सोमबार, वैशाख १०, २०८१

कथा: एनआरएन डेनमार्कको अध्यक्षमा बासुको उमेद्वारी

शशि ढकाल / कोपनहेगन, डेनमार्क२०८० जेठ १ गते १६:२६

शशि ढकाल

एनआरएन डेनमार्कका सभापतिले केहि दिन आगाडी आफ्नो फेसबुकमा भर्खर बनेको एनआरएन डेनमार्कको सदस्यको कार्ड सहितको फोटो राख्दै स्टाटस लेखे  “गैर आवासीय नेपाली संघ डेनमार्कको सदस्यता फाराम खुलिरहेको छ ! संस्थाको महत्व बढाउन पनि तपाई सदस्य बन्न जरूरी छ भने संस्थामा थप कार्य तथा नयॉ टिम छान्न पनि तपाई नै सदस्य बन्नु पर्ने छ । अझ एनआरएनए डेनमार्क संग सन्तुष्ट हुनुहुन्छ भने त अनिवार्य रुपमा तपाई सदस्य बन्नैपर्छ । ताकी नयाँ कुरा उठाउन सजिलो होस् ! अन्तिम मिति- १५ मे, २०२३ फाराम भर्न अघि यो भिडियो हेर्न सक्नुहुनेछ !”

बासुले भिडियो राम्रोसँग हेर्यो । दोर्यायर हेर्यो अनि सदस्यता भर्न बस्यो। सदस्यता भर्न बस्दा उसको मनमा एउटा प्रश्न नफुरेको चाहिँ हैन “बिगत ६ वर्ष देखि लगातार उ एनआरएन डेनमार्कको सदस्य छ । एक पटक के हुँदो रहेछ छ त भनेर कार्यसमितिमा समेत बसेको छ, युबा प्रतिनिधि भएर । फेरी नयाँ सदस्य बन्नु पर्ने रे ? हैन यो एनआरएन भन्ने संस्थामा नबिकरण वा नवीकरण भन्ने कुनै शब्दनै छैन कि क्या हो ?

त्यसो त आजकल गैर आवासीय नेपाली संघमा लगभग सदस्यता बिश्व भरिनै जता जता नेपालीहरु रहेका छन्, त्यता खुलीरहेका छन् । अनि फेसबुक तिर एउटा स्क्रिन शर्ट भाइरल पनि भैरहेको छ “बिगत १२ वर्ष देखि निरन्तर रुपमा एनआरएनए सदस्य बनिरहेको छु । प्रत्येक बर्ष डकुमेन्ट हालीरहेको छु । लाखौं खर्च गरेर बनाएको डाटाबेस कहाँ घाँस खान गयो ? फेरी वर्षै पिच्छे डकुमेन्ट अपलोड गरिरहनुपर्ने ? २० औं वर्ष सम्म संस्थाको क्षमता बिस्तार गर्नु पर्दैन ? लाज,सरम, घिन, डर भन्ने लाग्दैन ? नबिकरण गर्नलाई पनि के को डकुमेन्ट ? यो के को नौटंकी हो ?

बासुलाई पनि भिडियो हेरे पछि यो फारम भराई नौटंकीनै लाग्न थाल्यो । अझ सदस्य भर्दा उसको सदस्य भराई नमिलेको भनेर वेबपेज ले नौटंकीनै गरिरह्यो । हैन एनआरएनले यस्तो नौटंकी वाला ब्यवहार कहिलेसम्म गरिरहन्छ ?

