गंगा जस्ती ‘नयना’ भाग दुई
(गंगा जस्ती ‘नयना’ को पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुहोला)
नयनासँग परिचय पछि मेरो स्वभावमा परिवर्तन भयो । चंचलता हरायो। एकान्त मनपर्ने भयो। साथीहरुलाई भेट्ने चाहना कम हुँदै गयो । पढाइमा मन जान छाड्यो ।
समान्य मासु पसलमा भेटेकि एक युवतीसँगको परिचयलाई ठूलो मान्ने उमेर चाहिँ कस्तो? म आफैंमा प्रश्न गर्थें बेलाबेला।
मैले सोच्नु र हुनुमा फरक छ । हर समय उसलाई भेटुँ र देखुँ हुन थाल्यो मलाई त।
अघिपछि पनि ऊ जस्तै युवतीहरु नदेखेको होईन । कलेजमा पनि केटी साथीहरु प्रशस्त थिए । उसलाई देख्दा जुन आकर्षण थियो अरुमा त्यस्तो आकर्षण कहिल्यै अनुभव गरिन, त्यो भन्दा पहिले।
रुपले मात्र आकर्षण पैदा गर्छ भन्ने होईन रहेछ। मनले आकर्षण देखेपछि।
हरेक साँझ उसको पसल हुँदै भिडियो पसल जान थालें। तर उसलाई देख्न सकिन। समय बित्दै गयो। उसलाई भेट्ने, देख्ने छटपटि घट्ला भन्दा बढ्दै गयो।
एकदिन साँझ उसलाई पसलमा देखें । पसलमा ऊसँग अर्कि एक युवती पनि सँगै थिई। पछि थाहा भयो-उसकि माईली बहिनी रहेछ।
उसलाई पसलमा देखेपछि हिम्मत गरेर सोधें- के छ खबर ?
उसले जवाफमा ‘ठिक छ’ भन्न भ्याई।
उसले पनि मलाई सोधिहाली ‘तपाईंलाई नी?’
मैले ‘ठिक छ’ भन्ने जवाफ दिएँ ।
उसले फेरि सोधी ‘कता नि साँझमा ? फिल्मको सिडि लिन आउनु भा हो उता पसलमा ?
मलाई सिधा उत्तर दिउँ झै भयो ‘तिमीलाई हेर्न आको नी। तर मनले मानेन । आँट आएन । हो भन्ने जवाफ बाहेक मसँग अरु शब्द आएन।
म पसल अगाडि उभिएको देखेर उसले पसल भित्र बस्न आग्रह गरि। म गार्हो मान्दै पसल भित्र छिरें । प्लाष्टिकको कुर्सी दिई बस्नको लागि ।
बस्ने बितिकै प्रश्न गरि ‘चिया खाने ?’
मैले अलि अप्ठेरो मानें । तरपनि जवाफ दिएँ- हुन्छ ।
उसले सँगै रहेकि युवती तिर देखाउँदै भनी ‘उ मेरो बहिनी हो है। माईली बहिनी हो।’
बहिनीले म तिर हेर्दै नमस्ते गरी । बहिनीतिर हेर्दै मेरो परिचय नयना आफैंले दिई।
मेरो नयाँ साथी “अमिर ” ।
नयनाले बहिनीसँग नेवारी भाषामा केही कुरा गरि। चिया ल्याउन अर्हाएको रहेछ।
बहिनी उठेर गई। त्यो उनिहरुकै घर रहेछ। बहिनी चिया बनाउन माथिल्लो तलातिर लागी। म पसल भित्र छु। पसल अलि फोहोर छ। दिदी बहिनी भने चिटिक्क परेर बसेका थिए। बहिनी नभएपछि नयना सँग कुरा गर्न अलि सहज भयो मलाई।
मैले नयनासँग सोधें ‘धेरै दिन यतातिर आएँ म । तिमीलाई भेटिएन नि।
उसले जवाफ दिई ‘मलाई पसलमा बस्न दिँदैनन्। प्राय आमा र बहिनीहरु मात्र बस्छन् यहाँ। बुवा र भाई चाहिँ खिचापोखरीको पसलमा बस्छन्। म त कहिलेकाहीँ मात्र बस्ने हो।
फेरि तुरुन्त कुरा थपि – किन भेट्नु त ?
