मनपर्दी पदस्थापन र अव्यवस्थापनको लामो भूमरिमा वायुसेवा निगम : बोइङ ग्राउण्डेड हुने स्थितिमा
नेपालमा सधैंजसो, हरेक दिन समाचारको खुराक पाइने ४ स्थान बनेका छन्— बालुवाटार, अख्तियार, अदालत र नेपाल वायुसेवा । त्यसमा पनि बेथिती, भ्रष्टाचार र राजनीतिक भर्तीकेन्द्रको अनुपम नमूना बनिसकेको नेपाल वायुसेवा निगम आफ्नै आन्तरिक व्यवस्थापकिय कमजोरीका कारण पनि दिनदिनै थला पर्न लागेको स्थितीमा छ । पछिल्ला वर्षहरुमा एउटा विमानबारेमा ‘सामान्य ज्ञान’ समेत नराख्ने राजनीतिक कार्यकर्ता र चाटुकारलाई वायुसेवाको व्यवस्थापकीय प्रबन्धको जिम्मेवारी दिन थालिएपछिको स्थिती अझ कहालीलाग्दो देखिएको छ ।
निगममा पछिल्लो महिना मात्रै एउटा बेथिती देखिएको छ— व्यवस्थापकीय कमजोरीका रुपमा । नेपाल वायुसेवा निगमले लेखासम्बन्धी कार्य गर्न त्यसमा दक्ष जनशक्ति भित्राउन विशेष बेब्यवस्था गरी ८ र ९ तहमा एकैपटक चार्टर अकाउन्ट पद सृजना गरेकोमा यसलाई पुरै ‘अनदेखा’ गर्दै मनोमानी पदस्थापन गरिएको छ । लेखासम्बन्धी दुई विभाग अर्थ र आन्तरिक लेखा परिक्षण मात्र रहेकोमा नियमविपरीत नवौं तहकी अनिशा खड्कालाई अर्थ विभाग दिएर दश तहका जनक कालखेतीलाई वाणिज्य विभागको जिम्मेवारी दिएका छन् । आश्चर्य के भने यसरी नवौं तहकोलाई कार्यवाहक गरेर अर्थको जिम्मेवारी दिइएको छ भने अर्थ समूहको दश तहको ‘कन्फर्म’ लाई भने प्रशासनिक समुहको बाणिज्यमा लगिएको छ ।
बिनियमावलीको व्यवस्थापनमा एउटा समुहको लाई यसरी अर्कोमा लैजादा बढीमा २ महिनाका लागि काजमा लैजान सकिने भएपनि यहाँ मनोमानी ढङ्गले पदस्थापन गरिएको छ ।
माधवकुमार नेपाल खेमाका पूर्व पर्यटनमन्त्री योगेश भट्टराईको निगाहमा निगममा महाप्रबन्धक नियुक्त भएका राजनीतिक कार्यकर्ता डिमप्रसाद पौडेल (प्रकाश) को काँचो कार्यशैली र राजनीतिक प्रभाव–पहुँच समात्ने तौरतरिकाले निगम झनै रसातलमा पुग्ने देखिन्छ- निगम श्रोत भन्छ । अरुभन्दा पनि अहिले राजनीतिक कित्ताकाटमा आफू ‘ओली खेमा’मा जान तत्पर रहेको भन्दै महाप्रबन्धकले ‘राजनीतिक सेटिङ’ मिलाइसकेका छन् । तर, राजनीतिक सेटिङ चौतर्फी मिलाउने क्रममैं नवौं तहकी अनिशा खड्कालाई पनि उनले जबरजस्ती अर्थको जिम्मेवारी दिएको स्पष्ट देखिन्छ ।
नेकपामा नेता माधवकुमार नेपाल पक्षधरबाट अनिशाका बुबा सुदुर पश्चिममा राजनीतिक नियुक्ती पाएर बसेकै आधारमा अनिशालाई निगममा अर्थ बिभागको कार्यबाहक जिम्मेवारीमा महाप्रबन्धकले तानेको महाप्रबन्धक सचिवालयकै एक अधिकारीले बताए ।
