शुक्रबार, मंसिर ७, २०८१

शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपी- दोस्रो भाग

डा. गोबिन्द राज भट्टराई२०७७ चैत २८ गते १०:०८

(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्)

(अघिल्लो भागको अन्तिम अंश: झन्झन् उज्यालो बढ्दै गयो । लामो झरीबादल वर्षापछिको यस्तो प्रभात आज कति स्वच्छ थियो । धनबहादुर भाइ सोधेको बोल्छ, अथवा नबोली सरर चलिरहन्छ । त्यसरी एकै घण्टामा हामीलाई उसले काँकरभिट्टामा ओराल्यो । मान्छे यहाँ कम्ती थिए । दश बाह्रवटा ट्याक्सी र भ्यान थिए । भर्खर बजारमा चिया पाक्दै थियो । तिहारले छोपिसकेको एक प्रकारको मीठो मौनता र नीरव शान्ति थियो ।)

त्यहींबाट अर्काे ट्याक्सी फेला पर्‍यो र चालक भाइ तुलसीबहादुर अघि सरेर भन्छ— ‘इन्डियन इम्बेसीबाट रोड पर्मिट लिएको गाडी, दुवै देशमा चल्छ सर ।’ म डराएको थिएँ— भन्सारमा कतै दुःख दिने हुन् कि ? झिटीगुन्टा, लगेज उधिन्ने हुन् कि ? अघि डा। कविता लामाले नेपालबाट उपहारमा पाएका पुस्तकहरूको प्याकेट पनि भन्सारले इन्डिया ल्याउन नदिएर, भन्सार तिर्न लगाएको कुरा सुन्यौँ । त्यस्तो हुने हो कि ? दुई चार पुस्तक कोसेली बोकेका छौँ । त्यता इन्डियाबाट भने देशभरिका नाका गरी दिनको पाँच ट्रक पुस्तक नेपाल भिर्‍याउँछ । तर हामीले नेपालबाट एक प्याकेट उपहार क्रिति भारतमा ल्याउन पनि थुरथुर काम्नुपर्छ ।

वर्षाैं भयो सिलिगुडी, दार्जिलिङ कराएको, पूर्वोत्तर भारत कराएको । हामी यतादेखि कराएको । तर आजसम्म पनि नेपाल सरकारले यस्तो असमानताको टुङ्गो लगाउन सकेन । कत्रो अन्याय छ । असमानता छ । सुन्दैन । नेपाली मन्त्री, प्रधानमन्त्री उपस्थित मिटिङमा हामीले दुःख पोखेको । नेपाली बुक सोसाइटीले वर्षांदेखि बिन्ती गर्दाे छ । बारम्बार अखवारमा लेखेका हौँ । गत वर्षको अगस्टमा साहित्य अकादमी दिल्लीमा आयोजित भारत–नेपाल स्रष्टा सम्मेलनमा कुलपति वैरागी काइँलाको प्रस्तुतिको एउटा बुँदा यही थियो । तर कसैले सुनेन । तस्कर–गुन्डाहरूले भनेको भए सरकारले सुन्थ्यो होला । अझ कालो बजारको स्वर सुन्थ्यो होला । तर अक्षरमा खेल्ने हामीसित केको तागत हुन्छ र सुन्छ ? कहिल्यै सुन्दैन होला । तर आज म भयमुक्त भएँ, भारतीय भन्सारमा गाडी नै खोलेन, सुटकेस हेरेन । सोधेन । कारण यो पासवाला थियो । यस्तो हुन्छ भन्ने जानेको भए अरू पनि एक बाकस पुस्तक लिएर आउँदा हौँ, उपहारका लागि । तर त्यो थाहै भएन ।

त्यहाँदेखि बगानै बगानको भित्री बाटो, हरियालीको चेपैचेप, मान्छे राम्ररी उठ्नुभन्दा पहिले हामी अघि बढ्यौँ । दीपावलीका केराका थाम बाटाभरि, प्रवेशद्वारहरूमा ठडिएका, केही लडेका थिए । ठाउँठाउँमा बनाइएका अस्थायी पूजास्थल, बिजुलीका तार, निभेका दिया र पूलहरू विश्राममा थिए । हामी सिलिगुडी बजार पसेनौँ । त्यसैले पनि साराका सारा मार्ग परिवेश सुनसान थियो । एक मन त डर डर पनि लाग्यो– यो सुनसानमा भित्र कतै पुर्‍याएर, अरू मतियार भिडाएर यसले लुटपाट गर्ने त होइन? त्यस्ता पनि कथा सुनेका छौँ । हाम्राहरूले भोगेको देखेका छौँ । हे प्रभु ! आज त्यस्तो कुरा नहोस् ।

