आइएलओ अनियमितता काण्डले एनआरएनको अन्तर्राष्ट्रिय छवि सन्देहको घेरामा
छ वर्षअघि महाभूकम्पको चपेटामा परेका बेला नेपालले अन्तराष्ट्रिय तहको सरसहयोग राम्रैगरी पाएको थियो । तर, त्यो ठूलो सहयोगको नाम र प्रतिष्ठा ‘केही थान त्रिपाल चोरिएको’ खबरबाटै धुलिसात भयो । लाखौं र करोडौं रुपैंयाको नगद तथा अन्नअनाजको सहयोगको सुखद कुरा पनि ‘त्रिवाल नेता’, ‘त्रिपाल मन्त्री’ र ‘त्रिपाल लुटेरा’मा गएर टुंगिएको थियो ।
यो वर्ष कोरोना महामारी र विदेशी भूमीमा नेपालीले पाएको संकटका माझ अन्तराष्ट्रिय दातृ निकाय र मुलुकहरुबाट नगदी सहयोग वा औषधीमूलोको सहयोग निकै आएको थियो । चीन र भारतजस्ता मुलुकले कोरोना प्रतिरोधी भ्याक्सिन उपलब्ध गराएका छन् भने विदेशी भूमीमा नेपाली श्रमिकको दुर्दशा देखेर अन्तराष्ट्रिय श्रम संगठन(आइएलओ) जस्ता निकायले उद्धार–राहतमा १० करोड रुपैंयाको सहयोग दिएकै हो । यो पैसाको हरहिसाब राख्ने र यसलाई सही काममा परिचालन गर्ने–गराउने कुरामा इज्जत, संयन्त्र र पहिचान बनाएको गैर आवासीय नेपाली संघ(एनआरएन) लाई छनौट गरेर आइएलओले नेपाल–नेपालीको हितमा काम गर्ने निर्णय गरेको थियो जुन आफैंमा सह्रानीय छ । आईएलओले आप्रवासी नेपाली रहेको यूएई, कतार, साउदी अरब, मलेसियासहितका ९ मुलुकमा घरफिर्ती, उद्धार र राहतका लागि एनआरएनलाई १० करोड रुपैयाँ सहयोग उपलब्ध गराएको थियो ।
तर,अहिले आएर फेरि पनि उही त्रिपाल–काण्डको स्थिती यहाँ पनि दोहोरिएको छ र एनआरएनको अन्तराष्ट्रिय छवि समेत सन्देहको घेरामा पुगेको छ । ‘हामीलाई थाहा छैन, यो युएइ समितिको मात्रै कुरा हो’ भन्ने अवस्था पनि अब किन रहेन भने यस्तै अपचलन र हिनामिनाको आशंकामा साउदी अरेबिया, मलेशियाजस्ता मुलुकमा पनि आन्तरिक छानविन अघि बढिसकेको अवस्था छ । गत सेप्टेम्बर पहिलो साता सुरु भएको परियोजनामा एनआरएनको यूएई राष्ट्रिय समितिले गत फर्वरीसम्म गरेको आर्थिक कारोबारमा आशंका देखिएपछि सुरु भएको यो तरंगमाझ आइएलओले कुल सहयोगको झण्डै ७० प्रतिशत अनुदान रकम दिइसकेको छ । बाँकी पनि दिने क्रममै छ ।
हिनामिनाबारेको यो खबर बाहिर आउनासाथै एनआरएनएको अन्तर्राष्ट्रिय समिति (आईसीसी) ले सदस्य राजु केसीको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो जसले यूएईमा पीडितको उद्धारका नाममा नक्कली बिल राख्नुका साथै खानेकुराको दाम बढाइएको । हवाई टिकट तथा पीसीआर शुल्कमा समेत हिनामिना गरिएको निष्कर्ष निकालिसकेको छ । यूएईमा मात्रै झन्डै २० लाख रुपैयाँको हिनामिना भएको छानबिन समितिले जनाएको छ । स्वभावत: आइएलओजस्तो अन्तराष्ट्रिय निकायले कुनै एनआरएन समितिको अध्ययन रिपोर्टलाई स्वीकार गर्ला अथवा गर्नुपर्छ भन्ने कुरा रहन्न । आइएलओ स्वयंले यो अफवाहमाथि सूक्ष्म छानविन गरिरहेको र यसमा ‘तलमाथि’ भेटिएमा अन्तराष्ट्रिय प्रावधानमैं सहयोग फिर्ता गराउने सहितका कारवाही हुने प्रतिबद्धता बाहिर आइसकेको छ ।
