चिहानघारीबाट प्रेमिकाको शव निकालेर जब राजाले मुकुट लगाइदिए
राजाको निधन भएपछि रोलक्रममा रहेका राजकुमार पेद्रो प्रथम पोर्चुगलको राजगद्दीमा बसे । निर्दयतापूर्वक आफूसँगको प्रेम सम्बन्ध भएकैले हत्या गरिएकी प्रेमिकाको शब चिहानघारीबाट निकालेर ल्याउन लगाए ।
धुमधामसँग क्याथोलिक परम्परा अनुसार समारोह गरेर प्रेमिकाको शबलाई राजकीय पोशाक लगाइदिएर मुकुट पहिराइदिए । घूँडाले जमीनमा टेकेर प्रेमिकाको शब अगाडि रुँदै हातमा चुम्बन गर्दै उनले बँचाउन नसकेकोमा माफी मागे । र यो धर्ती आकाश रहेसम्म आफूले प्रेम गरिरहने बताए । ‘राजाहरुको शव राखिने मसानघाटमा लगेर पुर्न र आफूलाई पनि मृत्युपछि उनकै अगाडि लगेर गाडिदिनू’ भन्ने आदेश दिए । यिनै राजा पेद्रो प्रथम र उनकी प्रेमिका इनेश दि क्यास्त्रोको प्रेम कहानी पोर्चुगलमा रोमियो जुलियटको जस्तै चर्चित छ । इनेश र पेद्रोको प्रेममा आधारित भएर धेरै कथा, कविता,नाटक, गीत, सँगीतको रचना गरिएको छ ।
उत्तरी पोर्चुगलको कोयम्ब्रा क्षेत्रमा राजाहरुको दरबार थियो । उनीहरु शिकार खेल्न र गर्मी छल्न यो भेकमा जाने गर्थे । यही क्रममा राजकुमार र दरबारमा नोकरको रुपमा काम गरिरहेकी इनेशको बीचमा प्रेम झांगिंदै जान्छ ।
दरबारले कन्स्तान्सा नाउँ गरेकी छिेमकी देशकी युवराज्ञीसँग उनको विवाह गरिदिएको थियो । तर उनी भने इनेशको प्रेममा आशक्त थिए । सुत्केरी व्यथाको कारण दरबारकी राजकुमारी श्रीमतीको निधन भएपछि उनी इनेशसँगै बस्न थालेका थिए । दश वर्ष अवैध रुपमा बस्दा यिनी दुवैको चारवटा सन्तान समेत जन्मिएको थियो । न अदालतले स्वीकृत गरिदिएको, न पिता राजा आलोन्सोबाट अनुमति नै पाएको उनीहरुको प्रेम सम्बन्धको बारेमा जनताहरुलाई थाहा थियो । राजकुमार पेद्रो जनताहरुले यो कुरा थाहा पाउन् र भविष्यमा आफू राजा हुँदा इनेशलाई रानीको रुपमा स्वीकार गरुन् भन्ने चाहन्थे । त्यसैले सार्वजनिक रुपमै उनी सँगसँगै बस्ने, घुम्ने गर्न थालेका थिए ।
राजालाई नोकर्नीसँग राजकुमारको सम्बन्ध स्वीकृत थिएन । उनले आफ्ना जासुसहरु पठाएर इनेशलाई पक्राउ गरि थुनेर निर्ममतापूर्वक हत्या गरे । काखमा रोइरहेको बाल्खलाई रुवाउँदै घिसार्दै लगेर इनेशको हत्या गरियो । उनको रगताम्मे शरीरलाई चर्चमा राखिएको थियो । शहरमा राजकुमारसँग सम्बन्ध राख्न खोज्ने नोकर्नीहरुको यस्तै दूर्गति हुन्छ भनेर हल्ला फिंजाइएको थियो ।
आफ्नी प्रेमिकाको विभत्स हत्या गरिएको थाहा पाएर राजकुमार बौलाहा जस्तै भए । उनी इनेशसँग घुमेका जँगलमा रातभरी बस्ने, उनीसँग एक्लै कुराकानी गर्न थाले । पेद्रोले इनेशको आत्मासँग धेरैपटक कुराकानी गरेका छन् भनेर अरुलाई सुनाउँथे । कोयम्ब्रामा पेद्रो र इनेश घुमेको वनमा जहाँ इनेशले कलकल बगेको पानी पिएकी थिइन् । त्यहाँ इनेशको आँसू बगिरहेको छ भन्ने कुराको हल्ला चल्न थाल्यो । रोइरहेकी इनेशको आँखाबाट हत्यापछि बगेको रगतको कारण यहाँको पानी कहिलेकाहीं रातो हुन्छ भनेर रातो पानी हेर्न जानथाले मानिसहरु । यी दुवैको प्रेमको गाथा लेखियो । इनेशको आँसू बगिरहेको भनिएको यो पानीको धारो भएको ठाउँलाई अहिले पनि आँसू बगिरहेको
बगैंचा भनिन्छ ।
झण्डै २९.६ एकड क्षेत्रफलमा फैलिएको यो आँसूको बगैंचालाई स्थानीय सरकारले पुरातात्विक महत्वको क्षेत्रको रुपमा विस्तार गरेको छ । त्यहाँ बगेको पानी जुन इनेशले पिएको भनिन्छ, त्यसलाई व्यवस्थित गरिएको छ । उनी रोएर रातो पानीको मूल फुट्यो भनिएको ठाउँमा पानीको फोहरा बनाइएको छ । उनी बस्ने गरेको दरबारलाई होटलको रुपमा विस्तार गरिएको छ । अहिले पनि अमर प्रेम गर्ने जोडीहरु प्रेमको कथाको यादगारको रुपमा बस्न सोही होटलमा जान्छन् । विवाह उत्सवहरु मनाइन्छ । अमर प्रेम कथाको रुपमा पोर्चुगलको प्राइमरी स्कूलदेखि विश्वविद्यालय स्तरसम्म यो प्रेमकथाको पाठ पढिने र सो सम्बन्धी चलचित्र, कविता, नाटक लेखिएका, मंचन गरिएका चित्र कोरिएका हुनाले इनेश पेद्रोको प्रेम कहानी सबैलाई थाहा भएको विषय भएको छ ।
सन् १३२५ मा जन्मेर ७ जनवरी १३५५ मा मारिएकी इनेश र पेद्रोको चिता पनि आमनेसामने राखिएको छ । आल्कोवासा भन्ने स्थानमा । शाही चिहानघारी अहिले पर्यटकीय स्थलको रुपमा परिचित छ । मानिसहरु प्रेमको प्रतिकको रुपमा यो चिहानघारीलाई लिएकाछन् । पोर्चुगलमा राजतन्त्र त छैन तर यी राजा र इनेशको कहानी अजम्मरी बनेर जनजनको जिब्रोमा झुण्डिएको छ । उनको चिहान राखिएको स्थलमा लेखिएको छ, संसारको अन्त्य हुने क्षणसम्म ।