शनिबार, साउन १२, २०८१

डेनमार्क बस्ने नेपालीबिचको भेट्रान लिग यस वर्ष पनि निरन्तर

नेपालप्लस सम्वाददाता / डेनमार्क, कोपनहेगन२०८० साउन २४ गते १९:०४

डेनमार्कको राजधानी कोपनहेगनमा बस्ने नेपालीबिच गत वर्ष शुरु भएको भेट्रान लिगले यस वर्ष पनि निरन्तरता दिँदै होम राउण्ड समाप्त गरी अर्को हप्ताबाट अवे राउण्ड सुरु गर्ने भएको छ ।

करिब एक महिना चलेको उक्त होम राउण्डको समाप्तिमा अहिले सम्मका सबै खेल जितेर धौलागिरि ९ अंकका साथ् सबैभन्दा अगाडी छ भने ६ अंकका साथ बागमती दोश्रो स्थानमा छ।

बागमतिका अभिषेक परियार ७ गोल सहित अग्र पंक्तिमा छन् भने उनलाई पछ्याउँदै धौलागिरीका क्याप्टेन राम श्रेष्ठ ३ ले तिन गोल गरेका छन् ।

त्यस्तै सबैभन्दा बढी ४ गोल एसिस्ट गर्ने खेलाडीमा बागमतिका क्याप्टेन ओमप्रकाश बजिमय रहेका छन् ।

अत्यन्तै रोचकताकासाथ् चलिरहेको यस लिगमा होम खेलको समाप्ति सँगै अवे खेल अझ प्रतिस्पर्धात्मक र रोचक हुने आयोजकहरुले जनाएका छन् । खेलको क्रममा धौलागिरीका स्टाइकर सागर रिजालले डिएरिया नजिकैबाट आकास्सियर आएको बललाई हातले गोल गर्ने प्रयास गरेपछि रेफ्री प्रकास ढकालले रेडकार्ड दिँदा धौलागिरीका समर्थकहरुले हल्ला गरेका थिए । तर रेफ्री ढकाल आफ्नो निर्णयमा अडिक रहे ।

डेनमार्कको लागि भेट्रानलिग एउटा फुटबल खेलमात्र भने होइन । करिब तीनमहिना चल्ने यो लिग हाम्रो लागि उत्सवनै हो । यस लिगलाई उत्सव जसरिनै खेलिन्छ जसले गर्दा डेनमार्कको नेपाली समुदायमा यसले भाइचारा, एकआपसी सहयोग र भेटघाटको अवसर दिएको छ” कोपन्हेगनमा बिध्याबारिधि गर्दै रहेका खेलाडी चन्द्रागीरिका क्याप्टेन राजन ढकाल भन्छन- “समयको महत्व के हो ? कसैले आज मलाई सोधोस, तापनि म समयको यति चटारोबिच पनि यो उत्सब छुटाउन चाहन्न । बरु केहि घण्टा कम सुतेर भएपनि समयलाई मिलाउने छु ।”

“फुटबल, फुटबल खेल मात्र हैन यसमा हाँसो, रोदन, दुखाइ, खुशी र पिडा समेत मीसिएर आउँछ । सायद जिन्दगी भनेको नै यही हो कि ? म त फुटबलमा जिन्दगीका सबै रंग पाउँछु” उनले थपे ।

डेनमार्कमा बसेर आफ्नो पेशागत काम बाहेक नेपाली समुदाय बीच आन्तरिक फुटबल लिग खेल संचालन भएकोमा गर्व गर्दै अन्नपूर्णका क्याप्टेन अनित घताने भन्छन “खेलमा जित हार त स्वाभाविक हो । तर खेलले बाँधेको नेपालीबिचको आत्मियता अझ गर्व गर्न लायक छ ।”

गत महिना डेनमार्कका लागि नेपालका महामहिम राजदूत प्रा। डा। राम स्वार्थ राय र एनआरएन डेनमार्कका अध्यक्ष कमल राज शर्माले एक समारोहका बीच खेलाडीहरुलाई बल दिएर उद्घाटन गर्नुभएको भेट्रान प्रिमियर लिग होम खेलको समाप्ति सँगै अबको एक डेढ महिना लिगको दोश्रो भाग अवे खेल खेलाइने जानकारी आयोजकहरुले दिएका छन ।

सहभागी सबै क्लबले सबै क्लबसँग दुइपटक खेल खेलेर अंकको आधारमा निर्णय हुने यस लिगको समाप्ति सेप्टेम्बर महिनाको दोस्रो हप्तामा गर्ने तयारी आयोजकको छ ।

तपाइँको प्रतिक्रिया