बुधबार, फागुन १६, २०८०

ल आउ यहि याममा त्यो प्रेमको छिनोफानो गरौं

शशि ढकाल / कोपनहेगन, डेनमार्क२०७९ फागुन २१ गते १८:०४

शशि ढकाल

(२०७९ भदौ २३ गते नेपालप्लसमा प्रकाशित “भोटेकोशीको गहिराई जस्तै एउटा अपवित्र प्रेमको गठबन्धन” कथा पढेपछि एक महिलाले आफू सो कथाको पात्र भएकोले यो प्रतिक्रिया प्रकाशित गरिदिन अनुरोध गर्दै कथा “प्रेम नबुझि पाको भएको ऊ” पठाउनु भएकोथियो जसको प्रकाशन पछि यसको प्रतिक्रया स्वरुप कथाकारले आफ्नो प्रतिक्रिया कथा “म तिमीलाई फेस गर्न सक्छु” यहाँ पठाउनु भएको छ)

के मेको पहिलो साता उनीहरुको प्रागमा भेट हुन्छ त ? – प्रतिक्षा ।

(पाठक हरुको सजिलोको लागि कथाका लिंक हरु यहा रखिएको छ । )
पहिलो – https://nepalplus.com/2022/09/16975.html

दोश्रो – https://nepalplus.com/2022/11/17748.html

युरोप आएको छु । बस्ने ठाउँ एक डेढ घन्टाको फरकमा छ । मलाइ केहि भन्नु छैन । हामी नजिकै छौं । कहिँ न कहिँ त भेट होला । के तिमी मलाई अब फेस गर्न सक्छौ ?  यो तिम्रो लेखाइ वा प्रश्न हो मिस स्टार बराल ।

तिमीले लेखेको प्रतिक्रिया भनुँ वा आक्रोश । अथवा च्यालेन्ज। जे भए पनि पढें । हुन त् मैले तिम्रो प्रतिक्रिया प्रकाशित भएकै दिन पढेको हो । म पनि प्रतिक्रिया तुरुन्तै दिन चाहन्थें तर म बिवस थिएँ । एक त युरोपको बसाई र कोपनहेगनको महँगी । त्यस माथि म ६ महिना नेपाल बसेर फर्केको अनि भर्खरै काम सुरु गरेको । म काममा नै केन्द्रित हुन चाहन्थें ।

अर्को कुरा पहिले सबैले यो कथा भनेर साहित्यिक विधा अन्तर्गत राखेर पढे । अनि त्यसै अनुसार प्रतिकिया जनाए । तर जब तिम्रो आक्रोस वा लेख सामुन्ने आयो त्यस पछि मैले धेरै प्रश्नहरुको सामना गर्नुपर्यो । तिमीलाई थाहा छ नि हाम्रो समाज कस्तो छ, चाहे त्यो काठमाडौँमा बसोस वा सिकागोमा, टोकियोमा बसोस वा पेरिस। जता बसे पनि घाँटीमा हातले छोयो भने हात फुक्छ । हो त्यस समाजको एउटा सदस्य हुँ म । अनी त्यस्तो समाजले म जस्तो पाको मानिसको ‘एक्सट्रा म्यारेटियल अफेयर’ पचाउन सक्ने कुरो त भएन ।

कुरो र प्रश्नहरु बढीरहेका थिए । त्यसमाथि म लामो समय नेपाल बसेर आएको थिएँ। जसले अन्य शंकाहरुलाई पनि मलजल गरिरहेका थिए ।

यस विषयमा मैले बोल्नु वा अरु कुनै प्रतिक्रिया दिनु अघि म पहिले मेरो घरमानै यस बारे छलफल चलाएर कुरो स्पस्ट गर्न चाहन्थें । किनकि मेरो कथा प्रकाशित भएपछि दाइको चाल  चलनबारे भाउजुसँग बात मार्न छिमेकिहरु मेरो अनुपस्थितिमा घरमा जम्मा हुन थालिसकेका थिए, जसको भेउ मैले घरमा चिया र चिनीको बढेको खपतका साथै पोकाका पोका पास्ताको भण्डारणबाट अनुमान लगाईसकेको थिएँ । त्यसमाथि मेरी उनीले पनि ‘मानिसहरु तपाइको कुरा काटीरहेका छन् । तपाई पनि लामै नेपाल बसेर आउनु भयो’ भनेर घुमाउरो पारामा कुरा चलाएकी थिइन् । मैले हाँस्दै ‘कथाको सफलता नै यही हो नि’ भन्दै कुरा नै बन्द गराई दिएको थिएँ ।

तर आचानक तिम्रो लेख आयो । तिम्रो लेख आउँदा उनी नेपाल गएकी थिइन् । चाँडै फर्कने गरि । तर एकतर्फी टिकट काटेर । कसैले तिम्रो लेखको लिंक उनीसम्म पठाईदियो होला । रिसाएको इमोजी सहित उनले नेपालबाट म्यासेज गरिन् ‘यहिदेख्न बाँकि थियो जिन्दगीमा ।’

त्यसपछि मैले धेरै पटक उनलाई फोन गरें। उठेन । उनको दैनिक छोरा छोरीसँग कुरा भैरहन्थ्यो तर मसँग हुन्थेन । मेरो बारेमा उनी छोरा छोरीसँग जानकारी लिइरहेकी थिइन् । मैले पनि केहि दिन पर्खेर म्यासेज गरें “घर भद्रगोल भैसक्यो । मलाइ कामबाट फुर्सत नै हुँदैन, तिमी कहिले फर्कने ?”

