वंशजको अधिकार : नागरिकता राजनीति मात्र नभएर पहिचानको मुद्दा
सन २००९ सालतिर म इटालीमा थिएँ। त्यत्तिबेला मिलान शाहरमा बस्थें । गैर आवासीय नेपाली संघ (एनआरएनए) को अभियानले हरेक देशमा राष्टृय समान्वय परिषद (एनसीसी) हरु गठन हुने लहर थियो। एनआरएनए गठन हुँदै थियो । डा. भिम बहादुर बम तदर्थ समितिको संयोजक हुनुहुन्थ्यो । पछि अधिबेशन भएर शेर बहादुर तुम्बापो अध्यक्ष निर्वाचित हुनुभयो । महासचिव रामजीबी पन्त र सचिवमा म निर्वाचित भएँ । त्यसबेलाको ऊर्जा, हाम्रा सपना र संस्थामा देखिएको एकता अझै सम्झन्छु। हामीलाई लाग्थ्यो, हामीजस्ता विदेशमा रहने नेपालीहरूको आवाज अब सुनिने छ। यो संस्थाले राज्यलाई बोध गराउने छ । प्रवाशी नेपालीको भूमिका, सिप र जाँघरलाई मातृभुमीमा योगदान गर्नुपर्ने खाँचो अवगत गराउने छ ।
तर समयसँगै एनआरएनए राजनीति र गुटगत संघर्षको थलो बन्यो। संस्थागतभन्दा व्यक्तिगत स्वार्थ हावी भयो। र, मैले आत्मसात गरेँ – संस्था होइन, सोच बदल्न जरुरी छ।
फेरी पनि भयो ठिक उस्तै । गैर आवासीय नेपाली संघ इटालीको दोस्रो अधिबेशननै पूर्ण रुपमा राजनैतिक महासंग्राम जस्तो भयो । राजनैतिक प्यानलहरु प्रष्ट रुपमा देखिए । दोस्रो अधिबेशन सम्पन्न गरेपछि एनआरएनएको शुभचिन्तक त रहे तर पदिय हिसाबले कुनै जिम्मेवारी नलिई निस्कृय नै बसे ।
सन २०१६ मा आफै बसेको शहर मिलानको मितेरी मंच भन्ने नेपालीहरुको साझा स्थानीय संस्थाको अध्यक्ष भएर काम गरें । जे जति गरें मिलानबासी नेपालीहरु प्रत्यक्षदर्शी हुनुहुन्छ । राम्रो नराम्रोको मुल्यांकन गर्ने जिम्मा मिलानबासीलाइ नै सुम्पन्छु ।
मनमा एक खालको बितृष्णा जाग्यो । तर फेरिपनि गैर आवासीय नेपाली संघ प्रति मेरो चासो चटक्क हट्न सकेन । मैले बेवास्ता गर्न पनि सकिन । संस्था सुधार्ने एक खालको हुटहुटीले तानिनै राख्यो । स्वाभाविक पनि हो । एनआरएनएको अभियानमा बिना स्वार्थ हम्फालेकै हो । त्यो बेला न त मसँग टन्न पैसा नै थियो न त मलाइ कुनै पद प्रतिष्ठाको लोभलेनै तानिरहेको थियो ।
त्यतिबेला म चौबिस वर्षको लक्काजवान थिएँ । आँट, रहर्, चासो, संस्थागत चाहना र आफ्नो मातृभूमी प्रतिको माया, मोह र जिम्मेवारीले घच्घच्याईरहन्थ्यो । त्यसलाई पुरा गर्ने उत्साह र लगन पनि छ भन्ने बुझेझैं लाग्थ्यो । साथ र समर्थन दिने प्रिय साथीहरुपनि थिए । अगाडी बढाउन प्रेरित गर्ने परिवार पनि थियो । मलाई गैर आवासीय नेपाली संघको “एक पटकको नेपाली सधैको नेपाली” भन्ने नाराले चरम रुपमा तानेको थियो ।
आजको मुद्दा: वंशजको नागरिकता
आजको चर्चा फेरि एनआरएनए भित्रबाटै उठेको छ । प्रेम गाहामगर (गैर आवासिय नेपाली संघ बेलायतका बर्तमान अध्यक्ष) जस्ता व्यक्तित्वले उठाउनु भएको वंशजको आधारमा नागरिकताको विषय। यो कुनै माग होइन । यो संविधानले नै सुनिश्चित गरेको अधिकार हो। बाबु वा आमामध्ये कुनै एक नेपाली भएमा सन्तानले नेपालको नागरिकता पाउनु पर्छ । नेपालको संविधान २०७२ को धारा ११(२) मा स्पष्ट छ।
यो मुद्दा किन आवश्यक ?