यसरी चार्टर अकाउन्टलाई जहाँ सबै सरकारी कार्यालय तथा राष्ट्र बैंकमा समेत जुन तहका हुन् त्यही तह बराबरको तलब प्रदान गरिन्छ । तर निगममा भने चार्टर अकाउन्टेन्टको तलब खाईपाई आएको तलबको दोब्बर रहेको छ । काम चाहिं प्रशासनिक लगाइएको छ ।
प्रशासनिक कार्य नै गर्ने भए किन दोब्बर बढी तलब र विशेष ब्यवस्था दिएर निगमलाई आर्थिक नोक्सान गराउने ? लेखा समूहमा लिएपछि उनीहरूलाई त्यहि कार्य मात्र गराउनुपर्ने र यो कामको निगम र मन्त्रालयले निगरानी गर्नुपर्नेमा न यसमा निगमको निगरानी देखिन्छ, न मन्त्रालयले कहिँ हेरेको छ । सबै पक्ष जानाजानी आफ्नो कमाउ धन्दामा लागेका देखिन्छन ।
यस्तै, नेपाल वायुसेवा निगममा पछिल्लो बेथितीको अर्को उदाहरणका रुपमा आएको छ— न्यारोबडी अर्थात एयरबस ३२० दुइ जहाजको ग्राउन्डेड हुने स्थिती । एयरबस किनेको ७ वर्ष भैसक्दा पनि इन्जिन मर्मत गर्ने कम्पनी नछानिएको र यहि विषय संसदीय समितिदेखि अरु छानविनका कमिटिमा पुगेर पनि समस्या भने ज्यूँ का त्यूँ छ । दुइवटा एयरबस जहाजका इन्जिन ‘ओभरहल’ लगायत मर्मत गर्ने बेला भैसकेको छ । यी जहाजको इन्जिन १६ हजार घण्टा उडेपछि ओभरहल गर्नैपर्ने नियम छ ।
न्यारोबडीका साथै वाइडबडी जहाज समेत मर्मतका लागि कम्पनी छनोट गर्न नसकिरहेकोमा नेपाल बायुसेवाका महाप्रबन्धक ‘जहाज ग्राउन्डेड हुन नदिइने’ भन्दै राजनीतिक मन्तव्य दिंदै हिँडिरहेका छन् । तर, के–कसरी र कुन योजनामा उनी जहाज इन्जिन मर्मत गर्ने कम्पनी छनौट गरिरहेका छन् भन्ने कार्ययोजना कहिँकतै देखाउन सकेका छैनन् । जहाज ग्राउन्डेड भएर ‘एओजी’(एयरक्राफ्ट अन ग्राउन्ड) भएपछि निगमको आर्थिक ऐन र सार्वजनिक खरिद ऐन बिनियमावली बमोजिम कुनैपनि टेन्डर गरिरहनु नपर्ने हुनाले सिधै इन्जिन कम्पनी (ओभरहल र लिज) सँग मोलमोलाइ गरी कमाउन सकिने धन्दामा महाप्रबन्धक डिमप्रसाद लागीपरेको देखिन्छ ।
निगमका विषयमा अबको १० वर्ष गुरुयोजना बनाएर र नयाँ वाइडबडी खरिद गरि सन् २०२४ पछि नाफामा जान सकिने भन्ने अमुर्त नारा अघि सार्दै बिभागीय मन्त्रीलाई समेत महाप्रबन्धकले गुमराहमा पारिरहेका छन् । जबकि सन् २०२० मा नियुक्ती पाएका महाप्रबन्धक डिमप्रसादको कार्यकाल ४ वर्षको भनिएकोमा उनको अवधी सकिएपछि मात्रै निगम नाफामा जान सक्ने अनौठो कार्ययोजना पर्यटन मन्त्रालयमा पेश भएको छ ।