बल्ल रेलमा चढियो । एनजेपी पुग्न एक घण्टा समय लाग्यो होला । कतिपल्ट आएको ठाउँ आज पनि अपरिचित लागेन । कतिपल्ट हाम्रो हैदराबाद जाने रुट यही थियो । आज उसैगरी स्टेशनमा पुग्यौँ । तर कोही परिचित छैन । तथापि रेल आवागमनको सूचना गर्दा अंग्रेजी, बंगाली र नेपाली गरी तीन भाषामा उद्घोषण गर्दोरहेछ । मलाई लाग्छ— यो पनि हाम्रो आँगन हो । यतिले पनि हाम्रो सम्मान र सुरक्षाको बोध हुन्छ ।

मैले दिल्ली–काठमाडौँ जेट यानमा नेपाली उद्घोषण सुनेको हुँ । त्यसैगरी काठमाडौँ–कतारकोे विशाल यानमा पनि नेपालीसमेत त्रैभाषिक उद्घोषण सुनेको हुँ । यसरी भिन्न भूमिमा हाम्रो भाषाको सम्मान गर्ने कोही छ भन्ने थाहा पाउँदा पनि त्यसले एउटा सुरक्षाबोध हुने रहेछ । व्यक्तिभन्दा पनि मेरो जाति र यसको भाषा चिनिएछ भन्ने ढुक्क लाग्दो रहेछ । यसले अर्कातिर पनि सङ्केत गर्दछ— नेपाली जातिको आवागमन कति विस्तृत र व्यापक हुन थालेको छ । योसँगै भाषा र संस्क्रितिको आवागमन हुने हो । हाम्रो सम्मानमा नै यसरी त्यहाँ हाम्रो भाषा बोलिएको हो । यो नेपालीसमेतको भूमि पनि हो । त्यसले गर्दा पनि एनजेपी आफ्नै लाग्यो । त्यहाँ थुप्र्रै नेपालीको निरन्तर आवागमन थियो । स्टेशनको विश्रामगृहमा ज्यादाजसो दार्जिलिङ र सिक्किम अनुहारका नेपाली नै थिए । उता पूर्वाेत्तरकालाई छुट्ट्याउन मुस्किल पर्छ । सबै राई–लिम्बू जस्ता लाग्छन् ।

रेल चढेको कैयौँ पल्ट भयो होला । २०२८ सालमा बनारस जाँदा पहिलोपल्ट जोगबनीमा चढियो । त्यसयता कति भो कति ! चार दशकभित्र सयौँपल्ट पुगियो होला । तर पनि नेपाली संस्कृतिमा रेल नपर्ने भएकाले चढेको बिर्सिइन्छ, यो सधैँ विदेशीय वा पराई शक्तिजस्तो, अनौठो लाग्छ । रेल चढ्नुअघिको अज्ञानतामा आवश्यक पर्ने अत्यासको भावना त्यसपछिको हुल र ठेलमठेल, भीडमै हराएर उपयुक्त कोठामा नपुगिने भय, साथी छुट्ने भय, चोरी र लुटिने भय । धेरै कुराको प्रतीक हो । यो संसारमा मानिसहरूको भीडमा, अन्योल कुहिरोमा हामीले गरेको भागदौड र रेल चढ्न गरेको झम्टाझम्टी सदा उस्तै लाग्छ मलाई । यद्यपि त्यहाँ व्यवस्था छ । पद्दती छ । तर पनि झम्टेर पुग्नु, ठेलिनु र खाँदिनु मलाई सदा नै अनिवार्य लाग्दछ । त्यसले भय उत्पन्न गर्छ । एकाध घण्टाको ट्रौमा सञ्चार हुन्छ ।