पुरानो सदस्यता हेरेर खुरुक्क नवीकरण गर्न कसको बाउको टाउको दुखेको हो ? उसले फारम भर्न कम्ता नौटंकी गर्नु परेन त ? सर्बप्रथम त स्मार्ट एनआरएन एप डाउनलोड गरेर एप खोल्यो । एकाउन्टनै नयाँ खोल्नुपर्ने रहेछ । पुरानो लग इनले काम गरेन । त्यसो भए किन त्यो लग इन त्यहाँ राखेको बरु नयाँ वा नबिकरण भनेर राख्न सकिन्थ्यो नि हैन ? ……..अनि भर्खर डेनमार्क छिरेको पारामा एपले मागे बमोजिम सम्पूर्ण कुराहरु भर्यो ।

त्यसपछि डेनमार्कको आइडी कार्डनै राख्यो । अनि १०० क्रोनर मोबाइल पे गरेर सेल्फी दिन तिर लाग्यो । सबै भन्दा नौटंकी त यही सेल्फीले गर्दो रहेछ त । धेरै पटक “मुसुक्क हाँस्दै……आखाँ झिम्क्याउँदै”…… “मुसुक्क हाँस्दै……आँखा झिम्क्याउँदै”….. गर्दा पनि सेल्फी स्वीकार नभएको म्यासेज आइरह्यो । कस्तो झन्झटिलो बनाएको ? …. यहि हो स्मार्ट भनेको ? एनआरएनका बाचित ओदाने अध्यक्षहरुलाई बिप गर्नु पर्ने गालि मस्तले दियो । त्यसपछि पुन सेल्फी कोसिस गर्यो । यसपटक बल्ल उ स्वीकृतमा पर्यो । साला लातले हान्नुपर्ने मान्छे बातले नमान्ने भनेको यही हो…. मनमनै भुतभुतायो ।

केहि दिन पछि इमेलमा उसको सदस्यता एप्रुभ भएर आयो । उसको सदस्यता एप्रुभ भएर आउँदा डेनमार्कमा एक प्रकारले सामाजिक संजालमा उमेद्वारी दिन्छु । यसपटक अध्यक्षमानै दिन्छु भन्नेहरुको लर्कोनै लागिसकेको थियो ।

उसले सामाजिक संजाल टटोल्यो, डेनमार्क जस्तो देशमा बसेर बिश्वको ८० भन्दा बढी देशमा संजाल भएको गैर आवासीय नेपाली संघको डेनमार्क शाखाको अध्यक्षमा दाबि गर्नेहरुमा त अईरे, गैरे, नत्थु खैरे सबै छन् त । यस्सो हेर्यो । शनिबार पनि बिदा बस्न नसक्ने, आइतबार पनि फुर्सत नभएका पनि लाइन मा बसेका छन् त । अचम्म ……..

उसले बादल सरलाई फोन लगायो र केहि जिज्ञासा राख्यो । बादल सरले उसलाई राम्ररी बुझाइदिए । ए यी अईरे, गैरे, नत्थु खैरे छन नि बासु यी सबै च्याँखे हुन् । क्षणिक लाभ र नामका लागि फेसबुक तिर भुकेका हुन् । अहिले भाइरल भनिन्छ नि हो त्यस्तै हुन् खोजेका हुन् । काममा जादा बस चढे पछि सिट पाएमा मात्र यिनीहरुले स्टाटस अपडेट गर्ने हुन् अरु बेला त सातै दिन यी काममा हुन्छन के को राजनीति गर्नु नि ?

सबै कुरा बुझाइसकेपछि बादल सरले डेनमार्कको राजनीति, रुस युक्रेन युद्द र अमेरिकाले युरोपमा खेलेको भूमिकाबारे लामै ननस्टप लेक्चर दिए । बासु नबुझे पनि बुझे जस्तो … जस्तो गरेर हो सर, हो सर भनिरह्यो । लामो लेक्चर पछि बादल सरले फोन राखे । फोन राखेर बासु बाथरुम छिर्यो । नुहाएर आउँदा फोनको घन्टी बजीरहेको थियो । उसले हतार हतार फोन उठायो । फोन बादल सरको नै थियो । उसले हलो मात्र के भनेको थियो बादल सरको कडा प्रश्न आयो, एनआरएन चुनाबमा उठने हैन ?
..हैट सर पनि मजाक गर्नु हुन्छ, उसले यता बाट भन्यो ।
..ल साँच्चिकै भनेको ?
..हो र सर आँटुँ त ?
..अनि तपाई नउठे को उठ्ने त ?
..अनि उठ्न चाहिँ के मा उठ्ने नि ?
..अब, उठीसकेपछि के मा नि ? अध्यक्षमानै उठने नि ।
..हो र भन्या ? अध्यक्षमानै ? अनि तयारी खोइ त ? केहि त जान्नुपर्ने होला नि ?
..यहाँ पुराना मात्र कसले के के जानेका थिए र ? के गरे र ? उही पद खान जाने मात्र त हुन् नि ।
..म पनि त केहि जान्दिन त ?
..जानिन्छ । पुराना त अझ एक पन्ना अंग्रेजी लेख्न नजान्ने पनि छन। बरु तपाई कलेजमै अंग्रेजी पढाएको मान्छे । डेनिश भाषा सिकिसक्नु भो । अनि डेनिस अनुबादकको रुपमा काम गरिरहनु भा छ । मैले तपाइको फेसबुक प्रोफाइल हेरको डिजिटल क्रिएटर भनेर लेख्नु भा छ । अलि अलि कम्युटर चलाई हाल्नुहुन्छ होला, यस्सो केहि डिजाइङ्ग तिर रुची हुँदै होला र नि त त्यस्तो लेख्नु भाको होला । बस भै हाल्यो त ।

