शुक्रबार, वैशाख २१, २०८१

एनआरएनमा यसरि हुन्छ पैसाको चलखेल

महेन्द्र पौडेल२०८० असोज १५ गते २३:४०

एनआरएनको आठौं महाधिवेशन हुँदै थियो । सन् २०१७ को अक्टोबरमा । एनआरएनले महाधिवेशन ह्यात रिजेन्सी होटलमा राखेको थियो । चार दिनसम्म चलेको सो महाधिबेशनमा जर्मनका उम्दा ब्यबसायी कुमार पन्त पनि अध्यक्षका आकांक्षी थिए । पन्तसँगको निकटताका कारण पन्तले एउटा सानो मिडिया र सहयागी टोली बनाएका थिए जसमा मपनि सामेल थिएँ ।

पन्त अन्नपुर्ण होटलको स्वीट रुममा बस्दथे । पन्तले आफू अध्यक्ष हुने पुरा तयारी गरेर गएका थिए । तर पछि के कारणले उनीले फिर्ता लिए र भवन भटृलाई अध्यक्ष बनाउनमा राजी भए ।

कुमार पन्तको एउटा राम्रो पक्ष के थियो भने उनको मोवाइलमा सयौं कल आइरहेको थियो । ती सबै कल आफैं उठाउँथे । जो जसलाई जे जस्तो खाँचो र सहयोग गर्नुपर्दथ्यो उनले होटलको स्वीट रुपबाट आर्थिक सहयोग गरेका थिए । मध्यपुर्वका नेपाली कांग्रेस भातृसंगठनको अध्यक्ष भन्ने एक जनाले पनि ‘मसँग यति भोट छ’ भनेर पन्तसँग खासखुस गरी पैसा लगे ।

कुमार पन्त अध्यक्षमा नउठ्ने भएपछि म अलि पर पुगें । रेडिसन होटलमा शेष घले र जमुना घलेको पत्रकार भेटघाट कार्यक्रम थियो । जर्मनीका अर्का ब्यबसायी तथा दील गुरुङले हामीलाई त्यहाँ बोलाए । म पनि त्यहिँ पुगें । त्यहाँ शेष घले आक्रोसपुर्ण रुपले प्रस्तुत भएका थिए । बेलुका होटल अन्नपूर्णमा शेष घलेले भेट्न बोलाएपछि हामी त्यहाँ पुग्यौं । मिडियाको पुरा कभर गर्न दाघलेले मलाई जिम्मा दिएपछि म ह्यात पुगेँ ।

मेरा पुराना मिडियाका साथीहरुलाई बोलाएर समाचारहरु बनाउन र लेखहरु सम्प्रेषण गर्न हामी जुट्यौं । त्यसको दुइ दिनपछि हाम्रो समाचारहरु सबै मिडियामा आउन थाल्यो । शेष दाईको छुटृै अफिस थियो ह्यात रिजेन्सीमा ।

त्यहाँ खासमा अचम्म लाग्ने कुरा के भो भने जसले कुमार पन्तसँग पैसा लगे ती मान्छे शेष घलेकोमा पनि डिल गरेको देखे ।

त्यसैगरी युरोपमा आफूलाई खुबै ठूलो र इमान्दारी मान्ने चार पाँचजना पनि शेष घलेको टिमसँग भोटको मोलमोलाई (बार्गेनिङ) गरेको देखे । ती चार पाँच जना मान्छे जो आफ्नै जातीय संस्था छ त्यसको हर्ताकर्ता उनै । जातीय टिमबाट ‘हाम्रो भोट यति छ हामीलाई यति पैसा दिनु’ अध्यक्षका दाबेदारमध्येका एकजनालाई त्यसै भन्दिए ।

राजनीतिक पार्टीको भातृ संगठनको हर्ताकर्ता उनै फेरि संगठनका हिसाबले सूची नै बोकेर हामी यी यी ब्यक्ति आएका छौं । हामीलाई यति चाहियो भनेर बार्गेनिंग गर्ने ।

