शनिबार, वैशाख २२, २०८१

एनआरएनका दुबै प्यानलको रोजाईमा किन परे थापा ?

नेपालप्लस संवाददाता / काठमाडौं२०८० कार्तिक १ गते १३:१९

गैर आवासीय नेपाली संघ (एनआरएनए ) को केन्द्रिय निर्वाचनमा चार वटा छन् प्यानल । बद्रि केसी, महेश श्रेष्ठ, आर के शर्मा र रबीना थापाका । हरेक प्यानलमा आफ्ना आफ्नै उम्मेदवार छन् । यो निर्वाचनमा उम्मेदवार बन्न तानातान, हानथाप छ । तर यहि निर्वाचनमा यस्ता एक उम्मेदवार छन् जो चारै प्यानलको रोजाईमा छन् । लगभग सबैका प्रिय जस्ता देखिन्छन् । उनी हुन् रोशन थापा ।

रोशन थापा भेट्न उति सजिला त छैनन् । किन भने उनी नेपालमा हुन्छन् कहिले । कर्मथलो मोजाम्बिक र जापानलाई बनाएका छन् । जापान उनको टेक्ने थलो हो । अफ्रिकाको मोजाम्बिक बिसाउने थलो, टेकेको चिजलाई अड्याउने भूमि ।

हो रोशन थापाको ताईझाई उति देहिन्न, सन्जालमा । त्यसो त उनी मेडियाका प्रिय पनि हुन् । तर मेडियाकै पछि पछि लाग्ने पात्र भने अलि होइनन् । उनको बुझाई अलि भिन्न छ । ‘राम्रो काम गरे मेडियाले आफैं खोजिहाल्छ नी’ भन्ने मान्यताका छन् । त्यसैले उनी न खोज्दै हिँड्छन् न आउने मेडियालाई ईन्कार गर्छन् । बरु आफ्नै काममा दत्तचित्त भएर लागिरहन्छन् ।

खासमा जापान बसेर थापा पुराना अगाडीहरुलाई जिवन दिन्छन् । खुइलिएका गाडीको शरिरमा रंगरोगन घस्छन् । नौलो प्रविधिले चिरिच्याट्ट पार्छन् । त्यहाँ उनको गाडी बनाउने कारखाना छ । त्यहाँ उनी बुढेसकाल लागेका, उमेर छँदै हेरचाह नपुगेका गाडीलाई प्रविधिको औषधीमुलो गर्छन् । तिनलाई फेरि जिवन दिएर सडकमा स्वस्थले सरर स्वस्थले गुड्ने बनाउँछन् र अफ्रिका लान्छन् । त्यहाँपनि उनको कारखाना, बिक्रि गर्ने थलो छ । त्यहाँ लगेर अफ्रिकाका धनाढ्य, सौखिन र कार्यालयका गाडी पारखिलाई ति गाडी बेच्छन् ।

त्यसो त उनको ब्यवशायिक परिचय त्यत्तिमै सिमित छैन । उनी प्रविधि (टेक्नोलोजी) का उम्दा लक्का जवानपनि हुन् । नौलो प्रविधिलाई उनी नियालीरहन्छन् । उनको प्रविधिमा औपचारिक शिक्षापनि छ । लगानीका क्षेत्रमा युवाहरुलाई जागरुक बनाइरहन्छन् । तिनमा प्रेरणाको दिलो सल्काईरहन्छन् -साथीहरु हामीले केहि गर्नुपर्छ, सकिन्छ ।

अफ्रिका यस्तो मुलुक हो, एनआरएनए भित्रपनि सुकिला मुकिला भनिने युरोप, अष्ट्रेलिया, अमेरिका, जापानतिरकाले अलि निर्धन, पिछडिएको क्षेत्रमा बस्ने नेपाली भनेर लेप्रे ओंठ लगाउँछन् । थापा त्यसमा गहकिलो तर्क, तार्किक बहस र सौम्य पाराले हमला गरिरहन्छन् । एनआरएनए अफ्रिकाको नेत्रित्वमा सामुहिक लगानीका लागि खोलिएको अफ्रिका भेन्चरका एक खम्बापनि हुन् रोशन थापा । उनले आफू जस्ता उम्दा लहलह लहलाएका युवाहरु समेटेर अफ्रिका भेन्चरका नाममा सामुहिक लगानी कोषलाईपनि जिवन दिएका छन् ।