उनको जवाफ थियो -‘तपाई जति दिन नेपाल बस्नु भएको थियो म पनि त्यति नै दिन बस्छु ।’ त्यसपछि हाम्रो कुराकानी टुटेको थियो । न प्रश्न न त जवाफ ।

मैले उनी नेपालबाट फर्कने दिन कुरें। करिब चार महिनाको नेपाल बसाई पछि उनी कोपनहेगन फर्किंइन् । त्यसपछि मैले जमेर उनिसँग कुरा गरें। उनलाई म सम्झाउन सफल भएँ ‘अब हाम्रो गृहस्थी ठिकठाक चलि रहेको छ । अब मलाई तिमीसँग भेट भए पनि खास फरक पर्दैन र दुनियाँले के भन्छ यसमा म चासो पनि राख्दिन ।’

तिम्रो र मेरो कथा कोपनहेगनमा हट केक जस्तो हातहातै बिक्यो । अर्थात् चर्चाको केन्द्र बिन्दुमा रह्यो । घर घरको डाइनिङ्ग टेबलमा हाम्रो काल्पनिक उपस्थिति अनिवार्य बन्यो । मानिसहरुले मलाई भेटिसकेका थिए । अब उनीहरु तिमीलाई भेट्न चाहन्छ, कुरा गर्न चाहन्छन्, तिमीले भोगेको स्वत्रन्ताको कुरा बारे बहस गर्न चाहन्छन् । तिमी मार्फत् नयाँ संसार बारे अपडेट हुन चाहन्छन् । किनकी तिम्रो मेरो पहिलो कथा अर्थात् मेरो भावनाको पोखाइ – भोटेकोशीको गहिराई जस्तै एउटा अपवित्र प्रेमको गठबन्धन मानिसहरु यसलाई पढेरनै तिमीसँग भेट्न र कुरा गर्न चाहिरहेका थिए ।

यसैबिच कथाबाचक साइग्रेसले पनि ५० वर्षको केटो शिर्षक राखेर यसलाई बाचन गरि युट्युबमा राखे । अब त यो घर घरको चर्चाको केन्द्र बन्यो । मानिसहरु तिमीलाई भेट्न उत्सुक छन् ।

त्यसपछि त यसले तहल्कानै पिट्यो नि, जसमा ५०० जति त कमेन्ट नै छन् । यहाँ मैले केहि प्रतिक्रिया उल्लेख गर्न चाहें जसमा राजकुमार भुजेलको लभ साइन सहित प्रतिक्रिया यस्तो थियो ” जे होस् उसले तर्कसंगत निर्णय लियो र आफ्नो परिवारमा फर्कियो। यस्तो कथा सुन्दा राम्रो लाग्छ । कथाकार तथा वक्तालाई हार्दिक शुभकामना ।”

मनिका श्रेष्ठले लेखेकी छिन् “एकदम मन पर्यो। आफ्नो सुन्दर संसार सम्झेर हुनै लागेको गल्तीबाट फर्किनुमा नै हजुरको इमान्दारिता अनि समझतारिता झल्कियो । जति नै उचाइमा पुगे पनि आफ्नो धरातल नभुल्नु चाहिँ सफलता हो भन्छन् । त्यसैगरी माया प्रेममा पनि त्यसै हो, चाहे त्यो १६ वर्षको केटा होस् या ५० वर्षको केटा, आफ्नो आमाबुवा परिवार र आफन्तलाई सम्झिराख्न पर्छ त्यसले तपाईंलाई गलत निर्णय लिन र लक्ष्यबिनाको यात्रा गर्न बाट बचाउँछ । हरेक सम्बन्धलाई प्रेम वा आकर्षणमा जोड्न जरुरी छैन ।”

योमाया श्रेष्ठले लेखेकी छिन् ” जे भएनी आफ्नो घर परिवार सम्झेर जानू भयो त्यसकोलागी धेरै धन्यवाद कथाकार ज्युलाइ ।”

प्रविन मिलनले लेखे “अन्तिममा मन खुसी भयो आफ्नो परिवार सम्झँदा ।”