विकसित मुलुकमा जन्मिएका हाम्रा सन्तानहरू तामाङ, गुरुङ, मगर, राई, लिम्बु, नेवार आदि आदिबासी समुदायका हुन्। उनीहरू नेपाली भाषा, धर्म, संस्कृति र परम्परासँग जोडिन चाहन्छन्। त्यसो त, जनजातिईतरका बालबालिका, युवायुवतीपनि आफ्नो मातृभाषा, मातृमाटोको सुगन्धसितै जोडिन चाहन्छन । उनीहरुलाई थाह छ, पूर्खा भनेको विशाल वृक्षको जरो हो र उनीहरु त्यही जराबाट पलाएका, हुर्किएका हाँगाबिगा हुन । त्यसैले जरोको त्याग, जरोले जन्माउँदाको कष्ट, दिएको पौष्टिकता र सन्तानका हातपाखुरा फैलाएको मेहनतलाई भुल्न हुन्न, सकिन्न । तर कानुनी रूपमा उनीहरू ‘अन्य’ कहलिन्छन्। यो अन्याय हो।
एनआरएनएको विडम्बना
संस्था मूलतः देशप्रेम, सेवा र सामूहिक प्रवासजन्य मुद्दा समाधान गर्ने सपना लिएर बनेको थियो । आजको ब्यक्तित्व विकास गर्ने मंच (प्लेटफर्म) मा सीमित हुँदै गएको छ। सामान्य श्रमिक, घरेलु कामदार, पढ्न गएका विद्यार्थी वा जागिर खाने मध्यवर्गीय नेपालीहरूको संख्या वैदेशिक रोजगारीमा लाखौं छ । तिनीहरूलाई अहिलेको एनआरएनएले प्रतिनिधित्व गर्छ भन्ने आधार देखिँदैन। न त ती वर्गको आवाज उठ्छ, न त नीतिगत मुद्दामा तिनीहरूको पहुँच छ। यस्तो संस्थागत प्रवृत्तिले गर्दा धेरै नेपालीहरू आज एनआरएनएसँग म जस्तै भावनात्मक रूपमा टाढा भएका छन्।
दुर्भाग्य यो छ कि एनआरएनए भित्र धेरैले यस मुद्दालाई संविधान र पहिचानको विषयको रूपमा होइन, व्यक्तिगत वा गुटगत हिसाबले हेरिरहेका छन्। जब एनआरएनएको उद्देश्य नै नेपालीहरूलाई जोड्नु थियो, त्यहि संस्थामा आज केहि मान्छे वंशज सन्तानहरूलाई छुट्याउने मानसिकता बोकेका छन्। विडम्बना के छ भने एनआरएनए नामको विश्वव्यापी संस्थाले अहिले न त पछिल्लो पुस्ताका लागि दीर्घकालीन रणनीति बनाएको छ, न त नेपाली सन्तानहरूको पहिचानलाई केन्द्रमा राखेको छ। जब संस्थाले आफ्नो ‘भावी सन्तती’ का लागि नसोच्ने अवस्था हुन्छ, तब त्यो संस्था केवल बौद्धिक सम्मेलन र विदेश भ्रमणको साधन मात्र रहन्छ।
नागरिकता जस्तो मौलिक विषयमा समेत एनआरएनए जस्तो संस्था आज राजनीतिक गुट र उपगुटको शिकार बनेको देखिन्छ। नेतृत्वको प्रतिस्पर्धा आफैंमा नराम्रो होइन, तर प्रतिस्पर्धा नीति र विचारका लागि नभएर अहंकार र स्वार्थका लागि भएपछि संस्था नै दिशाहीन बनेको छ । त्यती मात्र कहाँ हो र ? संस्थानै फुटेर चिरा चिरा परेको छ ।
आजको मुद्दा यही हो — वंशज सन्तानलाई नेपाली नागरिकता नदिँदा, उनीहरूले नेपालसँगको कानुनी र भावनात्मक सम्बन्ध गुमाउँछन्। एनआरएनएले त्यो पीडा बुझ्न सक्नुपर्छ। नत्र, हाम्रा संगठनहरूले नेपाल भन्ने ‘शब्द’ बोल्ने छन्, तर नेपाल सँग ‘सम्बन्ध’ राख्ने सन्तान हामीले गुमाउँछौं।
मेरो समर्थन किन ?
वास्तबमै भन्नुपर्दा प्रेम गाहामगरलाई व्यक्तिगत रुपमा चिन्दिन । बेलायतमा हुने विभिन्न कार्यक्रमहरुमा भेट नभएको भने होइन । यो मुद्दामा गैर आवासीय नेपाली संघ बेलायतका अध्यक्ष प्रेम गाहामगर जत्ति चर्को रुपमा कुनै एनसीसी तथा आइसीसीका अभियन्ताहरुले बोलेको सुनिँदैन । वहाँको यस साहसिक कदमलाई समर्थन गर्दछु। किनभने यो मुद्दा मुनि लाखौं गैर आवासिय नेपाली सन्तानहरूको भविष्य लुकेको छ। तामाङ समुदायका एक सदस्य र तामाङ घेदुङ युकेको सचिवको हैसियतले म भन्छु, हामी हाम्रो सन्तानहरूको नेपालसँगको सम्बन्ध कानुनी रूपमा सुरक्षित चाहन्छौं ।
नागरिकता माग होइन, अधिकार हो। यो राजनीति होइन, पहिचान र माटोको सम्बन्ध हो। संविधानले दिइसकेको अधिकारलाई कार्यान्वयन गराउन हामी चुप लागेर बस्न मिल्दैन।
(लेखक गैर आवासीय नेपाली संघ इटालीका संस्थापक सचिव तथा तामाङ घेदुङ बेलायतका वर्तमान सचिव हुन्)