ज्ञान सम्मेलन : एक अज्ञानीको नजरमा
गत हप्ता युरोपमा ज्ञान सम्मेलनको आँधी चल्यो । ज्ञान,विज्ञान, लोकतन्त्र, समृद्ध नेपाल, सुखी जीन्दगीका अनेकौं आयामहरुमा विचार विमर्शहरु भए । बिजुली हुलाकभरी जूम सम्मेलनको निम्तो थियो मित्रजनहरुको । अहँ ममा त्यो ज्ञान सम्मेलनभित्र छिर्ने आँट आएन । विमर्शमा कतै सहभागी नभई म मौन बसें ।
म स्वयंलाई यो भवसागरको महाअज्ञानी ठान्दछु । कोरोना संक्रमणको व्याधी फैलिएदेखि चलाएका अनेकौं अनेक ज्ञान श्रृंखलामा म कतै सहभागी छैन । राजनीतिको फोहर बाछिटाले उन्मत्त मानिसहरुका झूण्डहरु संसारैभरि छन् खासगरी नेपालजस्तो कम विकसित मुलुकबाट उछिट्टिएका महाज्ञानीहरुको समूहमा । खादा, खाता र आसनग्रहणका तस्विरहरुको प्रदर्शनको आत्मरति भन्दा धेरै पर मौन बस्नुमै बडो आनन्दको महसुस गर्दछु म ।
पहाडमा जन्मिएर हुर्केकोले होला मलाई सानैबाट यौटा प्रश्नले लखेटिरह्यो । घाँसको भारी बोकेर लेकबेसी गर्दा होस् या आमाको फेर समातेर हिमाल देख्दाको अनुभूति होस्, मलाई यौटा प्रश्नले सधै लेखेटिरह्यो, के होला त्यो हिमालपारी ? के होला त्यो नागबेली पहाड भन्दा परतिर ? कस्ता होलान् त्यहाँका मानिसहरु ? शालग्राम छोडेर बग्ने कालीगण्डकी के यही स्वरुप र लयमा गंगाजीमा मिसिन पुग्ला ? कति ठूला होलान् ती भँगालाहरु ?
मैले मानिसका मृत्युलाई धेरै नजिकबाट देखेको छु । खासगरी उपचार गर्न नसकेर काल पर्खेर बसेका दलित र आर्थिक अवस्था न्यून हुनेहरुका परिवारको । स्कूले जीवनमा आँखै अगाडि मानिसहरुले उपचार नपाएर मरेको देख्दा ममा एक किसिमको विद्रोह र आक्रोश पनि पैदा भएको थियो । केहि मानिसहरु अस्पताल जाने हैसियत राख्दछन् । केहि मानिस किन अस्पताल जाने हैसियत राख्दैनन् ? भन्ने अन्तरविरोधकै कारण म वर्गीय युद्धमा मेरै शैली र लयमा सामेल भएको थिएँ । यो कुनै इतिहासमा दर्ज भएको कुरा होइन । हामीजस्ता जमिनका मानिसहरुको भूमिका इतिहासमा कहीँ कतै दर्ज हुन्न । इतिहासमा दर्ज हुन नेतृत्व गर्नुपर्दछ ।
बुझ्दै जाँदा थाहा भयो, त्यो नेतृत्वमा पुग्नका निम्ति विशिष्ट कौशल र सन्जालको खाँचो पर्नेरहेछ । जुन मसँग थिएन । ती मृत्युहरुको साक्षात् दर्शनले मलाई अन्तरमूखी बनाइदियो । आखिर मानिस यो धर्ती छोडेर जाने पो रहेछ । के का निम्ति कसका निम्ति ? मानिसहरुको यत्रो लुछाचुँडी चलिरहेको होला ? आखिर मृत्यु अवश्यमभावी छ भने जन्म किन भएको होला ? यो प्रश्न बिल्कुल मेरो मनमा घुमिरहेछ बाल्यकालको त्यो साक्षात् मृत्युको दर्शनपछि । अहिलेसम्म मैले यसको उत्तर भेट्न सकेको छैन ।
युरोप प्रवेशका क्रममा मसँग असाध्यै धेरै धन आर्जन गरेर धनी बन्ने सपना थिएन । एसएसलीमा प्रथम श्रेणीमा पास भएपछि गोटीवाल जुत्ता पहिलो पटक खुट्टामा परेको मेरो परिवारको निम्ति पैसाको असाध्यै खाँचो थियो भनी म बुझ्दछु । तथापी ममा धनप्रतिको ठूलो लालसा कहिल्यै भएन । म युरोपको अथाह ज्ञानको कारण जान्न चाहन्थें । पटक पटकका युद्धले क्षत विक्षत भएको युरोप कसरी ब्यूँतियो भन्ने प्रश्नले म डेनमार्कका धेरै गाउँहरु घुमेको छु । सोअन किर्केगार्ड, ह्यान्स क्रिश्चियन एण्डरसन र निकोलाई फेदेरिक ग्रण्डभीगका वस्तीहरु चाहारेको छु ।
