केपी ओली सरकारकै दुर्दशाको बाटोमा देउवा
नेपालका राजनीतिक दलहरुको निकै भयानक नियती छ । जब जब पार्टीको नेतृत्वमा सरकार बन्छ तब पार्टी भित्र चरम विवाद शुरु हुन्छ । भर्खरै नेकपा एमालेले त्यही नियती भोग्यो । ब्यक्तिगत इगोले झोसेको आगो भित्र भित्रै फैलियो । जसको दुर्दान्त कथा त्यो पार्टीका कार्यकर्ताहरुले अहिले पढिरहेका छन् । कांग्रेसका कार्यकर्ताले यस्ता कथा धेरै पटक पढिसकेका छन् । देशलाई अहिलेको विस्मृत अवस्थामा पुर्याउन नेपाली कांग्रेसले लेखेका तिनै लामा छोटा कथाको ठुलो योगदान छ । बीपी कोइराला-शुवर्ण सम्शेर राणा, गणेशमान सिंह-शुभर्ण सम्शेर र बीपी कोइराला-गणेशमानका टक्करले यो पार्टी करिव दुई दशकसम्म हुँडलिइरह्यो ।
पंचायत विरुद्दको आन्दोलनमा के कुराको अडान लिने भन्ने कुरामै यो पार्टीका नेताहरुमा धेरै समय बाझाबाझ भयो । ०३३ साल पछी मात्र पार्टीले गती लियो । किनभने हरेक नेताहरु जेल परेका थिए । झगडाको ठाउँ थिएन । फेरी पहिलो जन आन्दोलनको सफलतासँगै शुरु भयो । कृष्ण प्रसाद भट्टराइको नेतृत्वमा अन्तरिम सरकार बनेपनि गिरिजा प्रसाद कोइरालाले भट्टराईको सुरुवाल तानीरहे । ०४८ साल कट्दा नकट्दै उनी गणेशमान सिंह र कृष्ण प्रसाद दुबैसँग भिडे । हार्ने अलग भए, जितेका गिरिजा सिंहाशनमा बसे । तर युद्द मैदानमा कोही न कोही त निस्किहाल्दछ । शेरबहादुर निस्के, कांग्रेस पार्टी फुट्यो ।
पचासको दशकभरि यिनै शेरबहादुरले नेपालको राजनीतिमा ताण्डव मच्चाए । अहिले फेरी उनी सत्ताको बागडोर समातेर सिंहदरवारमा छन् । पार्टीभित्र उधुम मच्चिएको छ । रामचन्द्र पौडेल भिडेका छन् । नेपाली कांग्रेसले देउवा सभापतित्वका लगभग पाँच वर्ष गुजारेको छ । पछाडि फर्केर हेर्ने हो भने उनको नालायकी उदांग हुन्जेल खसेको छ । तैपनि भावी सभापतिमा उनले आफ्नो उम्मेद्बारी गर्व साथ घोषणा गरेका छन् ।
यदी मन्त्री मण्डलमा आफ्नो समुहका मान्छे परेनन भने देउवालाई धम्की दिनका लागि दल बिभाजन अध्यादेश पौडेल समुहलाई काफी हुने छ । यो सरकार जतिदिन टिक्छ त्यति दिनसम्म पानी बाराबारको अवस्थामा रहने छ ।
सरकारको नेतृत्व गर्ने र पार्टी कार्यालय कुरेर बस्ने बिच हुने लफडा पहिलेको तुलनामा अहिले अली फरक छ । पहिले के हुन्थ्यो भने सरकारमा भागवन्डा नपुगेर, मन्त्री हुन नपाएर, आफ्नो मान्छेलाई जीएम नबनाइदिएर मतभेद हुने गर्दथ्यो । तर अहिले सभापतिले अधिवेशन गर्ने तदारुकता नदेखाएर किचलो बढेको छ र यसले पक्कै पनि सरकारका कामहरुलाई प्रभाव पार्ने छ । अवस्था कस्तो भएको छ भने चार वर्षमा हुनुपर्ने अधिवेशन पाँच वर्ष पुरा हुँदा पनि हुने नहुने अन्योल यथावत छ । सकृय सदस्यहरुको नाम सार्वजनिक गर्ने जस्तो सामान्य कुरामा समेत धर्ना बस्नुपर्ने अवस्था आएको छ । शेरबहादुर देउवा सकृय सदस्यहरुको नामावली समेत लुकाउँछन् । अनी भन्छन- देशको सबभन्दा ठुलो प्रजातान्त्रिक पार्टी नेपाली कांग्रेस नै हो ।
शुक्रवार भएको रामचन्द्र पौडेल सँगको छलफल पछी सभापतिले भदौमै तोकिएको मितिमा वडा स्तरिय अधिवेशन गर्ने र सक्रिय सदस्यहरुको नामावली सार्वजनिक गर्ने सहमती गरेका छन् । तर मंसिरको दोस्रो साता गर्ने भनिएको महाधिवेशनको अन्योलता भने उस्तै छ । कांग्रेसका एक जना केन्द्रिय सदस्य भन्छन्- “जुन बेलासम्म शेरबहादुर देउवालाई आफुले सभापतिमा चुनाव जित्ने पक्का हुँदैन त्यो बेलासम्म नेपाली कांग्रेसको महाधिवेशन हुँदैन । ढुक्क भए हुन्छ” ।
ति केन्द्रिय सदस्यले भने जस्तै देउवा आफ्ना खुट्टा चलुन्जेल सभापतिको दौडबाट अलग हुने छैनन । यो कुरा राम्रो सँग बुझेका रामचन्द्र पौडेलको असली राजनीति अब हुने मन्त्रीमण्डल विस्तार पछी शुरु हुने छ । त्यसैपनि देउवाइतर समुह भर्खरै आएको दल विभाजन सम्बन्धी अध्यादेशबाट असन्तुस्ट छ । यदी मन्त्री मण्डलमा आफ्नो समुहका मान्छे परेनन भने देउवालाई धम्की दिनका लागि दल बिभाजन अध्यादेश पौडेल समुहलाई काफी हुने छ । यो सरकार जतिदिन टिक्छ त्यति दिनसम्म पानी बाराबारको अवस्थामा रहने छ । ठ्याक्कै केपी ओलीको दुर्दशाको बाटो रोजेका छन् देउवाले । सरकारले काम गर्न पाउने छैन ।
बीपी कोइराला-शुवर्ण सम्शेर राणा, गणेशमान सिंह-शुभर्ण सम्शेर र बीपी कोइराला-गणेशमानका टक्करले यो पार्टी करिव दुई दशकसम्म हुँडलिइरह्यो ।
हुन त देउवा सरकार त्यती अपेक्षित होइन । तर पनि पार्टी झगडामा अल्झीइरहनुपर्ने सरकारहरुको नियती चलीनै रहने छ । भर्खरै भएको देउवा र पौडेलको सहमतिले कुनै पनि कुराको दिर्घकालिन समाधान गर्दैन । त्यसले तत्कालका लागि एउटा मुद्दालाई ढाक्छोप मात्र गर्ने हो । पार्टीको निती, नियम र विधानलाई पालना गर्ने परम्परा बसालेको भए कुनैपनि कार्यकर्ताले केन्द्रिय कार्यालय अगाडि बसेर भोक हड्ताल गर्नु पर्ने थिएन । यदी कांग्रेसलाई भावी विभाजनबाट जोगाउने भए निती नियम पालना नगरि सुख्खै छैन ।
नेपाली कांग्रेस जस्तो ‘मास’ पार्टीका मुद्दा र गुनासाहरुलाई चार जना नेता बसेर गरिने सहमतिहरु घोर अप्रजातान्त्रिक हुन् । यि सहमतिहरुले पार्टीलाई सधैं नेता मुखी बनाउँदछ । शेरबहादुर देउवा सुध्रिनुको विकल्प छैन । नत्र भने रामचन्द्र पौडेलहरुले देउवाले नै बनाएको हतियार उठाउन सक्छन् ।