मेरो मनै मनले जवाफ दियो ‘माया साट्न नि मोरी।’ तर मुखबाट बोली निस्केन। म चुप बसें एकछिन।
उसले उल्टै मलाई प्रश्न गरि ‘किन चुप नि ?’
म हाँसे मात्र ।
फेरि सोधी उसले ‘घर कहाँ हो तपाईंको ?’
मेरो जन्मथलो सिन्धुली भएपनि उसलाई ढाँटेर जवाफ दिएँ ‘ हेटौंडा ।’
‘काठमाडौं किन आको त ?’ उसले फेरि सोधी।
‘पढ्न’ मैले छोटो उत्तर दिए।
कोसँग बस्नु हुन्छ नि ?
‘एक्लै’ फेरि छोटो जवाफ दिएँ।
‘खाना कहाँ खानुहुन्छ नी।’
रिस उठ्यो। अलि मनको कुरा बझ्छे कि भन्या त नानाथरी कुरा सोध्न थाली। हाँस्दै रिस उठ्ने जवाफ दिएँ ‘मुखमा ।’
ऊ बेस्सरी हाँसी।
कसले पकाउँछ नी ? फेरि प्रश्न सोध्न भ्याई।
‘आजसम्म मैले । भोलिदेखि तिमीले।’ मेरो मनले त्यो जवाफ दियो। मुखले भने सिधा जवाफ दिएँ ‘आफैंले।’
उसले त अन्तर्वार्ता लिए जसरी सोध्दै गई। ‘धारामा पानी आउँछ ? घरभाडा कति छ ? हेटौंडा कहिले जानु हुन्छ? कुन क्याम्पस पढ्नु हुन्छ’?
क्रमश: उत्तर दिदै गएँ ।
के सोचेर पसलमा बसेको थिएँ । उसले नानाथरी प्रश्नले प्रहार गरिमात्र रहि । एकछिन रिस पनि उठ्यो।
हामीबिच प्रश्न उत्तर चल्दै गर्दा उसकि बहिनी तीनकप चिया बोकेर आई। पसलमा ग्राहक पनि आएका थिएनन् । मासु छोपेर राखेपनि झिंगाभने घुमिरहेका थिए।
चिया दुई घुट्कि पिएको थिएँ। चियाको स्वाद ठिक लागेन। तर पनि चिया जबर्जस्ती सकाएँ।
उसले बहिनीलाई नेवारीमा केही भनि र पसलबाट ५० रुपैया निकालेर दिई।
बहिनीले मसँग ‘तपाईंहरू गफ गर्नुस। म तरकारी लिएर आउँछु ल’ ? भन्दै बाहिर निस्कि।
उसले बहिनीलाई तरकारी लिन अराएकि रहिछ।
बहिनी निस्केपछि मैले नयनालाई सोधें ‘तिमीलाई अब कहाँ भेट्ने त? पसलमा त सधैं भेटिँदैन होला।’
उसले फेरि पुरानै कुरा दोहोर्याई ‘किन भेट्ने र ?’
मैले भनें ‘अब साथी भएपछि कहिलेकाहीँ भेट्नु पर्दैन त ?’
‘चलाख मान्छे’ । उसले यतिमात्र भनी।
म उसलाई हेरेर हाँसे।
‘म त्यति घर छाडेर हिडदिन्। आमाले थाहा पाए मार्छन’ ऊसले आमाको डर देखाई।
‘अनि पढ्न जादैनौ?’ मैले सोधें।
‘नाई’
मैले फेरि सोधें ‘किन नी ?’
उसले जवाफ दिई- ‘आमा बा ले पढाएनन्।’
‘अनि भाइ बहिनीहरु नी’ ? फेरि प्रश्न गरें मैले।
उसको जवाफ थियो ‘सबै पढ्छन्। म मात्र स्कुल गइन।’ त्यसो भन्दा उसको हाँसो हरायो । अलि दु:खि देखिई।
मैले विश्वास गरिन । फेरि सोधें ‘साँच्चै होर ?’
उसले उत्तर दिई ‘हो हो। तर अलि-अलि लेख्न पढ्न आउँछ। घरमा बहिनीहरु र भाईसँग सिकेको।’
मैले अरु कुरा सोध्नु भन्दा पहिले नै उसले भनी ‘तपाईं जानुस। अब पसलमा आमा आउने बेला भयो। फेरि अब पसल पनि भिड हुन्छ भन्न भ्याई।
मैले सोधिहालें ‘अब भेट हुँदैन?’
‘खै!’ यस्तो उत्तर दिई उसले।
‘तिम्रो घरमा फोन छैन?’ मैले सोधें।
‘छ । तर नंम्बर दिन मिल्दैन। आमाले मार्छन ।’ उ आमासंग निकै डराएकि देखिन्थि।
मैले उसलाई भनें ‘मेरो घरबेटी को फोन नं दिन्छु। तिमी बाहिर निस्केको बेला मलाई कल गर न त त्यसोभए।’
उ डराए जस्तो गरि। तरपनि मलाई सोधीहाली ‘बोलाईदिन्छन त घरबेटीले ?’
मैले जवाफ दिएँ ‘बोलाई दिन्छन। तर बिहान आठ नौ बजेतिर कि साँझमा छ सात बजेतिर गर्नुपर्छ। दिउँसो म हुन्न ।’
उसले त मेरो अफिसको नम्बर पो मागी।
अब नभएको अफिस कता खोज्नु? ढाँटेको कुरा के मिल्थ्यो र ।
म फसादमा परें । एकछिन जवाफ दिन नसक्ने भएँ । फेरि जुक्ति लगाएँ। ‘मेरो त सेल्स म्यानको काम हो। अफिसमा बस्दिन। घरबेटीको फोनमै गर न ।’
उसले ‘हुन्छ’ भन्ने संकेतका साथ मुन्टो हल्लाई।
मैले सानो चिर्कटोमा घरबेटीको फोन नं लेखेर दिएँ। उसले पोको पारेर राखी।
म पसलबाट बाहिर निस्कन मात्र लागेको थिएँ । उसकि तरकारी लिन गएकि बहिनी र आमा पो सँगै पसलमा देखा परे।
म पसलबाट निस्कँदै गर्दा आमाले रिसाएको स्वरमा नेवारी भाषामा केही भनिन् उसलाई ।
म केही नबोलि हिँडें।
पछिको भेटमा मैले सोध्दा ‘केटा राखेर मासु पसलमा गफ गर्दा छिमेकीले देखे के भन्छन ?’ भनेर गाली गरेका हुन आमाले भनेर सुनाएकी थिई।
उसलाई मासु पसलमा घरबेटीको फोन नम्बर दिएर हिँडेदेखि उसले फोन गर्छे कि गर्दिन भन्ने सोचमा डुब्न थालें।
एकदिन दुई दिन गर्दै समय बित्यो। उसले फोन गरिन।
म पनि उसलाई देखिन्छ कि भनेर मासु पसलतिर जान्थें बेलाबेलामा । कहिले बहिनी, कहिले आमा मात्र देखिन्थे पसलमा।
एकदिन क्याम्पस जाँदा उसकि माईली बहिनीलाई बाटामा भेटें।
मैले सोधीहालें ‘के छ खबर ? कता हिँड्यौ नि।
उसले जवाफ दिई ‘खिचापोखरी। पसलमा।’
एकछिन गफ गर्दै गएँ उ सं=ँग। गफ गर्दै जाँदा थाहा पाए उसले नि दस कक्षा सम्म पढेर छाडेकि रहिछ। नयना स्कुल गएकि रहेन छ। भाइ र अरु बहिनीहरु पढदै छन् रे। सानी बहिनी भने १० कक्षा पढ्दै छरे उसले सुनाई ।
त्यो दिन छुट्टिने बेला नयनाको बहिनीलाई प्रश्न गरें ‘नयना कता छिन नि ?’
