मंगलबार, वैशाख १८, २०८१

पत्रकारको चुनावमा राजनीतिक रंग : ५० भन्दा बढी केन्द्रिय प्रतिनिधिमा ४० भन्दा बढी ‘राजनीतिक’

नेपालप्लस संवाददाता / काठमाडौं२०७७ चैत २४ गते १७:३६

पछिल्लो समयमा नेपाली राजनीतिमा स्पष्ट धार रहँदै आएको थियो— कांग्रेस र एमाले । यदाकदा झुक्किएर आउनेमा पर्थे— राप्रपा, माओवादी वा राजपा । तर, यसपटक भने पत्रकार महासघको बुधवार हुन लागेको निर्वाचनमा अनौठो राजनीतिक बिभाजन देखिएको छ— नेकपा ओली, नेकपा नेपाल, राजपा (महन्त ठाकुर) र माओवादी (प्रचन्ड) ।

जतिसुकै स्वतन्त्र र स्वविवेकमा चल्ने भनेर घोषणा गरिएपनि पत्रकार महासंघको चुनावमा उठेका ५० भन्दा बढी केन्द्रिय नेता (प्रतिनिधि) मा ४० भन्दा बढी ‘राजनीतिक’ देखिएका छन् भने केही मात्रै स्वतन्त्र देखिन्छन् । नेपाल पत्रकार महासंघ केन्द्रीय निर्वाचन समिति, २०७७ का अनुसार अध्यक्ष पदमा गजेन्द्रसिंह बुढाथोकी, निर्मला शर्मा र विपुल पोख्रेलको उम्मेदवारी परेको छ । वरिष्ठ उपाध्यक्षमा ध्रुव लम्साल, माधव नेपाल र रमेश विष्टले उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपाध्यक्ष महिलातर्फ दाना सुवेदी र बाला अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् । समावेशीतर्फको उपाध्यक्ष पदका लागि अवधेश झा, उदय जीएम, मोहनकुमार सिंह, रेमबहादुर विश्वकर्मा, शीतलप्रसाद महतोले उम्मेदवारी दिएका छन् । त्यस्तै महासचिव पदका लागि बालकृष्ण बस्नेत, रोसन पुरी र सुवोध गौतमको उम्मेदवारी परेको छ ।

निकै चर्चामा रहेकी पत्रकार निर्मला शर्मा नेकपा (ओली) की प्रतिनिधि उम्मेद्धार हुन् जो आफैं चार्टर फ्लाइट बिमानमा पत्रकार (ओलीछाप) लाइ लिएर देश भ्रमणमा निस्केर चर्चा कमाइसकेकी छिन् । अर्का, प्रतिष्पर्धी बिपुल पोखरेल नेपाली कांग्रेसका प्रतिनिधि पात्र हुन् । यिनको उम्मेद्बारीका विषयमा पनि नेपाली कांग्रेसकै अर्को पक्षको खुला समर्थन छैन । देउवा इतर समुहले रामप्रसाद दाहाललाई उम्मेद्वार बनाउनुपर्ने अडान राखेको थियो । ‘यदी रामप्रसाद दाहाल कांग्रेसको कोटाबाट उम्मेद्वार बन्न सकेको भए पार्टीलाई एउटा सजिलो के हुन्थ्यो भने- कम से कम हामीले ब्यबशायिक पत्रकारलाई समर्थन गरेका छौं । तर विपुल पोख्रेललाई उम्मेद्वार बनाउने निर्णयले कांग्रेसको योजना पनि ओलीको भन्दा पर देखिंदैन । देउवाइतर पक्षको बुझाई थियो ।

गजेन्द्रसिंह बूढाथोकी अहिलेसम्म ‘स्वतन्त्र र बिशुद्ध व्यवसायीक’ चिनारीमा छन् । उनी कुनैपनि पार्टीसँग आवद्द देखिएका छैनन । बुढाथोकीले भनेका छन- ‘हरेक ठाउँमा हुने दलिय हस्तक्षेपले संघ संस्थाहरुलाई कमजोर बनाउँदै लगेको छ । त्यसैले पत्रकारको संस्थामा पार्टीहरुले उम्मेद्वार पठाउनु लाजमर्दो कुरा हो ।’

अहिले महासंघ आवद्ध सबै सदस्यले मत दिन पाउने भएकोले पनि ब्यवशायिक पत्रकार रोजाइमा पर्ने बुढाथोकीको विश्वास छ । यस्तै, बरिष्ठ उपाध्यक्षमा नेकपा एमाले (ओली) का माधव नेपाल र कांग्रेसका रमेश बिष्ट प्रतिष्पर्धामा छन् ।

यस्तै, उपाध्यक्ष (समावेशी) मा अवधेश झा भने राष्ट्रिय जनता दलबाट प्रतिनिधि बनेका छन् भने उदय जिएम एमाले (ओली) र मोहनकुमार सिंह (कांग्रेस) बाट छन् । महासचिवमा बालकृष्ण बस्नेत नेकपा (ओली) र रोशन पुरी कांग्रेसबाट प्रतिष्पर्धामा देखिएका छन् । महासचिवमैं स्वतन्त्र छवि र व्यवसायिक नाम बनाएका सुवोध गौतमलाई भने ‘बागी’ रुपमा उत्रिएको भन्दै प्रेस युनियनले कारवाही गरेको खबर बाहिर आइसकेको छ । तर गौतमले आफु प्रेस युनियनमा आवद्ध नभएको र कारवाही गर्ने भन्ने कुराले कुनै अर्थ नराख्ने बताए । अहिलेसम्म आफु कुनै राजनीतिक पार्टीमा नरहेको र आफ्नो व्यवसायिक पत्रकारिताको धर्मकर्ममा कहिल्यै पछि हट्न नसक्ने दावी गौतममले गरिसकेका छन् ।

यसपटक चुनावमा अन्तिम घडीमा आएर रामजी दाहाल र रामप्रसाद दाहालले भने पार्टी पंक्तिको दवावकै कारण उम्मेद्धारबाट आफ्नो नाम झिकेका छन् । दुबै जना नेपाली कांग्रेससँग आवद्ध पत्रकारहरु हुन । यसबाहेक, दलित, मधेशी, आदिवासी, जनजाती, खुल्ला आदिको बर्गिकरणमा सात प्रदेश र केन्द्रबाट उत्रिएका ३ सयभन्दा बढी प्रतिष्पर्धीका कारण पनि यो चुनावमा अघिल्ला चुनावहरु भन्दा बढी राजनैतिक रंग देखिएको छ ।

तपाइँको प्रतिक्रिया

फेसबुक