नेपालमा बाढी जान्छ । भूकम्पको पत्तो हुन्न । भौंतारिँदै अफ्रिकाका अनेक देश पुगेका नेपालीको बिजोग सुनिन्छ । रोशन थापा जुर्मुराईहाल्छन्, सहयोगका लागि । उनले खासगरि युवाहरुका बिच डाहालाग्दो संजाल बनाएका छन् । त्यहि सन्जाल देखेर एनआरएनएमा उनको प्रशंसा हुन्छ । हरेक कुरालाई भविष्यमा के नतिजा देला? के असर पार्ला ? सोचेर मात्रै जवाफ दिने थापाको तार्किक क्षमता, सौम्य प्रस्तुति र बिनाहाउभाउको प्रभावकारि क्षमता देखेरै उनी तानातानमा पर्ने गरेका हुन् । अहिलेपनि उनी तानातानमै छन् । त्यसैले थापा चार वटै प्यानलको प्रिय बनेका हुन् । चार वटै प्यानलले उनलाई आगामी नेत्रित्वकालागि युवा संयोजकमा बाटो खुल्ला गरिदिएका हुन् ।

चार वटा प्यानलका गोप्य बैठक हुन्छन् । तिनको तर्कबितर्क हुन्छ । मत तानातानको रोइलो निकै छ । तर जता तिनको तानातान हुन्छ, रोशन थापा देखा नपरेपनि उनको चर्चा भैहाल्छ । सबैले ‘रोशन हाम्रो उम्मेदवार’ भनिरहेका छन् । त्यति नभनेपनि रोशन त चाहिन्छ, साथ छोड्नुहुन्न भनिरहेका छन् । त्यसैले थापा रोजाईमा परेका पात्र हुन् ।

थापामा कति तार्किक क्षमता छ भने एनआरएनएका सबैभन्दा तगडा खेलाडी भनिएका (हाल उपाध्यक्षका उम्मेदवार) डा. हेमराज शर्मापनि थापाका बारेमा भन्ने गर्छन् “मलाई अरुले बोल्दा त त्यस्तै हो । तर जब रोशनले उभिएर बोल्न थाल्नुहुन्छ तब केहि महत्वपूर्ण, केहि तार्कित, केहि ओजिलो, केहि बिधानका कमजोरीहरु कोट्याउँछ भनेर सतर्क गराउँछ ।”

त्यसो त, चुनाबी दौडानका क्रममापनि थापाले चर्को भाषण गरेका छैनन् । ठूला आस्वाशन बाँडेका छैनन् । यत्ति भनेका छन् -म विश्वभरिका युवा साथीहरुको भावना समेटेर काम गर्छु । ति युवा साथीहरुलाई कसरि अगाडि बढाउन सकिन्छ, तिनको हितसित देशको हितलाई कसरि जोड्न सकिन्छ त्यसकोलागि योजना केकसरि बनाउने भनेर म जुटिरहेको छु, जुट्ने छु ।

अफ्रिका यस्तो महादेश हो जहाँ नेपालको दुतावास जम्मा एक ठाउँमा छ । तर अफ्रिका जाने नेपाली मात्रै होइन अमेरिका, युरो छिर्नेपनि त्यहि बाटो हुँदै दलाल र मानव तस्करको फन्दामा पर्छन् । आधा बाटो, जंगलमा लगेर मानव तस्करले छोडिदिन्छन् । कि त मानव तस्करको एउटा जालोबाट फुत्किएका ति अर्को तस्करको जालोमा पर्छन् । र तिनका कहालीलाग्दा दिन फेरि शुरु हुन्छ । हप्तै पिच्छे जस्तो नेपालीका दर्दनाक दुखान्त सुनिन्छ । थापा जहाँ भएपनि तिनको उद्दारमा लागिरहेकै छन् । गैर आवाशीय नेपाली संघको सन्जाल नै यस्तो हो जसले नेपाली दुतावास, नेपाल सरकारको काम गर्छ । कतै नेपाली फसे भने पहिले रोशन थापाको भनाई हुन्छ ‘पहिले ज्यान बच्नुपर्‍यो, सुरक्षित बन्नुपर्‍यो, बाँकि काम गरौंला ।’

कोरोनाकालको निस्पट्ट अँध्यारो अवस्थामापनि एनआरएनए केन्द्रले अफ्रिकालाई सहयोगको हात फैलाएन भन्ने गुनासो पटक पटक सुनिएकै थियो । के भो त ? रोशन थापा र उनका सहयोगि, अफ्रिकामा स्थापित नेपालीले नेपालीको उद्दारमा कुनै कमी हुन दिएनन् । उनीहरुलाई सुरक्षा, गाँस र बास सम्मको तारतम्य मिलाए । मानविय सहयोग देखि ब्यवशायिक लगानीसम्म थापाले गरेको सहयोग आम एनआरएन भित्र लोभलाग्दो भूमिकाका रुपमा लिने गरिन्छ । तिनै थापा अहिले ‘मलाई मतदान गर्नुहोला युवा संयोजकममा’ भन्दै भद्र शैलीमा उभिएका छन् ।

उनी पदकै लोभी मात्रैपनि देखिएका भने छैनन् । उनले भन्ने गरेका छन् ‘म भन्दा राम्रो काम गर्ने कोहि भेट्नुहुन्छ भने भन्नुस्, म छोडिदिएर पछि हट्न लयार छु ।’

तपाइँको प्रतिक्रिया

फेसबुक