उसले सहज उत्तर दिई – घरमा।
मैले भनें ‘मैले सम्झेको छ भनिदेउ है। घरपुगेपछि।’
उसले ‘हुन्छ’ भन्ने जवाफका साथ बस चढेर सुन्धारातिर लागि।
म मिनभवन क्याम्पस तिर लागें।
दिन, रात, हप्ता, महिना बित्यो। नयनाले फोन गरिन। मैले पनि भिडियो पसलतिर जान कम गरें। यदि गएपनि उसलाई भेट्ने चाहना कम हुँदै गयो।
एकदिन कोठामा मट्टीतेल सकिएछ। म मट्टितेल लिन खालि ग्यालिन बोकेर पसलतिर जाँदै थिएँ। बाटामा टाढैबाट नयना र उसकि कान्छी बहिनीलाई देखें। म पसल नगई हतारमा डेरातिर फर्किएँ। रितो ग्यालिन बोकेर उनिहरुको अगाडि देखापर्न मन लागेन।
म हतारमा डेरा फर्कँदै थिएँ । घरको गेट निरै घरबेटी भाउजूलाई भेटें। मलाई देखेर घरबेटी भाउजूले सोधी हालिन ‘किन रित्तो ग्यालिन लिएर फर्केको ? मट्टितेल पाईएन?’
मैले ‘होईन। पर्स लान भुलेछु’ भन्दै हतारमा कोठा छिरें।
कोठाछिर्ने बितिक्कै हतारमा मुख धोएँ। कपालमा जेल लाएर फेरि बाटोतिर दौडिएँ। मट्टीतेल सकिएको कुरा भुलें।
नयना र उसकि बहिनीलाई तरकारी किनिरहेको देखें। देखेपनि नदेख्या जसरी म अर्को पसलमा उभिएँ।
पसलमा उभिँदा एउटा चुरोट किनेर सल्काए। चुरोटको लत थिएन तर कहिलेकाहीँ पिउँथें। भर्खर पिउन सुरु गरेको थिएँ। आफूलाई ठुलै सोचिन्थ्यो चुरोट पिउँदा । अहिले सम्झँदा गलत लाग्छ।
जब उनिहरु फर्के। मलाई बाटोमा देखे उनिहरुले।
उसले नै सोधी ‘के छ खबर ?’ तरकारि लिन आउनुभाको ?’
मैले उत्तर दिन नभ्याउँदै ‘यति सानो उमेरमै चुरोट पिउन थालेको।’
म जवाफ विहिन भएँ।
उसले कुरा थपी ‘चुरोट राम्रो होईन।’
म चुप नै बसें।
उसकि बहिनीले छुच्चो मुख गरि ‘तँलाई के भो त दाईले चुरोट पिएर।’ त्यसपछि उ पनि चुप बसि। सायद बहिनीको कारण होला। उसले कुरा गर्न सकिन।
‘जान्छु है’ भन्दै आफ्नो बाटो लागी।
किन किन मलाई त्यो दिनपछि चाहिँ उ प्रतिको आकर्षक कम भयो। भिडियो पसल पनि जान कम गर्दै लगें। गएपनि मासु पसलतिर ध्यान दिन छाडें । समय बित्दै गयो। म मेरो जिवनमा रमाउँदै गएँ।
मेरो दिदीको भर्खरै बिवाह भएको थियो। दिदीको घर चावेल सिफलमा थियो। म दिदीलाई भेटन गईरहन्थें बेलाबेलामा ।
एकदिन दिदीलाई भेटेर फर्कने क्रममा जय बागेश्वरी मन्दिरनिर नयनालाई भेटें । संयोग या समय उ पनि फुपुको घरमा आएकि रहिछ। उसको फुपुको घर रहेछ सिफलमा। फर्कने बेला जम्का भेट भयो।
हामी एउटै बसमा आयौं। मैले दिदीलाई भेटेर फर्केको कुरा सुनाएँ । उसले फुपुको घरमा आएको कुरा सुनाइ।
गफका क्रममा उसलाई सोधें ‘तिमीले त फोन नि गरेनौ। किन नि।’
उसले लजाए झैं उत्तर दिई ‘गर्न त मन लाग्छ नि। घरमा कोई न कोई भईराख्छन् । अनि कसरी गर्नु त?’
