सोमबार, वैशाख २४, २०८१

गाजादेखि लेबनानसम्म इजरायललाई धेरै मोर्चामा खतरा

सेबास्तियाँ सेईब / फ्रान्स२०८० असोज २७ गते १५:४३

इजरायलले गाजा सिमानामा दक्षिणतिर ट्याङ्क र सेना जम्मा गरेको बेला, लेबनान र सिरियासँगको उत्तरी सिमानामा रकेट फायर र गोलाबारीका घटनाहरू बढेका छन् । अक्टोबर ७, शनिवार इजरायलमा हमासको हमलापछि ति बढेका हुन् । वेस्ट बैंकमा नयाँ विद्रोहको डरको बीचमा, सुरक्षा विशेषज्ञहरूले इजरायलको एकैसाथ, बहु-आयामी आक्रमण र विभिन्न मोर्चाहरूमा धम्कीहरूको जवाफ दिने क्षमतामा प्रश्न उठाइरहेका छन्।

इजरायलले हमासको कब्जा र प्रभावमा रहेको अपेक्षित भूमि आक्रामण अघि उत्तरी गाजाको क्षेत्र खाली गर्न आदेश दिएपछि, हिजबुल्लाले शुक्रबार भने ‘यो इजरायल विरुद्धको युद्धमा आफ्नो सहयोगी हमाससँग सामेल हुन पूर्ण रूपमा तयार रहेको छ । जब त्यसरि सामना गर्नुपर्ने कार्यको समय आउँछ हामी सहयोग गर्छौं ।

हिजबुल्लाहका उपप्रमुख नइम कासिमको घोषणापछि शुक्रबार इजरायली गोला लेबनानको उत्तरी सीमामा खस्यो । अन्तर्राष्ट्रिय पत्रकारहरूको भेलामा खस्दा एक पत्रकार मारिए र छ जना घाइते भए। पछिल्लो गोलाबारी इजरायल र हिजबुल्लाह बीच अक्टोबर ७ मा इजरायलमा हमासको आक्रमण पछि एकले अर्कोलाई बदला लिने तरिकाले आदानप्रदान भैरहेको छ ।

कासिमले बेरुतको दक्षिणी उपनगरमा एक र्‍यालीलाई सम्बोधन गरिरहँदा, इरानी विदेशमन्त्री होसेन अमिर-अब्दुल्लाहियान लेबनानमा हिजबुल्लाह प्रमुख हसन नसरल्लाहलाई भेट्दै थिए।

हिजबुल्लाह र हमासलाई आर्थिक र सैन्य रूपमा समर्थन गर्ने इरानले केही दिनयता सहयोगी र क्षेत्रीय अरब राष्ट्रहरूलाई इजरायलविरुद्ध संयुक्त मोर्चा बनाउन आह्वान गर्दै आएको छ।

कब्जा गरिएको वेस्ट बैंकमा प्यालेस्टिनी समूहहरूले इजरायल विरुद्ध विद्रोहको आह्वान गरेपछि, शुक्रबार रामल्लाह, नाब्लस, तुल्कारेम र हेब्रोन लगायत धेरै शहरहरूमा झडप भयो । त्यसको परिणामस्वरूप इजरायली फायरबाट कम्तिमा नौ प्यालेस्टाइनीको मृत्यु भएको प्यालेस्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ।

बिहीबार इरानी विदेशमन्त्री अमिर-अब्दुल्लाहियानले इजरायलले गाजामा बमबारी बन्द नगरेमा देशविरुद्ध “नयाँ मोर्चा” खोल्न सक्ने चेतावनी दिएका थिए।

यो यस्तो चेतावनी हो जसलाई सुरक्षा विश्लेषकहरूले अक्टोबर ७ देखि विचार गरिरहेका छन्, जब गाजामा इजरायली भूमि आक्रमण आसन्न देखिन्थ्यो ।

पोर्ट्समाउथ विश्वविद्यालयका इजरायल-मध्य पूर्व सुरक्षा विशेषज्ञ भेरोनिका पोनिस्कजाकोवाले भनिन्, “तेल अवीभले एकै समयमा धेरै मोर्चाहरू व्यवस्थापन गर्नुपर्ने स्पष्ट जोखिम छ।”