युरोपको प्राज्ञिक चेतनाको क्रान्ति, औद्योगिक क्रान्तिको स्वर्णिम कालको नजिकबाट अध्ययन गर्ने मौकाले मलाई लाग्यो, समाज फेरिन पहिला मानिस आफैं फेरिनुपर्ने रहेछ । र, नेपाल युरोप जस्तै बनाउँछु भन्नु गलत हो । युरोप भन्दा धेरै वैशिष्ट्यता बोकेको देश नेपाल हो । हिमाल, पहाड, तराई कोहि छैन । पराई भनेर मादल पिटेर मात्र हुन्न, राज्यका उपल्ला तहमा तलका सीमान्तकृतहरु नपुग्दासम्म स्थिति यथावत् नै रहन्छ भन्ने अनुभूत भयो । यो ज्ञान थिएन, एक अनुभूति थियो ।
परिवर्तनका निम्ति गरिएको क्रान्तिमा नैतिक समर्थन दिनुपर्छ भन्ने ब्रम्हलाई लाग्यो । क्रान्ति विसर्जन भयो । देश बदल्न हिडेकाहरु आफै बदलिए । जसलाई दलाल र सामन्तवादका पिछलग्गु भनिएको थियो, उनैसँग यौटै अँगेनोमा बाँडिचुडी खाने वर्गमा परिणत भए ती क्रान्तिका अगुवाहरु । लाग्यो, यी धोकेबाज निस्किए । फेरि म अलपत्र परें । यी परिवर्तन भएका हुन् या मैले वास्तविकता नबुझेको हुँ ?
के यिनले क्रान्तिको विसर्जन त्यसरी नगरेको भए हजारौं मानिसको बलिदानी भएर बाह्य हस्तक्षेपको सम्भावना थियो ? यी सबै कुरा हाइपोथेटिकल हुन जालान् । तर सत्य के हो भने, समाज बदल्न हिंडेकाहरु आफै सम्भ्रान्त वर्गमा बदलिएका पक्कै हुन् । समाजमा परिवर्तनका लाभा सलबलाएपछि त्यसको विष्फोट यो वा त्यो रुपमा हुनेरहेछ । अहिले देख्दैछु, वर्गीय युद्धको कुरा गर्नेहरु, वर्गीय समानताको कुरा गर्नेहरु स्वयं सम्भ्रान्त शासकमा फेरिएपछि जमीनमुनि लाभाहरु सल्बलाइरहेका छन् ।
घरदेश केहि मानिसहरुको हातमा वर्षौंदेखि घुमिरहेको ठान्छु म । शायद अज्ञानताकै पराकाष्टा हो कि ? सत्तामा बस्नेहरु, प्राज्ञिक क्षेत्रका मानिसहरु, नीति निर्माणलाई कार्यान्वयन गर्नेहरु र पुच्छारका जनताहरु । ती सबै अतृप्त छन् । सत्ताको अतृप्तता, शक्तिको अतृप्तता, यौन र भोकको अतृप्तता, धनको अतृप्तता । त्यही अतृप्तताको दौडमा दौडिरहेका मानिसहरुको पछिपछि फेरि अरु मानिसहरुको हूल देखिरहेकोछु म ।
खासमा हामी पहिलो पुस्ताका आप्रवासीहरुको तन परदेशमा तर मन घरदेशमा छ । महत्वाकांक्षाले मानिसहरुको उडान भरिदिएर यायावर देशहरुमा पुर्याइदिएको छ । म पनि तिनै महत्वाकांक्षी मध्येको एक हुँ । मन भित्रको अशान्ति र कोलाहलका कारण यौटै पटांगिनीमा उभिएका हूल मात्र हौं हामी । यहाँ हरेक मानिसहरुका बिच असमानता छ । हरेक मान्छेका इच्छा फरक छन् । हरेक मानिसका आकांक्षा अलग छन् । रहर, सौख र भोक फरक छन् ।
सम्भवतः आफैलाई बुझ्नु जस्तो कठीन काम दुनियाँमा अरु केही रहेनछ । अरुलाई त मानिसले एक झट्कामै बुझिहाल्छन् ।