एनआरएनए फ्रान्सको महाधिवेशन आइतवार, तयारी तिब्र
गैर आवासीय नेपाली संघ फ्रान्स (एनआरएनए फ्रान्स) को भोली आइतवार २७ जुलाईका दिन हुने ११ औं महाधिवेशनको तयारी लगभग पुरा हुन लागेको छ ।
११ औं महाधिवेशनकालागि कार्यकारी समितिले निर्वाचन समिति, निर्वाचन अनुगमन तथा पर्यवेक्षण समिति, हलको ब्यवस्थापन, सहभागी र आगन्तुकहरुलाई स्वागत तथा अधिवेशनको बन्द सत्र, नयाँ कार्य समितिको निर्वाचन, ब्यवस्थापन लगायतका सम्पूर्ण तयारी गरेको एनआरएनए फ्रान्सका महासचिव महेन्द्र अधिकारीले जानकारी दिए ।
एनआरएनए फ्रान्सको ११ औं महाधिवेशनका लागि हामीले निर्वाचन समिति, निर्वाचन अनुगमन तथा पर्यवेक्षण समिती र महाधिवेशनका लागि गर्नुपर्ने सम्पूर्ण तयारी लगभग पुरा गरेका छौं । हाम्रो बुझाई आगामी समिती सर्वसम्मतिमा बनोस भन्ने छ र हामी त्यसैका लागि जुटेका छौं’ एनआरएनए फ्रान्सका वरिष्ठ उपाध्यक्ष दिलिप गुरुङले नेपालप्लससित भने ।
निर्वाचन स्वतन्त्र र निस्पक्ष ढंगबाट पुरा गर्न एनआरएनए फ्रान्सले ददि सापकोटाको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिती गठन गरेको छ जसमा सदस्य सचिव ओम गौचन र सदस्यहरुमा जिता कटुवाल, नन्द थेबे र आभाष आचार्य छन ।
ददि सापकोटा लेखक र पत्रकार हुन भने ओम गौचन म्याग्दी समाज फ्रान्स (मोना फ्रान्स) का अध्यक्ष, जिता कटुवाल नेपाली एकता समाज फ्रान्सकी अध्यक्ष, आभाष आचार्य ईनास फ्रान्सका अध्यक्ष र नन्द थेबे नेपाली सांस्कृतिक गृह, फ्रान्सका अध्यक्ष हुन ।
त्यसैगरी एनआरएनए फ्रान्सले निर्वाचन निस्पक्ष र स्वतन्त्र ढंगले पुरा गर्न एनआरएनए फ्रान्सकी संस्थापक सदस्य अनुराधा पौडेलको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन अनुगमन तथा पर्यवेक्षण समिती पनि गठन गरेको छ । समितिका अन्य सदस्यमा हरी प्रसाद सापकोटा र गोर्खाली समाज, फ्रान्सका अध्यक्ष संजिव देवकोटा छन ।
निर्वाचन समिती र निर्वाचन अनुगमन तथा पर्यवेक्षण समितिको पटक पटक शशरिर र अनलाईनबाट बैठक बसेको जानकारी समितिले दिएको छ । शनिवार मध्यान्हमा पनि निर्वाचन समिती र निर्वाचन अनुगमन तथा पर्यवेक्षण समितिका केहि सदस्यको शशरिर बैठक बसेको थियो ।
एनआरएनए फ्रान्सको महाधिवेशनका लागि एनआरएनए केन्द्रिय समितिलाई प्रतीनिधि खटाउन पत्राचार गरिए पनि हालसम्म केन्द्रले कुनै जवाफ नदिएको गुनासो समितिले गरेको छ ।
गैर आवासीय नेपाली संघको हक, हित र एकताको लागि केन्द्रले अभिभावकिय जिम्मेवारी पुरा गर्नुपर्नेमा उल्टै एनआरएनए फ्रान्सलाई फुटाउने काममा भूमिका खेलेको भन्दै गुनासो समेत गरिएको छ ।
आइतवार हुने महाधिवेशनका लागि फ्रान्सस्थित गैर आवासीय नेपालीका आधा दर्जन भन्दा बढी संस्थाका नेत्तृवकर्ताहरुले साथ र समर्थन जनाएका छन । आइतवार हुने महाधिवेशनका लागि गैर आवासीय नेपाली संघ फ्रान्समा पाँच सय ७९ जना सदस्य बनेका छन ।
निर्वाचन निष्पक्ष ढंगले पुरा गर्न निर्वाचन समिती लागि परेको निर्वाचन समितिका सदस्य ओम गौचनले बताए । ‘यो निर्वाचन निस्पक्ष ढंगले हुनुपर्छ भनेर हाम्रो समिती लागेको छ । हामीले अधिकांश काम पुरा गरेका छौं । निर्वाचन अघिसम्म सबै पुरा गर्छौं । निर्वाचनलाई निस्पक्ष ढंगले पुरा गर्छौं’ गौचनले भने ।
महाधिवेशन दिउँसो दुई बजेबाट लाकुर्नभमा शुरु हुँदै छ ।