बिहीबार, जेठ १०, २०८१

विदेशले तपाईंको गुन्द्रुक र मायालाई चिन्दैन आमा

निल थापा / कोपेनहेगन, डेनमार्क२०८० असोज १२ गते ०:५२

जो आफनो मुलुक छाडेर विदेश गएका छन् उनिहरु सबैलाई आफ्नो देशको चिन्ताले झनै बढि सताउने रहेछ। राजनीतिक सामाजिक र देशको विकास लगायत विभित्र क्षेत्रको कारण देशको चिन्ता लाग्ने रहेछ। यी र यस्तै कुराले मलाई मात्र नभई अरुलाई पनि देशको चिन्ताले बढि नै सताउँछ भन्ने लाग्छ।

देशको चिन्ता मात्र होईन । त्यो बाहेक विदेशमा रहँदा बा, आमा, आफन्त, घरपरिवार, साथीभाईबाट टाढा हुनुको भावना लगायत हाम्रा चाड पर्व, रहनसहन, हाम्रा आफ्ना मौलिक तथा परम्परागत खानेकुराहरुले मनमा सधैं नै एक किसिमको भावनात्मक सम्बन्ध जगाई राख्छ।

यीनै कुराले परिवार तथा आफ्नो देशप्रतिको मोह जगाईरहने रहेछ । म पनि यी कुराबाट अछुतो रहन सकिन।

विदेश वसाईको १२ वर्षमा सात पटक म आफ्नो मातृ देश नेपाल ओहोर दोहोर गरें। यात्रामा मलाई कहिल्यै पनि झमेला र झन्झट ब्यहोर्नु परेन। कारण एउटै थियो।

म नेपालबाट आफू बसेको मुलुक फर्कँदा धेरै सामान तथा खानेकुरा बोक्दिन थिएँ।

आफ्नो लत्ताकपडा बाहेक कसैको अनुरोध भएपनि खानेकुरा बाहेक, थोरै लता कपडा, किताब तथा महत्वपूर्ण कागजपत्र ल्याउने लगिदिने काम भने निरन्तर गर्थे गर्थें।

विदेशी मुलुकमा रहँदै गर्दा मैले मेरा बा आमालाई पनि युरोपियन मुलुक घुमाउने अवसर पाएँ। जति अवसर पाएँ एक जिम्मेवारी छोराको हैसियतले पूरा गरें भन्ने लाग्छ।

मैले जवाफ दिएँ-आमा नियमले गुन्द्रुक, तामा, सुकुटी, सेलरोटी लान पाईदैन। चेक भयो भने विदेशमा राम्रो मान्दैनन् । तपाईले छोराको, बुहारीको, नातिनीको मायाले भन्नुभयो, ठिकै हो। तर विदेशको कानूनले तपाईको गुन्द्रुक र माया चिन्दैन आमा ।

सन् २०१३ मा मेरा बाआमा युरोप आउँदा एकपटक तरकारी मीठो भएन, तामा खान मन लाग्यो भन्नूभयो।

तर घरमा तामा थिएन। तामा अब कता नेपाली दाजुभाई छिमेकिमा माग्न जानू भनेर चिनजानको साथीभाईलाई नसोधी बजारबाट चिनीया तामा किनेर ल्याएँ । तरकारी बनाएर खुवाएको थिएँ।

आमालाई स्वाद लागेन छ। मुखै फोरेर भन्नु भयो ‘कस्तो खल्लो तामा।’

आमाले त्यहि खल्लो तामा सम्झेर होला, सन् २०१५ मा म नेपालबाट आफू बसेको मुलुक फर्कने बेलामा ‘छोरा तामा लैजा है। घरको हो। अमिलो छ । तँ बसेको ठाउको तामा त खल्लो हुँदोरहेछ’ भनेर एककिलो जति पोको पारिदिनुभयो।

मैले ईमान्दारीपूर्वक ‘लाँदिन आमा’ भन्ने जवाफ दिएँ।

मेरो कुराले आमालाई रिस उठेछ। गालिगर्दै भन्नुभयो ‘सारा दुनियाँले लग्या छन्, तँ मात्र ठुलो पल्टिन्छस?’

मान्छेले सेलरोटी, खजुरी, अनरसा, मस्यौरा, गुन्द्रुक, लप्सिको धुलो, सुकाएका मुलाका चाना, बेसार, मसला,तामा, अचार, चिउरा, तितौरा, छुर्पि, पुष्टकारी, सुकुटी सबै बोकेर जान्छन् । तँलाई मात्र विदेशी हुनुपर्ने ? खुरुक्क लैजा । बुहारी नातिनीले खान्छन्’।

आमाले चर्को स्वरमा आफ्ना मनका सबै कुरा एकै पटक खोल्नु भयो।

मैले जवाफ दिएँ-आमा नियमले लान पाईदैन। चेक भयो भने विदेशमा राम्रो मान्दैनन् । तपाईले छोराको, बुहारीको, नातिनीको मायाले भन्नुभयो, ठिकै हो। तर विदेशको कानूनले तपाईको गुन्द्रुक र माया चिन्दैन आमा ।

मेरो कुरालाई आमाले विश्वास गर्नु भएन। एकोहोरो भट्याउनु भयो।

मैले आमाको कुरा टार्न सकिन। आमाले जित्नु भयो। आमाले एक किलो तामा र एउटा सानो हर्लिक्सको बट्टामा बनाएर राखेको आँपको अचार हालिदिनु भयो।

तीस केजीको लगेजमा आफ्ना लताकपडा, पाँच सात वटा किताबका साथ अलिकति केही चाउचाउ, पुजाको सामग्री र तामा अनि आँपको अचारका साथ म आफू बसेको मुलुक डेनमार्क पुगें।

डेनमार्कमा आफू बसेको घर पुगेर सामान खोलेर हेर्दा लगेज हेर्न लाएक थिएन। आमाले हालिदिनु भएको तामा र अचारको भाँडो फुटेर मेरा कपडा, किताब र लगेज पुरै पहेँलो र चिल्लो भएको थियोे।

चाउचाउ र पुजाको अगरवति बाहेक मैले सबै कुरा फालिदिएँ त्यतिखेरै।

त्यसबेला देखि मैले कुनै पनि खाध्य सामग्री कोसेली नल्याउने निर्णय गरें । त्यसपछि ल्याएको पनि थिईन।

२०१७ मा नेपाल बाट आउँदा एक मित्रले फोनै गरेर एककिलो सुकुटि र चुना मोलेर खाने सुर्ती (घडी छाप) ल्याईदिन अनुरोध गरे।

मैले ‘सुकुटी ल्याउँदिन। सुर्ती चैं सोचेर मात्र ल्याउने’ सर्त राखें । पछि सुर्ती पनि ल्याईन। एक वर्ष जति उनी राम्रोसँग बोलेनन् । उनले सुकुटि र सुर्ती नल्याएकोमा तीन चार वर्ष गुनासो गरिरहे।

बिचमा नेपाल आउने जाने क्रम चलिरहँदा मैले धेरै जनाको सामान ल्याईदिने कुरामा सहयोग गर्न सकिन। यद्यपि खानेकुरा बाहेक अरु केही उपहार, कपडा,किताब, महत्वपुर्ण कागजपत्र तथा औषधि, ल्याउने लाने कुरामा नजिकका साथिभाईलाई भने सोध्न कहिल्यै छुटाईन।

यसपाली म अचानक नेपाल उडें पारिवारिक कारणले। आफ्ना सामान कम थिए। नजिकका साथीहरुका सामान थिए। अलिअलि लगेजमा अटाएसम्म लगिदिएँ । यो पटक जाँदा धेरै जनाको सामान थिए । मैले आफ्नो सामान धेरै नभएको कारण लगिदिएँ।

फर्कने बेलामा पनि साथीभाईको एउटा एउटा सामान छ है भन्ने अनुरोध पनि थियो।

म फर्कने बेला आमाले अनरसा र खजुरी बनाईदिनुभयो। ‘नातिनीलाई मन पर्छ जसरी नि लैजा’ भन्दै आदेश दिनु भयो।

मैले पुरानै कुरा दोहोर्‍याएँ ‘लाँदिन आमा। झन्झट हुन्छ। पहिले पनि एक पटक दु:ख पाईसकें।’

आमाले मेरो कुरा सुन्नु भएन। उल्टै ‘घरकै बेसार छ लान्छस ?’ भन्दै प्रश्न पो गर्नु भयो।

सत्तरी वर्षकि मेरी आमालाई गफमा जित्न सकिन। म हाँसे मात्र।

मेरो हाँसो देखेर आमा रिसाउनु भयो ‘खिसी गर्छस्? तेरो विदेशमा बेसार खादैनन् र?’

