आइतबार, मंसिर २३, २०८१

वर्षौंदेखिको एलिटवर्गनै बाहुनवादको जरो

सरोज बराल / ईनरुवा२०७९ चैत २० गते २२:३४

राणाहरुको पारिवारिक शासन थियो । निमुखाहरुको कुरा सुनिदिने कोही थिएन । यो देश त जनताको पो हो त । जनतालाई अधिकार नदिएर हुन्छ ? लौ, जुटौं क्रान्ति गर्न । राणाहरुलाई सत्ताबाट हटाइयो भने देशमा प्रजातन्त्र हुन्छ । हामीले प्रजातन्त्र पाउँछौं । हाम्रो समस्या समाधान हुन्छ । हाम्रो देश त हामीले पो चलाउने हो त ।

जनताले पत्याए र जुटे । युद्ध भयो । भारतले राणाहरुको साथ दिने कुरै भएन, कांग्रेसलाई साथ दियो । राणाहरु हारे र सत्ताबाट बाहिरिए ।

जनताहरु हाम्रो दिन आए भनेर मख्ख परे । तर सत्तामा त फेरि पनि सम्भ्रान्त वर्ग नै आए । तिनीहरु नै फेरि नयाँ सामन्त बनेर देखा परे ।

राजाले सत्ताबाट गलहत्याए । जनताहरु खुच्चिङ गरेर रमिता हेरेर बसे । अब देशमा केही होला कि भन्ने आशा र भरोसा थियो । तर सत्तामा त फेरिपनि नयाँ सामन्तहरुको नै हालीमुहाली चल्यो । जनताको हातमा त फेरि पनि शून्य मात्र रह्यो । अधिकारका नाममा फेरि पनि एलिट वर्ग अर्थात् उच्च सम्भ्रान्त वर्ग कै वर्चस्व रह्यो ।

सत्ता बाहिर भएपछि कमजोर बनेका दलहरु बिशेषगरी कांग्रेस र कम्युनिस्टहरु जुटे । भारतले नेपाललाई आर्थिक नाकाबन्दी गरेको अवस्थामा दलहरुले आन्दोलन गरे । पंचायतको हार भयो र संवैधानिक राजतन्त्र सहितको बहुदलिय व्यवस्थाको स्थापना भयो । अब त केही होला कि जस्तो भयो । चुनाव भयो, सरकार बन्यो । सत्ताको वरिपरि घुम्ने त फेरि पनि त्यही एलिट वर्ग नै रह्यो ।

गरिब र निमुखाको नेतृत्वमा सरकार रहनुपर्दछ । सामन्तहरुको मूल जरो राजतन्त्र हो । जन्मदै कोही शासन गर्न योग्य हुन्छ र ? यो वंशवादको विरुद्ध र सामन्ती राज्यको समुल नष्ट नगरी जनताको शासन स्थापना हुँदैन । यसैको लागि जुट्नुपर्छ भनेर युद्धको शुरुवात गरियो ।

जनतालाई लाग्यो, यो त पक्कै सत्य हो । हामीले युद्ध गरेर जित्यौं भने त शासन हाम्रै हुने हो भन्ने भयो । जनताहरु जुटे र आन्दोलन गरे । आन्दोलन पछि राजतन्त्र कमजोर भयो र निलम्बनमा पारियो । अन्तरिम संविधान जारी भयो । अब केही होला भन्ने जिज्ञासा सकिएको थिएन । सबै कुराको समाधान संविधान सभापछि हुने भनियो । होला त नि भनेर पत्याएर पर्खिनुको विकल्प थिएन ।

यसै बेलामा मधेसका केही सम्भ्रान्त वर्गहरु हाम्रो त केही पो नरहने भयो । हामी पनि यो देशका जनता हौं । हामी किन सधैं हेपिने । यो बेला हामीले नजुटे कहिले जुट्ने ? पहाडिया शासकहरुसँग हाम्रो भाग खोज्नै पर्दछ भनियो । “मधेसी-मधेसी एक हौं” भन्ने नारा सहित आन्दोलन भयो । कैयौं मानिसहरु सहिद भए । संघियतामा जाने भनेर आन्दोलन टुङ्ग्याइयो ।

संविधान सभाको चुनाव भयो । एकपटक सुझाव संकलन गर्न आएजस्तो गरे । तर ती विभिन्न ठाउँबाट आएका सुझावहरु कस्ता थिए भन्ने बारेमा कहिल्यै संविधान सभामा छलफल भएको थाहा भएन । संविधानसभाले संविधान तयार नगरेरै पा्च वर्ष बितायो र यसलाई भंग गरियो ।