यस्ता सयौं प्रतिक्रिया पढेपछि मलाई मैले लिएको कदम ठिकै जस्तो लागेको छ, जुन बिन्दु बाट म फर्कन सक्ने थिएँ, म फर्कें भन्ने लागेको छ । कथाको अन्त्यमा साइग्रेसले सुझाब पनि दिएका छन् “तपाइले अन्तिममा आफूबाट हुनलागेको गल्ति महसुस गर्नु भयो र आफूलाई सुधार्न भ्याउनु भयो। धन्न म सँग जोडिएको यस कथामा कुनै दूर्घटना हुन पाएन । आगामी दिनहरुमा आफूलाई अझ सजग गराउन र सम्पर्कमा आउनु भएका उक्त ब्यक्ति सँग राम्रो खाले सम्बन्ध, बोलचाल र एउटा दुरीमा भएपनि आत्मीय सम्बन्ध राख्नुहोला भन्ने तपाइलाई आग्रह छ । कृपया बनेको सम्बन्धलाइ चोखो मित्रभावमा लिएर जानु उचित हुन्छ । हरेक सम्बन्धलाइ प्रेम र शारीरिक आकर्षणको रुपमा जोड्न पनि जरुरि छैन । खैर जे भए पनि अन्तिममा आफ्नो गल्ति स्विकार्नु भयो र गल्ति बाट दुर्घटना हुन नदिइ संयमित हुनु भएकोमा धेरै धेरै धन्यबाद ।”

युरोप आएपछि तिम्रो पनि व्यस्तता निकै बढेको छ । सामाजिक संजाल तिर पनि तिम्रो सक्रियता निकै कम देखिराखेको छु । पढाई, काम अनि युनिभर्सिटीको असाइन्मेण्ट, त्यसपछि बिदामा युरोप घुम्ने चाहना पनि हुँदो हो तिमीमा । त्यसैले बचत तिर पनि लागेकी हौली र व्यस्तता बढेको होला भन्ने मेरो अनुमान छ । ठिकै छ म तिमीलाई डिस्टर्ब गर्न चाहन्न ।

तिमी र म बीचको सम्बन्धको कडी साइग्रेस हुन् । हाम्रो भेट पनि उनको कार्यक्रममा नै भएको हो । अहिले पनि तिम्रो नेपालको नम्बर मेरो फोनमा साइग्रेस फ्यानको नाममा नै सेभ छ । उनले हामीलाई युट्युब मार्फत सुझाव पनि दिएका छन् । आजकल साइग्रेस युरोप तिर आफ्नो कार्यक्रम गर्दै छन् । एनआरएनएको हरेक देशमा हुने कार्यक्रममा उनको उपस्थिति अनिवार्य जस्तो भैसकेको छ । तिमी स्विडेन आएको केहि महिना पछि नै उनको स्टकहोममा कार्यक्रम भएको थियो । अब तिमी पनि स्विडेन एनआरएनएको सदस्य भै हौली । अनि त्यहाँको एनआरएनए बारे बुझ्दै गएकी हौली। तिमी जस्तो स्पस्ट बक्ता र अनुसन्धानकर्ताको एनआरएनएमा पनि खाँचो छ । तिमीले नेपालमा बसेर बुझेको एनआरएनए र यहाँ आएपछि संगत गरेको एनआरएनएमा के फरक पायौ ? सो बारे पनि तिमीसँग लामै छलफल गर्नु छ । अनि यसपटक राम्रो मौका समेत परेको छ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १५ औं यूरोप क्षेत्रीय सम्मेलन मे महिनाको पहिलो साता चेक रिपब्लिकको राजधानी प्रागमा हुने भएको छ। यूरोपका पदाधिकारीको सहभागितामा सम्मेलन २०२३ मे महिनाको ६ र ७ तारिखमा चेक रिपब्लिकमा हुने र यसमा गैरआवासीय नेपाली संघका केन्द्रिय नेता हरुको समेत उपस्थिति रहने भएको छ । यो युरोपकै सम्मेलन हुने भएकोले स्पेनमा बसोबास गर्ने साइग्रेस प्राग आएर उनको प्रस्तुति दिने पक्का छ ।

हो अब तिमीले मलाई सोधेकी वा च्यालेन्ज गरेकी छौ नि ! ‘के तिमी मलाई अब फेस गर्न सक्छौ ?’

मेरो उत्तर छ अनि म स्पस्ट छु । म तिमीलाई सार्वजनिक रुपमै फेस गर्छु। तिमी तिम्रा कुरा भन । म मेरो कुरा भन्नेछु । मैले के गल्ति गरेको छु र तिमीलाई फेस गर्न नसक्ने ? म फेस गर्छु पक्कै गर्छु । साइग्रेस लाइ साथै राखेर गर्छु, के तिमी आउँछ्यौ ?

साथै तिमीलाई भेट्न चाहने मेरा मित्रहरु साक्षि राखेर म तिमीलाई फेस गर्छु । यो मेरो च्यालेन्ज त होइन तर निमन्त्रणा भने पक्कै हो । तिमी र म अब सार्बजनिक भै सक्यौं। आउ अब बन्द कोठामा हैन सार्वजनिक मञ्चमा नै आफ्ना स्वतन्त्रता र सिमानाको बारेमा तर्क बहस गरौं । के तिमी तयार छ्यौ मे महिनाको पहिलो साता प्रागमा आउँन ? म तिमीलाई फेस गर्न तयार छु ।

तपाइँको प्रतिक्रिया

फेसबुक