खासगरी युरोपमा संघसंस्था यसैका लागि बनाइन्छ । हामीसँग यति मान्छे छन्, हामीसँग यति भोट छ भनेर बनाइने होकि जस्तो लाग्छ ।

गैर आवासीय नेपाली संघमा शेष घले दुइ पटक अध्यक्ष बने । दुइ पटकमा उनको चाकडी गर्न मान्छेहरु अघिपछि रहे । तर उनले आफू लोकप्रिय छु संस्थाभित्र भन्ने भ्रम रह्यो । जमुना घलेलाई चुनावमा उठाउन तिनै समुहको हात थियो जसले चुनावअघि जमुना घलेलाई स्पष्टरुपले ९०० भोट आउँछ भनिदिए । ४५० देखि ५०० भोट जनजातीको क्षेत्रबाट । बाँकी भोट पार्टीका साथीबाट । भवन भटृलाई दुइ तीन सय भोटको अन्तरले जितिन्छ भनिदिए ।

हुनपनि गैर आवासीय नेपाली संघमा जहिलेपनि चुनाव भयो भने दुइ सयदेखि २५० भोटको अन्तर पर्दछ । ती पकेटका भोट हुन । पूर्व अध्यक्षहरुको खल्तीको भोट हो । पूर्व अध्यक्षहरुले जसलाई अध्यक्ष बनाउँन चाहन्छन् र चुनाव हुन्छ तब ती भोट सक्रिय हुन्छन् । भोट हाल्नका लागि ती तीन बजे लाइन बस्छन् र ५ बजे सक्छन् । यो प्रक्रिया त्यो पटकको चुनावमा देखेँ ।

त्यहाँ भवन भटृले १२०० मत पाउँदा जमुना घलेले जम्मा ५८४ मत प्राप्त गर्न सफल भइन । छोटो तयारीमा उनले सम्मानजनक मत प्राप्त गरिन् । ती तत्वहरुले जमुना घले र शेष घलेलाई नउचालेको भए गैर आवासीय नेपाली संघको नेतृत्व एउटा सफल र योग्य महिलाको हातमा पुग्थ्यो । अन्य तत्वले यति धेरै हतारिनु पर्दैनथ्यो ।

त्यो आइटी क्षेत्रमा तिनै ब्यक्तिको बर्चस्व छ त्यो फाल्न शेष घलेले बहुत मेहनत गरे । तर सकेनन् । उनले कार्यालयका केही मान्छेलाई निस्काशन सम्म गरे । तर अदालतबाट फेरि पूर्नवहाली भए ती ।

गैर आवासीय नेपाली संघको सम्मेलनमा करिब दुइ हजार जति सदस्य सहभागी हुने हुन् । अब सदस्यता बढेर तीन हजार जति पुग्न थालेको छ ।

गैर आवासीय नेपाली संघमा किन हानथाप हुन्छ भन्ने कुरा धेरैलाई थाहै छैन । कुनैपनि देश भ्रष्टचारमा डुब्यो, आर्थिक संकट आउन थाल्यो भने हरेक नेताले ब्यपारी समाउँछन् । पैसा नेताको हातमा हुन्छ । रसियामा आर्थिक संकट मन्दी आउँदा उनीहरुले पनि बिदेशी र आफ्ना विश्वासयोग्य ब्यवसायी समातेर आफ्नो पूँजी डुबाउनबाट बचाए ।

नेपालमा हरेक नेतासँग अथाह पैसा छ । त्यो पैसा उनीहरुले को कसलाई कसरी विश्वासयोग्य पात्र बनाएर दिने भन्ने सोचमा हुन्छन् । एनआरएनको उपाध्यक्ष हो वा अध्यक्ष भएपछि त्यो स्रोत प्राप्त हुन्छ । नेताका पैसा खेलाउन चलाउन र लगानी गराउन पाउँछन् । नेताले कमाएको अकुत कालो धन लुकाउने बाटो हुन्छ एनआरएन । कालो धन एनआरएनमा भित्राएर त्यसलाई सेतो बनाउने बाटो हो एनआरएन । त्यसैले त्यसमा अध्यक्ष र उपाध्यक्ष हुन मरिहत्ते गर्ने हुन् ।

