शनिबार, वैशाख २२, २०८१

नेपाली कांग्रेसलाई यो नाजुक अवस्थाबाट कसरी बाहिर निकाल्ने ?

प्रकाश ढकाल, कोपनहेगन२०७८ असार २३ गते १९:३१

प्रत्येक चार वर्षमा हुनुपर्ने महाधिवेशन अब कहिले हुने हो थाह छैन । डेढ वर्षमा पटक पटक म्याद थप गरि गरि पार्टी सभापति आफैंले आफैंलाई टीका लगाई पदमा बसिरहेको अवस्था छ । यो कुरा भन्दा र सुन्दा तीतो लाग्छ । तर यथार्थ यही भइरहेको छ ।

पार्टीको विधि विधान कहाँ छ थाह छैन । विधानले पनि नदिएको कुराहरू गरि पदको दुरुपयोग पार्टी सभापति र उप सभापतिबाट अहिले पनि भैरहेको छ । ४ वर्षे कार्यकाल सकिएपछि पार्टीको महाधिवेशन गर्ने अवस्था हुँदाहुँदै पनि महाधिवेशन समयमा गरिएन । यसको खास कारण पार्टी सभापति शेरबहादुर देउवा पुनः पार्टी सभापतिमा चुनाव लड्ने इच्छा भएपनि यदि समयमा महाधिवेशन भएको भए वहाँ चुनाव हार्दै हुनुहुन्थ्यो । हार्ने चुनाव कसैले पनि गर्दैन । आफु हार्ने देखेपछि देउवा महाधिवेशन नगरी आफ्नो म्याद आफैले थप्नुभएको हो ।

पार्टीको मात्र होइन । यसका भातृ सङ्गठनहरू नेविसङ्घ र तरुण दल आज कहाँ छन् थाह छैन । नेविसङ्घको पनि अधिवेशन भएको छैन । तरुण दलको पनि । यदि संस्था विधि, विधान र प्रक्रिया अनुसार चल्न सकेन भने ध्वस्त हुन्छ । नेपाली कांग्रेस प्रजातान्त्रिक पार्टी हो जहाँ स्वच्छ प्रतिस्पर्धा अनुसार प्रजातन्त्रिक प्रक्रियाबाट नेतृत्व चयन हुँदै आएको छ । तर आज त्यो विधि र प्रक्रिया कहाँ छ, थाह छैन ।

नेविसङ्घ र तरुण दलको महाधिवेशन अनिश्चित छ । एकलौटी रुपमा चलाइएको छ । अर्को भातृ संस्था नेपाल महिला सङ्घ पनि कहीँ छ र ? भन्ने अवस्था भैसकेको छ । यदि यही पारा हो भने नेविसङ्घ र तरुण दलको अस्तित्व नै समाप्त हुने निश्चित छ । किनकि तदर्थवाद धेरै टिक्दैन । नेपाली कांग्रेसको विदेश स्थित सङ्गठन जनसम्पर्क समितिको त कुरा नगरौं । जनसम्पर्क समितिहरू त छाडा छोडेका बस्तुभाउ जस्ता भै सके ।

आखिर यो किन भइरहेको छ ? नेपाली कांग्रेसको यो नाजुक अवस्था किन भयो ? यसका केही कारण छन् । नेतृत्वमा रहनेको गलत मनसाय र गलत नियतको कारण आज नेपाली कांग्रेस र यसका भातृ सङ्गठनहरू ध्वस्त बन्दैछन् । केन्द्रमा पार्टी सभापतिले अलिकति असल नियत राखी  विधि विधानलाई मात्र पालना गर्नसकेको भए आज कांग्रेसको यो दुर्दशा हुने थिएन ।

देशभर दशौं लाख कार्यकर्ता छन् कांग्रेसका । गाउँको वडा तहदेखि केन्द्रसम्म अत्यन्त होनहार कार्यकर्ता छन् । उनीहरूको कुरा नसुनि दिनदिनै आफ्नो निवास आउने पन्ध्र बीस केही केन्द्रीय सदस्य र झुन्ड्को कुरा सुन्यो, संसारै आफैंले थामे जस्तो गरि मक्ख पर्दै बस्यो भैरहेको छ । देशमा के भइरहेको छ, जनताको हालत के छ मतलब छैन । चिन्ता छ त केवल आफ्नो पद र परिवारको ।

अब यो अवस्थाबाट पार्टीलाई बहिर निकाल्नु जरुरी छ । यहि अवस्था रहिरहने हो भने अर्को आम चुनावमा नेपाली कांग्रेस तेस्रो पार्टी बन्नेछ । पार्टी विधि, विधान र प्रक्रियाबाट चल्न छोड्यो भने सिंगो पार्टी सिद्धिएको उदाहरण धेरै देशमा छन् । आम जनता र कार्यकर्ताको विश्वास गुम्न धेरै समय लाग्दैन । त्यसैले आज  नेपाली कांग्रेसको यो नाजुक अवस्थालाई टुलुटुलु हेरिरहनु भन्दा निडर भै तपाइ हाम्रो लागि भोलि पार्टीको भविष्य राम्रो बनाउने तथा देशको लागि सोच्ने नेतालाइ मात्र वडा तहदेखि माथि केन्द्रसम्म पुर्‍याउने दायित्व कार्यकर्ताको हो ।

यो रातारात र तुरुन्तै सम्भव हुँदैन । तर तपाई हामीले सोच्ने तरिका मात्र बदल्न सकियो भने आगामी महाधिवेशनमा धेरै फरक पार्छ । एक जनाको बोलीमा तागत नहोला । तर धेरै जना बोलियो भने त्यो शक्तिमा बदलिन्छ । हामी आफू ठीक हुन सकियो भने नेता आफैं ठीक हुन्छन् । र भोलि समाजले पनि गतिलो नेता पाउँछ ।

तपाइँको प्रतिक्रिया

फेसबुक