आइतबार, असोज १३, २०८१

कोपनहेगनमा मेटालिकाको प्रस्तुति उत्कृष्ट

शशि ढकाल / कोपनहेगन , डेनमार्क२०८१ असार ५ गते ०:५६

यसै सप्ताहान्त बिश्व प्रसिद्ध रक ब्याण्ड मेटालिकाले डेनमार्कको राजधानी कोपनहेगनमा गरेको मेटालिकाको एम सेभेण्टिटु वर्ल्ड टूरको प्रस्तुति हेर्ने अवसर मिल्यो । यो कन्सर्ट अत्यन्तै रोमाञ्चक र ऊर्जा पूर्ण थियो। यसले स्टेडियममा उपस्थित हजारौं दर्शकलाई मन्त्रमुग्ध बनायो ।

हजारौ दर्शक यो कन्सर्टमा झुमे । मेटालिकाले आफ्नो वेभसाइटमा राखेको जानकारी अनुसार पहिलो दिन ३८ हजार दर्शकले टिकट काटेर यो प्रस्तुतिको मज्जा लिए ।

कोपनहेगनको मुटुमा रहेको फुटबल स्टेडियम पार्केन स्टेडियमलाइ हेभी कन्सर्ट हलको रुप दिइएको थियो । स्टेडियममा प्रस्तुतिकै लागि साउन्ड प्रुफ छत राखिनुका साथै फुटबल खेल्ने चौर र साइड ट्रयाक बचाउनको लागि पुरै चौर बिशेष स्टिलले छोपिएको थियो जस माथि हजारौ दर्शकले उफ्री उफ्री नाचे । बियरको खोलो बगाए । अन्य पेयजलमा मस्त भई झुमे ।

मेटालिकाको यस कार्यक्रममा मेटालिकाको प्रस्तुति शुरु हुनुअघि विशेष अतिथि कलाकारहरूको रुपमा ब्रिटिश आर्किटेक्ट्स ब्यान्ड र अमेरिकन हार्ड रक गाएक म्यामथ डब्लु भी एचले आफ्ना उत्कृष्ट प्रदर्शनहरू प्रस्तुत गरेर दर्शकहरूलाई थप रोमाञ्चक बनाउनुका साथै मेटालिकाको प्रस्तुतिका लागि तताएका थिए । आर्किटेक्ट्सको सशक्त प्रदर्शन र म्यामथ डब्लु भी एचले आफ्नो उत्कृष्ट गीतहरूको साथमा दर्शकहरूलाई उत्तेजित र उत्साहित बनाएका थिए ।

मेटालिकाको कोपनहेगनको दुइदिने प्रस्तुतिको पहिलो दिन शुक्रबार “इन्टर स्यान्डम्यान,” “नथिङ एल्स म्याटर्स,” र “मास्टर अफ पपेट्स” लगायतका चर्चित गीतहरू गाएका थिए । यस ब्यान्डले आफ्नो पुराना लोकप्रिय गीतहरू प्रस्तुत गर्दै दर्शकहरूको मन जितेको थियो ।

“इन्टर स्यान्डम्यान” जस्तो क्लासिक गीतहरू गुञ्जिएसँगै दर्शकहरूअत्यन्तै उत्तेजित भएका थिए । स्टेजमा ब्यान्डका गाएक जेम्स एलन हेटफील्डको ऊर्जा र प्रदर्शनले सम्पूर्ण माहौललाई आपनो बसमा राख्न सफल भएको थियो ।

त्यस्तै आइतवारको प्रस्तुतिमा कन्सर्टको सुरुवात ब्यान्डका क्लासिक गीतहरू मध्ये एक “इन्टर स्यान्डम्यान” बाट भयो । यो गीतले दर्शकहरूलाई तुरुन्तै उत्साहको चरममा पुर्‍यायो। जेम्स हेटफिल्डको आवाज, लार्स उलरिचको ड्रमर, किर्क ह्यामेटको गितार र रोबर्ट ट्रजिलोको बेसले सम्पूर्ण सम्पूर्ण स्टेडियमलाई कम्पित बनायो ।

कार्यक्रममा ब्यान्डले ” “मास्टर अफ पपेट्स” र “नथिङ एल्स म्याटर्स” जस्ता हिट गीतहरू प्रस्तुत गरे। हरेक गीतको बीचमा जेम्स हेटफिल्डले दर्शकहरूसँग कुराकानी गरेर वातावरणलाई अझै आत्मीय र सजीव बनाइदिए।

किर्क ह्यामेटले सोलो गिटार मार्फत आफ्नो अद्वितीय प्रतिभा प्रदर्शन गरे, जसले दर्शकहरूलाई मन्त्रमुग्ध बनायो ।

कन्सर्टमा विशेष अतिथिका रुपमा मेटालिकाका पूर्व सदस्य र प्रसिद्ध गिटारिष्ट डेभ मुस्टिन पनि उपस्थित थिए। उनीसँगको सहकार्यले कन्सर्टलाई अझै विशेष बनायो। “द फोर हर्सम्यान” र “राइड द लाइटिंग” जस्ता गीतहरूमा डेभ मुस्टिनले गिटार बजाएर दर्शकहरूलाई पुरानो स्मरण गराए । कन्सर्टको समापन “सिक एण्ड डिस्ट्रोय” गीतसँग भयो। यो गीतले सम्पूर्ण स्टेडियमलाई एकपटक फेरि ऊर्जा र उत्साहले भरिदियो।

यो कन्सर्टले हजारौं दर्शकहरूको हृदयमा अमिट छाप छोड्यो। मेटालिकाका सदस्यहरूले आफ्नो अद्वितीय संगीत र शक्तिशाली प्रदर्शनको माध्यमबाट उपस्थित सबैलाई मन्त्र मुग्ध बनाइदिए ।

