आइतबार, असार ३१, २०८१

छेउबाट रविभाई, बीचबाट खादा त हातमुख दुबै पोल्छ

सुरेन्द्र केसी२०७९ माघ २५ गते २०:२८

सुरेन्द्र केसी

जिम्मेवार अभिव्यक्तिले लोकतान्त्रिक संस्कारलाई सबल बनाउने हो । सार्वजनिक जीवनमा सक्रिय हुने भए, प्रश्नको सामना सबैले गर्नुपर्छ ।

कुनै बुढी आमैकहाँ राती बास बस्न एउटा पाहुना आउँछ । भात खाने बेलामा तातो भातको बीचबाट आत्था र आत्थु गर्दै खान थाल्छ। अनि बुढी आमैले तिमी त फलाना राजा वा राजाका गुरु जस्ता रहेछौ। शत्रुको बीचमा गएर लड्न थाल्ने। त्यसबाट हल्ला त धेरै होला तर जित्न त छेउबाट शुरु गर्न पर्छ।

चाणक्य, शिवाजी, पृथ्वीनारायण शाहजस्ता दक्षिण एसियामा नायक भनिएका राजा वा राजगुरु सबैका पछाडि जोडिएको यस्तै बुढी आमाको कथा तपाईँले पनि सुन्नु भएको होला।

उमेर र अनुभवका हिसाबले भर्खरै सत्ता छोडेका रवि लामेछानेलाई “भाई” भन्दै त्यही दन्त्यकथा सम्झाउन चाहन्छ, यो पंक्तिकार। तात्‌तातो दाल भात छेउबाट खान थालौ रविभाई, बीचबाट खान शुरु गर्दा त हात पनि पोल्छ मुख पनि । अहिले सायद त्यही भइरहेको छ।

यो पंक्तिकारले रविको लामो पत्रकार सम्मेलन छुटाएछ। तर उनको विगतका स्टन्ट हेर्दा त्यहाँ के भयो भन्ने अनुमान गर्न सकिन्छ। आफ्नो कानुनी लापरवाहीका कारण उत्पन्न परिस्थितिलाई उनले “हामी काम गर्न चाहन्थ्यौं तर हामीलाई काम गर्न नदिन खोजियो” भनेर भाष्य स्थापित गर्न खोजे होलान। “मलाई कानुन थाहा थिएन” “कानुन अज्ञानता क्षम्य हुँदैन ” भनेर आजका मितिमा मैले बुझें “तपाईँ पनि कानुन मान्नुस” भन्ने अभिव्यक्ति दिए भनेत उनका पछाडी लागेका मानिसहरूबाट आजसम्म पाएको सहानुभूति खोसिइहाल्छ नि।

संघीय निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा स्थापित भयो। पार्टी गठन भएको करिब छ महिनामा बिस सिट जित्न सफल भयो। पार्टीका अध्यक्ष रवि लामिछाने आफ्नो राजनैतिक क्यारियर पत्रकारिताबाट सुरु गरेका हुन्। नेपाल त्याग गरी स्थाई रुपमा अमेरिका पलायन भएका लामिछाने अमेरिकामा नै रहँदा विभिन्न बिवादमा मुछिएका कारण त्यहाँ बस्न नसकेर पुनः नेपाल फर्किए । पत्रकारिता सुरु गरे टेलिभिजन मार्फत। टेलिभिजनका कार्यक्रमहरू सञ्चालन गर्दा बिग हाउसका समाचारहरू आर्थिक लेनदेनमा समाचार प्रसार गर्ने वा नगर्ने भन्ने आरोप खेप्दै गर्दा आत्माहत्या प्रोत्साहन मुद्दामा वा हत्या आरोपमा हिरासतमा बस्न बाध्य भए। समय सापक्ष हिँड्न सक्ने लामिछाने आम जनतामा नेताहरू प्रति नकारात्मक सोच बनाएका र स्थानिय निर्वाचनमा स्वतन्त्र ब्यक्ति निर्वाचित भएको देखि राजनीतिमा हाम फाल्ने निर्णय गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरे। नेतृत्वमा पुग्न नसके पनि चर्चाको शिखरमा पुगिन्छ भन्ने सोचेका लामिछाने गृह एवं उपप्रधान बन्न सफल भए।