यसपालि पनि अघि नै टिकट गरेका हौँ । कन्फर्म छन् । तर एक दर्जन लिक र लाइनतिर पस्ने अनेक सिँढी र भर्‍याङमा कुन चिनेर कता झर्नु, कहाँको कुन रेल पसेर कता रोकिन्छ । त्यो संस्कृतिमा नहुर्कनेलाई अन्योलको बजारमा पसेझैँ लाग्छ । मिनेट मिनेटमा रेल आएका छन्, गएका छन्, हाम्रो कुन लाइनमा रोकिन्छ । कति बेरसम्म अडिन्छ । आफ्नो डिब्बाको नम्बर पत्ता नलागेर समयमा उठ्न नसकेर बेपत्ता भइने पो हो कि— यस्तो आशंका र भयले एकपल्ट छुन्छ । घडी हेर्दै अधीर हुँदै आशंकामा तीन घण्टा बितायौँ । तर मैले नेपालमा पढ्न थालेको ‘फ्रिडम फ्रम द पास्ट’ साथमा थियो । झिकेर त्यही पढ्न थालेँ । यसलाई मैले अतीतबाट विमुक्ति सम्झेर पढ्न थालेँ । बेलाबेला चनाखो गर्दै त्यही पढिरहेँ । मलाई दुई वर्षअघि सजन कुमारले उपहारका रूपमा त्यो कृति प्रदान गरेका थिए । यसलाई सरसर्ती मात्र पढेको हो । यसपालि मेरो शैलीमा गम्भीरतापूर्वक पढ्ने रहर जागृत भयो र यस यात्राका लागि बोकेका कृतिमध्ये एउटा यो पनि परेको छ । अरू कृतिबारे पढ्न भ्याएछु भने पछि उल्लेख गरौँला ।

अञ्जना र सेवा आआफ्ना पुस्तक पढ्न थाले । स्टेशनमा बिक्ने नयाँ रिडर डाइजेस्ट पनि कति महँगो ! अञ्जनासँग रविन्दर सिंहको ‘आइ टु ह्याब् अ लभ स्टोरी’ थियो । सेवासँग चाहिँ शिरीषको फूल । छोरीको नेपाली पुस्तक–प्रेम देख्ता हर्ष लाग्छ ।
प्रत्येक यात्रामा म आफ्नो शैलीले गम्भीर पठन गर्न रुचाउँछु । मेरो पढ्ने शैली अर्कै छ— त्यसबारेमा भने म यहाँ दोहोर्‍याउन चाहन्नँ ।

बस्ताबस्ता ११ः३० मा राजधानी एक्सप्रेस आउने घोषणा भयो । भरे विचलित परिएला कि भनेर एउटा ‘राताकमेजे’ कुल्लीलाई बन्दोबस्त गरेको थिएँ । उसका सुकिला दाँत, फुलेको दाह्री, घोप्टा तिलचामले जुँघा र सरल भारतीय संस्कृतिको प्रतिनिधि व्यक्तित्व मलाई खुब मन पर्‍यो र अघि नै उसलाई रोजेको थिएँ । नभन्दै पढ्दापढ्दा हामी थाकिसकेका थियौँ । रेलको सिटी सुन्नासाथ उफ्रेर ऊ माथि विश्रामालयमा आयो । हामी युद्धमैदान हेर्दै, कोलाहल सुन्दै भिड्न तत्पर भयौँ । राताकमेजेले दुइवटा सुटकेस शिरमा हालेर एउटा झुन्ड्यायो । भारतको यो पुरानो संस्कृति । हामीले पनि आआफ्ना झोला भिर्‍यौँ । मसँग बात गर्दै गयो— ‘एनजेपीमा मात्र १४० कुल्ली छाँ हजुर । मैले सन् १९७२ मा लाइसेन्स लिएको हुँ । म सोह्र वर्षको थिएँ,’ उसले परिचय दिएको थियो ।

‘एक सय रूपैयाँ त ज्यादा भो भाइ, त्यति सामान रेलमा चढाएको,’ मैले भनेँ ।
‘हामीलाई मुस्किल छ, दिनको तीन चार सय कमाउन । महीनाको पाँच रूपैयाँ ता सरकारी ट्याक्स पनि तिर्नुपर्छ ।’

