‘मुसा मरे झैं’ नेपाली श्रमिकको नियती : नेपाल वायुसेवा एकैपटक २४ शव लिएर नेपाल
खाडी मुलुक वा मलेशियामा रोजीरोटीका लागि जाने नेपाली भनेका अति गरीब समुह र आफ्नो ठाउँमा कामको अवसर नपाएर जानेहरु बढी हुन्छन् । त्यसैगरी, आफ्नो सपनाको भारी नेपालमैं बिसाएर श्रम र पसिनाका लागि मलेशिया पुगेका मध्ये शनिबार मात्रै २४ नेपालीको शव रातो बाकसमा बाँधिएर काठमाडौं आएको छ ।
आएका मध्ये केहीले आत्महत्या गरेका छन् । केहीको सुत्दासुत्दै मृत्यु (स्लिपिङ डेथ) भएको छ । केही कार्यस्थलमैं दुर्घटनामा परेर बितेका छन् भने केहीको कारणै खुलाइएको छैन । मलेशियामा मात्रै यो वर्ष ३ सयभन्दा बढी नेपालीको यसैगरी मृत्यु भएको छ ।
शनिबार मलेसियाबाट एकैपटक २४ वटा शवसँगै ३ वटा वटा (मृतक) अस्तु काठमाडौं आइपुगेको छ । परिवारको सहमतिमा मलेसियामै अन्त्येष्टि गरिएका तीन जनाको भने अस्तु ल्याइएको हो । वैदेशिक रोजगार प्रवर्द्धन बोर्डको समन्वयमा नेपाल ल्याइएका शव शनिबारै आफन्तको जिम्मा लगाइएको छ ।
नेपाल एयरलाइन्सको उडान नम्बर ४१६ बाट लोकबहादुर शाही(दैलेख), बुद्धिराम कामी(सल्यान), कर्णबहादुर बुढाथोकी(बैतडी), सन्दीप विक(जाजरकोट), झपटबहादुर थापा (तनहु), दलबहादुर मोक्तान (पाँचथर), कृष्णकुमार राई (ललितपुर), होमबहादुर गुरुङ (सुनसरी), रामचरित्र कानु (बारा), अमरबहादुर माझी( सिन्धुपाल्चोक), सुनिल बीसी (बागलुङ), मनीराम चौधरी(बर्दिया), लोकबहादुर शाही (दैलेख), श्याम थारू (कपिलवस्तु), सोमरबहादुर तामाङ (ओखलढुंगा), शम्भु विक (झापा), रूपेश पुलामी मगर (सिरहा), कमलादेवी भण्डारी (मोरङ), लोकबन्धु लावती (झापा), मति तामाङ (नवलपरासी), दलमान तामाङ (ओखलढुंगा), यमबहादुर सनारी (पाल्पा) र झापाका गोविन्द बोहराको शव आएको हो ।
यस्तै, नवलपरासीका मोहनप्रसाद चौधरी, सिरहाका रोशनकुमार यादव र डडेलधुराका मीनबहादुर विष्टको भने ‘अस्तु’ मात्रै आएको थियो ।
वैदेशिक रोजगारी, रोजगारीको सेवा र सुरक्षा तथा रेमिट्यान्सको मीठो हिसाब बाहिर ल्याएपनि सरकारले भने अकालमा मरिरहेका आफ्ना नागरिकका बारेमा कुनै सरोकार राख्नसकेको छैन । यिनै मृतकको शव घर ल्याउनै पनि ६ महिनाभन्दा बढी समय लगाइएकोमा सरकारलाई यसमा न लव्वा छ, न कर्तब्यबोध ।
यसरी मुसो मराइको हैसियतमा मर्ने नेपालीका हकमा देशका राजनीतिक दल वा राजनेताहरुले पनि सान्तवनाकै बोली भनेपनि बोल्न सकेका छैनन् । अथवा बोल्न चाहेकै छैनन् ।