कोपनहेगनको पार्कन स्टेडियममा विशाल अठ्तीस हजार भन्दा बढी दर्शकहरू बीच गरिएको प्रस्तुतिमा मेटालिकाले कुनै पनि कमी राखेन । उच्चस्तरीय संगीतमय कन्सर्ट गरेर सांगीतिक महल बनाउन भरपुर प्रयास गर्यो । दर्शकहरूले मेटालिकाको हरेक गीतमा उत्साहपूर्वक नाचे, झुमे, कराए र साथै गाए पनि । कन्सर्टको नयाँ स्टेजको डिजाइनमा र मेटालिकाको प्रसिद्ध “स्नेक पिट” लाई केन्द्रमा राखिएको थियो जसले दर्शकहरूलाई नयाँ अनुभव प्रदान गर्नुका साथै दर्शकहरूलाई ब्यान्डसँग निकटता अनुभव गरायो ।

मेटालिकाको स्थापना सन् १९८१ मा गिटारवादक जेम्स हेटफिल्ड र डेनिस ड्रमर लार्स उलरिचद्वारा गरिएको थियो । यो एक अमेरिकी हेभी-रक ब्यान्ड हो । मेटालिकाको लाइन अपमा सुरुवाती चरणमा मूल संस्थापक सदस्यको रूपमा डेनिस ड्रमर उलरिच, गायक जेम्स हेटफिल्ड र प्रमुख गिटारवादक डेभ मुस्टेन थिए । पछि रक्सी र लागू पदार्थको लतको समस्याका कारण मुस्टेनलाई टिमबाट हटाइयो । मेटालिकाबाट अलग्ग भएका डेभ मुस्टेनले पछि मेगाडेथ ब्यान्ड गठन गरे। एक्सोडस गिटारवादक किर्क ह्यामेटलाइ उनको स्थानमा ल्याइयो ।

मेटालिकाका वर्तमान सदस्यहरूमा गिटारवादक र गायक जेम्स हेटफिल्ड, ड्रमर लार्स उलरिच, गिटारवादक किर्क ह्यामेट र रोबर्ट ट्रजिलो हुन् । मेटालिकाका ब्यान्डका अधिकांश गीतहरू हेटफील्ड और उलरिचले लेख्ने गरेका छन् । हाल जेम्स एलन हेटफिल्ड मेटालिकाका प्रमुख हुन् ।

स्थापनाकालको चालिस वर्ष पछि पनि मेटालिकाका अझै लोकप्रिय हुनुमा ब्याण्ड सदस्यहरुको एकता, निरान्तरको साधना र नयाँ दर्शकहरुलाइ प्रतिध्वनित गर्न सक्ने खुबी र नयाँ दर्शक र स्रोताहरुको रुचिको पहिचान नै मुख्य कारण मानिएको छ ।

सन् १९८६ मा मेटालिकाकाको ट्र्याक “मास्टर अफ पपेट्स” स्ट्रेन्जर थिंग्समा देखा परेपछि इतिहासमा पहिलो पटक यसले बिश्व संगीतका उत्कृस्ट चार्टहरूमा प्रवेश पाएको थियो ।

कोपनहेगनमा रहेका नेपालीहरुको पनि राम्रै उपस्थिति रहेको मेटालिकाको यस प्रस्तुतिलाई विभिन्न समीक्षकहरूले उच्च प्रशंसा गरेका छन् । समीक्षकहरूले ब्यान्डको ऊर्जा, गीतहरूको छनोटलाइ तारिफ गरेका समाचारहरु आइरहेका छन् । कार्यक्रमको व्यवस्थापन र सुरक्षाको लागि पनि उच्च प्रशंसा गरिएको छ भने दर्शकहरूले कार्यक्रमलाई अत्यन्तै सफल भएको भन्दै मेटालिकालाई लाई धन्यवाद दिए ।

दुई दिनका लागि फरक-फरक गीतहरुको सेट सहित प्रतुत भएको मेटालिकाले आपनो वेब पेजमा भनेको छ कि टिकटहरू दुई दिनका लागिनै उपलब्ध गराइएको थियो । टिकट बिक्री डेढ वर्ष अघिनै गरिएको र केही एकदिने टिकटहरु प्रचारको लागि मात्र केहि अगाडी उपलब्ध गराइएका थिए ।

करिब मध्य रातसम्म चलेको मेटालिकाको यो कन्सर्ट डेनमार्कको संगीत प्रेमीहरूको लागि एक अविस्मरणीय रात बन्यो। यस कन्सर्टले मेटालिकाको विश्वव्यापी लोकप्रियता र उनीहरूको संगीतको शक्ति पुनः प्रमाणित गर्‍यो। दर्शकहरूले यो रातलाई सधैं सम्झिरहने छन् । मेटालिकाको यस अविस्मरणीय रातले फ्यानहरूको मनमा गहिरो छाप छोडेको छ।

दर्शकहरूले मेटालिकाको संगीत, जोश र प्रदर्शनको प्रशंसा गर्दै आगामी कार्यक्रमहरूको लागि उत्साहित भएका छन् । मेटालिकाले फेरि पनि डेनमार्कमा यस्तो शानदार प्रदर्शन गर्ने आशा राखेका छन् । यो कन्सर्ट केवल एक संगीत कार्यक्रम मात्र थिएन, यो एक अनुभव थियो, जुन दर्शकहरूको मनमा सधैं रहिरहनेछ।

यो कन्सर्टले मेटालिकाको कोपनहेगनमा भएको सबैभन्दा उत्कृष्ट प्रदर्शनमध्ये एक भएको भन्दै चर्चा पाएको छ ।

तपाइँको प्रतिक्रिया