शुक्रबार, वैशाख २१, २०८१

वाइडेन र पुटिनबिच भेटघाट हुने खबरले तातेको जेनेभा

नेपालप्लस संवाददाता / जेनेभा२०७८ जेठ २९ गते १०:३१

अमेरिकी राष्ट्रपति जो वाइडेन र रुसी राष्ट्रपति भ्लादिमीर पुटिन बीच जुन १६ मा जेनेभामा हुने भेटघाटको खबरले जेनेभा रनक्कै तातेको छ । संयुक्त राष्ट्रसंघ लगायत विभिन्न अन्तर्राष्ट्रीय संघ संस्थाको महत्वपूर्ण कार्यालय रहेको जेनेभामा विश्वका विभिन्न देशबाट राष्टपति, नाम चलेका नेताहरुको आवतजावत भैरहन्छ । तर त्यो खबर बन्दैन । यसपटक भने सधैभरी कटुतापूर्ण सम्बन्ध रहेका पुटिन र वाइडेनको भेटघाटको विषयमा स्विजरल्याण्डका रेडियो, टेलीभिजन र पत्रपत्रिकामा चर्चा चलिरहेको छ । ब्रसेल्समा उत्तर एटलान्टिक सन्धी संगठन नाटोको वैठक सकेपछि वाइडेनको जेनेभा आउने कार्यक्रम छ ।

स्विस सेना र पुलिसको विशेष दस्ताले दुवै नेताहरुको भेटघाट हुने थलो लेमन तालको छेउस्थित अठारौं शताब्दीको चर्चित भिल्ला ग्रान्जालाई बन्दाबन्दी गरेर सुरक्षाको बन्दोबस्त गरिरहेको छ । दुवै नेताहरुको आवतजावत हुने बाटोघाटो र भिल्ला नजिकैको पार्कमा काँडेतार बिछ्याउन थालिएको छ । स्थानीय प्रशासनले नेताहरु आउजाउ गर्ने बाटाका ससाना पसलहरु बन्द गर्न सार्वजानिक उर्दी जारी गरिसकेका छन् । उनीहरु हिंड्ने बाटो बन्द हुने समयतालिका पत्रपत्रिकाले छापिसकेका छन् । पत्रकार लगायत सरोकारवालाहरुको आवतजावत गर्नको निम्ति विमानस्थलमा राम्रो प्रबन्ध मिलाइएको छ ।

भिला गान्जा, पुटिन र बाईडेन वार्ता हुने थलो

युरोपका अरु मुलुकहरु झैं कोरोना महामारीले ठप्प जस्तै भएको स्विजरल्याण्डले बिस्तारै जनजीवनलाई सामान्य बनाउँदै लगिरहेको छ । पर्यटक र अन्तर्राष्टिय संघ संस्थाको आवतजावतका कारण धानिएको जेनेभाको अर्थतन्त्रमा वाइडेन र पुटिनको शिखरवार्ताको कारण पुनः सामान्य अवस्थामा फर्काउन सहयोग पुग्ने जेनेभावासीहरुको धारणा छ । कतिपयले यो तामझामलाई मन पराएका छैनन् । स्थानीय डेनर पसलमा सामान किन्न आएकी ८२ बर्षकी स्विस महिला कार्लाले भनिन, संसारमा उनीहरुकै नाम छ, बलिया छन् । हामीहरु अनौपचारिकता मन पराउँछौं । मलाई यस्तो तामझाम मन पर्दैन । सुरक्षाको कारणले हो की ?

संसारैभरीका मानिसहरुको चासो रहेको अमेरिकी र रुसी नेताहरु आउँदा नै स्विजरल्याण्डको निम्ति धेरै फाइदा पुग्ने हिसाब गरेर तटस्थ भूमिका खेलिरहेको स्विसले दुई नेताहरुलाई ल्याउन पहल गर्दै आइरहेको थियो ।

यस अघि १९८५ मा तत्कालीन सोभियत संघका राष्टपति मिखाइल गोर्वाचोभ र अमेरिकी राष्टपति रोनाल्ड रेगन बीच आणविक हतियारको विषयमा निकै महत्वपूर्ण शिखरवार्ता जेनेभामै भएको थियो । अमेरिकी, युरोपेली युनियन लगायत पश्चिमी मुलुकहरुले रुस विरुद्ध घेराबन्दी गर्दा पनि स्विस सरकारले मित्रवत् सम्बन्ध राखेकै छ । अमेरिकासँग पनि स्विजरल्याण्डको निकै राम्रो कूटनीतिक सम्बन्ध छ । खासगरी सन् १९७९ मा इरानमा खोमेनीको विद्रोह भएको महिनौंसम्म आफ्ना कुटनीतिज्ञहरु तेहरानमा थुनिंदा उनीहरुको रिहाइको निम्ति स्विजरल्याण्डले निकै ठूलो भूमिका खेलेको थियो । इरानसँगको कतिपय कुटनीतिक गतिविधि अमेरिकाले स्विटजरल्याण्ड मार्फत् गर्दै आएको छ ।

अमेरिकी राष्ट्रपति वाइडेनले रुसमा बसेर अमेरिकामा साइबर अपराध गरिरहेको सांगठिक समूह, रूस भित्रैको मानव अधिकार, आणविक सन्तुलन, क्षेत्रीय झगड़ा र क्राइमिया पछिको यूक्रेनको समस्याको विषयमा कुराकानी गर्ने बताइएको छ । रूसी राष्ट्रपति पुटीन भने अमेरिकी आरोप र पश्चिमी प्रोपोगाण्डा भनेरै आफ्नो बलियो अड़ान राख्ने नै होलान भनी अखबारहरुले लेखेका छन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक