आप्रवासी श्रमिकहरूको क्षतिपूर्तिको मागलाई अस्वीकार नगर्न फिफा अध्यक्षलाई आह्वान
कतारमा आफूले भोगेको दुर्व्यवहारको क्षतिपूर्ति पाउनबाट आप्रवासी श्रमिकहरू वञ्चित भइरहेका बेला नेपालका तीन दर्जन नागरिक संघ संस्थाहरूले फिफा अध्यक्ष जियानी इन्फान्टिनोलाई श्रमिकहरूको पीडालाई “बेवास्ता गर्ने कार्य बन्द गर्न” आग्रह गर्दै एउटा खुला पत्र प्रकाशित गरेका छन्।
पारिश्रमिक बिना नै श्रमिकहरू नेपाल फर्कने र मृतक आप्रवासी श्रमिकहरूको शव नियमित रूपमा नेपाल फिर्ता ल्याइने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत काठमाडौंका विभिन्न स्थलहरूसँगै एम्नेस्टी इन्टरनेसनलले बिलबोर्डमा उक्त सन्देश देखाएको छ। कतारले सन् २०१८ मा स्थापना गरेको क्षतिपूर्ति कोषमा नेपाल फर्किएका आप्रवासी श्रमिकहरू आफूले भुक्तानी नपाएको तलब कसरी फिर्ता पाउन असफल भए र आफ्ना प्रियजनको मृत्युको कारणको अनुसन्धान नगरिँदा शोकसन्तप्त परिवारले क्षतिपूर्ति पनि किन र कसरी पाउन सकेनन् भन्ने कुरा उक्त पत्रमा खुलाइएको छ।
“श्रमिकहरूको अधिकारको सम्मान गर्न र दुर्व्यवहारमा परेका श्रमिक र आफन्त गुमाएका परिवारहरूलाई क्षतिपूर्ति दिन सहमत भएको फिफालाई ती वाचाहरू पूरा गर्न जियानी इन्फान्टिनोलाई आह्वान गर्न हामी एक साथ आएका छौं,” प्रवासी नेपाली समन्वय समितिका कार्यकारी निर्देशक सोम प्रसाद लामिछाने भन्नुहुन्छ।
सोम प्रसाद लामिछाने भन्नुहुन्छ, “कतारमा धेरै श्रमिकहरूले सामना गर्नुपरेको दुर्व्यवहारको वास्तविक मानवीय मूल्य हामीलाई थाहा छ। परिवारहरू गरिबीको चपेटामा परेका छन्, बालबालिका विद्यालयबाट निकालिएका छन् र श्रमिकहरू ऋण तिर्नका लागि फेरी प्रवास जान बाध्य भएका छन्। फिफाले यस वास्तविकताको अनदेखा गर्न मिल्दैन र यसलाई सच्याउन आवश्यक कार्य गर्नुपर्दछ।”
सन् २०२२ फिफा विश्वकप आयोजना गर्न आवश्यक पर्ने विशाल पूर्वाधार परियोजना निर्माण लगायत कतारका विभिन्न क्षेत्रहरूमा नेपालका करिब ४००,००० श्रमिकहरू कार्यरत छन्। वैदेशिक रोजगारीबाट प्राप्त हुने रेमिट्यान्सले नेपालको अर्थतन्त्रमा ठूलो भूमिका खेलेको भए पनि खाडी र अन्यत्र काम गर्न जानेहरू नियमित रूपमा श्रम शोषणको सिकार भएका छन्। नेपाली श्रमिकहरूले रोजगारी प्राप्त गर्नको लागि सामान्यतया एक हजार अमेरिकी डलर भन्दा बढी अवैध भर्ना शुल्क तिर्ने गर्छन् र मानवअधिकार संघ संस्थाहहरूले विश्व कपसँग जोडिएका लगायतका कार्यस्थलहरूमा जबर्जस्ती श्रम र चुक्ता नगरिएको ज्यालासम्बन्धी घटनाका बारेमा नियमित अभिलेख राखिएको छन्। श्रमिकहरूले जोखिमपूर्ण अवस्थामा काम गर्नुपर्ने भएको कारण ज्यान पनि गुमाएका छन् र उनीहरूको मृत्युको बारेमा विरलै अनुसन्धान भएको छ। चरम गर्मीबाट श्रमिकहरूलाई बचाउनका लागि गरिएको भए सन् २००९ देखि २०१७ को बीचमा निर्माण क्षेत्रमा काम गर्ने कम्तीमा २०० नेपाली श्रमिकहरूको मृत्युलाई रोक्न सकिन्थ्यो भन्ने एउटा पियर रिभिउड अध्ययनले देखाएको छ।
