शनिबार, वैशाख १५, २०८१

समाजवाद उन्मुख हाम्रो देशमा धनी र गरिबलाई अलग शिक्षा किन ?

सरोज बराल / ईनरुवा२०८० फागुन ३० गते १८:३०

जबजब नयाँ शैक्षिकसत्र शुरु हुनेबेला आउँछ, निजि विद्यालयको शुल्क महँगो भयो भन्ने कुरा निकै जोडतोडले उठ्छ । मेरो हेराइमा कुनै पनि स्कूलको शुल्क महँगो छैन । जसको जस्तोमा पढाउने क्षमता छ, त्यस्तैमा पढाउने हो ।

यसो भन्दैगर्दा समाजवाद उन्मुख हाम्रो देशमा धनी र गरिबले पढ्ने अलगअलग शिक्षा किन भन्ने प्रश्न उठ्ला । यो अवस्था कसले सिर्जना गरेको हो ? संस्थागत भनिने निजि विद्यालय चलाउनेहरुले कि सरकार स्वयमले ?

म पनि सरकारी विद्यालय पढेको मान्छे हुँ । अहिले म निजि विद्यालयमा पढाउँछु । सरकारी स्कूलको पढाइको सुधार गर्ने कि निजिको शुल्क, पुस्तक, स्टेसनरी, पोसाकको विरोध गरेर समय बिताउने ? सरकारी विद्यालयको पढाइको स्तर सुधार भए अभिभावकहरुलाई आफ्ना छोराछोरीहरु निजिमा लैजानै पर्ने थिएन । निजि विद्यालयहरु आफै बन्द हुने अवस्था आउँछ भन्न किन सक्दैनौं ?

सरकारी स्कूलमा पढाउँदा निशुल्क भनिएको त छ । त्यहाँ सरकारको लगानी हुन्छ । प्रती विद्यार्थी कति खर्च हुन्छ्होला ? त्यो खर्च अनुसार त्यहाँको स्तर छ कि छैन ?

म निजिमा पढाउँछु । ममात्र होइन, मजस्तै धेरै निजिमा पढाउने शिक्षकहरु सरकारी स्कूल पढेकाहरु छौं । अहिले अँग्रेजी माध्यममा पढाइ हुने केही सरकारी स्कूलहरुले पनि शुल्क लिने गरेको पाइएको छ । किन त्यस्तो गरेको भन्ने सवालमा एक कार्यक्रममा पाइएको जवाफ थियो, “सरकारीमा अहिले भएका शिक्षकले अंग्रेजीमा पढाउन सक्दैनन् । त्यहाँ अतिरिक्त शिक्षक राख्नुपर्छ ।” यदि उनीहरुले अंरेजीमा पढाउन सक्दैनन् भने नेपालीमा पनि पढाउन सक्दैनन् । सक्दैनन् भने ठाउँ ओगटेर किन बसेको ? अरुलाई मौका दिनुको सट्टा किन राखिएको त्यस्तैलाई ?

सरकारी स्कूलका शिक्षकहरुले आठदस महिना तालिम लिएका छन्, किन पढाइ राम्रो नभएको होला ? हामी निजिमा पढाउनेहरुले एकैदिनको तालिम पाएका छैनौं । त्यहाँ कसरी राम्रो भएको होला ? यसको खोजी किन नगरेको ?

शिक्षा नीति बनाउनेका छोराछोरी कहाँ पढ्छन् र किन ? हाम्रो देशको शिक्षा नीति नै ठिक छैन । शैक्षिक उपनिवेस बनाइएको छ, देशलाई दाताको आधारमा शिक्षा नीति बनाएर । नीति ठिक नभएपछि कसरी पढाइ असल वा कमसल हुन्छ ?

अनिवार्य नेपाली र अंग्रेजी विषय सरकारी नै पढाइ हुन्छ निजिमा पनि । अनिवार्य सामाजिक पनि नेपालीमा पढाउनु भनेको छ । सरकारी पुस्तक १५० र निजिको पुस्तक ४९० पर्छ । सरकारी नै चलाउँ किन भन्नुहुन्न ? गणित र विज्ञान अंग्रेजी मै पढाइ हुने कुरो छ । त्यो पनि सरकारी नै लगाउँ किन भन्नुहुन्न ? पुस्तकको दाम प्रती पेज रु १.४५ कसले तोकेको ? यो विषयमा मौन किन ?

स्कूललाई निजि कम्पनी प्राइभेट लिमिटेड किन बनाएको ? प्रालिले आफ्नो सामानको मूल्य आफैं राख्छ नि, बिक्री नभए उसैलाई घाटा लाग्छ, होइन र ? आफ्नो सामानको मूल्य आफैले राख्न किन नपाउने ? शिक्षाको व्यापार अरु वस्तु जस्तो होइन भन्लान् कसैले । म पनि अरुजस्तो होइन नै भन्छु । तर अरु सामान जस्तै कसले बनाएको हो ? सरकारले होइन र ?

पोसाकमा, पुस्तकमा कमिसनको कुरा उठेको छ । त्यो बन्द हुनुपर्छ ठिक हो । तर कमिसन दिनेको पनि कमजोरी होला नि ? सरकारी पुस्तकमा पनि ब्यापारीलाई १० प्रतिसत कमिसन छ त । हरेक कारोबार बिना कमिसनको हुँदैन क्यारे । यहि कमिसनको कुरा औषधिको बारेमा कोही बोल्दैन । किन ?

आफ्नो इच्छाले आफूलाई मनलागेको स्कुलमा पढ्न पाइन्छ । अरु सामान आफ्नो रोजाइले किन्न पाइन्छ । औषधि आफ्नो रोजाइले कसैले किन्न पाउँछ ? त्यो मात्र डक्टरको रोजाइले किन्नुपर्छ । एकजना डक्टरले कति र के के कमिसन पाउँछ भन्ने कहिल्यै खोजी भएको छ ? औषधि त अर्कैको रोजाइले हामी प्रयोग गरिरहेका छौं । त्यहाँको कमिसनले गर्दा गरिबले बाँच्नै नपाउने अवस्था, बिरामी भएर उपचार गर्न जाँदा डक्टरको शुल्कमा समेत भ्याट तिर्नुपर्ने अवस्था कसले सिर्जना गरेको हो ?

स्कुलमा समेत प्यान बिल राख्नु भनेको छ सरकारले । त्यहाँ पनि प्रती विद्यार्थी कर लिने कुरो छ । लिएको शुल्कमा अरु १३ प्रतिशत कर लिने गरेभने कसो होला ? त्यहाँ १० प्रतिशत निशुल्क पढाउनु पर्ने कुरो छ । त्यो भएको छ कि छैन, यो खोजीको विषय हो । तर यस्ता कुराहरुको कसैले खोजी गर्दैन । किन ?

किताबमा स्टिकर टाँसेर दाम लेखेको खुब बिरोध भयो नि । त्यसले अभिभावकलाई ढाड सेकेको कसैले ? पहिले छापेको किताब भण्डारण गरेर राख्दा अर्को साल स्टिकर टाँसेर ५१० रुपैयाँ बढाएर बिक्री हुन्थ्यो । प्रत्येक साल नयाँ पुस्तक खरिद गर्नुपरेको थिएन । तर अहिले बिक्री नभएको पुस्तक फिर्ता लिन्छ । बाहिरको कभर बदल्छ, भित्रको एउटा पाठ बदल्छ । मूल्य ५० रुपैयाँ बढाउँछ । अनि अभिभावकले बर्षैपिच्छे पुस्तक किन्नुपरिहाल्यो । यो अवस्थालाई कसैले हेरेको वा बुझेको छ ? धेरै जान्ने भएर निजि स्कूलको शुल्कको विरोध गर्दा स्वदेशको पढाइको स्तर अझ तल झरेर विद्यार्थी बिदेशीनु नपर्ला भन्न सकिन्न ।

तपाइँको प्रतिक्रिया

फेसबुक