….सरले साँच्चै भन्नु भाको हो ? बासुलाई विश्वास लागेन र सोध्यो ।

..तपाई तयारी गर्नुस बाँकि चाँडो भेटेर छलफल गरौला। मेरो त्यस्तै १००-१५० भोट छ । अरु प्रयास गरुँला । धुम धड्का सँग सदस्य बनाऊँ । जसले धेरै सदस्य बनायो उसैले जित्ने हो । हेर्नुस देशमा पनि स्वन्त्रत्रको लहरनै आएको छ । बालेंन, हर्क साम्पाङ्ग देखि रबि सम्मलाइ हेर्नुस न आँट नगरी केहि हुन्न । आँट गरम ।

बादल सरले लामो सास तान्दै बासुलाई भनिरहे ………

यहाँका पुराना पार्टीका उमेद्वार भनेर उठ्नेसँग कुनै स्पष्ट बाटो छैन। नेतृत्वसँग स्पष्ट बिचार छैन। एनआरएनको भविष्यबारे कुनै चिन्तन छैन। पद खादामाला र सत्ताको लागि मनलाग्दी गर्ने तर गैरआवासीय नेपालीको अवस्था बदल्ने कुनै योजना छैन । यिनीहरु सच्चिने होइनन्, सच्चिने समय सकियो, अब सक्कीने हो । त्यसैले उचित समय अहिलेनै हो तपाई उठनै पर्छ ।

बादलसर सँगको छलफल पछि बासु अर्थात् बासुदेब उपाध्याय असमन्जस्यमा पर्यो। यस्तै असमन्जस्यमा उ एकदिन एक सन्तानकी आमाले उनको घाँटीमा उसको ट्याटुको दोश्रो हस्ताक्षर खोपाउन अनुमति मागेकी दिन पनि परेको थियो ।

एनआरएन डेनमार्कको अध्यक्षमा उठेर, जितेर चाहि गर्ने के ? उही भाषण, आसन अनि खादा , माला…….

उ सोचमग्न भयो । नेपाल तिर भएको भए यो पुल बनाइदिन्छु, यो बाटो पिच गरिदिउँला, वा केहि नभए पानीको व्यवथा गरिदिन्छु भन्ने कुरा त थिए, ….. तर यहाँ के छ ?
उसले सम्झ्यो ……..अँ बिगतकाले भन्ने गरेका थिए नि, चौबिसै घण्टा सम्पर्क गर्न मिल्ने टेलिफोन हटलाइन एनआरएन को……..