राजनैतिक नेतृत्व गर्ने वा नेता बन्छु भन्नेलाई गल्ति गर्ने छुट पटक्कै हुँदैन। यदि गल्ति भै हाल्यो भने आत्मसात गर्दे कानून अनुसार सजायको भागेदार हुन हिच्किचाउनु हुँदैन। यो पार्टीमा स्वच्छ छवि भएका प्रतिनिधिहरू नभएका होइनन्। जनमत सरकारमा जाने होइन। यदि जानैपर्ने भए स्वच्छ छवि भएकालाई पठाउनुपर्ने हुन्छ। सर्वोच अदालतले नागरिकता प्रकारणमा दोषी प्रमाणित गरिसकेको छ भने राहदानी प्रकारणमा झेलखान जाने प्रचुर सम्भावना भएका कारण लामिछानेलाई सांसद नहुँदा पनि मन्त्री चाहिएको हो भन्ने कुरा आम चर्चाको विषय बनेको छ। राहदानी प्रकरणमा दोषी ठहरे भए भने उनी तीन वर्ष सम्म कुनै पनि निर्वाचनमा भाग लिन पाउने छैनन। तसर्थ जानेर वा अन्जानमा भएको गल्तीलाई कानून सम्मत आत्मआलोचना गर्दै पाँच वर्ष जनताको पक्षमा आवाज उठाउने हो भने अर्को निर्वाचनमा मतदाताले नेतृत्वमा अवश्य पुर्‍याउने छन्।

रविले यहाँ बुझ्नुपर्ने कुरा के हो भने यस्तै खालका गल्ती गर्दा नै आजका नेताहरूले लोकप्रियता गुमाएका हुन। रविको उमेरमा अहिले शेरबहादुर, केपी ओली, प्रचण्डलगायत सबैले आगो ओकल्थे। उनीहरूको एक हुँकारमा हजारौं मानिस सडकमा उत्रिन्थ्ये। उनीहरूले नगरेको भए आज यो देशमा लोकतन्त्र हुन्थेन, गणतन्त्र हुन्थेन।

निरंकुशताको अन्त्य गर्न लामो इतिहास बोकेका छन् ठूला पार्टीहरूले। बि सं २०७२ को संविधानले मुलुकमा राजनैतिक स्थायित्वको परिकल्पना गरेको थियो, त्यो साकार भएन। यस्को प्रमुख कारण संविधान नभएर नेताका व्यक्तिगत स्वार्थ र तिनै नेताका दलगत स्वार्थले गर्दा नै राजनैतिक अस्थिरता जन्मिएको हो भन्नेमा दुइमत नहोला।

२०६२/०६३ को परिवर्तन र २०७२ को संविधान पश्चात मुलुक जनता केन्द्रित हुनुपर्नेमा, दलहरू नेता कार्यकर्ता र आफ्नै दल केन्द्रित हुन पुगेका कारण आम जनतामा वितृष्ण पैदा हुन पुग्यो। संविधानको मर्मको त के कुरा लिखित रुपमा नै भएका व्यवस्थालाई समेत ठाडो उल्लंङ्घन हुन थाल्यो। के शहिदहरूको बलिदान त्यसकै लागि थियो ? के समानुपातिक आफ्ना नातागोता, पैसाको भरमा पद बाँढ्न थियो ? के चुनाबको टिकट राम्रा होइन हाम्रालाई दिनका लागि परिवर्तन गरिएको थियो ? के आफ्ना मानिसलाई भ्रस्टाचारबाट मुक्ति दिलाउनुलाई थियो ?

हो जनताको अधिकार तिनै राजनैतिक दलले स्थापित गरेका हुन तर के ती दलहरूको लामो संघर्ष जनताका लागि नभै आफ्नो र आफ्ना भन्नेका लागि थियो ? जनता मालिक हुन् दास होइनन् । संसारको परिवर्तित इतिहासलाई हेर्ने हो भने छिनभरमा नै ठूला दलको नामोनिसान बिलय भएका छन्।

यी सबै पार्टी र नेताले गल्ती नगरेको भए न रवि जन्मिन्थे न रविको पार्टी। न उनको पार्टीले यति छिटो सत्ता पाउँथ्यो। तर अहिले रवि पनि त्यस्तै गल्ती गर्दैछन्। लोकतन्त्रका खम्बा हुन्, स्वतन्त्र न्यायपालिका र प्रेस। निरङ्कुश हुन चाहनेले सबैभन्दा यिनलाई नै प्रहार गर्छ।

हाम्रो समाजमा हाम्रो राजनीतिमा वा हाम्रो समग्र चिन्तनमा जस्तै स्वतन्त्र न्यायपालिका र प्रेसमा पनि केही समस्या छन्। तर औंलामा रोग लाग्यो भन्दैमा मान्छेको औंलै काट्ने त पक्कै होइन होला। यदि रवि र रविको पार्टी (यो ट्यागलाईनबाट छुटकारा पाउन रविको पार्टीले धेरै काम गर्न बाँकी छ) निरङ्कुशतामा विश्वास गर्दैन भने न्यायपालिका र प्रेसको स्वतन्त्रतालाई जोगाउने तिर लाग्नुपर्छ किनकी जिम्मेवार अभिव्यक्तिले लोकतान्त्रिक संस्कारलाई सवल बनाउने हो। सार्वजनिक जीवनमा सक्रिय हुने भए, प्रश्नको सामना सबैले गर्नुपर्छ, रवि न कानुनभन्दा माथि छन् न प्रश्नभन्दा माथि ।

श्रोत: आइएनएस-स्वतन्त्र समाचार

तपाइँको प्रतिक्रिया