योबेला यो गम्भीर र मानवीय संवेदनमाथि भएको खेलवाडको प्रकरणलाई ओझेलमा पार्न कहिले एनआरएनको युएइ समितिलाई कारवाही त कहिले ‘निलम्बन’ गरिएको खबरसमेत आउन थालेका छन् । तर, यथार्थत बुझ्नुपर्ने कुरा के हो भने कसैलाई कारवाही गरेजस्तो देखाएर वा यस्ता प्रपन्च चलाएर मात्रै एनआरएनको गिरेको साख फिर्न सक्ने देखिन्न । आसन्न एनआरएन केन्द्रिय निर्वाचनको सन्दर्भमा कांग्रेस वा कम्युनिष्ट खेमाका एनआरएन केन्द्रिय नेताहरु अहिले जेजसरी आफूलाई चोख्याउने र अर्कामाथि हिलो छ्याप्ने खेलमा लागेका छन्, यो अझ अनिष्टकारी कार्य हो— संस्थागत सम्वर्धनका हिसाबमा ।
यो मामला अब लुकेर वा लुकाएर बस्न सकिने स्थिती किन छैन भने राष्ट्रिय, अन्तराष्ट्रिय मिडियादेखि दातृ निकाय आइएलओसम्मकै ध्यान आकृष्ट गर्ने प्रमुख मुद्धामा एनआरएन हिनामिनाको यो मुद्धा जोडिएका कारण पनि अब ‘देखाउनका लागि कारवाही’ गरेर मात्रै छवि सुधार हुनसक्ने देखिन्न । बरु एनआरएन स्वयंले यसमा गल्ती भएकै हो, अन्तराष्ट्रिय तहमा रहेका नेपाली र शुभेच्छुकसग क्षमाप्राथी छौं भन्नेपर्ने हुन्छ । अर्कातिर, आइएलओले पनि यस्तो गम्भीर र मानवीय संवेदनमाथि भएको खेलवाडबारे ‘छानविन हुँदैछ’ भनेर उम्कने कुरा रहन्न । बरु यसमा तदारुकता एकदमै अपेक्षित छ ।
अरुभन्दा पनि एनआरएन र अरु कथित सहयोगी संस्थाले ‘स्वयंसेवी कार्यकर्ता’ भर्ती गरेर कोरोना कहरका माझ बिचल्लीमा परेका नेपाली श्रमिकका नाममा आएका पैसालाई ‘डलरका हिसाबको मासिक तलब’ खानु भनेको आफैंमा लाजमर्दो र निन्दनीय कुरा हो । यसमा हिसाबकिताबको आनासुकी जोडिरहनुभन्दा पनि यो नैतिक र व्यवहारिक ‘घृणित कर्म’ हो, यसमा थप पुष्टी खोजिरहनै पर्दैन ।
एयरपोर्टमा अलपत्र परेका वा श्रम शिविरमा मरिरहेका श्रमिकका जिउज्यान घर पुर्याउन भनी आएको पैसामा स्वयंसेवी नाम राखेर डलर हिसाबको तलब खाने कुरा आफैंमा विवेकहीन कुरा हो । कम्तिमा तत्कालका लागि यो ‘स्वययंसेवीको डलर हिसाब’मा एनआरएनले स्पष्ट पारोस्, कम्तिमा आइएलओले पनि आफ्नो ‘टर्म अफ रिफरेन्स’(टीओआर) मा यसरी स्वयंसेवी नाममा डलर–तलब लिन नमिल्ने कुरा अहिले आएर भएपनि स्पष्ट पारिदेओस् ।
यो संकटका बेलामा मानवीय संवेदना र गम्भीर परिस्थितीको फाइदा कसैले पनि कुनै रुपमा लिनुहुन्न । खासगरेर पदिय बाँडफाँड अथवा विगतका इगोहरुलाई समातेर कुनै पनि जिम्मेवार एनआरएनले कसैमाथि हिलो छ्याप्ने प्रयास गरिनु हुँदैन । अहिलेको अवस्था भनेको एनआरएनको संस्थापन समुह र कुल आचार्य समुह दुबैले एक अर्का विरुद्दमा ताली पड्काएर बस्नु भन्दा पनि छानविन र सहयोग परिचालनमा सौहार्दता देखाउनु जरुरी छ । र, मुख्य कुरा यि तथ्यहरुलाई एनआरएन र आइएलओ दुबैले बुझ्नु जरुरी हुन्छ । यो बुझाइ जति छिटो भयो, उती एनआरएनको बिग्रेको छविमा ‘टिपेक्स’ लाग्न सक्छ । अन्यथा, ‘एकपटकको नेपाली, सधैंको नेपाली’को सह्दयी नारालाई पनि फेर्नुपर्ने हुन्छ— एकपटकको संवेदनशील एनआरएन, सधैंका लागि संवेदनाहिन एनआारएन !