मैले भनिहालें ‘यसरी बाहिर निस्क्या बेला गरन त।’
उसले कुरालाई बहिनीमा ल्याएर जोडी ‘तपाईले माईली बहिनीलाई भेट्नु भको रहेछ। मलाई भन्दै थिई। अमिरले संझेको छ भनेर।
‘अब चाहिँ म खिचापोखरी पसलतिर जाने भएँ भने फोन गर्छु है। फोन नं राखिराखेको छु।’
यसरी गर्छु है भन्दाभन्दै पनि उसको कल आएन। परिचय भएको लगभग छ महिना यसरी बिते। तरपनि फोनमा कुरा भएन। मैले आशा मारें ।
एकदिन बिहानै घरबेटी दाईले माथिबाट बोलाए ‘ए थापा फोन आको छ है। तेरो दिदीले गर्या रे।’
मैले सोचें ‘दिदीको भर्खर बिवाह भएको छ। काठमाडौंमा म बाहेक आफन्त कम छन्। सायद दिदिलाई मेरो याद आयो होला।’ दौडँ दै तीन तला माथि पुगें।
फोन उठाउने बितिक्कै उताबाट आवाज आयो ‘अमिर हो?(
मैले ‘हो भन्ने बितिक्कै ‘हामी भेटेको बस स्टपमा भरे ५ बजे आउनु है। म नयना।’
मैले केही भन्न नपाउँदै उसले फोन राखि। फोन त नयनाले गरेकि रहेछ।
घरबेटी दाइ छततिर थिए। भाउजूले सोधिहालिन (चिया पिउने थापा बाबू।(
मैले ‘हुन्छ’ भन्ने जवाफ दिएँ ।
घरबेटी दाजूभाउजुले केही सोधिनन्। म कोठामा आएँ। भात पकाएँ । खाएँ । क्याम्पस जान हतार भएन।
तर साँझ पाँच बजे नजिकै रहेको बस स्टप जान भने अहिले देखि हतारो भयो मलाई ।
क्याम्पस गएपनि पढाईमा मन गएन। म चाँडै फर्ंके।
कोठामा आएर नुहाएँ । सफाचट भएर बसें । जब बस स्टप जान लागेको थिएँ कालो बादल देखा पर्यो। अकस्मात पानी पर्यो।
काठमाडौंको मौसम भर पर्ने लाएक भएन। मौसमविद झैं आफैमा जिज्ञासा राखें एकछिनकको लागी।
जाउँ पानी पर्या छ। नजाउँ नयनाले भेट्न बोलाएकि छे। अलमलमा परें ।
‘फेरि ऊ आईन भनें ?’ मनमा कुरा खेल्यो।
जे सुकै होस्। जान्छु। मनले त्यहि निर्णय गर्यो। तर पानीमा कसरी जाने? छाता पनि छैन। छाता नहुदा आफूलाई सार्है गरिब महसुस गरें त्यतिबेला ।
घरबेटी भाउजूसँग छाता माग्ने जुक्ति निकालें। दौडँदै तीनतला माथि पुगें।
‘भाउजू एकछिन बाहिर जानुपर्ने काम थियो। पानी पर्यो। मसँग छाता छैन। छ भनी एउटा छाता दिनुस न।भरे फिर्ता ल्याइदिन्छु।’
घरबेटी भाउजुले केही नभनि एउटा बुट्टेदार पुरानो छाता दिईन्। म त्यहि पुरानो बुट्टे छाता ओढेर नयनालाई भेट्न हिँडेँ।
ठ्याक्कै समय याद गरिन। समय भन्दा केही समय पछि उ बसबाट झरी। टाढाबाटै देखें मैले उसलाई । उ बाटो काट्दै थिई।
म नजिक पुगें । मलाई देख्ने बितिक्कै बोली ‘पानी पर्यो कस्तो बोर।’
मैले छाता उ तिर ढल्काएँ । उसले हाँस्दै भनी ‘तपाईं भिज्नु भयो।’
छाता सानो थियो । हामीले आधा शरिर बाहिर निकालेर टाउको मात्र छाता भित्र राख्यौं ।
नयनाले बोली ‘उता पानी परेकै छैन। आधा बाटोमा आएपछि पानी पर्यो। मलाइ त तपाईं आउनु हुन्न जस्तो लाग्या थियो। छाता पनि नबोकि हिँडें म पनि।’
