मंगलबार, वैशाख १८, २०८१

कोपनहेगनमा बस्ने नेपालीबिच दोश्रो भेट्रान प्रिमियर लिग शुरु

नेपालप्लस सम्वाददाता / डेनमार्क, कोपनहेगन२०८० साउन ३ गते ८:४१

डेनमार्कको राजधानी कोपनहेगनमा बस्ने नेपालीबिच गत वर्ष शुरु भएको भेट्रान लिगले यस वर्ष पनि निरन्तरता पाएको छ ।

गत आइतवार डेनमार्कका लागि नेपालका महामहिम राजदूत प्रा. डा. राम स्वार्थ राय र एनआरएन डेनमार्कका अध्यक्ष कमल राज शर्माले एक समारोहका बीच खेलाडीहरुलाई बल दिएर दोश्रो भेट्रान प्रिमियर लिगको उद्घाटन गर्नु भयो ।

सो अवसरमा बोल्दै राजदुत रायले खेलमा सबै भन्दा लोकप्रिय फुटबल खेलको माध्यमबाट बिदेशमा नेपालीहरु एकजुट भएकोमा खुशी ब्यक्त गर्दै दोश्रो भेट्रान प्रिमियर लिगको सफलताको कामना गर्नुभयो ।

सोहि अवसरमा नेपाली राजदुताबास डेनमार्कका नियोग उपप्रमुख तीर्थ अर्यालले गत वर्षको प्रथम भेट्रान लिग आफूले पनि खेलेको सम्झना गर्नुभयो । उहाँले खेलकुद मानव जीवनमा अपरिहार्य भएको बताउँदै खेलकुदको माध्यमबाट शरीर स्वस्थ राख्न डेनमार्कका भेट्रानहरुले गरेको कार्यको प्रशंसा गर्नुभएको थियो ।

कार्यक्रममा स्वागत मन्तब्य दिँदै एनआरएन डेनमार्ककी नवनिर्वाचित उपाध्यक्ष मनिषा सिंह कोइरालाले सहभागी खेलाडीहरुलाई स्वागत गर्नुभयो । उहाँले डेनमार्कका नेपालीबीच यस्तो लिग फुटबलको हुनु ऐतिहासिक काम भएको भन्दै यसलाई प्रत्येक वर्ष निरन्तरता दिन आयोजकलाई आग्रह गर्नु भयो ।

करिब २ महिना चल्ने उक्त लिगमा डेनमार्कका नेपाली भेट्रान्सहरुको लिगको सफलताको कामना गर्दै एनआरएन डेनमार्कका निबर्तमान अध्यक्ष शैलेन्द्र अधिकारीले सबै कुरामा पूर्ण भएका डेनमार्कका भेट्रानले खेलकुदको माध्यमबाट समेत समाजमा सकारात्मक सन्देस दिन सक्नुपर्ने बताउनुभयो ।

समग्र डेनमार्कका भेट्रान र उनीहरुको फुटबल खेलबारे आफ्नो मन्तब्य दिँदै गत वर्षको लिग बिजेता अन्नपूर्णका क्याप्टेन सुमित खड्काले लिगको माध्यमबाट भेट्रानहरुको दरिलो जमघट हुनाका साथै अन्य क्लबबाट रिटायर्ड भएपछि पनि भेट्रान डेनमार्कको माध्यमबाट खेलमा सहभागी हुन् पाउँदा आफु निकै गौरवान्दित भएको बताउनुभयो ।

उद्घाटन समारोहमा लिगका दुइ खेल खेलाइएका थिए, जसमध्ये पहिलो खेलमा बागमतीले अन्नपूर्णलाई ४ -१ को गोल अन्तरमा हरायो।

बागमतीका जल्दाबल्दा स्टाइकर अभिषेकले उद्घाटन खेलमा नै ह्याट्रिक गरि आफ्नो टिमलाई तिन अंक दिलाए भने अर्को एक गोल थपि बागमतीका क्याप्टेन ओम प्रकाश बजिमयले खेल भरीनै उत्क्रिस्ट प्रदर्शन गरे । बागमतीको ४ गोलमा ओमको दुइ गोलमा सहयोग थियो भने अन्य दुइ गोलमा जिजन र निकको सहयोगि भूमिका थियो । अन्नपुर्णको एक गोलमा भने सालिकरामले भूमिका खेलेका थिए ।

त्यसै गरि चन्द्रागिरी र धौलागिरि बीच भएको दोश्रो खेलको नतिजा २- ३ गोल रह्यो । धौलागिरीको तर्फबाट क्याप्टेन राम श्रेष्ठले दुइ गोल गरे भने स्टाइकर सागर रिजालले एक गोल गरे । चन्द्रागीरीको लागि निराजन गुरुङ र हरी न्यौपानेले एक एक गोल गरे ।

धौलागिरीका स्टाइकर सागर रिजालले डियरिया नजिकैबाट आएको बललाई हातले रोकी गोल गर्ने प्रयास गरेपछि दोश्रो हाफमा उनले रेडकार्ड पाएर खेलबाट बाहिरिनु परेको थियो । त्यसपछि आक्रामक खेल खेलेको चन्द्रागिरीको आक्रमण विफल पार्दै धौलागिरि रक्षात्मक खेल खेल्न बाध्य भएको थियो ।

आइतवार भएको खेल क्रमश शशि ढकाल र प्रकाश ढकालले अम्पारिंग गरि संचालन गर्नु भएको थियो ।

तपाइँको प्रतिक्रिया

फेसबुक