आइतबार, चैत २, २०८१

प्रचन्डपक्षका राजदूतको ‘ओलीभक्ति’: पर्वतारोही एडमन्ड हिलारीकी श्रीमतीलाई कन्सुलेटबाट हटाएर ओली कार्यकर्ताको नियुक्ती सिफारिस

नेपालप्लस कुटनीतिक संवाददता /काठमाडौं२०७७ पुष २६ गते १६:५६

पद र शक्तिको प्रभाव कतिसम्म हुनसक्छ भन्ने उदाहरण न्यूजिल्याण्डमा अवैतनिक बाणिज्यदूत नियुक्तीको पछिल्लो उदाहरणलाई हेरे पुग्छ । एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा गत वर्ष नोभेम्वरमा अष्ट्रेलिया पुगेका राजदूत महेशराज दाहालले काठमाडौं सत्ता–शक्ति हेराफेरिको रमिता देख्नासाथै आफ्नो रुपरंग देखाउन थालेका छन् । बिगतमा कांग्रेस गुटबाट नेपाल टेलिभिजनको अध्यक्ष हुन सफल दाहालले ‘छेपारे–रंग’ लिएर एकाएक माओवादीमा भर्ति भएर अष्ट्रेलियामा राजदूत हुन सफल भएका थिए ।

‘अहिले नेपाल कम्युनिष्ट पार्टीभित्रै फुट सुरु भएपछि र राजदूत पदको बागडोर जोगाउनैपर्ने स्थिती आएपछि दाहालले पठाएका राजदूत दाहालले पनि गुट परिवर्तन गरिसक्नु भएको छ- परराष्ट्र मन्त्रालयका एक उच्च अधिकारीले नेपालप्लससँग भने—‘राजदूत दाहालले हालै मात्रै प्रधानमन्त्री केपी ओली पक्षधर एकजना शुभेच्छुकलाई न्यूजिल्याण्डमा अवैतनिक दूत नियुक्त गरिदिएका छन् ।’

संयोग कस्तो छ भने न्यूजिल्याण्डमा कार्यरत रहेकी सगरमाथा आरोही एडमण्ड हिलारीकी श्रीमती जुन मार्था मुल्ग्रेउ (लेडी हिलारी) लाई जबरजस्ती हटाएर राजदूत दाहालले एकजना सामान्य कार्यकर्ता आत्माराम खनाललाई न्यूजिल्याण्डमा अवैतनिक दूत नियुक्त गरेका छन् ।

न्यूजिल्याण्डमा ओभरसिज नेप्लीज युनाइटेड फोरमका अध्यक्ष रहेका खनाल पेशाले जियोटेक्निकल इन्जिनियर हुन् । तर, प्रभाव र पहुँचका आधारमा कुनै प्रकारको क्षमता नरहेका न्यूजिल्याण्डको अकल्याण्डबासी खनाल ओली पक्षधर एमाले कार्यकता मात्रै हुन् । ‘लेडी हिलारी भन्नासाथ न्यूजिल्याण्डमा जुन प्रकारको प्रभाव तथा सम्मान रहिआएको थियो, त्यो अरु कोही आएर पनि पुर्ती हुन सक्ने देखिन्न,’अष्ट्रेलियाको सिड्नीमा रहेका गैर आवासीय समुदायका एक अभियन्ताले भने—‘कुटनीतिक तहको यस्तो गम्भीर मामलामा समेत राजनीतिक रंग मिसिएपछि हामीले नेपाली चिनारीको कुरा गरिरहनुको अर्थ देखिन्न’ । उनी भन्छन – ‘जुन मार्था मुल्ग्रेउ (लेडी हिलारी) लाई महावाणिज्यदुतबाट हटाएर नेपाल सरकारले कस्तो कुटनितिक अभ्यास गर्न खोजेको हो बुझ्न सकिएन ।

नेपालमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीमा फुट आएपछि प्रधानमन्त्री ओली पक्ष बाहेकका सबै राजदूतलाई घर फिर्ता गर्ने सूचना बाहिर आएपछि अष्ट्रेलियास्थित राजदूत महेशराज दाहालले ‘ओलीप्रभाव र वर्चस्व’ देखाउन सकेजति देखावटी कार्यसम्पादन थालेका छन् । यही क्रममा उनले ओलीका कार्यकर्ता खनाललाई न्यूजिल्याण्डमा अवैतनिक दूत नियुक्त गरेर राजदूत पद टिकाउन बल गरिेरहेका छन् । तर यस्तो नियुक्ती र फेरबदलले दाहाललाई ब्यक्तिगत फाईदा भए पनि कुटनैतीक क्षेत्रमा भने नेपालले गतिलो मुल्य चुकाउनुपर्ने छ ।

अर्कातिर, लामो समयदेखि काठमाडौंमा रहेर पर्यटन व्यवासयमा आवद्धता राख्ने लिसा चोग्याललाई न्यूजिल्याण्डको नेपालस्थित अवैतनिक बाणिज्यदूतको जिम्मेवारी दिनमा समेत परराष्ट्र मन्त्रालयले आनाकानी गरिरहेको छ । ‘टाइगर माउन्टेन’ नामको पर्यटन कम्पनी स्थापना गरेर र नेपालमा दिगो पर्यटकीय प्रभाव बिस्तार गर्दै अलग्गै नाम बनाएकी ब्रिटिश मुलकी नागरिक चोग्याललाई परराष्ट्र मन्त्रालयले अनुमोदन नगरेपनि उनैले न्यूजिल्याण्डको प्रतिनिधि भएर काठमाडौंमा काम गरिरहेकी छिन् ।

यसरी नेपाल सरकारले चोग्याललाई ‘स्वीकार’ नगरिरहेको पृष्ठभूमी र पर्वतारोही एडमन्ड हिलारीको बिरासतमा जोडिएकी ‘फस्ट लेडी’ लाई न्यूजिल्याण्डको अवैतनिक दूतबाट हटाएपछिको यो स्थिती भने कुटनीतिक सहजीकरणका हिसाबमा त्यति सजिलो देखिन्न ।

यसअघि, मान्यतामैं नरहेको फर्जी शिक्षण केन्द्रमा भर्ना गराएर सयौं बिद्यार्थीलाई अलपत्र पार्ने एक्सपर्ट एजुकेसनल एण्ड भिसा सर्भिसेजका प्रबन्धक सन्जीव शर्मालाई तास्मानिया स्टेटको अवैतनिक बाणिज्यदूत बनाइएपनि उक्त राज्यले अहिलेसम्म शर्माको नियुक्तीलाई मान्यता नदिएझैं न्यजिल्याण्डमा पनि खनालको ‘हालत’ उस्तै हुने संकेत देखिएको छ ।

अष्ट्रेलियास्थित नेपाली दुतावासले शर्मा वा खनालको नाम सिफारिश गरेर काठमाडौंमा परराष्ट्र मन्त्रालयमा यसको स्वीकृतिनामा पठाउनासाथै सबै प्रकृया र नाम ‘अन्तिम अनुमोदन’मा जान्छ भन्ने स्थिती रहन्न । स्थानीय राज्य सरकारले दूत तोकिएका निज ब्यक्तिको सामाजिक, आर्थिक र अन्य प्रभाव तथा पहुँच हेरेपनि उक्त नामलाई अन्तिम अनुमोदन दिन सक्ने (वा नसक्ने) नियम रहीआएको छ ।

(यो समाचारमा वाणिज्यदूत खनालको खण्डन आएको छ । खण्डन पढ्न यहाँ क्लिक गर्नुहोला)

यसैसित संवन्धित यस अघिको रिपोर्ट

विध्यार्थी बिचल्ली बनाउने डन अब अवैतनिक वाणिज्यदूत ?

तपाइँको प्रतिक्रिया