‘त्यसको सट्टा के पाउँछौ ?’ मैले सोधेँ ।

‘एउटा लाइसेन्स र रातो कमेज फिरीमा,’ भन्दै ऊ अलिकति मुस्कुरायो । अनि थप्यो— ‘सरकारले उता दार्जिलिङ जाने स्टेशनमा ठेल्ने ट्रली राखिदियो र हाम्रो रोजीरोटी समाप्त हुँदैछ । हामीले विरोध गर्‍यौँ— यो ट्रली नल्याउनू भनेर । यहाँ पनि ट्रली ल्यायो भने अब गाउँ फर्किंदा हुन्छ । गाउँमा पनि कुनै काम छैन ।’

एकपल्ट नेपालको उदयपुरमा ढाक्रेहरूले पहाड चढ्ने ट्रकको वा ट्याक्टरको विरोध गरेको खबर छापिएको थियो । यहाँ ठीक त्यस्तै रहेछ । प्रविधि पनि गरीब र दुःखीका लागि वैरी हुँदैछ । श्रम गर्ने उपाय नभेटेर मानिस कहिलेकाहीं प्रविधिविरुद्ध लडाइँ गर्न तत्पर छन्— सय वर्षअघि लेखिएको हेनरिक इब्सनको नाटक छ । तर के मानिसले जित्ला र ?

मैले टिकटमा पढेर थ्रीको ‘ए’ भनेँ । राम्रो नबुझेरै किनभने त्यहाँ लेखिएको त्यही थियो । निरक्षर कुल्ली बाकस ठेल्दै थ्रीको ‘ए’ भित्र पस्यो । हामीले पछ्यायौँ— पुगेर खोज्दा कुनै सिट नम्बर मिल्दैन । एक छिनमा कुरो बुझाएर अर्कालाई देखाउँदा हाम्रो कोच नम्बर बीको ‘फोर’ रहेछ, सबै टिकट ‘बी’ का रहेछन् । त्यो थाहा नपाएर भारीले किचिएको बिचरा एकपल्ट रिसाउन खोज्यो । तर उसलाई रिसाउने फुर्सद थिएन । मलाई पनि यति मूर्ख बनेकामा पश्चात्ताप गर्ने समय थिएन । त्यहाँबाट तर्सेर आत्तिँदै, त्यो पोको परेको भीडलाई घुर्चिंदै र ठेल्दै ऊ झर्‍यो । मान्छेको अटेसमटेस सास थुन्ने थियो । हामी पनि मरेर ओर्लियौँ । राताकमेजे जोडले अघिअघि उड्न थाल्यो— हाम्रा बाक्सासँगै राताकमेजे नै यो कुम्भमेलामा हराउने पो हो कि ? मैले आफ्नो दृष्टि जोर बाकसमा स्थिर गरेर उसकै गतिमा उड्न थालेँ । सेवा र अञ्जना परै कुद्दै छन् ।

अब रेल छुट्ट्यो भने के हुन्छ ! रेलले सिटी फुकिसक्यो । नपुगिने पो हो कि ? रेलको मुखबाट पुछारसम्म भारी घिसार्दै दौडँदा मेरो मुटु ढुकढुक भयो । सम्झेँ— आज मूर्ख भइयो । शायद अब यो यात्राको यहीं अन्त्य हुने भो । अब शिलाङ होइन घरै फिर्नुपर्ने हो कि ? पर्सिको सम्मेलन छुट्यो भने उता जानुको के अर्थ रह्यो ? ठूलो भय र सन्त्रासमा देवीदेवता पुकार्दै गएर बल्ल ठीक बग्गीमा पुगी चढ्यौँ । सिटमा बस्न नपाई राजधानी सिटी फुक्तै हल्लिन थाल्यो । बिचरा कुल्ली त्रुटिपूर्ण सूचनादाता मतिर फर्केर थप दाम माग्न खोज्दै थियो । मलाई उसले मूर्ख ठहराएको हुनुपर्छ । कुरो त्यस्तै थियो । तर राजधानी तीव्र गतिमा छकछकाउन थालेकाले ऊ आत्तिँदै ढोकातिर बढ्यो । ढोकैमा पुगेर सेता दाँतका एक फ्ल्यास मतिर फाल्दै बुरुक्क तल उफ्रियो । कुन्नि यो दुःखीले घुँडा पो खुस्कायो कि । रेलले तीव्र गति लिइसकेको थियो ।

