शनिबार, साउन १२, २०८१

पेरिसमा दर्जनौं नेपाली कलाकारको गायन र नृत्य प्रतिस्पर्धा

नेपालप्लस संवाददाता / फ्रान्स२०८१ जेठ १ गते १५:४६

फ्रान्सको राजधानी पेरिसमा आयोजित युरोप स्तरिय एकल नृत्य र गायन प्रतिस्पर्धामा नृत्य तर्फ प्रथम जर्मनीकी मटिना शाक्य, द्वितिय फ्रान्सकी दिलासा भट्ट र नेदरल्याण्ड्सकी अनुस्का टण्डन तेस्रो भएका छन् ।

त्यसैगरि गायनतर्फ पोल्याण्डका सुशिल विश्वकर्मा पहिलो, डेनमार्कका मनिश लिम्बु दोस्रो र फ्रान्सका कुशल पाख्रिन तेस्रो भएका छन् ।

प्रथम, द्वितिय र त्रितियले क्रमश नगद आठ सय, पाँच सय र तीन सय युरो नगद सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिएको छ ।

युरोपका बिभिन्न नौ मुलुकमा रहने नेपाली नर्तक-नर्तकी र गायक-गायीकाहरुले प्रतिस्पर्धा गरेको कार्यक्रममा लाखे, देउडा, धिमाल, शेर्पा, तामाङ, मगर, गुरुङ लगायत नेपालका बिभिन्न जनजाति र भेषभुषाका नृत्य प्रस्तुत गरिएको थियो ।

कलाकारहरुले कर्णालीका बिकट गाउँको सास्ति, बोक्सी प्रथा, महिला माथिको अत्याचार र समाजका बिभिन्न बिसंगतिलाई उजागर गर्ने नृत्य प्रस्तुत गरेका थिए ।

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (ईनास) युरोपले आईतवार पेरिसमा आयोजना गरेको युरोप महादेश स्तरीय नृत्य र गायनमा दुई दर्जनभन्दा बढी नेपाली कलाकारले भाग लिएका थिए ।

युरोपका बिभिन्न मुलुकमा छरिएर रहेका कलाकारहरुलाई एकत्रित गर्ने, तिनको कला र गलालाई जिवन्त राख्ने, कलाकारको हकहित र अधिकारका विषयमा आवाज उठाउनुका साथै नेपाली कलामार्फत विदेशीलाई नेपालबारे चिनाउन ईनासले हरेक वर्ष यस्तो कार्यक्रम गर्दै आएको ईनासका प्रवक्ता प्रकाश तिवारीले नेपालप्लसलाई बताए ।

कार्यक्रमको उद्घाटनका क्रममा पेरिस स्थित नेपाली दुतावासका राजदुत सुधिर भट्टराईले प्रवाशमा आफ्नो काम र ब्यवस्तताका बिचपनि नेपालीहरुले नेपाली कला र संस्क्रितिलाई जिवन्त राख्न ठूलो योगदान गरेको उल्लेख गरे ।

उनले भने “हाम्रो कला र संस्क्रिति प्रवाशमा जन्मे हुर्केका नेपालीलाई कसरि पुस्तान्तरण गर्ने भन्ने चिन्ताको विषय हो । तर यहाँका नेपालीले हाम्रो त्यो कला र संस्क्रितिलाई बिभिन्न कार्यक्रम मार्फत पुस्तान्तरण गरिरहनु भएको छ। बिदेशीलाईपनि यस मार्फत नेपाल चिनाउनुभएको छ । त्यसले नेपालको पर्यटनलाई प्रवर्धन समेत गरेको छ। नेपाल र स्वदेशमा रहेका नेपालीका तर्फबाट तपाईहरु उच्च प्रशंसनिय हुनुहुन्छ ।”

कार्यसम्पादनको आधारमा हरेक वर्ष प्रदान गरिने ‘उत्कृष्ट युरोप राष्ट्रिय समिति’ को अवार्ड यस वर्ष राष्ट्रिय समिति बेल्जियमले प्राप्त गर्न सफल भयो ।

नृत्य र गायन प्रतिस्पर्धा अघि शनिवार ईनासले युरोप क्षेत्रिय सम्मेलन गरेको थियो । सम्मेलनमा युरोप क्षेत्रिय तहमा कसरि नेपाली कलालाई अझै एकक्रित गर्ने, नेपाली कला र सस्क्रितिलाई कसरि फैलाउने र कलाकारहरुलाई अझै एकताबद्द गर्ने लगायतका भावी योजनामा छलफल भएको थियो ।

हरेक वर्ष आयोजना हुने इनासको दशौं युरोप क्षेत्रीय कार्यक्रम आगामी वर्ष डेनमार्कमा आयोजना हुने घोषणा गरिएको छ ।

तपाइँको प्रतिक्रिया