उत्तरमा, हिजबुल्लाह खतरा

उत्तरमा, इजरायलको लागि सबैभन्दा ठूलो खतरा लेबनानको सिमानामा छ, जहाँ हालका दिनहरूमा हिजबुल्लाह आक्रमणहरू तीव्र बनेका छन्। जसमा हिजबुल्लाहका अनुसार बुधवार इजरायली क्षेत्रमा निर्देशित मिसाइल हमला गरिएको छ।

यसैबीच, कम्तिमा छ इस्लामिक जिहाद लडाकुहरूले “दक्षिणी लेबनानबाट अक्टोबर ८-९ सम्म इजरायली क्षेत्रमा प्रवेश गर्ने प्रयास गरेको” वाशिंगटन डीसीमा रहेको युद्ध अध्ययन संस्थानले जनाएको छ ।

गोलान हाइट्समा भने अवस्था झन् अन्योलमा छ । गोलान हाइट्समा रकेटहरू प्रहार गरिएको छ । तर “यस चरणमा, हामीलाई कसले प्रहार गर्यो थाहा छैन” पोनिस्कजाकोवाले भनिन् “सबैभन्दा सम्भावित संदिग्ध हिजबुल्लाह रहन्छ, जसको सिरियामा उपस्थिति प्रमाणित छ।”

तर हिजबुल्लाह मात्र संदिग्ध भने होइन। डरहम विश्वविद्यालयका इजरायल र मध्य पूर्वका विज्ञ क्लाइभ जोन्सले भने, “यो सिरियाबाट सक्रिय प्यालेस्टाइन समर्थक समूहहरू मध्ये एक हुनसक्छ, जस्तै प्यालेस्टाइन-जनरल कमाण्डको मुक्तिको लागि लोकप्रिय मोर्चा (पि एफपिजिसि] जस्तै ।

इन्स्टिच्युट फर द स्टडी अफ वारका अनुसार यसबाहेक, सिरिया र इजरायलको सिमानामा अक्टोबर ९ देखि सिरियाली सरकार समर्थक सेनाहरू पनि तैनाथ गरिएको छ । सिरियाली समाजवादी पार्टीको लडाकु शाखा, द ईगल्स अफ द व्हर्लविन्डले “सेनाहरू तैनाथ गरेको छ र अक्टोबर ९ मा समर्थनको वाचा गरेको थियो ।”

इजरायली सेनाको डर के भने उत्तरतर्फको यो विस्फोटक स्थिति इजरायलले गाजामा जमिनतर्फ आक्रमण गरेमा अझ बिग्रन्छ। यसले इजरायली रक्षा बलहरूलाई ठूलो दबाब दिनेछ।

“हिजबुल्लाहले मात्र ८० हजार देखि एक लाख भन्दा बढी रकेटहरू परिचालन गर्न सक्ने अनुमान गरिएको छ, जसमध्ये केही लामो दूरीको निर्देशित मिसाइलहरू हुन्,” जोन्सले बताए।

के इजरायलले धेरै मोर्चाहरूमा युद्धको झटका सामना गर्न सक्षम हुनेछ ?

“सिद्धान्तत, यो पूर्णतया सम्भव छ । किनकि इजरायली सेनालाई एकै पटक धेरै देशहरूबाट आक्रमण गर्न तालिम दिइएको छ” सिम ट्याकले भने । उनी सैन्य विश्लेषक हुन् जसले इजरायललाई लेबनान र गाजामा २०१२ र २०१४ मा सैन्य विश्लेषणका लागि सशस्त्र द्वन्द्वमा काम गरेका थिए। उनी हाल एक द्वन्द्व निगरानी कम्पनीमा आबद्द छन् ।

उदाहरणका लागि, सन् १९७३ मा इजरायली सेनाले योम किप्पुर युद्धको समयमा इजिप्ट र सिरियाबाट आक्रमणहरू सफलतापूर्वक हटायो।