मैले हाँसी हाँसी जवाफ दिएँ ‘खान्छन् आमा तर नेपालबाट लगेर खाँदैनन्।’

आमालाई सर्त राखें ‘बेसार लाँदिन। अनरसा र खजुरी लान्छु। पोको पारिदिनुस। लान दिएन भने फालिदिन्छु।’

फर्कने बेला डेनमार्क बस्ने मेरा नजिकका आफन्तहरुले अनुरोध गरे ‘आफ्ना आफ्ना सामान ल्याईदिनु’ भनेर।

गाउँकी एक बहिनीले ‘दादा आमाले घरमा बनाईदिनु भएको गरम मसला छ। एक किलो जति छ। ल्याईदिनुस है।’

अर्कि एक छिमेकमा बस्ने बहिनीले ‘दाजू मलाई नेपालको पशुपति पापड एकदम मन पर्छ। दस प्याकेट ल्याईदिनुस है। मेरो साथीले ल्याएर तपाईंलाई दिन्छे। तीनकिलो जति हुन्छ।’

एकजना मिल्ने साथीले भने ‘राजा सुकुटि तयार पारेको छ मेरो छोराले। एककिलो जतिको पोको छ। गार्हो नमानी ल्याईदिनुस है।’

अर्का एक परम मित्रले ‘एक बट्टा पान पराग र चुना मोलेर खाने सुर्ती ल्याउन नभुल्नु है काजी’ भन्दै फोन गरे। मैले ईन्कार गर्न नपाई फोन राखे उनले।

मान्छेले सेलरोटी, खजुरी, अनरसा, मस्यौरा, गुन्द्रुक, लप्सिको धुलो, सुकाएका मुलाका चाना, बेसार, मसला,तामा, अचार, चिउरा, तितौरा, छुर्पि, पुष्टकारी, सुकुटी सबै बोकेर जान्छन् । तँलाई मात्र विदेशी हुनुपर्ने ? खुरुक्क लैजा । बुहारी नातिनीले खान्छन्’।

छिमिकि भाउजू हुनुहुन्छ । वहाँले भनिहाल्नु भयो ‘मेरो एउटा पोते, एक दर्जन तीजमा लाउने चुरा र अलिकति माच्छाको सिद्रा छ है बाबू। सबै गरि दुईकिलो जति हुन्छ। ल्याईदिनुस है।’

‘अरु आउने जाने हुँदैनन् मैले चिनेको। आफ्नै देवर सम्झेर भनेको हजुरलाई। जसरी नी ल्याईदिनुस है।’

अनि घरकि श्रीमतीले कुरा थपिन ‘पुजाको सामग्री,अबिर, अगरवत्ती, बाटेको धुप, छ‍ोरीको लागि तितौरा, पुष्टकारी, लाखमरी ल्याउनुस है। अनि अकबरे खुर्सानी नछुटाउनुस नि फेरि?’

‘आफ्नो छाडेर अरुको मात्र सामान बोकेर आउनु होला नी। तपाई त जहिले त्यही गर्नुहुन्छ’ श्रीमतीजीले आदेश पनि दिन भ्याईन्।

ससुरालीबाट छुट्टै खबर आयो ‘अरुको धेरै सामान होला नि । यहाँ घरमा नि उता लाने सामान धेरै छ। विचार गरेर अरुको सामान हाल्नु होला है ज्वाँईसाब।’

घरपरिवार, साथीभाई, बहिनी,भाउजू, सुसुराली सबैको सामान र आफ्नो पुराना लुगा र अलिअलि किताब गर्दा मैले ल्याउन पाउने लगेजको भारी पुग्यो।

म काठमाडौंबाट डेनमार्कको लागि एयर ईन्डिया मार्फत आम्स्ट्रड्याम ट्रान्जिट पारेर उडें।

२०२३ जुलाई २८ तारिकका दिन नेपालबाट हिँडेको। आम्स्ट्रड्यामबाट डेनमार्क जाने हवाईजहाज रद्द भयो। म त्यहाँबाट टर्कि गएँ । जहाज रद्द भएकोले आम्सट्रड्यामबाट एकघन्टाको यात्रा फेरि ट्रान्जिट समेत अरु ११ घन्टा लम्बियो। म टर्कि हुँदै डेनमार्क पुगें।

ट्रान्जिटको कारण यात्रा लामो भयो भने ब्यागेज कतै छुट्यो या गलत जहाजमा पर्यो। जसको कारण कोपेनहेगन आईपुग्दा मेरो लगेज (ब्याग) हरायो।

ब्याग हराएको कुरा एयरपोर्टमा रिपोर्ट गरें। एक दुई दिन गर्दा गर्दै १३ दिन सम्म ब्याग भेटिएन।

१४ दिनपछि हराएको ब्याग भेटियो भनेर भन्सार कार्यालयबाट फोन आयो। घर पठाउन मिल्दैन, यहिँ भन्सार कार्यालय आईज भनेर खबर पाएँ ।

मनमा डर पस्यो । म डराई डराई कोपेनहेगनको एयरपोर्ट भित्रको भन्सार पुगें।

त्यहाँ पुगेपछि थाहा पाएँ, घरबाट ल्याएको आँपको अचारको भाँडा फुटेछ । लामो समय ब्याग हराउनाले अरु सामान पनि बिग्रिएछ । सुकुटी लगायत अकबरे खुर्सानी बिग्रिएछ।

फुटेको अचारको भाँडाबाट निस्किएको तेल अन्य खानामा लाग्नुका साथै कपडाहरु समेतलाई बिगारे छ।

ती कुरा सुन्दा र म आफैँ पनि लज्जित भएँ।

ससुरालीबाट छुट्टै खबर आयो ‘अरुको धेरै सामान होला नि । यहाँ घरमा नि उता लाने सामान धेरै छ। विचार गरेर अरुको सामान हाल्नु होला है ज्वाँईसाब।’

म भन्सार कार्यालय पुग्दा आमाले नेपालबाट पठाएको सामान लगायत आफ्ना अरुका गरि भएका सबै सामानहरु : गरम मसला,अनरसा, सुकुटी, डल्ले खुर्सानी, आँपको अचार,गुन्द्रुक, नरिवल,खजुरी, सेलरोटी,तितौरा सबै डेनमार्कमा पुलिसले हाँसी हाँसी फालि दिएछन्।

सामान फालेर बाँकि काम लाग्ने सामान भएको ब्याग दिएर भन्सारका प्रहरीले
अंग्रेजीमा ‘सरि म्यान’ भने। मैले ‘ईट्स ओके’ भन्ने जवाफका साथ आफूले पनि सरि
मागें।

जरिवाना तिराउँछ कि भन्ने डरपनि लागिरहेको थियो। ब्याग पुरै अचार बसाएको थियो।
तर जरिवाना तिराएन। भित्रबाटै म आफूले लज्जित महशुस गरें।

प्रहरीले हिँड्ने बेला ब्याग राम्रोसँग धुनु या फाल्नु भनेर अर्ती दिँदै सात पेज लामो कागज दिए। जसमा युरोपियन मुलुकमा आउँदा ध्यान दिनुपर्ने कुरा र के ल्याउन पाउछ के पाईदैन भनेर लेखिएको थियो।

मलाई नेपालमा एक मित्रले नेपाली ब्रान्डका दुई बोत्तल ह्वस्कि उपहार दिएका थिए। प्रहरीले एउटा राखे। अर्को मलाई दिए।

आदेश दिए एउटा बाहेक दुईटा लान पाईदैन। मैले अनुरोध गरेर दुईवटै बोटल मागें।

उनले छोटो उत्तर दिए ‘नट अलाउड। ओन्लि सिंगल बोटल फर सिंगल पर्सन’ भन्दै मुसुक्क हाँसे।

उल्टै सल्लाह दिँदै अंग्रेजीमा ‘ड्रिंक रेस्पन्सब्लि’ भने ।

मैले नचाहेर भएपनि अनुहार उज्यालो बनाए जस्तो गरें।

लगेजमा ५, ६ वटा किताब थियो। वल्टाई पल्टाई किताब हेरे उनले ।

म कहिलेकाहीँ यसो लेख लेख्ने गर्छु। अफिसरको मन जित्छु कि जस्तो लागेर। मैले आफ्नो लेख देखाउँदै ‘म लेखक हुँ’ भनें । रक्सिको बोटल दिई हाल्छकि भन्ने लोभले लेखकको धाक लाएँ ।

प्रहरी न परे। मेरो केही सीप लागेन । कडा लाग्ने तर पनि नरम तरिकाले जवाफ दिए ‘बुक्स आर अलाउड बट नट बोटल’ भन्यो। म जिल्ल परें।
भन्सार कार्यालयबाट घर फर्कने बेला पानी परिरहेको थियो। गाडि पार्किङ भन्सारबाट अलिकति टाडा थियो। म हिँड्ने बेला ती पुलिसले बोलाएरै एउटा छाता फिर्ता दिनु पर्दैन भनेरै मलाई दिई पठाए।

छाता पाएपछि मैले हातै जोडेर नमस्ते गर्दै धन्यवाद (अंग्रेजीमा थ्यांकयू ) दिदै गोर्खाली पाराले घ्रयाप्प हात मिलाए।

प्रहरीले सामानको सूची सम्झदै अंग्रेजीमा भन्यो ‘रेमेम्बर नेभर नट अगेन।’

मैले हाँस्दै ‘आई वन्ट’ भन्ने जवाफ फर्काएँ।

प्रहरीले अफिसको सिसाको ढोका बन्द गरेर हात हल्लाउँदैभन्सार भित्र छिरे।

झरिमा म लुखुरलुखुर उनले दिएको छाता ओढेर पार्किङ तिर लागें। भन्सार एयरपोर्ट भित्र हुनाले फुत्त आफ्नै टाउको माथिबाट हवाईजहाज उड्यो । मैले १४ दिन अगाडि आफू यसरी घर छाडेर उडेको दिन सम्झें। आमा सम्झें। आफन्त साथीभाई सम्झें । उनीहरुले दिएका कोसेली सम्झें।

मन भित्रबाट अमिलो भएर आयो। बाहिर वर्षा भए झैं मेरो मन भित्र पनि भारी वर्षा थपियो। आमालाई सम्झें । मन त्यसै रुझेर आय‍ो।

यहाँ घर पुगेर ब्याग भुईमा राखें। हराएको ब्याग त २३ किलो बाट घटेर नौ किलो भएछ। लाग्यो, मेरी आमा दुब्लाईछन् यी चौध दिनमा। म झसङ्ग भएँ ।

यहाँ जे भएपनि टेलिफोन मार्फत घटनाको बेलिबिस्तार आमालाई सुनाएँ। ब्याग हराएको कुरा आमाले थाहा पाउँदा सार्है दुखित हुनु भयो। भनिहाल्नु भयो ‘बिचरा नातीनी र बुहारीले केही चाख्न पाएनन् ।’

सासु आमाले झन दुख मान्नुभयो। छोरी नातीनीलाई पठाएको लाखमरी, तितौरा र सेलरोटी। मानौ! कुबेरक‌ै खजना थियो। हराएको मा सार्है बिलौना गर्नुभयो।

जस जसको सामान हराएको थियो। सबैलाई खबर गरीदिएँ। समाजिक संजाल मार्फत। सबैजना दुखि भए।

आफू बसेको समाजमा यसले केही कुरा सिकाउँछ झैं लाग्यो। सामाजिक संजालमा घटनाको विवरण छोटकरीमा सार्वजनिक गरें सूचनाको रुपमा।

कसैले दु:ख व्यक्त गरे। कसैले हाँसोको रुपमा लिए।

कोहिले ‘तपाईलाई जरिवाना तिराउनु पर्थ्यो तिराएन छ त’ भन्दै अचम्म माने ।
मानौं मैले जरिवाना नतिर्दा उनिहरुको टाउको दुख्यो। या मेरो आम्दानी बढ्यो।

कसैले ‘कति धेरै समान ल्याएको’ भनेर व्यंग्य नै गरे।

जसले व्यङ्ग्य गरे मानौं उनीहरु नेपालबाट घरपरिवार आफन्त साथीभाईको सामान ल्याउनु पर्छ भनेर लगेज त के गोजी समेत नभएको लुगा मात्र लगाएर यात्रा गर्छन।

कसैले ‘सस्तो टिकट काटेर यात्रा गरेपछि यस्तै हो’ भन्दै एयरलाईन्स र मलाई समेत गाली गर्न भ्याए।

एकजना बहिनीले ‘आफ्नो पनि सामान हराएको र यसरी नै बिगतमा दुख पाएको’ भन्दै सान्त्वना दिईन्।

मलाई जसले जे भने पनि कुनै पनि कुराले मन अमिलो भएन । बरु आमाले बेसार हालिदिंदा नल्याएकोमा पछुतो लाग्यो। कमसे कम हराएपनि छोराले मेरो मन त राख्यो भन्ने सोच्नुहुन्थ्यो होला आमाले ।

‘बेसार लान्न’ भन्दा बेसार जस्तै पहेली भएकि थिईन मेरी आमा।

म यात्रामा सधैं केही नबोकि हिँड्ने यात्री । यसपाली सबैलाई खुसि बनाउँछु भनेर ल्याएका सामानहरु हराए।

जब मैले सामाजिक संजाल मार्फत यात्रामा लगेज हराएको जानकारी गराएँ सम्बन्धित ब्यक्तिहरु कसैले फोन गरेनन् ।

सबैलाई म आफैँले नै फोन गरेर समान सकुसल ल्याउन नसकेकोमा माफि मागें।

एक मित्रले सामाजिक संजालमा ‘तपाईले लगेज हराएको सूचना व्यक्त गरेको कुराले पेट मिचिमिचि हाँसे म त’ भनेर म्यासेज नै गरे।

मैले ‘ल राम्रो ! तपाईलाई खुसि लागेछ मैले के नै गर्न सक्छु र ?’भन्ने जवाफ दिएँ।
सायद! मेरो जवाफले उनको मन खिन्न भएछ। प्रत्यक्ष भेटमा ‘नरिसाउनुस है’ भन्न भ्याए।
मैले जवाफमा केही शब्द खर्च गर्न चाहिन। फिस्स हाँसे मात्र ।

श्रीमती लगायत नजिकै रहेका सबै आफन्त साथीभाईलाई नेपालबाट आउँदा सामान ल्याईदिएन भनेर रिसाउँथ्यौ। यसपाली लिएर आएको यही बेला यस्तो भयो। अब आईन्दा म कसैको केही सामान ल्याउदिन भन्दै दुख व्यक्त गरें।

मेरो कुरा सुनेर कसैले पनि दोहोरो कुरा गरेनन्।

भन्सार एयरपोर्ट भित्र हुनाले फुत्त आफ्नै टाउको माथिबाट हवाईजहाज उड्यो । मैले १४ दिन अगाडि आफू यसरी घर छाडेर उडेको दिन सम्झें। आमा सम्झें। आफन्त साथीभाई सम्झें । उनीहरुले दिएका कोसेली सम्झें।

सबै जनालाई समान बोकेर आउन मन हुँदैन। मन नहुँदा नहुँदै पनि पारिवारिक कारण, माया, ममता, बाध्यताले,सम्बन्धले धेरै कुरा टार्न नसकिने रहेछ।

हामी जुन मुलुकमा रहेपनि हाम्रो आफ्नो पनले सँगै लिएर जाने रहेछ। त्यही भएर आफन्त घरपरिवारले भनेको कुरा टार्न गाह्रो हुने रहेछ।

आमा, बा, साथीभाई, आफन्तको माया भनौं या कोसेली भनौं यहि कुराले हामीले केही चिज बोकेर यात्रा गर्छौ।

केही नबोकि यात्रा गरे अरुको मुलुकमा जन्मेका साना बाबू नानीहरुलाई हामीले कति हाम्रा नेपाली मौलिक तथा परम्परागत खानेकुराका बारेमा सिकाउन सकिँदैन थियो पनि होला।

सेलरोटी, खजुरी,अनरसा, मस्यौरा, गुन्द्रुक, लप्सिको धुलो, सुकाएका मुलाका चाना, बेसार, मसला,तामा, अचार, चिउरा, तितौरा, छुर्पि, पुष्टकारी, सुकुटी आदिजस्ता खाने कुराको जानकारी मेरो छोरीले नेपालबाट देखेकि होईन । आफूले या अरुले ल्याईदिएको कोसेलीबाट नै विदेशमा यी खानेकुराहरु बारे थाहा पाएकी हुन्।

यद्धपि! हाम्राे यात्राको क्रममा यी सामान ल्याउनु अथवा बोकेर हिँड्नु यात्री स्वयंको लागि झमेला हुनसक्छ। भन्सार मार्फत खतरा हुन सक्छ। भोलि यिनै समान्य कुराले केही परिहाल्यो भने भिसा लगायत अन्य कुरामा असर पर्न सक्छ । यस्ता कुरामा जिम्मेवारी अपनाउनुपर्ने नै हुन्छ।

हामीलाई पारिवारिक स्नेहले यसरी बाँधेको छ कि मन भरी माया अनि झोलाभरी कोसेली बोकेर हिँड्न मन त अवश्य लाग्छ। तर कुनैदिन त्यही कोसेलीको भारी प्रदेशमा महाभारी भयो भने यसले दिने पीडाले झन पोल्छ।

हामीलाई गर्व छ गुन्द्रुक खानुमा। गर्व छ आमाको मायालु हातले बनाएको खानेकुरालाई कोसेली बनाई बोकेर हिँड्नुमा । तर विडम्बना, विदेशमा गुन्द्रुक र आमाको माया चिन्दैन…..

तपाइँको प्रतिक्रिया

फेसबुक