शनिबार, साउन १२, २०८१

बत्तीस करोड रुपियाँको पुरस्कार अस्वीकार गरे जर्मन दार्शनिकले

नेपालप्लस न्युज डेस्क२०७८ वैशाख २० गते १६:५५

युनाइटेड अरब इमिरेट्समा रहेको शेखहरुको सामाजिक संस्था इमिराती फाउण्डेशनले हरेक वर्ष प्रदान गर्ने बत्तीस करोड तीन लाख नेपाली रुपियाँ बराबरको पुरस्कार जर्मन दार्शनिकले अस्वीकार गरेका छन् ।

उमेरले ९१ वर्षीय जर्मन दार्शनिक युर्गेन हावरमासलाई समाजको वृहत्तर विकासको निम्ति संस्कृति, साहित्य र दर्शनको क्षेत्रमा क्रियाशील रहेबापत पुरस्कृत गर्ने र यस वर्षको साँस्कृतिक वर्ष व्यक्तित्व (कल्चरल पर्सनालिटी) घोषणाको फाउण्डेशनले निर्णय गरेको थियो ।

हावरमासले भने युनाइटेड अरब इमिरेट्सको राजनीतिक प्रणाली वंश परम्परामा रहेको र मुलुकको मानव अधिकारको स्थिति सन्तोषजनक नरहेको भनी पुरस्कार लिन अस्वीकार गरेका हुन् ।

उनले भनेका छन् ‘जुन देशमा जन्मको आधारमा देशको नेतृत्व गर्ने तहमा कुनै मानिस पुग्दछ । उनीहरुले मलाई दिएको पुरस्कार र सम्मान लिनु मेरो मान्यताको विरोधमा हुन्छ । त्यसैले मलाई यो पुरस्कार अस्वीकार्य छ ।’

इमिराती फाउण्डेशनले हावरमासको निर्णयप्रति सम्मान गर्ने जनाएको छ । वर्षेनी लाखौं डलर बराबरको पुरस्कार, दान र सम्मान दिंदै आएका धनी शेखहरुलाई एकजना बूढा दार्शनिकको यो प्रतिकृयाले लाजमर्नु बनाएको छ । ‘पहिला देशको मानवअधिकार सुधार, त्यसपछि बल्ल पुरस्कार बाँड’ भन्दै सामाजिक संजालमा दार्शनिकको पक्षमा समर्थन र सम्मानका साथ भनाइहरु आइरहेका छन् ।

तपाइँको प्रतिक्रिया