कत्रो आपद् छ यस्तो नवीन संस्कृतिमा । जतिपल्ट चढे पनि आज एकपल्ट म आफ्नै मुगलानका सुतार र ठूलेजस्तो भएछु अबोधतामा । म अझै भित्र खुम्चिरहेको रहेछु । तर वरिपरिकाले यसरी म आत्तिएको चाल पाए कि भन्ने सन्देहसाथ सिटमा बसेर बिस्तारै सम्हालिन खोजेँ । त्यसपछि मैले अतीतका ठूले र सुतारको स्थिति सम्झेँ— ‘आसाम मेल !’ मानिसको दौडादौड देखिन लाग्यो । मल्याकमुलुक उनीहरूले हेरे— मानिस त्यही रेलतिर दौडिरहेछन् ।’

‘आछाम जाने रेल यही होला दाइ, जौँ पसौँ’ कान्छाले भन्यो । मुख धुनु थिएन । दिशापिसाबको निम्ति जता पनि मानिस छन् । त्यहाँ ठाउँ छैन । कचेराले ढाकेका चिप्रे आँखा र रित्तो पेट लिएर मान्छेको अपार भीड घुर्चिंदै उनीहरू रेलतिर बढे । चढेर भित्र पसे । एकदम सफा र राम्रा बस्ने सिटमा अझ राम्रा र मोटा मानिसहरू बसेका छन् । एकातिर मानिसहरू गफमा मस्त छन्, अर्कातिरका खानमा व्यस्त छन् र बाँकीलाई पस्नु निस्कनु, भारी उचाल्नु पछार्नु उत्तिकै धावा छ । सुतार कान्छो थ्याच्चै भुइँमा बसेर दाजुलाई बस्ने सङ्केत गर्दै भन्यो, ‘याँ बस दाइ, माथिका सिटमा त ठूला–ठूला साहेपहरू बस्छन् ।’ दुवैले पलेँटी कसे । उनीहरूमा दृष्टिपात गर्दै मानिस खित्खिताउन लागे । गर्दागर्दै सम्पूर्ण कोठा हाँसोको फोहरा बन्यो । उनीहरू केवल मुखामुख गर्न सक्थे । आत्तिन जानेका थिए । यत्तिकैमा एउटा मोटेले बोल्यो, ‘अरे यह कमरा रिजर्व है, यहाँ से निकलो, कहाँ जाओगे ?’ उनीहरू फेरि मुखामुख गर्छन् । अनुहारमा निर्दाेष रेखाहरू कुद्छन् । ओह ! यस संसारमा मानिसलाई कहीं दोष छैन भने त्यो निर्दाेष रहनुमा मात्र हुन सक्छ ।

त्यो मानिस फेरि बोल्यो, ‘यह रिजर्व है, समझे ?’
‘हामी त साहेब, पहाडबाट आएका ’
(मुगलान,पृ. ९)

आजको आसाम यात्राको आरम्भ नै यस्तो भयो । त्यसपछिका अनेक सम्भावनाले, सन्त्रासले मलाई बौरिन आधा घण्टा लाग्यो । बल्ल राजधानी उडेको थाहा पाउन थालेँ । एक घण्टापछि ‘तपाईंलाई खाना के ल्याऊँ सर ?’ भन्दै एउटा नामटिपुवा युवक आयो । बोलीमा बंगाली वा नेपाली छुट्ट्याउन सकिनँ । ऊ दुवै भाषा त्यसरी बोल्थ्यो । तर अधिक पानसेवनले उसका दाँत खैरिएका थिए । मैले ठानेँ, यो बंगाली हो कि । अनि मैले सोधेँ— ‘खानामा के के छ भाइ ?’ उसले बतायो— ‘आलु, पनीर, राइस, रोटी, दाल, सब्जी आदि ।’

मैले सोधेँ— ‘कुन खानाको कति पर्छ ?’ तब मेरा छेउको अर्काे युवकले— ‘यो राजधानी हो सर । यसमा पैसा लाग्दैन । जे खाए पनि हुन्छ,’ भने । म छक्क पर्दै थिएँ । केटालाई टिप्न हतार थियो । दोस्रो युवकले थप्यो— ‘चिया नास्ता पानी खाना सारा कुरा अस्ति नै टिकटसँगै तिरिसकियो । आज निशुल्क छ ।’ उनीहरूले आत्तिएको मलाई हिन्दीमा बुझाए ।

क्रमश : अर्को हप्ता

तपाइँको प्रतिक्रिया