शुक्रबार, मंसिर ७, २०८१

युवराज दिपेन्द्रलाई हत्यारा बनाएको त्यो त्रासदीपूर्ण रात

ऋषी पल्लव २०७८ जेठ १९ गते १३:५९

जीवनका असंख्य गोरेटाहरु पार गर्दै जाँदा बितेका धेरै कुरा बिर्सिदै गइन्छ । धेरै घटना यस्ता हुन्छन जुन सम्झिन चाहेर पनि सकिन्न । केहि यस्ता हुन्छन जुन विर्सिन चाहेर पनि दिमागबाट कहिल्यै हराउन सक्दैनन । मेरो लागि दरवार हत्याकाण्ड यस्तै एउटा घटना हो । धेरैका लागि हुनसक्छ । कम से कम त्यो घटना हाम्रो पुस्ताले कहिल्यै बिर्सिने छैन । यो २० वर्षमा आएका हरेक जेठ १९ ले दिमाग खल्बल्याउने एउटा बिद्युत छोडेर गएका छन र हामी बाँचेको सभ्यताको एउटा युगलाई सिरिङ्ग पारिदिएका छन ।

अहिलेको ‘कलेज’ पुस्ता जो त्यतिखेर जन्मेकै थिएन वा घस्रिने उमेरमै थियो तिनलाई दरवार हत्याकाण्ड हामीले सोच्ने कोतपर्व जस्तै लाग्ला ।   समवेदना मुक्त । तर हाम्रो जीवनमा त्यो घटना मेटिनै नसक्नेगरि बसेको छ ।

ब्यक्तिगत रुपमा म राजाहरुको कहिल्यै प्रशंसक रहिन । वि.सं २०४६ सालको आन्दोलनताका उमेर सानै भए पनि झन्डा बोकेर हिँडें  स्वतस्फुर्त, कसैले हिंडाएको थिएन । आन्दोलन पंचायतको बिरुद्दमा भनिए पनि, बहुदलको पक्षमा भनिए पनि जनताको सम्पूर्ण आवेग राजाको बिरुद्दमा थियो ।

मैले पढेका बेलायती राजाका ईतिहास पनि कम्ता लाजमर्दा थिएनन् । बेल्जियन राजा लिओपोल्ड द्वित्तियले अफ्रिकन देश कङ्गोमा मच्चाएको उधुम दिमागमा छापिएकै थियो । चौधौं शताब्दिको रुमानियन राजा भ्लाड तृतियले कसरी जिउँदा मान्छेहरुको छाला काढ्न लगाउँथ्यो वा जिउँदा मान्छेहरुलाई तातो पानीमा उमालेर कसरी मार्दथ्यो भन्ने भयानक ईतिहासका अक्षरहरु छातीमा रोपिएकै थिए । त्यसैले पनि मलाई राजाहरु कहिल्यै मन परेनन् । अनी ०४६ सालको आन्दोलनले बिना रक्तपात पूर्णता पाएको पनि थिएन । राजा विरेन्द्रले सुविस्ता साथ बहुदल दिएका थिएनन । त्यसले म राजातन्त्रको कट्टर विरोधी थिएँ ।

बहुदल आउनुमा वा आन्दोलनका पक्षमा राजा लचिलो हुनुमा धेरै कारण थिए । ति कारणहरुलाई मनन गर्नसक्ने, केलाउन सक्ने खुबी थियो राजा विरेन्द्रमा । ईतिहासमा लेखिएका भयानक तानाशाह राजाहरु जस्ता उनी सम्भवत: थिएनन । अन्तर्राष्ट्रिय परिवेशलाई मिहिन विष्लेशण गर्नसक्ने भएका थिए । खासमा दुरदर्शी राजा थिए उनी ।

पछी, एक पटक उनी सँग भेट भयो । दोलखाको एउटा बिजुली योजना उद्घाटन गराउन नर्वेजियन कम्पनीले बडो तामाझामका साथ उनलाई लगेको थियो । राजा जाने कार्यक्रम तामझाम हुने नै भयो । हामी सँग एक्कैछिन बोले । त्यो एक्कैछिनमा तिनको शालीनता, भद्रता सँधैका लागि मेरो मनमा छापियो । किन पनि भने देश विस्तारै रणमैदान बन्दै गइरहेको थियो र हाम्रो सोच बरु आवाजरहित ०४६ साल पुर्वको अवस्थामा जान चाहन्थ्यो ।

हामी फोटा खिच्दै थियौं । सुरेन्द्र फुयालले धेरै सम्झेको हुनसक्छ । उ अली अघी थियो । “मेरो भन्दा उनिहरुको फोटो खिच । हाम्रो देशको बिकासमा योगदान दिएका छन” यत्ती भने । तर हामीलाई यस्तो लाग्यो राजा पो हुन् त देशलाई मायाँ गर्ने । गिरिजा प्रसाद, माधव नेपाल र जंगलमा बन्दुक बोकेर सभ्यता तर्साउने प्रचन्डहरुले त देशमा खोरिया खनेर धुलो उडाएका छन ।

केही वर्ष बितेहोलान, २०५८ जेठ १९ गते एउटा पुरै युग ईतिहास बनिसकेको थियो । बिरेन्द्र दुनियाँमा थिएनन्, उनीसँग उनको पुरै परिवार सकिएको थियो । दीपेन्द्र जिउँदै छन् भनेर केही समय प्रचार गरियो । तर त्यस्तो थिएन । उनी पनि मरिसकेका थिए । छाउनी अस्पताललाई दीपेन्द्रको मृत्‍यु घोषणा नगर्न दवाव थियो, सेनाको माथिल्लो तहबाट ।

