कविताविनाको समाज अर्थात् सपनाविनाको जीवन
विश्व आख्यानका एक मानक स्तम्भ भार्गस लोसाको चर्चा भएपछि कति मित्रले कुनै विश्व कविलाई त्यसरी प्रस्तुत गर्न अनुरोध गर्नुभयो । त्यसैले आज म अक्टाभिओ पाजमा प्रवेश गर्न चाहन्छु । १९९० का नोबेल पुरस्कार विजेता कवि अक्टाभिओ पाजको तीन वर्षअघि ७४ वर्षको उमेरमा निधन भयो । उनी महान् कवि मात्र नभइ कुटनीतिज्ञ, बौद्धिक र अनन्य गद्यशिल्पी पनि थिए । उन्नाईस वर्षको उमेरमा द स्याभेज मुन (कविता सङ्ग्रह) लिएर आउने पाजका पछिका परिपक्व सिर्जना (गद्य पद्य दुवै) अत्यन्तै विद्वतापूर्ण र तीव्र राजनीतिक चेतनाले युक्त छन्, उनी प्रेम र रहस्यका महान् काव्य स्रष्टा हुन् । उनीलाई पाब्लो नेरुदासँग उभ्याएर बीसौं शताब्दीका सर्वाेच्च दक्षिण अमेरिकी कविमा गणना गरिन्छ ।
उनी १९६२ मा भारतको लागि मेक्सिकन राजदूत भएर दिल्ली आएका थिए । त्यस बखत नेपाल सँग पनि उनको सम्पर्क परिचय भएको हुनुपर्छ । त्यसबेला नेपाली राजनीतिमा, साहित्यमा चाख राख्नेको लागि पाज परिचित नाम हुनुपर्छ । त्यहाँ चार वर्ष बिताएका दिनको स्मरणमा लेखिएको इन् लाइट अफ इन्डिया भर्खरै छापिएको छ । त्यसमा उनी बोलेका छन्— भारतवर्षमा मेरो शिक्षा चारवर्ष चल्यो तर त्यो कुनै पुस्तकको अध्ययनमा सीमित कुरा थिएन । त्यसबेला मैले भारतको सांस्कृतिक इतिहासको अध्ययन गरे । यस अवधिले मेरो हृदयमा अमिट छाप बनाएको छ ।
यो मेरो सम्बेगात्मक, भावात्मक, कलात्मक एवम् आध्यात्मिक शिक्षा थियो । यसको प्रभाव मेरा कवितामा पनि अनुभव गर्न सकिने छ । मेरो गद्य लेखनमा र मेरो सम्पूर्ण जीवनमा देखिने छ । पहिलो निबन्धमा बम्बैको ताजमहल होटेल देखेपछि भारतको बारेमा बोल्छन्— यो शताब्दीको सुरूमा अङ्ग्रेजले देखेको सपना हो । यो भूमि तिखा जुँघे, कम्मरमा तरवार भिरेका काला वर्णका पुरुष र कल्साउँदो त्वचा भएका कागका पखेटा झैँ कालाकेश र आँखिभौँ भएका, गर्मिको यामका बघिनीका जस्ता ठूलाठूला आँखा गरेका नारीहरू भएको देश हो । पछि पनि पाजले अनेकपल्ट भारतको भ्रमण गरे र त्यसको अनुभव र प्रभावका कविता लेखे । पछि ‘अ टेल अफ टु गार्डेन्स्’ (१९९५) मा गम्भीर निरीक्षक, अण्वेषक भएर त्यस भूमिको हार्दिक प्रेमीले रचेका विशिष्ट कविता सङ्कलित छन् । उनको वीणा तथा मृदङ्गम् एउटा सुन्दर पूर्वीय रहस्यवादले छोएको कविता छ ।
आकाश बर्षियो
यो क्षण एक भव्य नेत्र झैँ
हामी सम्झनाले यसभित्र बाहिर गर्दछौँ
यो सङ्गीत नदी
मेरो रक्तमा प्रवेश गर्छ ।
यो जगत दोबरी फुल
यहाँ आगमनको निराशा
र यहाँ रहनुको आनन्द