हो……अब यसलाई हल्लो एनआरएन संचालन गर्छु भनेर भन्नु पर्ला । अनि मन्दिर बनाउने कुरा पनि उठाका छन । मन्दिर मेरै पालामा बन्छ भनिदिन्छु ल ।

सामुदायिक भवनको कुरा बिगत देखि उठेको छ त्यो पनि मेरै पालामा बन्छ भनिदिन्छु ल ।
बच्चाहरुको लागि नेपाली भाषा पाठशालाको कुरा थियो । अब त्यो गर्न नमिल्ने भै हाल्यो । नत्र हरेक बर्ष यो इस्सु उठाउँदै चुनाब जित्ने हरु पनि थिए ।

बिचरा पहिले उठ्नेहरुलाई कम्युनलेनै मात्री भाषा पढ्ने व्यवथा समुदायकोलागि गरिदिन्छ भन्ने थाहा रहेनछ ।

राम्रै छ दुइ चार जना नेपालीले क पढ बाबु ख पढ नानी…….भन्दै फेसबुक चलाएर कम्युनबाट मास्टरको जागिर पाका छन….भै त गो । यसमा त्यति टाउको दुखाइरहनु परेन । उसले आफुले गर्ने कुरा लिपिबध गर्यो । अनि कम्पुटर खोलेर युनिकोडमा टाइप गर्यो -बासुको चुनाबी घोषणा पत्र …….

जब उसले आफ्नो घोषणा पत्र पढ्यो अनि दंग पर्दै सुत्यो ।

उ डेनमार्क आएपछि उसले आफुले जिन्दगीमा गरेको परिवर्तन र यसै सहरमा भएका थुप्रै परिवर्तनहरु देख्यो । मिहेनत गरे सबै चिताएको कुरा पुग्ने ठाउँमा आइपुगेको महसुस गर्यो । यी सबै पुग्न पनि कसै न कसैले सुरुवाती दिनमा बाटो देखाउनुपर्ने । कतिपय ठाउँमा हातनै समातेर लगिदिनु पर्ने बाध्यता महसुस गर्यो । उम्मेदारी दिने निर्णय सहित सुतेको उसको दिमागमा सेकेण्ड–सेकेण्डमा आउने बिचारले निन्द्रा पर्न नै दिएन ।

यस बिचमा उसले कोपन्हेगन जो संसारकै सुखी सहरहरुमा पर्छ जसको लागि तेस्रो बिश्व बाट आएकाले गरेको सघर्ष देखेको छ, भोगेको छ। उनीहरुका निमित्त पो काम गर्नुपर्ने हो भन्ने बिचारले जरा गाड्दै गएको महसुस गर्यो ।

आफूले चिताएको, बिताएको भन्दा विल्कुलै फरक देश, परिवेश, फरक भाषा शैली, धर्म फरक, रहनसहन फरक, खाने तौरतरिका फरक चेतना स्तर पनि फरक भएको समाज । यो समाजसँग घुलमिल हुँदै सँगसँगै कलेजको पढाइको चाप, दैनिक गर्नुपर्ने ज्यालादारीको थ्री डी असुरक्षित काम र कम ज्याला । एसियन कामका ठेकेदारहरुको पेलाई, परिवारको ऋण, आफन्त र भाइ बहिनीको आइफोन मोह अनि देशले गरेको अपेक्षा आदिसँग दिनहुँ लडिरहनुपर्ने अवस्थामाझ संघर्ष गरिरहेका नेपाली विद्यार्थीको लागि कसले काम गर्ने ?

आखिर नेपाली विद्यार्थीलाइ त गैर आवासीय नेपाली संघ डेनमार्कले सौताको छोराकै ब्यवहार गरेको छ । बरु त्यही विद्यार्थीका डिपेण्डेन्टहरुमाथि चाहि भोटको पासो थापेको छ । नेपालको सरकारको जस्तै मुर्ख काम के, जुन सरकार आफ्नो देशमा बनेको सवारी साधनलाइ दर्तानै गर्दैन र सडकमा गुड्ननै दिँदैन । छिमेकमा बनेकोलाई चाहिँ रेड कार्पेट नै ओछ्याउँछ । त्यस्तै विद्यार्थीलाइ चाहिँ एनआरएन बनाउननै नहुने र सोहि विद्यार्थीको भिषाको आधारमा डिपेण्डेन्ट बनेकाहरु चाहिँ स्वत सदस्य हुने रे । हैन यो विद्यार्थीको भिषा गडबड भए……डेनिस सरकारले डिपेण्डेन्टलाइ चाहिँ गैर आवासीय नेपाली संघको परिचय पत्र हेरेर नयाँ भिषा दिन्छ कि के हो ? यस्ता मुर्ख त बिधान समितिमा छन् ।