तर व्यवहारमा, यस्तो परिदृश्यले “प्रतिरक्षा विस्तार गर्दछ र धेरै चाँडै धेरै महँगो साबित हुन सक्छ”, जोन्सले भने। यस्तो युद्धको सामना गर्न, “इजरायलले सम्भवतः आफ्नो सबै भण्डारहरू प्रयोग गर्नुपर्छ जसले अर्थव्यवस्थामा स्पष्ट प्रभाव पार्छ । यदि यो द्वन्द्व लामो गयो भने ।” द्रुत सैन्य अभियानहरू सञ्चालन गर्न धेरै खर्चिलो र चुनौतिपूर्ण हुने उनको भनाई छ ।

‘फलामको डोम’ मा दबाब

आइरन डोम भनेको रडार डिटेक्टरहरू र मिसाइल लन्चरहरूको नेटवर्क हो जसले आगमन रकेटहरू अवरोध गर्न सँगै काम गर्दछ । ईजरायल बिरुद्द लागेका धेरै देशको प्राविधिक सन्जाल आइरन डोम जस्तै छ र त्यसलाई दबाब दिन ईजरायललाई सजिलो छैन ।

वास्तविक परीक्षण अन्ततः “इजरायली सेनाले हासिल गर्न खोजेको कुरामा निर्भर गर्दछ,” ट्याकले भने । इजरायलले उत्तरमा रहेको खतरासँग केवल हिजबुल्लाह स्थानहरूमा हवाई हमला गरेर र सियाद्वारा प्रहार गरिएका क्षेप्यास्त्रहरू रोक्न सकेमा कम समस्या हुनेछ। “तर यदि हामीले शत्रुको स्थानलाई भौतिक रूपमा नष्ट गर्नुपर्‍यो भने, दक्षिणी र उत्तरी दुवै मोर्चाको व्यवस्थापन गर्न धेरै गाह्रो हुनेछ,” उनले भने।

इजरायलको लागि अर्को समस्या हो, यसको हवाई प्रतिरक्षा-यसको प्रसिद्ध “आइरन डोम” प्रभावकारी रहनेछ । यदि गाजाबाट र लेबनान र सिरियाको सीमानामा एकै समयमा बहु-आयामी रकेट आक्रमणहरू गरियो भने त्यो समस्या रहने छ ।

इजरायलसँग केवल १० आइरन डोम ब्याट्रीहरू छन्, जसमध्ये प्रत्येकले रकेटको आगोबाट लगभग १५० वर्ग किलोमिटर क्षेत्रको रक्षा गर्न सक्छ। करिब २२ हजार वर्ग किलोमिटर क्षेत्रफल भएकाले सिंगो देशलाई जोगाउन असम्भव हुनेछ । ” इजरायल छनौट गर्न बाध्य हुनेछ,” ट्याकले भने।

आइरन डोम छोटो दूरीका गोलाहरू विरुद्ध डिजाइन गरिएको प्रणाली हो, जुन गाजा पट्टीमा हमासको मुख्य हतियार हो। तर हिजबुल्लाहसँग अझ परिष्कृत हतियार छ, र यदि धेरै मोर्चाहरूमा युद्ध सुरु भयो भने इजरायली सेनाको पहिलो उद्देश्य भनेको इरान समर्थक आन्दोलनको लामो दूरीको मिसाइल प्रक्षेपणकर्ताहरूलाई नष्ट गर्नु पर्छ” जोन्सले बताए।

र त्यसले वेस्ट बैंकबाट सम्भावित आक्रमणहरूको गणना गर्दैन। वेस्ट बैंकमा हमासको उपस्थिति छ । “यस इलाकामा शासन गर्ने फताहसँगको शक्ति संघर्षको कारणले गर्दा ठूलो मात्रामा सैन्य कारबाही सुरु गर्न गाह्रो हुनेछ,” पोनिस्जाकोवाले धर्मनिरपेक्ष राष्ट्रवादी गुटको नेतृत्वमा उल्लेख गर्दै भने। उनले प्यालेस्टिनी राष्ट्रपति महमूद अब्बासलाई उल्लेख गरेका हुन् जो लामो समयदेखि हमासको प्रतिद्वन्द्वी रहेको छ।

