शनिवार- साहित्य / सृजना / नियात्रा
गुवाहाटीमा नव सापकोटा दाइसित भेट
(शिलाङ, तेजपुर, गुवाहाटी यात्रा : काठमाडौंदेखि एनजेपीको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस, तेस्रो भाग हेर्न यहाँ क्लिक गर्नुहोस, चौथो भाग हेर्न यहाँ क्लिक गर्नुहोला, पाँचौं भागकालागि यहाँ क्लिक गर्नुहोला र छैठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, सातौं भागकालागि यहाँ क्लिक गर्नुहोला, आठौं भागकालागि यहाँ क्लिक गर्नुहोला, नवौं भाग हेर्न यहाँ क्लिक गर्नुहोला र १० औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, ११ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १२ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला, १३ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोस्, १४ औं भाग हेर्न यहाँ क्लिक गर्नुहोला )
त्यस्तै तीन घण्टा लाग्यो होला ! मित्रहरूसित बिदा मागेर म गुवाहाटी महानगरको पूर्वी मुख नजिक ओर्लिएँ । केही समयको प्रतीक्षामा आफ्नो गाडी हाँक्तै ‘विद्वान् भाइ’ आइपुग्नुभयो, डा। खगेन शर्मालाई म त्यसरी सम्बोधन गर्दछु । गुवाहाटीका भारतीय भाषा संस्थानमा कार्यरत भाइ शर्मा अत्यन्तै विनयशील एवं सहृदयी हुनुहुन्छ ।
उता बहिनी अस्वस्थ, एक्लो मानिस ! तथापि मलाई आफ्नो आवासस्थित कोलोनी पुर्याउनुभयो । अस्ति सेवा र अञ्जनाले पनि यसरी नै उहाँको सहयोग प्राप्त गरेका थिए । उहाँको अपार्टमेन्टमा चढ्यौँ चारतला लिफ्टमा । भारतीय अपार्टमेन्टहरू मनमैत्री लाग्छन्, पश्चिम र अन्यत्रका आकासिने विशाल अपार्टमेन्टतिर निसासी लाग्ने ऐकान्तिकताले ती भयप्रद हुन्छन् ।
आज एक प्रकारको न्यानोपना अनुभव गरेँ । भाइको पढ्ने र लेख्ने कम्प्युटर–कोठा, राम्रो किचेन, बेड र स्नानागारहरू पर्याप्त छन् चार जनाको यो नागर जीवनमा । बिस्तारै समकालीन जीवनले परम्परागत स्पेसहरू त्याग गर्दै नयाँ स्पेसमा अभ्यस्त हुने दिन आएका छन् । यहाँ तुलसीको मठ, सयपत्रीको बोट, सानो पुष्प उद्यान वा जलाशय छैन । बिस्तारै मानिसलाई प्रकृतिविमुख हुन समयले सिकाइरहेको छ । बिस्तारै ऊ कृत्रिम जगतमा बाँच्ने अभ्यास गर्दै ननप्लेसेजमा पस्तैछ ।
त्यहाँ दुईघण्टा बस्यौँ । सर्वप्रथम मैले उष्णजलले स्नान गरेँ, कस्तो आनन्द ! जीउ मेरो चङ्गा भयो । त्यसपछि केही प्राज्ञिक वार्ता गर्यौँ । र विशेष गरी लीलबहादुर क्षत्रीको अभिनन्दन ग्रन्थको प्रारूप तयार गर्यौँ । योजना बनायौँ र छलफल गर्यौँ । बहिनी अस्वस्थ भए पनि एक भान्जीको सौजन्यले भारतीय प्रकृतिको आत्मिक चियानास्ता ग्रहण गर्यौँ । गर्दागर्दै निकै टाढाको मालीगाउँस्थित देवकोटा नगरदेखि नव सापकोटा र भाउजू मुन्नी सापकोटा आइपुग्नुभयो । प्रेमले, भेटघाटको उद्देश्यले उहाँहरू त्यसरी आइपुग्दा म अति प्रसन्न भएँ । त्यसपछि विद्वान् भाइसित बिदा मागी म नवदाइको गाडीमा चढेँ ।
गुवाहाटी शहरको पश्चिमतिर निकै लामा मार्ग आधा घण्टा नाघेपछि अलि ग्राम्य परिवेश लाग्ने सबर्बन क्षेत्रमा पुग्यौँ । बाक्लै जङ्गल, नरिवल, सुपारी एवं अन्य वृक्षहरू, भित्रभित्रै बनेका घरहरू, वरिपरि बिस्तारै उठेका थुम्का पर्वत हेर्दै हामी अलिकति उकालो जस्तोमा रोकियौँ । ओर्लेर हेर्दा बाटैमा जोडिएको “कविताकुञ्ज” थियो । त्यो नै नव सापकोटाको आवास रहेछ । धेरै ठूलो महल, बाहिर अग्लो तुलसाको मठ, अनि सुन्दर फूलबारी, वनसँग जोडिएको अन्तिम गृह थियो त्यो । त्यता घर पातला थिए ।
