महासंकटमा नेपाल कम्युनिष्ट पार्टी
नेपाल कम्युनिष्ट पार्टीका प्रथम अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध अर्का अध्यक्ष प्रचण्डले लिखित रुपमै गम्भिर आरोप दर्ता गरे । त्यसपछि संकटमा परेको नेपाल कम्युनिष्ट पार्टी प्रचण्डका प्रश्नहरुको उचित जवाफ दिने ओलीको अडान लगत्तै झन समस्यामा परेको छ ।
समस्या बल्झिँदै जाँदा महासचिव विष्णु पौडेलले ‘सचिवालय समस्या सृजना गर्ने थलो भएकोले असफल भएका हौं भने विघटन तर्फ लागौं’ भनिदिए । समस्या गहिरिंदै गए नयाँ पुस्तामा पुस्तान्तरण गर्न समेत नेतृत्व तयार रहन संकेत गरेर प्रचण्डको तीर कमजोर पार्ने प्रयास उनले गरेपनि स्थिति दुवैतिर रस्साकस्सी र तानातानमा रहेको बुझ्न सकिन्छ । आगामी मंसिर १३ गते हुने भनिएको सचिवालय वैठकमा आफू माथि प्रचण्डले लगाएका गम्भिर आरोपको खण्डन गर्ने मात्र हैन त्यतिन्जेलसम्म सचिवालयका बाँकी सदस्यहरुलाई आफूतिर आकर्षण गरेर भए पनि प्रचण्डलाई एक्ल्याउने र दर्ता गरिएको पत्र फिर्ता लिन लगाउने रणनीतिमा ओली समूह रहेको छ । यस्तै प्रचण्ड नेपाल समूह पनि ओलीलाई सकेसम्म गलाउने र यौटा पदमा सीमित गर्ने योजनामा लागिरहेको छ ।
सत्तारुढ दलभित्रको कचिंगलमा प्रचण्डले गम्भिर आरोप लगाएपछि कांग्रेसका गगन थापा लगायत केहि नेताहरु अब नेकपाका नेताहरु मिलेपनि अब यो समस्या नेकपाको मात्रै समस्या नरहेको बताइरहेका छन् । भ्रष्टाचार जस्तो गम्भिर
प्रकृतिको आरोप सबैको चासो र सरोकारको विषय भएकोले मिलेपनि आफूहरुले यो विषय ओलीको वहिगर्मनसम्मै उठाउने तयारीमा उनीहरु रहेका छन् । तर महाधिवेशनको रडाकोमा फसेको कांग्रेस भित्र यो आवाज अझ सशक्त रुपमा उठ्ने कुरामा धेरैलाई शंका छ ।
नेपाल कम्युनिष्ट पार्टी विभाजन हुने हल्ला धेरै चलेपनि या चलाइए पनि अहिले जस्तो गम्भिर मोड यस अघि देखिएको थिएन । लिखित रुपमै अध्यक्षमाथि गम्भिर आरोपहरु अर्का अध्यक्षले लगाएपछि नैतिक रुपमा पदमा बसिरहन अप्ठेरो हुने गरी प्रश्नहरु उठेका छन् । कित प्रचण्डले लगाएका आरोपहरु होइन भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । त्यस्तो स्थिति देखिंदैन । गोकुल बाँस्कोटाको टेपकाण्डदेखि कोरोनाको समयमा इश्वर पोखरेलमाथि लागेका आरोपहरु फेहरिस्तका जगजाहेर भएकै कुराहरु हुन् । चारैतिरबाट दबाबमा पारेर प्रचण्डलाई आरोपपत्र फिर्ता गर्न लगाएपछि गलत आरोप लगाउने प्रचण्डलाई पनि नेतृत्वमा बसिरहने नैतिक आधार रहने छैन । त्यसैले आगामी वैठकसम्म दुबै पक्षले आफूसँग भएका सबै अस्त्रहरु प्रयोग गर्ने अवस्थामा देखिन्छ ।
धेरै कार्यकर्तालाई लागिरहेको छ, माधव नेपाल र प्रचण्डले आगामी महाधिवेशनलाई लक्षित गरेर यो सरकारलाई खाली असहयोग मात्रै गरिरहे । झण्डै दुई तिहाईको सरकारलाई आफ्नै दलभित्रबाट चरम असहयोग भयो । तर नेपाल प्रचण्ड पक्षभने ओलीको अहं र उनका आसेपासेहरुको स्वार्थका कारण ओलीले निषेधको राजनीति गरे । लामो जेल जीवन र राजनैतिक सँघर्षबाट सत्ता संचालनमा पुगेका ओलीले पनि यसपटक आफूमाथि सबैतिरबाट प्रहार भएको हुनाले चुप लागेर नबस्ने अबस्थामा आफू रहेको बताइरहेका छन् ।
सचिवालयलाई खारेजै गरे पनि बाँकी वैधानिकताको निम्ति स्थायी समिति, केन्द्रीय समितिमा जानुपर्ने हुन्छ । त्यहाँ उनलाई बहुमत पुर्याउन हम्मेहम्मे छ । संसदीय दलकै चुनावको नतिजा कता जाने हो कुनै टुंगो छैन । त्यसो हुनाले प्रधानमन्त्री ओली समेत ढुक्कै कदम चाल्नसक्ने अवस्थामा छैनन् ।
प्रचण्डको रणनीति भने दल भित्र अन्तरविरोध बढाएर आफू शक्तिमा रहिरहने छ भन्ने ओलीपक्षीय नेताहरुले लगाएको आरोपमा पनि सत्यता छ । उनले आफू ओलीबाट निकै अपमानित भएको महसुस गरेर सबै कदम चाल्न तयार भएका हुन् । वामदेव गौतम मात्रै हैन, स्वयं माधव नेपाल पनि अन्तिम समयमा कता पुग्छन् भन्ने टुंगो नभए पनि उनी खतरा मोल्न तयार देखिन्छन् ।
चिनियाँ राजदूतको दौडधुपले पार्टी भित्र युद्धविराम भए पनि यो झगडाको टुंगो कसरी लाग्ने हो ? अहिले कसैले केहि भन्न सक्ने अवस्था छैन । दुवै पक्ष पछाडि हटेर एक ठाउँमा फेरी सम्झौता गरेर अगाडि नबढ्लान् भन्न पनि सकिँदैन । किनभने पार्टी विभाजनलाई चिनियाँ पक्षले साह्रै आत्मघाती कदमको रुपमा लिएको छ । ‘सत्ता फेर्न परे पनि तयार हुनु तर पार्टी विभाजनतिर नजानु’ भन्ने चिनियाँ राजदूतको सन्देशले पार्टीमा युद्धविरामको अवस्था ल्याएको हो । यसको व्यवस्थापन नेतृत्वले कसरी गर्छ ? दुई बलिया नेताहरु कतिसम्म लचक हुन्छन् भन्ने कुरामै झगडा निरुपण अनुरुप पार्टीको भविष्य निर्धारण हुन्छ ।
सबैलाई थाहा छ, यो सबै झगडाको मूल कारक भनेको आगामी महाधिवेशन नै हो । आगामी महाधिवेशनमा मदन भण्डारीको जनताको बहुदलीय जनवादलाई नेपाल कम्युनिष्ट पार्टीको मूल मार्गदर्शक सिद्धान्त बनाउने कुरामा पूर्व एमालेको ठूलो पंक्ति एकै ठाउँ रहेको छ । एमालेकै एकथरी समूह र पूर्व माओवादीहरु मदन भण्डारीको जबज भन्दा पार्टी धेरै अघि र अर्को मोडमा पुगिसकेको हुनाले मदन भण्डारीलाई अगाडि सारेर अघि बढ्ने पक्षमा छैनन् । त्यसमाथि सधैं शक्ति केन्द्रमा रहेर काम गर्न रुचाउने प्रचण्ड निष्क्रिय भएर बस्ने कुरै आएन । निर्वाचनताका एमाले र माओवादीको हतारोको एकताले अहिले समस्या सृजना गरिरहेको छ । जुन समस्या पार्टी र सरकार दुवैको लागि गलगाँड सावित भएको छ ।
पार्टी विभाजन भएदेखि जनताबाट लखेटिने, ओली र प्रचण्ड एकले अर्कोलाई स्विकारै नगर्ने, प्रतिपक्ष भए नभएको कसैलाई पत्तै नहुने र आफू भित्रै तानातान गर्ने स्थितिमा करिब दुई तिहाई मत दिएका जनताहरु भने निकै निराश देखिएका छन् । नेकपाका कार्यकर्ताहरु नेतृत्वको झगडा देखेर वितृष्ण त छन् नै, माथिको बहसले तलसम्म कार्यकर्ताहरु विभाजित हुने मनस्थिति बढिरहेको छ । सिंगो कम्युनिष्ट आन्दोलन र मतदाताप्रति गम्भिर धोकाको रुपमा यसलाई सर्वसाधारणले अर्थ्याएका छन् ।
सत्ता आफैमा अन्धो हुन्छ । राष्टको ढुकुटीमा पुगेपछि नेताको रुप बदलिन्छ । तर कम्तिमा वर्षौंसम्म जेलनेल भोगेका कम्युनिष्ट नेताहरुमा यस्तो विचलन आउला भन्ने कमैले कल्पना गरेका थिए । कथम्कदाचित पार्टी विभाजनको मोडमा पुग्यो भने मुलुकको राजनीतिको कोर्ष नै बदलिने सम्भावना अहिले राजनीतिशास्त्रका पण्डितहरुले गरेका छन् । एकातिर राजावादीहरु मेचीदेखि महाकालीसम्म सल्बलाउनु, भारतीय गुप्तचरहरु काठमाडौमा डेरा जमाएर बस्नु, अमेरिकीहरु आफ्ना सेना नै ल्याएर बस्न सक्ने खालको एमसीसी कसरी पास गर्न सकिन्छ ? भनेर चीनविरोधी गतिविधिलाई केन्द्रमा राखेर नेपाली राजनीतिमा परोक्ष रुपमा संलग्न हुनु, त्यहि समयमा सत्ताधारी दलभित्रै यस किसिमको खिचातानी हुनु खतराको संकेत हो भन्ने उनीहरुको ठम्याइ छ ।