हालैका वर्षहरूमा कतारले श्रम कानूनलाई बलियो बनाउन धेरै सुधारहरू ल्याएको छ र श्रमिकहरूमाथिको दुर्व्यहार न्यूनीकरण होस् भन्ने उद्देश्यले नेपालमा नयाँ भिसा केन्द्र पनि खोलेको छ। यस्ता केही प्रगतिहरू भएको भएता पनि श्रमिकमाथि हुने दुर्व्यवहार उल्लेखनीय मात्रामा जारी छन्। “विश्वकपको अन्तिम सिट्टी बज्दै गर्दा यति धेरै आप्रवासी श्रमिकहरूको योगदान र बलिदानलाई कतै बिर्सिइने त होइन र उनीहरूको न्याय र क्षतिपूर्तिको मागलाई बेवास्ता गरिने त होइन भन्ने एउटा ठूलो खतरा रहेको छ,” एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलिया भन्नुहुन्छ। निराजन थपलिया भन्नुहुन्छ , “यदि फिफाले यो खेललाई सम्भव बनाउने मानिसहरूप्रति सम्मान देखाउन चाहन्छ भने जियानी इन्फ्यान्टिनोले अन्ततः श्रमिक र तिनका परिवारहरूलाई क्षतिपूर्ति सुनिश्चित गर्न सहमति जनाउनुपर्छ। उनीहरूको मागदाबीलाई अब बेवास्ता गरिनु हुँदैन।”
सन् २०२२ को मे महिनादेखि मानवअधिकार संघ संस्था, ट्रेड युनियन र फुटबल प्रेमीहरूको समूहको एउटा विश्वव्यापी सञ्जालले श्रमिकहरूलाई क्षतिपूर्ति दिन र भविष्यमा हुने दुर्व्यवहारहरू रोक्नका लागि फिफा र कतारलाई एउटा उपचारात्मक कार्यक्रम स्थापना गर्न आह्वान गरेको छ। यस आह्वानलाई १२ वटा फुटबल संघ र चारवटा फिफा प्रायोजकहरूले समर्थन गरेका छन् र जनमत सर्वेक्षणले यस आह्वानलाई १५ देशहरूमा धेरै जनताले समर्थन गरेको देखाएको छ।
फिफाले श्रमिकहरूलाई क्षतिपूर्ति दिन अस्वीकार गर्दै आएको छ। यसै सोमबार अन्तर्राष्ट्रिय मानवअधिकार संगठनहरूको एउटा सञ्जालले श्रमिकहरूलाई क्षतिपूर्ति दिने सवालमामा ‘विश्वलाई भ्रमित गरेको’ भनी फिफाको आलोचना गरेको थियो। फिफा अधिकारीहरूले श्रमिकहरूलाई क्षतिपूर्ति सुनिश्चित गर्नेसम्बन्धी योजनामा काम गरिरहेको बताइरहेको भए तापनि विश्वकप खेल सुरू हुने पूर्वसन्ध्यामा जियानी इन्फान्टिनोले सो जिम्मेवारीलाई अन्यत्र पन्छाउँदै दुर्व्यवहार भोगेका श्रमिकहरूले कतारको विद्यमान क्षतिपूर्ति कोषबाटै “उचित क्षतिपूर्तिका लागि सम्बन्धित अधिकारीहरूलाई सम्पर्क गर्नुपर्छ” भन्ने टिप्पणी दिएका थिए। तर यो संयन्त्र कतार छाडेर फर्किसकेकाहरूका लागि पहुँचयोग्य छैन, यसमा प्रत्येक श्रमिकलाई भुक्तान गर्न सकिने रकमको सीमा तोकिएको छ र अनुसन्धान नगरिएको कारण गलत तरिकाले ‘प्राकृतिक कारण’ ले मृत्यु भएको जनाइएको हुनसक्ने मृतक श्रमिकका परिवारलाई पनि यस कोषले सहयोग गर्दैन।
सञ्जालले जियानी इन्फ्यान्टिनोलाई हालसालै घोषणा गरिएको लिगेसी फन्डको प्रयोग गर्न, श्रमिकहरूलाई क्षतिपूर्ति दिन तथा बिल्डिंग र वुड वर्कर्स इन्टरनेसनल जस्ता ट्रेड युनियनहरूले अनुरोध गरेअनुसारको एउटा स्वतन्त्र आप्रवासी श्रमिक केन्द्र स्थापना गर्न आह्वान गरेको छ। प्रस्तावित कोषको आकार अहिलेसम्म थाह हुनसकेको छैन र हाललाई यसमार्फत शैक्षिक परियोजनाहरू र योजनाबद्ध ‘श्रम उत्कृष्टता केन्द्र’ लाई सहयोग गर्ने उद्देश्य राखिएको छ।