म आफ्नै केन्द्रमा हराएर हिँड्छु ।
भारतवर्षको लामो बसाइले पाजको काव्यात्मक जीवन रूपान्तरित गरायो । यहाँको हिन्दू, बौद्ध र मुश्लिम संस्कृतिको गहिरो अनुभव र अध्ययन गरे । त्यसले उनका कविता रङ्गीन बगैँचाका पुष्प ठानिएका छन् । एउटा बहुसांस्कृतिक मुलुकका साहित्यकार, राजनीतिकर्मी, कलाकार जनसाधारण सबैलाई उनले पढे । उनको सिर्जनामा माक्र्सवाद, अतियथार्थवाद, बौद्धज्ञान, आधुनिक कला र मेक्सिकाली इतिहास, पुराकथा, राजनीतिको सम्मिश्रण छ ।
विद्यालय शिक्षक पेशाबाट करिअर थाल्ने पाजले सुरुका कविता टीएस एलिअटबाट प्रभावित भई लेखे । आफ्ना बाजे उदारवादी बौद्धिक, प्रकाशक, उपन्यासकार थिए । तिनमा मेक्सिकाली कृषकको शोषण र पीडाको कथा छ । उनको विशाल पुस्तकालयले पाजलाई साहित्यतिर लाग्ने प्रेरणा दिएको थियो । त्यसबेला विवाह गरिएकी एलिना एक विशिष्ट लेखिका थिइन् । पछि पाजसँग सम्बन्ध विच्छेद भयो फेरि उनले फ्रान्सेली नारी मारी–जोन्ससित विवाह गरे । त्यसपछि कुटनीतिक सेवामा प्रवेश गरेर फ्रान्स पुगे । त्यहीँ लेखेका उच्च कविताको सङ्ग्रह लिबर्टी अन्डर ओथ प्रकाशित भयो ।
भारतमा भएको बेला नै मेक्सिकाली सरकारले त्लातेलुलु चौकमा प्रदर्शन गर्ने विद्यार्थी माथि क्रुरतापूर्वक दमन गर्यो । झन्डै तीनसय विद्यार्थी मारिए । त्यो तियानमेन चोकको नरसंहारबाट उद्वेलित भएर पाजले राजीनामा दिए, भारत छोडे । उनको सन्स्टोन (१९५७) उच्चकोटीको सर्रियालिस्ट कविता हो । पाजले सबै कृति स्पेनिसमा लेखे र तिनको अङ्ग्रेजीमा अनुवाद हुन्थ्यो । उनका कृति अनेक विश्व प्रशिद्ध साहित्यकारले अनुवाद गरे— स्याम्युएल बेके, चाल्स टम्लिन्सन, एलिजावेथ विशप, मार्क स्ट्रान्ड ।
यसरी एउटा साहित्यकारलाई उठाउन अनुवादको विश्वनै लागिपर्छ । यस्तो स्थितिको शून्यताले गर्दा हाम्रा ठूलाठूला साहित्यकार पनि आफ्नै घरको अँध्यारोमा छन् । हामीले अनुवादको महत्व बुझ्नबुझाउन सकेका छैनौँ । झण्डै आधी नोबेल पुरस्कार विजेता साहित्यकार अङ्ग्रेजीइतर भाषाका छन् । ती आफ्नो ख्याति सँगसँगै अङ्ग्रेजी साहित्यमा पुग्दछन् र प्रशिद्धी स्थापित हुन्छ । हाम्रो अनुवाद गर्ने गराउने र गरिएकोलाई व्यापक विश्वतिर प्रवाहित गराउने माध्यम नभएकैले अँध्यारोमा यात्रा गरिरहेका छौँ ।
पाजले आफ्ना स्वतन्त्र विचारलाई निर्बाधरूपले साहित्यिक आवरणमा रहँदैको बेलादेखि आन्द्रे ब्रितोँ, अल्बेअर कामुजस्ता वैचारिक अराजकतावादी कलावादी महान स्रष्टाबाट प्रभावित भएर सर्वसत्तावादको विषयमा खासगरी स्तालिनको विरुद्धमा लेख्न थालेका थिए । पछि आफ्ना पत्रिकामा साम्यवादी साशनमा भएको मानवअधिकारका उल्लङ्घनको विरोधमा लेखे ।