संस्थाको अध्यक्ष भएपछि पहुँच र शक्ति (पावर) हुन्छ । नहुने काम पनि छिटो हुन्छ । माथिल्लो स्तरसम्म फुँइ लगाउन पाइन्छ । सबै अध्यक्षहरु त्यस्ता नहुन सक्छन् । एनआरएनका देवमान हिराचन जो तेश्रो कार्यकालका लागि अध्यक्ष भए उनी त्यस्ता पात्र हुन् । उनले संस्थाको एक रुपियाँसम्म चलाएनन । आफ्नो ब्यक्तिगत खर्चले भ्रमण गर्दथे । सबै अध्यक्ष त्यस्ता नहुन सक्छन् ।

नत्रभने, अध्यक्ष वा उपाध्यक्ष भएकाहरुले वा बिदेशबाट अर्बौंको लगानी भनिएको विभिन्न अस्पताल, हाइड्र्रो, वा होटलमा लगानी गरिएको भनिएको छ । तर त्यो पैसा कसरी भित्रियो कसैलाई थाहा छैन । बिदेशबाट हामी साना मान्छेले घर पठाउँदा विप्रेषण तिर्छौ भने ती ठूला ब्यपारीले देशमा लगानी गर्दा बिप्रेषण तिर्छन वा कसरी पठाउँछन् ? हो त्यो पैसा भित्राउन पनि अध्यक्ष हुन जरुरी छ । केही पूर्व अध्यक्षहरुको लगानी केवल आफ्नै पालामा यो गरें त्यो गरें भनेको सुन्नुभएकै होला । त्यो कसरी गरे भन्न परेन ।

विभिन्न जातीय क्षेत्रीय संस्थाको अध्यक्षलाई एनआरएनको अधिवेशन पर्व हो । हामी केटाकेटी हुँदा दशैंमा आउने पर्व जस्तो । तिनले दशआठ लाख उछुट्ट्याउँछन् अध्यक्षका प्रत्यासीबाट । त्यो भन्दा तलका सदस्यहरुलाई एनआरएनको अधिवेशन ‘गुड फ्राइडे’ जस्तो हो । जाने रमाइलो गरेर आउने ।

सदस्य नभएका तर विभिन्न जातीय क्षेत्रीय र भातृसंगठनका सदस्य अध्यक्षसँग चिनजान भएकाहरुका लागि एनआरएन महाधिवेशन चाहिँ भोज भतेर जस्तो हो । भोज भतेर भयो भने परिकार खान पाइन्छ नत्र पाइन्न भनेर बसेका हुन्छन् । यति लेखेसकेपछि को मान्छे कुनमा पर्दछ आफैं बुझ्ने हो ।

सन् सन २००३ मा पहिलो पटक सम्मेलन हुँदा पुगेको एनआरएन त्यसको १४ वर्षपछि अर्कोपटक पुगियो । तर भरिया भएर होइन, भाग लिन मात्रै । यी १४ वर्षमा एनआरएनले अपनाउनुपर्ने जुन गतिविधि थियो त्यो नभएर अर्कै हुन पुग्यो ।

अब एनआरएनको औचित्यपनि समाप्त भईसकेको छ । यो एउटा नेताको क्रिडास्थल हो भन्नेमा भ्रम छैन । बिदेश बस्नेहरुले यो हैसियतमा पुराइदिए संस्थालाई । यसकारण अहिलेको दोश्रो पुस्ताले गैर आवासीय नेपाली संघको नामनै सुन्न चाहँदैनन् ।

तपाइँको प्रतिक्रिया

फेसबुक