उसका कुरा सुने पनि मैले कहाँ ओत लाग्ने भनेर सोचें । अगाडि बाटोमा एउटा सानो चिया पसल जस्तो देखें।
उसलाई भनिहालें ‘यसरी त भिजिन्छ। उ त्यहाँ चिया पसलमा जाँऊ। नजिकै रहेको चिया पसलतिर देखाए मैले । उसले मेरो प्रस्ताव शहर्ष स्विकार गरी ।
चिया पसलमा पुगेर दुई कप चिया मगाएँ ।
‘हाम्रो भेट त सम्झना योग्य हुने भो नि । बर्षातले गर्दा ।’ मैले कुरा गर्ने बहाना अगाडि बढाएँ । उ हाँसि मात्र।
फेरि भनें ‘यसरी बाहिर निस्क्या बेला कल गर है। अब देखि।’
उ चुप बसिरहि ।
मैले फेरि सोधें उसलाई ‘बिहान तिम्ले के भन्यौ? घरबेटीले दिदीको फोन आको छ भनेर बोलाए त मलाई ।’
उसले हाँस्दै उत्तर दिई ‘मैले अमिरलाई बोलाई दिनुस न’ भनेको ।
को बोल्या भनें । अनि तपाईंले अस्तिनै सिफलबाट दिदीलाई भेटेर आएको सम्झें । त्यहि भएर मैले अमिरको दिदी हो सिफलबाट भने।
म हाँसे। उ पनि मसँग सँगै हाँसि।
‘मलाई चलाख मान्छे भन्थ्यौ । तिमी पो चलाख रहेछौ।’ मैले उसलाई भनें । मैले चलाख भन्दा उसले मसँग आँखा जुधाई।
मेरा आँखाले उसका आँखासँग मुकाविला गर्न सकेन। मेरा आँखा एकछिनमै झुके।
चिया सकियो।
उसले भनी ‘जाऊँ अब। मलाई ढिला हुन्छ।’
मैले सोधें ‘पानी पर्दै छ त। कसरी जाने ?’
‘अलि- अलि भिजेर फरक पर्दैन । फटाफट हिँडौंला। ढिलाभयो भने घरमा आमाले गाली गर्छिन।’ ऊसले जवाफ दिई।
मैले छाता लिएर जान आग्रह गरें । उसले मानिन ।
मैले फेरि कर गरें ‘छाता लिएर जाऊ।’ अर्को पटक छाता लिने बहानाले भेट हुन्छ।
ऊ मतिर हेर्दै हाँसी । हामी चियापसलबाट निस्कियौं।
एकछिन हामी एउटै छाता मुनि ओत लाएर हिड्यौं । जब टोल नजिक पुग्यौं नयना छाता ओढेर अघिअघि हिँडि। म उसको पछि पछि लागेँ । सँगै हिडेका हामी एकैछिनमा नदिका दुई किनारा झैं भयौं । वारिपारी।
म पुरै भिजेँ । उसले छाता ओढेपनि शरिरका आधाभाग भिजेका थिए। भिजेका लुगा शरिरमा टाँसिएका थिए। मैले उसको भिजेका शरिरलाई ध्यान दिएर हेरें ।
छुट्टिने गल्लीमा पुगेपछि उसले फर्केर हेरी। मैलेपनि उसलाई फर्केर हेरिरहेको थिएँ । यो पटक आँखामात्र बोले हाम्रा। उसका आँखाको बोलाईले ममा उर्जा थप्यो। हेर्दा हेर्दै ऊ गल्ली भित्र हराई। म आफ्नै दुनियाँमा हराएँ।
त्यो दिनको बर्षातले मनमा शितलता थप्यो। आनन्दको महसुस गरायो। बर्षातको समय मन पर्यो। उक्त दिनपछि बर्षातको समय प्यारो लाग्न थाल्यो मलाई । आजसम्म पनि बर्षातको समय असाध्यै मन पर्छ मलाई।
कोठामा पुगेर भिजेका कपडा फेरें । अनि शिरक ओडेर ओछ्यान भित्र छिरेँ । कल्पनाको संसारमा म नयनाको न्यानो अंगालोमा कतिचाँडो बाधिन पुगेछु । पत्तै भएन।
क्रमश: