शनिबार, मंसिर ८, २०८१

मेरो आदर्श अफगानिस्तान स्विजरल्याण्ड जस्तै देख्ने सपना

मोर्ताजा साहेद२०७८ भदौ १६ गते २३:०४

२० वर्षको तालिम पछिपनि अफगानिस्तानको सेना तालिबान अघि बढ्नु अगाडी पातलो हावामा हरायो !

मेरो बुबा ९० वर्षको उमेरमा अझै शान्ति देख्ने आशामा मर्नुभयो । म पनि अमेरिकी हस्तक्षेप पछि अफगानिस्तान फिर्ता भएँ, शान्तिको विश्वास गर्दै । अब मेरी आठ वर्षीया छोरीले सत्ता संघर्ष देखिरहेकि छन् । उनलाई आशा, त्यो सत्ता संघर्ष समाप्त होला । दिर्घकालिन शान्ति आउला ।

जब तालिबानले सन् १९९६ मा अफगानिस्तानमा सत्ता हासिल गरे त्यो बेला म बच्चा थिएँ । ईरानमा शरणार्थीको रुपमा मेरो आमा बुबासँग बस्दै थिएँ । मैले टेलिभिजनमा भैरहेको सबै कुरालाई हेर्थें । पछ्याउँथें । तर बच्चाबाट वयस्क हुँदासम्म कुनै फरक परेन अफगानिस्तानका बारेमा । किनभने म बच्चा हुँदापनि डराएको थिएँ । अहिले वयस्क हुँदापनि डराइरहेको छु । मसँग अफगानिस्तानको शान्ति, सुरक्षा, समाज र भविष्यका बारेमा धेरै प्रश्नहरु छन् ।

धेरै मानिसहरुले मिडिया मार्फत् हाम्रो देशमा भएको घटनाक्रम देखेर अफगानी सेना कसरी यति छिटो तितरबितर, पतन हुन सक्छ ? अफगानी सैनिकहरु किन लड्न सकेनन् भनेर सोधेका छन् । जिज्ञासा राखेका छन् ।

वास्तवमा यो एक राजनीतिक निर्णय थियो । राष्ट्रपति पश्तून थिए । र उनी तालिबानसँग लड्न चाहँदैनथे जो पश्तून जातीय समूहका पनि हुन् । सरकारले साँच्चै आतंकवादको बिरुद्ध कुनै कारबाही गरेन । किनकि हाम्रा राष्ट्रपतिहरु देशद्रोही हुन् । किनभने तिनकोलागि धर्म र जातीयताको वफादारीता सुनिस्चितता गर्नु प्राथमिकता थियो ।

अमेरिका अफगानिस्तानबाट कुनै पनि मूल्यमा बाहिर निस्किन चाहन्थ्यो । त्यसैले उनीहरुले सम्झौतामा हस्ताक्षर गरे । र तालिबानको लागी हामीलाई त्यागे । सैनिक फिर्ता लिनु एक नराम्रो निर्णय थियो । तर तालिबानहरु पछि के हुन्छन्, कसरि देखापर्छन् भन्ने बारेमा सायद अमेरिकीहरु अनबिज्ञ थिए कि । त्यसको यहि भनेर म कल्पना गर्न सक्दिन ।

तालिबानलाई ग्रामीण इलाकामा धेरै समर्थन छ । विशेष गरी देशको दक्षिण र पूर्वमा । तर उनीहरु त्यहाँ बहुमतमा छन् भन्ने चाहिँ मलाई लाग्दैन । धेरै मानिसहरु विशेष गरी ठूला शहरहरुमा यो चरमपन्थी सरकार वा एक शरिया सरकार (जो इस्लामी शरिया कानूनहरु को परिचय) लाई स्वीकार गर्दैनन् । उनीहरु आफ्नो स्वतन्त्रता कायम राख्न चाहन्छन् ।

त्यहाँ सबै डराएका छन् अहिले । तालिबानहरु मिडियासित खेल्छन् । तर सामाजिक मिडियामा हामी भिडियोहरु देख्न सक्छौं, उनीहरु वास्तवमा के गरिरहेछन् भनेर । उनीहरु घर-घर जान्छन् । सरकारका लागी काम गर्ने मानिसहरुलाई गिरफ्तार गर्छन्। म यी घटनाहरु हेरिरहेको छु । मेरो भाइको लागी डराएको छु जसलाई म अझै स्विट्जरल्याण्ड ल्याउन सकेको छैन ।

मानिसहरुमा अस्तित्वको डर छ । अमेरिकी सेना फिर्ता भपछि, विगत २० वर्षको मेहनत, उपलब्धि, मानव अधिकार, बच्चाहरुको शिक्षा र विशेष गरी किशोरीहरु र महिला अधिकारको सन्दर्भमा सबै उपलब्धिहरु मेटाइएको छ । अब धेरैजसो अफगानहरु देश छोड्न चाहन्छन् ।

म कहिलेकाहिँ एक समुन्नत अफगानिस्तानको सपना देख्छु । मेरो आदर्श अफगानिस्तान स्विजरल्याण्ड जस्तै कल्पना गर्छु । यस्तो एक देश जहाँ विभिन्न भाषी, समुदाय, जातीय समूह र धार्मिक अनुयायीहरु एक संघीय राज्यमा सँगै बसुन् । दुर्भाग्यवश त्यहाँ कहिल्यै साझा अफगान पहिचान बनेन । अफगानिस्तानका छिमेकी देशहरुको घरेलु राजनीतिमा बलियो प्रभाव छ । यही कारणले हामी २० वर्ष पछि तालिबान बिरुद्ध असफल भयौं ।

(साहेद अफगानी फिल्म निर्माता हुन् । ईरान हुँदै हाल स्विजरल्याण्ड आप्रवाशनमा रहेका उनको अन्तर्वार्ता जर्मन भाषाबाट अंग्रेजीमा जुलिया भासमले उल्था गरेकि थिईन् । त्यसलाई स्विस इन्फो डट सिएचबाट नेपालप्लसले लेखका रुपमा नेपालीमा अनुवाद गरेको हो । फोटो साहेदको फेसबूकबाट लिएको हो-संपादक)

तपाइँको प्रतिक्रिया