।

दोश्रोपटक कथित (कथित किनभने त्यहाँ संविधानमा के र कस्तो लेख्ने वा राख्ने विषयमा छलफल नै हुँदैन थियो ।) संविधानसभाको चुनाव भयो । न चुनावको उम्मेदवारले यस्तो संविधान बनाउने भनेर भोट मागे न त भोट दिने जनताले नै यसमा सरोकार राखे । पछि एकैचोटी संविधानसभाबाट व्हिप जारी गर्दै पास गरेर संविधान जारी गरियो । संविधानसभाबाट व्हिपको आधारमा पास गरेर जारी भएपनि यो संविधानसभाले बनाएको संविधान हुँदै होइन । त्यसकारण यसमा मेरो कुनै अपनत्व छैन ।

कथित संविधानसभामा संविधानमा केकस्तो व्यवस्था कायम गर्ने भन्ने बारेमा कहिल्यै छलफल भएन । तर सत्ताको छिनाझपटी मै मस्त रहे । हरेक ९, १० महिनामा सत्ताको फेरबदल मात्र भइरह्यो । अरु कुराहरुमा कहिल्यै मतैक्यता नभएपनि तलब सुविधा बढाउने कुरामा सधै सर्वसम्मतले पास हुने गर्दथ्यो । आफूलाई सत्तामा पुर्‍याइदिन भारतिय सत्तापक्षलाई हारगुहार गर्न पुग्दथे ।

त्यो बखत बनेका सरकार प्रमुखहरुमध्ये सुशील कोइरालालाई मात्र भारत भ्रमणको निम्तो आएन । हुन त अन्तै कतैबाट बनेर आएको संविधान भएतापनि उनैको पालामा यो संविधान जारी भयो । भारतीय स्वार्थभन्दा अलिक पर युरोपियन युनियनको स्वार्थमा बनेको संविधान भएर होला भारतिय नाकाबन्दीको सामना नेपालले गर्नु परेको थियो ।

संविधानसभा भनेर पनि सत्ताको छिनाझपटी र हाम्रा नेताहरुको भारत दौडाहा देखेर यस्तो लाग्थ्यो कि यी नेताहरु एउटा स्वतन्त्र देशको प्रधानमन्त्री हुन् कि कुनै एउटा भारतिय राज्यको मुख्यमन्त्री ! भारत भ्रमणमा जाँदा उनीहरुलाई स्वागत गर्न एयरपोर्ट आउने व्यक्ति होस् या एउटा सहसचिव स्तरको कर्मचारी (राजदूत) भेट्न जानेहरुको ताँती, यो सबै देख्दा यी नेताहरुले राष्ट्रियता र नेपालित्वलाई अन्तै कतै बन्धक बनाएको प्रष्ट हुन्थ्यो । हाम्रै नेताहरुको कारण नेपालमा भारतिय हस्तक्षेप होइन, हाम्रैले हस्तक्षेप गर्न लगाउँदा रहेछन् भन्ने बेलाबेलामा एस डि मुनि, अशोक मेहता, श्याम शरण हरुको भनाइले पनि प्रष्ट हुन्थ्यो ।

यतिबेला चाहिँ मलाई महशुस हुन थालेको थियो “राजालाई पो राजा रहिरहन देश चाहिँदो रहेछ, यी नेताहरुलाई त देश रहे पनि मुख्यमन्त्री र देश नरहे पनि मुख्यमन्त्री । राष्ट्र जोगाउने हो भने राजा नै चाहिने रहेछ भन्ने लाग्न थाल्यो ।

हो, जनताको छोरो नै राष्ट्रप्रमुख हुने व्यवस्था नै उत्तम त हो । तर हाम्रो जस्तो दुई टूला र शक्तिशाली देशको बिचमा रहेको भुपरिवेष्ठित देशमा, जहाँ भारतको अत्याधिक प्रभाव रहेको अवस्थामा हाम्रो राष्ट्रियता, स्वाभिमान, राष्ट्रिय एकता र स्वतन्त्र अस्तित्वलाई जोगाइराख्ने हो भने राजतन्त्र नै आवस्यक हुने रहेछ । बिपि कोइरालाले त्यत्तिकै राजासँग आफ्नो गर्धन जोडिएको भनेका होइन रहेछन् ।

सुनेअनुसार नेपाली कांग्रेसले गणतन्त्रमा जाने निर्णय गरेको समाचार लिएर सन्त नेता कृष्णप्रसाद भट्टराईलाई सुनाउन रामचन्द्र पौडेल गएका थिए । उनले यो समाचार सुनाउनासाथ सन्त नेताले हातले लोप्पा खुवाउँदै “यी खाइस् बाहुन । सम्हाल्न सक्छौ अब आउने अवस्थालाई ?” भनेर गाली गर्दै पठाएका थिए । हो, होइन उनै जानुन् । तर अहिले प्रष्ट देखिंदैछ, यिनीहरूले देशलाई सम्हाल्न सकेका छैनन् ।

तपाइँको प्रतिक्रिया