त्यहीं कविताकुञ्जमा नै विश्राम गर्यौँ । वार्ता गर्यौँ । नव सापकोटा दाजु–भाउजूको घरमा सहभोजन गर्यौँ । डा. पुत्र भेट नभए पनि पुत्रवधू हुनुहुन्थ्यो कस्तो आनन्द भयो । त्यसपछि तलामाथि लानुभयो । उहाँको ठूलो अध्ययन कक्षमा अध्ययन र अनुसन्धानका सामग्री, पुस्तक, पत्रपत्रिकाको ठूलो चाङ र एकान्त थियो । उहाँ नयाँ पुस्तकको रचना गर्नमा व्यस्त हुनुहुन्थ्यो । अनुसन्धान एउटा कठिन कर्म हो । तर यी दोस्रो पुस्ताका समर्पित स्रष्टा अनुसन्धाताहरू नेपाली वाङ्मयको उपस्थितिलाई उच्च स्थान दिँदै यसको परिचय स्थापित गर्न चाहन्छन् । त्यो समूहका सकृय अग्रणीमध्ये नव सापकोटा एक हुनुहुन्छ ।
नव सापकोटाले मेरा निमित्त नाम लेखेर हस्ताक्षर गरी छुट्ट्याएर राखेका एक सेट पठनीय पुस्तकको झोला उपहार दिनुभयो । ती कृतिहरू हुन्— स्वयं नव सापकोटाकृत कवितासङ्ग्रह युक्लिप्टस : आउने पिंढीलाई आशीर्वाद (२०१२) । ज्ञानबहादुर क्षत्रीद्वारा सम्पादित पूर्वाञ्चल भारतको नेपाली समालोचना यात्रा (२०११) । डा. शान्ति थापाको नवीनतम उपन्यास मोहनी डटकम (२००९) । उनै डा. शान्ति थापाद्वारा सम्पादित असमेली नेपाली कथायात्रा (२००८) । र डा. खेमराज नेपाल तथा डा. जमदग्नि उपाध्यायद्वारा सम्पादित नेपाली निबन्धयात्रा (२०१२) । यीमध्ये कतिपय त नेपाली साहित्य परिषद्, असमका प्रकाशन रहेछन् । एकएक प्रति पुस्तकको अर्काे प्याकेट त्रि.वि. पुस्तकालयका लागि भनी छुट्टिएको; सो पनि जिम्मा लिएँ । यी प्रत्येक कृति मेरो अध्ययनका निमित्त अत्यन्तै उपयोगी हुनेछन् । म पछि उपयुक्त स्थानमा सविस्तार यिनको अध्ययनसार खिचेर बोल्नेछु । केही केजी भारी थपियो होला । तर उहाँहरूको प्रेम–प्रयत्नलाई हार्दिक स्वीकृति थियो । खुसी हुँदै सुटकेसमा अटाएँ ।
त्यहाँबाट हामी एक छिन निस्कियौँ । आफ्नो ससानो बस्ती परिवेशलाई नव सापकोटाको श्रद्धा र प्रेमले ‘देवकोटा नगर’ नामाकरण गरिएको रहेछ । हेर्दै गएँ । नजिकको सरकारी पोस्ट अफिसले आफ्नो ठेगाना देवकोटा नगर लेखेको रहेछ । त्यसका नजिक अरू दोकानको ठेगानामा देवकोटा नगर राखिएको छ । केही घर अघि बढ्यौँ । बाटाको दाहिनेपट्टि एउटा पहराको फेदमा अवस्थित पुरानो गोर्खा पाठशाला छ, त्यससँग जोडिएको सानो एकतले भवन— देवकोटा भवन । छेवैमा एउटा ससानो प्राङ्गणमा देवकोटाको सेतो सालिक उभिएको छ । कत्रो हर्षको कुरा ! प्रशंसाको कुरा ! मूल संस्कृतिको स्मृतिमा एक उपसंस्कृति निर्माणको प्रयत्न छ । नवज्यूको सत्प्रयासले स्थापित महाकविको सुन्दर मूर्ति देवकोटा नगरमा छ । यसै गरी नेपाली जातिले आफ्नो संस्कृतिको आधार निर्माण गरिरहेको देखेँ ।
एउटा ठूलो संयोग हो, स्रष्टा दाजु रोचक घिमिरे यस सालिकको अनावरणको दिन प्रमुख अतिथि भई देवकोटा नगर पुगेको सन्दर्भ । त्यहाँ उहाँले पूर्वाेत्तर भारत भ्रमणको उपलब्धि स्वरूप रचना मासिकको एउटा अङ्कलाई आसाम विशेषाङ्क प्रकाशित गर्नुभएको छ । यो अत्यन्तै सङ्ग्रहणीय छ । यसले भारतीय–नेपाली स्रष्टालाई जोड्ने ठूलो कार्य गरेको छ । यसका लागि अग्रजद्वय नव सापकोटा र रोचक घिमिरेलाई बधार्ई दिएर अघि बढ्न चाहन्छु ।
दिन ढल्केपछि, लामा साहित्यिक परियोजना र प्रयत्नको चर्चा सम्पन्न भएपछि हामी फेरि निस्कियौँ । नेपाली टोलको शिवालय हेर्दै रेल्वे कोलोनी भएर हामी पल्टनबजारतिर लाग्यौँ । यात्रा निकै लामो रह्यो । त्यहाँ पुग्दा मध्याह्न ढल्केको थियो ।
क्रमश : १६ औं भाग आगामी शनिवार