उनी फिडेल क्यास्ट्रोको पनि विरोधमा उठे र ल्याटिन अमेरिकी वाममार्गीमाझ अप्रियता कमाए । यद्यपि उनी आफूलाई डग्म्याटिक होइन, उदारवादी लेफ्ट नै ठान्दथे । १९९० मा बर्लिन पर्खाल ढलेपछि पाजले साम्यवादको पतनमाथि विस्तृत बहस गर्न विश्वलेखकको एक सम्मेलन बोलाए । तर उनको हृदयमा केवल कविता थियो । उनले भनेका छन्— कविताविना कुनै समाजको अस्तित्व रहन सक्तैन, तर समाजलाई कदापि कविताको रूपमा बुझ्नु हुँदैन । कहिलेकाही यी शब्दहरू अलग्गिन खोज्दछन् तर सक्तैनन् ।
महान् कविता र निबन्धमा पाज प्रतिविम्वित छन् । उनी कवितालाई आधुनिक युगको गूढधर्म मान्दछन् । उनका काव्य, कविताविषयक चिन्तन, साहित्यिक र कला–समालोचनाका व्याख्यान पनि प्रकाशित छन् । तर उनी मूलतः एक अनन्य काव्यकार नै हुन जसलाई कलेक्टेड पोएम्स जस्ता कविताकै लागि नोबेल पुरस्कार दिइयो । हाम्रा महाकविले तास्कन्द वक्तव्यमा भनेको एउटा कुरा पाजकोसँग तुलनीय छ— अन्य साहित्यसँगको आदानप्रदानमा नेपाली साहित्य पछि परेको छ ।
आज अक्टाभिओ पाजको साहित्यकर्म र सम्पर्क हेर्दा पनि त्यही लाग्दछ । अमेरिकाको दक्षिणी कुनामा रहेको एक स्रष्टाले फ्रान्स, इटाली, जर्मनी, बेलायत र अमेरिकाका आफ्ना समयका ठूलाठूला सहित्यिक व्यक्ति र संस्थासँग आदानप्रदान गर्दथे । आफ्नो नोबेल भाषणमा उनले भने— हामी स्पेनिश–अमेरिकीको लागि हाम्रा देशमा वास्तविक वर्तमान थिएन, यो समय अरूले बाँचेको थियो । अङ्ग्रेजले, फ्रेन्चले, जर्मनले वर्तमान बाँचे । त्यो समय न्यूयोर्कको, पेरिशको, लण्डनको, थियो । हामी त्यो खोज्दै जानु पर्दथ्यो, त्यसलाई आफ्नो देशमा ल्याउनु पर्दथ्यो ।
ती वर्षहरू मेरो लागि साहित्यिक आविष्कारका वर्ष थिए । यसरी हेर्दा पूर्वीय र पाश्चात्य प्रकाशनको आदानप्रदान गर्ने जुन इच्छा महाकविमा थियो, पाश्चात्य कलाचेतना हाम्रोमा ल्याउने जुन प्रयत्न लैनसिंह वाङदेलमा थियो, उताको साहित्य चेतना यहाँ भिœयाउने जुन लक्ष्य लामिछानेमा थियो, आइवी राईमा छ, आज कसैमा छैन । हामी अन्य महादेशका स्रष्टा कलाकारसित आदानप्रदान गर्न असमर्थ छौँ, अपरिचित छौँ, हामी छिमेकी मुलुकमा पनि अज्ञात छौँ । दूरदेशसम्म अन्य महादेशसम्म पुगेर फर्किने चेष्टा नभएसम्म हामी युगान्तकारी सिर्जना बुझ्न र गर्न असमर्थ रहन्छौँ ।
अमेरिकी लेखकको विशेष परिस्थिति बुझ्न हामीले जापानी, चिनियाँ अथवा अरवी लेखकको र युरोपेली भाषा अनुवादले बोलेका कुराबीचको संवाद सुन्नु पर्दछ । यो सम्वादले अनेक भाषा र सभ्यतालाई चिरेर टाढाको बाणी सुनाउँछ जबकि हाम्रा आफ्ना संवाद आफ्नै भाषामा सीमित छन् ।
एउटा अन्तर्वार्तामा वर्तमान समयका कविताको अवस्थाबारे उनले दुःख प्रकट गरेका छन्— उपभोगवादी समाज र व्यापारिक प्रकाशक कवितालाई धेरै ध्यान दिदैनन् । यो हाम्रो समाजको एउटा रोग हो । हामीसँग असल कविता छैन भने— असल समाजको कल्पना गर्न सकिँदैन । कविता लेख्य स्वरूपभन्दा अघि पनि थियो । यो वास्तवमा शाब्दिक कला हो; त्यो हामीभित्र दृष्टि र सङ्ज्ञानको माध्यमले मात्र पस्ने होइन कानबाट पनि पस्तछ ।
यो औच्चार्य र श्रवणीय तङ्खव पनि हो । यो हामीले देख्ने र लेखिने तङ्खव पनि हो । फेरि पनि कविताको महत्व गाउँदै उनी बोलेका छन्— सामाजिक न्यायविनाको समाज राम्रो भनिदैन, त्यसैगरी कविता बेगरको समाज विना सपनाको हुन्छ; त्यो विना शब्दको र सबैभन्दा ठूलो कुरा एक र अर्काे व्यक्तिबीच वारपार गर्ने साँघू बेगरको जीवन । हामी अन्य प्राणीभन्दा भिन्न छौँ । किनकि हामी बोल्न सक्छौँ, त्यो बोलीमा सर्वाेच्च प्रकृतिको भाषा कविता हो । समाजले कवितालाई निर्मूल पार्ने हो भने त्यसले आत्मध्वंशको मार्ग लिन्छ ।
पाजले छन्द र लयका कविता लेखे तर कतिपय यसको रूपमा प्रयोग पनि गरे । सन्स्टोन उनको प्रशिद्ध कविता हो जुन आज्तेक पुराकथामा आधारित छ । प्रकृति र प्रेमलाई यसरी बुनेका छन् त्यहाँ—
म एक नदी जस्तै
तिम्रो लम्वाइभरि यात्रा गर्छु
एउटा जङ्गल जस्तै
म तिम्रो शरीरभरि यात्रा गर्छु
उनी नोबेल पुरस्कार पाउने प्रथम मेक्सिकाली कवि हुन् र उनले हिस्प्यनिक साहित्यलाई माथि उठाए, त्यसलाई सिर्जनात्मक वाणी दिए । स्पेनिश भाषालाई उठाएर आधुनिकतावादी संकथकमा भागलिन सक्ने बनाए । द कलेक्टेड पोएम्स अफ् अक्टाभिओ पाज एक महत्वपूर्ण सङ्ग्रह हो । उनका अरू कविता र गद्यकृति पनि काठमाण्डू बुक मार्केटमा उपलब्ध छन् ।
उनी धेरै भाषामा दक्ष, सिद्धहस्त अनुवादक पनि थिए । जापानी बाशोलाई मेक्सिको पु¥याए । अनि उनले ल्याटिन अमेरिकी पाठकलाई अन्तर्राष्ट्रिय लेखक र तिनीहरूका कृतिसँग परिचित गराउन साहित्यिक पत्रिका चलाए । स्याम्युअल बेकेले अनुवाद गरेको पाजको मेक्सिकन पोएट्रीमा उनका उत्कृष्ट कविता छन् । ध्रुवचन्द्र गौतमले सुनाएका छन्— हामी हिन्दीमा अनूदित पाजका कविता खूव पढ्थ्यौँ । उनका कविता सबैजसो भारतीय भाषामा अनूदित छन् । नेपालीमा चाहिँ हृषीकेश शाहको पद्य पुष्पाञ्जलीमा र चैतन्यकृष्णका अनुवादमा पाज छन् । हृषीकेशले पाजलाई भेटे कि, वीपी कोइरालाले वा पुष्पलालले भेटे कि ? यो विषय अनुसन्धेय छ ।