दोश्रो पटक संविधानसभाको चुनाव भयो र यो संविधानसभाले संविधान पास गर्‍यो । तर संविधानसभामा संकिधानमा के छ र के छैन वा के राख्ने र के नराख्ने भनेर एकैदिन पनि बहस भएको थाहा भएन । जहाँसम्म लाग्छ यसका बुँदाहरुमा दफाबार छलफल नै भएन । त्यो बेलाका संविधानसभाका सदस्यहरुलाई संविधानमा के छ र के छैन भन्ने नै थाहा छैन । त्यसको प्रमाण हो खड्गप्रसाद ओलीले संविधानमा नभएको अधिकार प्रयोग गरेर संसद भंग गर्नु, कारण उनैलाई थाहा थिएन संविधानमा के छ भन्ने कुरा ।

२०४७ सालको संविधान बनाउने क्रममा संविधान मस्यौदा समितिमा र पछि मन्त्रीपरिषदमा भएका छलफलहरु बरु जानकारीमा आएका थिए । त्यो बेलाको संविधानमा “नेपाल एक हिन्दु, राजतन्त्रात्मक मुलुक रहनेछ” भन्ने लेखिएको स्थानमा हिन्दु पछि राखिएको कमा (,) राख्ने कि नराख्ने बिषयमा हप्तौं बहस चलेको थियो । राजाको उत्तराधिकारी ऐन संसदले बनाउने कि राजाले नै बनाउने बिषयमा बहस भएको थियो ।

यसै सन्दर्भलाई लिएर मदन कुमार भण्डारीले गरेको भाषण “महाराज आँखा नचम्काइ बक्स्योस्, हात नलम्काइ बक्स्योस्” निकै ओजपुर्ण र चेतावनीयुक्त थियो । पछि उनैले “एउटा राजा रहने वा नरहने कुराले खासै फरक पार्दैन । तर सामन्तवाद रहनु हुँदैन” भन्ने बोलेर जनतालाई साम्य पारेका थिए । तर संविधानसभामा नयाँ संविधानमा के रहने र के नरहने भन्ने बिषयमा एकैदिन पनि बहस भएको जानकारी बाहिर आएन ।

यसरी जनआन्दोलनबाट प्राप्त अधिकारको स्थापना गर्न बनेको संविधानसभामा जनताको भावनालाई कुण्ठित पार्दै व्हिप जारी गरेर संविधानको पक्षमा मतदान गर्न भनियो । र प्रचण्ड बहुमतले पारित भएको संविधान भनेर हल्ला पिटियो । जारी संविधानका आधारमा चुनाव गराइयो ।

फेरि पनि भएको चुनावमा त्यही एलिट वर्गले नै राज गर्ने अवसर पायो । जनताको भागमा त फेरिपनि केही परेन । देशमा भएको आन्दोलन र क्रान्ती भनेको त केटाकेटीहरुलाई झुक्याउने खेल “माछा …. माछा….. भ्यागुता !” पो हुने रहेछ ।

अर्को उत्पिडित वर्ग तयार पारियो । यो मुलुकमा तिमीहरुको पहिचान खोइ ? तिमीहरुलाई अफ्नै मुलुकमा पहिचान विहिन छौ । सवैको पहिचान हुनुपर्छ कि पर्दैन ? अहिले तिमीहरू माथी शासन गर्ने बाहिरियाहरु छन् । उनीहरुबाट अब आफ्नो पहिचान खोज्दै आफ्नो शासन स्थापित गर्नुपर्दछ । यो पहिचानको लडाइँमा पनि मर्ने भनेको त जनताको छोराछोरी नै हो । शासन सत्तामा त फेरिपनि उहीँ एलिट वर्ग नै पुग्ने हो । त्यहाँ पनि एकथरी एल्टहरु तम्तयार छन् आफ्नो पालो पर्खिएर बसेका ।

त्यही एलिट वर्ग (सम्भ्रान्त वा कुलीन) कै हातमा शासन भएको र आफूले केही पनि नपाएको अवस्थाको असन्तुष्टि हो अहिले राजतन्त्र लोकप्रिय हुँदै जानुको कारण । यस्तै अवस्था रहिरहे भोलि कस्तो अवस्था आउला भन्न सकिन्न ।

म चाहिँ त्यही एलिट वर्गलाई बाहुनवाद भन्न रुचाउँछु ।

तपाइँको प्रतिक्रिया