फताह बाहेक, त्यहाँ “हालैका वर्षहरूमा फताह वा हमासप्रति वफादारी नभएका युवा लडाकुहरूको साना समूहहरूको सम्पूर्ण श्रृंखलाहरू छन्, जसले इजरायलको लागि गम्भीर समस्या खडा गर्न सक्छन्” जोन्सले भने।

इजरायली कब्जाको प्रतिक्रियामा विगत केही वर्षहरूमा देखा परेका नयाँ, साना प्यालेस्टिनी लडाकु समूहहरू इजरायलमा गोला प्रहार गर्न वा आक्रमण गर्न सुसज्जित छैनन्। तर, “यदि उनीहरूले इजरायली बस्तीहरूमा आक्रमण गर्ने हो भने, अन्य युवाहरू सामेल हुन सक्छन्, जुन लोकप्रिय विद्रोहमा परिणत हुन सक्छ। इजरायली सेनालाई अहिले यी बस्तीहरू सुरक्षित गर्न थप बोझ आवश्यक छैन” जोन्सले उल्लेख गरे।

अग्रपन्थीका विविध युद्धको बिरूद्ध इजरायलको मुख्य उर्जा, निर्देशक अमेरिका हो। वाशिंगटनको सैन्य सन्देश अहिलेसम्म निरन्तर रहेको छ। शुक्रबार तेल अवीव आइपुगेका अमेरिकी रक्षामन्त्री लोयड अस्टनले इजरायली नेताहरूलाई “हामी तपाईंको पछाडि छौं” भने।

अमेरिकी विमान वाहक, यूएसएस जेराल्ड फोर्ड, बुधबार पूर्वी भूमध्यसागरमा आइपुग्यो, र दोस्रो वाहक भर्जिनियाबाट यस क्षेत्रमा आफ्नो बाटो तय गर्दै छ ।

“इजरायलको तटबाट विमानवाहक युएसएस जेराल्ड फोर्डको आगमनले हिजबुल्लाह र अन्य समूहहरूलाई इजरायलमा आक्रमण गर्नबाट निरुत्साहित गर्ने काम गर्नुपर्छ” पोनिस्कजाकोवाले उल्लेख गरिन्।

तर त्यो युद्दमा निवारक भूमिकाका लागि “वाशिंगटन साँच्चै हिजबुल्लाहका स्थितिहरू प्रहार गर्न तयार हुनुपर्छ” उनले थपिन् ।

अर्को शब्दमा, के अमेरिका लेबनानी वा सिरियाली भूमिमा फायर गर्न तयार छ ? जहाँसम्म सिरियाको सवाल छ, फ्रंस २४ द्वारा अन्तर्वार्ता लिएका सबै विज्ञहरूले यसलाई अन्तिमको विकल्प मान्छन् । किनकि यसलाई सिरियाली राष्ट्रपति बसर अल-असदको मुख्य सहयोगी रूसले उक्साउने कामको रूपमा लिन सकिन्छ। अर्कोतर्फ “यदि हिज्बुल्लाहले इजरायलको घना वस्ति भएको क्षेत्रमा आक्रमण गर्न थाल्यो भने अमेरिकाले प्रतिक्रिया दिन सक्छ” जोन्सले भने।

कुनै पनि अमेरिकी हस्तक्षेपले यस क्षेत्रमा तनाव बढाउनेछ । यमनका हुथीहरू वा इराकको बद्र संगठन जस्ता धेरै इरानी समर्थक समूहहरूले वाशिंगटन द्वन्द्वमा संलग्न भएमा हस्तक्षेप गर्न तयार हुने चेतावनी दिएका छन्।

“उनीहरूलाई इजरायलमा प्रत्यक्ष प्रहार गर्न गाह्रो हुनेछ” जोन्सले भने “तर तिनीहरूले यस क्षेत्रमा अमेरिकी हितकोलागि र अमेरिकी चाखहरूमा आक्रमण गर्न सक्छन्।”

(फ्रँस २४ न्युजको फ्रान्सेली भाषामा प्रकाशित राजनैतिक टिप्पणीलाई नेपालप्लसद्वारा नेपालीमा भावानुवाद गरिएको-संपादक)

तपाइँको प्रतिक्रिया