आइसल्याण्डमा प्रिमियरसँगै छोटो चलचित्र ‘जाली भान्जा’ सार्वजनिक
प्रसुन फिल्म्सको प्रस्तुति रहेको छोटो चलचित्र “जाली भान्जा” आइसल्याण्डस्थित नेपाली समुदायका बीच विशेष प्रिमियर कार्यक्रममार्फत प्रदर्शन गरिएको छ । त्यसपछी यो फिल्मा युट्युबमार्फत सार्वजनिक गरिएको छ।
प्रिमियरमा सहभागी दर्शकहरूले चलचित्रको कथा, प्रस्तुति तथा मनोरञ्जन पक्षको प्रशंसा गर्दै छोटो चलचित्र निकै राम्रो लागेको प्रतिक्रिया दिएका छन । चलचित्रमा देखाइएको नेपालको परम्परागत नेपाली गाउँघरको परिवेशले आफूहरूलाई आफ्नै गाउँघर पुगेको अनुभूति भएको प्रतिक्रिया समेत दर्शकहरूले दिए। दर्शकहरूको सकारात्मक प्रतिक्रियाले फिल्म निर्माण टोली उत्साहित बनेको बताएका छन ।
निर्देशक प्रकाश तिवारी ‘पिके’ ले “जाली भान्जा” मुख्य रूपमा गाउँघरको परिवेश, सोझोपन, सम्बन्ध र मान्छेको व्यवहारलाई हल्का व्यंग्यात्मक तथा मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छोटो चलचित्र भएको बताएका छन्। चलचित्रमा एउटा चलाख भान्जा र सोझो मामाको यात्रामार्फत विश्वास, छलकपट र मानवीय स्वभावलाई देखाउने प्रयास गरिएको छ।
यसअघि विभिन्न टेलिफिल्म तथा कथानक चलचित्रहरूमा सह–निर्देशन गर्दै अनुभव हासिल गरेका तिवारीले हालैको नेपाल भ्रमणका क्रममा “जाली भान्जा” को अवधारणा तयार गरेका हुन्।
नेपालमा रहँदा कलाकारितामा सक्रिय रहेका उनी लामो समयदेखि युरोपका विभिन्न देशमा बस्दै आएका छन्। विदेशमा रहेर पनि नेपाली कला, संस्कृति तथा चलचित्र क्षेत्रमा निरन्तर सक्रिय तिवारी नेपाल जाँदा चलचित्र तथा टेलिचलचित्रमा समेत काम गर्दै आएका छन्।
उनको मुख्य भूमिका रहेको नेपाली चलचित्र “कपुरी क” पनि प्रदर्शनको तयारीमा रहेको बताइएको छ। चलचित्रमा निर्देशक तिवारीसहित सबिन बास्तोला ‘गिरधारी’, सुनिल बास्तोला, रुद्रप्रसाद बास्तोला लगायतका कलाकारहरूको अभिनय छ।
प्रसुन फिल्म्सद्वारा निर्माण गरिएको उक्त छोटो चलचित्रको प्रिमियर कार्यक्रममा दर्शकहरूसँग प्रतिक्रिया लिने क्रममा निर्माताद्वय प्रमोद अधिकारी तथा सुलोचना दुवाडीले आगामी दिनमा पनि नेपाली चलचित्र तथा छोटो चलचित्र निर्माणलाई निरन्तरता दिने बताए।
चलचित्रको छायांकन मरुभूमि नारायणले गरेका हुन् भने पोस्ट–प्रोडक्सनको काम पेन सिजर्स एण्ड रेण्डर्स स्टुडियोमा सम्पादक गौतम राज खड्काले गरेका हुन्।
चलचित्रको लिंक: https://www.youtube.com/watch?v=36sa6uUHwK0&t=164s