हरेक बिहान रेल स्टेसनको प्लेटफर्ममा आधा निद्रा बोकेर कलेज हिंडिरहेका विद्यार्थी, रेल छुट्ने डरले हातमा क्रुशन (एक प्रकारको पाउरोटी) र सेभेन एलेभनको सस्तो कफी बोकेर रेल स्टेसनतिर दौडिरहेका विद्यार्थी। रातभरी म्याक डोनाल्डको ग्रिल सफा गरेर कलेजको असाइन्मेन्ट गर्न नभ्याएको बिजिनेस कलेजको कतै काम नलाग्ने डिग्रीको लागि मेहेनत गरिरहेको रेलको डब्बाभित्र उमिरहेको विद्यार्थी, ……र…..कलेजको झोलामा हाउस किपिंगको ड्रेस बोकेर कामबाट सिधै कलेज जान तम्सिएकि सानी नानी ।

यिनीहरुलाई डिपोजिट माथि डिपोजिट लिएर समय समयमा पापी बत्ती बन्द गरिदिने नेपाली घरबेटी । अनी यी विद्यार्थीलाइ बाटो देखाउने को त ? परेको मर्कामा उजुरी दिन पुलिसको मा लगिदिने को त ? आवश्यक पर्दा भाषा अनुबाद गरिदिने को त ?  आउँदा आउँदै विद्यार्थीहरुलाई यहाँको कोठा र काम बारे बताइदिने को त ?  अनि केहि गरि बिधार्थी निराश भएर एञ्जाइटि र डिप्रेसनको सिकार भएमा काउसिलिङ्ग गरिदिने को त ?

समस्याको चाङ छ त…., गर्न चाहे त नयाँ विद्यार्थीको लागि काम गर्ने ठाउँ छ त,…….नयाँ विधार्थीलाई सहयोग गर्ने टिम बनाउने, सुचना आदान प्रदान गर्ने अनि चाहिने सबै सुचनाहरु एकै ठाउँबाट उपलब्ध हुने साइट बनाउने जस्ता काम त छ नि ! सही सुचना मात्र आफ्नै भाषामा दिन सके पनि यो अन्जान ठाउँमा नव आगन्तुकहरुले कति आत्मियता महसुस गर्दा हुन् ?

रातको २ बजेको छ । ढोका ढ्यांग लगाएको आवाजले उसको तन्द्रा भंग भयो । सायद उसको माथि फ्ल्याटमा बस्ने कुनै नेपाली बिद्यार्थी बर्गर किङ्ग वा हेलिफ्याक्स बर्गरको किचेन सफा गरेर आएको हुनुपर्छ । अब बिहानै ६ बजेनै उसले कलेज पनि कुद्नु पर्छ । किचेन गएर बासुले धारा खोल्यो र घट घट पानी पियो ।

के यस्तो परिस्थिति वा यस्ता मानिसहरुको समस्या समाधानमा म सहायक हुनसक्छु ? के उनीहरुलाई सेटल हुन् चाहिने जानकारी म दिन सक्छु ? यती गर्न सक्ने भए मात्र मेरो उमेद्वारीको औचित्य साबित हुनसक्छ । अन्यथा मैले उमेद्वारी दिनुको के अर्थ होला र ?
भोलि बिहानै उसले बादल सरसँग सल्लाह गर्ने अठोट गर्दै सुत्यो ।

बिहान करिब ५ बजे ढोका ढ्यांगको आवाज सँगै उसको निद्रा बिउँझियो । सायद बेलुका दुइबजे कामबाट घर फर्केको भाइ कलेज जान लागेको हुनुपर्छ । त्यसपछि उसको आपार्टमेंन्टको काठको भर्यांगमा दौडँदै कोहि तल ओर्लिरहेको आवाज उसले सुन्यो ।

तपाइँको प्रतिक्रिया