खासमा तत्कालिन गिरिजा नेतृत्वको सरकार निकै ठुलो शंकटमा थियो । देशमा राजतन्तन्त्र सकिएको घोषणा गर्नसक्ने अवस्था थिएन । या भनौं गिरिजा प्रसाद कोइरालाले केही घण्टाको अन्तरालमा त्यत्रो हिम्मत जुटाउने सक्ने सम्भावना पनि थिएन ।

अर्कोतर्फ तिन दिनको त्यो अवधिभर सेना निकै चनाखो भएर उभिएको थियो । उसलाई लाग्थ्यो, यदि दीपेन्द्र मरेको घोषणा गर्ने हो भने राजतन्त्रको अवशान हुन्छ । त्यसैले दीपेन्द्र मरेर पनि केही दिन बाँचे । सेनालाई डर थियो, गिरिजा प्रसादले कुनै निर्णय नगरुन् । गिरिजा प्रसादले केही समय पछी भने- “मलाई सेनाले घण्टौ सम्म घेराउ गरेर राख्यो” ।

घटनाको राती नै रामचन्द्र पौडेलको हावाला दिंदै विदेशी समाचार माध्यमहरुले दीपेन्द्रलाई हत्यारा घोषणा गरिसकेका थिए । सरकार, सेना र अन्य सुरक्षा निकाय पनि यो सबै काण्डलाई ईतिहासकै पानामा छोडिदिन चाहन्थ्यो । तर दीपेन्द्रलाई अपराधी बनाइको कुरा नेपाली जनताले विश्वास गर्ने अवस्था भने थिएन । अझै पनि विश्वास गर्दैन ।

दिन ढल्किंदै जाँदा परिस्थिती नाटकिय रुपमा फेरिए । दरवारका ज्वाँई डा राजिव शाहीको पत्रकार सम्मेलन र सेना प्रमुखको ब्रिफिङले दीपेन्द्रलाई नै हत्यारा भन्यो । सरकारले बनाएको छानविन समितिले पनि त्यही बाटोलाई पछ्याएर आफ्नो प्रतिवेदन सर्वजनिक गरेको थियो । तर नेपाली जनताले अस्विकार गरे । अझै दीपेन्द्रलाई हत्यारा मान्न राजी छैन नेपाली जनता । त्यसैले ज्ञानेन्द्र र पारसलाई लक्षित गरेर औंलाहरु उठिरहेका छन् र धेरै पछीसम्म उठ्ने छन् । यदि त्यो हत्याकाण्डमा ज्ञानेन्द्र-पारसको संलग्नता नभएको भए पटक पटक आफूतर्फ सोझिने यि औंलाहरुका कारण कती मुटु पोल्दो हो उनिहरुको ।

त्यो हत्याकाण्डका बारेमा धेरै कोणबाट विश्लेषण भएका छन् । पुस्तक लेखिएका छन् । सबैका आआफ्ना राय छन् । कतिपय ठाउँमा प्रत्यक्षदर्शीहरुका भनाई बाझिएका छन् । त्यतिबेलै घटनास्थलमा भेटिएका सबुतहरुलाई निस्पक्ष अनुसन्धान भएको भए यसको यथार्थ चित्रण आइसकेको हुन्थ्यो । तर कसैले पनि यो यथार्थ बाहिर ल्याउन चाहेन । नत तत्कालिन सरकार न पछीका अरु सरकार ।

गिरिजा प्रसादले केही वर्ष पछी दोहर्याए “मैले भन्थें नि ग्राण्ड डिजाइन । त्यहि डिजाइन अन्तर्गत दरवार हत्याकाण्ड भएको हो” । गिरिजा प्रसादले भन्ने गरेको त्यो ग्राण्ड डिजाइन अथवा उनले थाहा पाएको त्यो डिजाइन के थियो ? नेपाली जनताले थाहा पाउनुपर्ने थियो । उनी यो दुनियाँबाट गए । साँच्चै नै कतैको ग्राण्ड दिजाइनले काम गरिरहेको थियो या छ भने सबै कुरा रहस्यमै छोडेर गए । नेपाली जनतालाई धोका दिएर गए । आजको दिन देश पुरै स्तब्ध भएको दिन । काठमाडौंका सडकभरी अन्योलता चाएको दिन । देशको भविष्य रोकिए जस्तो- रोकियो पनि सायद ।

त्यसबेलाका सबै राजनेता, दरवारको सुरक्षामा खटिरहने नेपाली सेना र अन्य सुरक्षा निकायहरुले त्यत्रो हत्याकाण्डलाई ईतिहासको पानामा छोडिदिए । रहस्यमय तरिकाले मौन । दिनभरी छाउनी अस्पतालको बाहिर कुरेर बसेपछी साँझ पर्नेबेला बिरेन्द्र र ऐश्वर्यको लास निकालिएको थियो । सेतो कोरा ओढाइएको शरीर, अनुहार उस्तै सुकिलो, आँखा चिम्म । हामीले टाढैबाट फोटो खिच्यौं । तिनका आँखा जसरी चिम्म भए त्यो हत्या काण्डका परेला सायदै उघ्रेलान अब ।

तपाइँको प्रतिक्रिया