सोमबार, भदौ ३१, २०८१

पिउने केटो – ३

- कृष्ण शर्मा२०८१ भदौ १९ गते १६:०९

(यस अघिको पहिलो भाग हेर्न यहाँ क्लिक गर्नुस् । दोस्रो भाग हेर्न यहाँ क्लिक गर्नुस्)

मनः तँ फेरि ट्विटरको चौतारीमा जान थालिस्?
मः अँ।।। हिजो राती गएको थिएँ।
मनः अब जान्न स्पेस सिस्पेस भन्दै थिइस् त अस्ति फेरि। फोनमा भको एप्स (अनुप्रयोगहरू) पनि हटाएँ भन्दै थिइस्।
मः … (अवाक)।
मनः तेरो ल्याक अफ डिटरमिनेसनको परख गर्दा यस्तो लाग्छ, तँ कतै पुग्ने वाला छैनस्।
(मनले मलाइ नजरअन्दाज गरेर हेपेको शैलीमा उसको तल्लो ओंठ लेप्रायो। उसको त्यो तहको हेपाइ देखेर मलाइ पनि चुप लागेर बस्न मन लागेन।)
मः मलाई कहाँ पुग्न छ र?
मनः …(अवाक)।

अप्रत्यासित रुपमा मबाट दार्शनिक खालको ओंठे जवाफ सुनेपछि मन अवाक मात्र होइन ‘ट्वाँ’ नै भयो। किंकर्तव्यबिमुढ भएर ऊ मेरो अगाडि उभिई रह्यो। क्षमा त उसले माग्ने वाला थिएन तर गाली गर्न सक्थ्यो । तथापी गरेन। यसरि दुइ खुट्टा जोडेर मरो अगाडि उभियो मानौं म उसको निर्दयी गणित शिक्षक थिएँ। र मैले उसलाइ जोडसँग पिशावले च्याप्दा पनि शौच जाने अनुमती दिईरहेको थिईन।

यसरि मनलाई असमन्जस बनाउन सकेकोमा म चाहिँ दंग थिएँ। लामो समयसम्म मन र म बिच दोहोरो कुराकानी भएन। मैले मनको कचकचबिनाको क्षणमा आफूलाई हलुंगो बनाउन मात्र के पाएको थिएँ शरीर बिन्दास भयो। तीनचार पेग पिएर हल्का महशुस गरे जस्तै भयो। अनि त म तुरुन्तै निदाउन पुगेछु।

लामो समयपछि मीठो अनि गहिरो निद्रा परेको थियो। निद्रामा सपना देखें। तर कस्तो अचम्म भने त्यो सपना मेरो जीवनमा घटेको घटनाको रि-प्ले जस्तै भएर आएको थियो। सपनामा प्रविणता प्रमाणपत्र तह आई ए) मा ‘नेपालको इतिहास, संस्कृति र पुरातत्व’ नामक विषय पढाउने एकजना गुरु आउनुभयो जसले पूरा कक्षालाइ मनले जस्तै निरन्तर मोरल लेक्चर (नैतिक व्याख्यान) दिएर हैरान बनाउनुहुन्थ्यो।

एक पटक ति गुरुले म र मेरो जिगरी मित्र बुद्धराजलाइ सबैको सामु एक साथ उठाएर प्रश्न गर्नु भयो। हामिले उत्तर दिन थाले पछि ‘ल… ल… बस…’ भन्नु भयो। उहाँलाइ लागेको थियो होला, हामीले उत्तर दिन नसकेपछि पछाडि बसेर हल्ला गरेको भन्दै हुँक्ने मौका पाउनुहुने छ।

बुद्ध र म औषत प्राध्यापकहरुका लागि अलिक अम्मली खुस्केट जस्ता लाग्थ्यौं। तर सुदीप बागचि सरले चाहिँ हामीलाइ राम्रै चिन्नु भएको थियो। उहाँ भन्नुहुन्थ्यो, ” इट्स ओके टु समटाइम्स स्मोक बिहाइण्ड द लाइब्रेरि; अर माइल्ड्लि स्टेअर एट अ गर्ल विथ लभ। बट इट्स नट रियल्लि ओके टु कम्प्लिट्लि इग्नोर अ टिचर व्हाइल हि गिभ्स अ लेक्चर”।

सपना न थियो, आँखा खुल्दा बाहिर अँध्यारै थियो। शायद रातको अन्तिम प्रहर बाँकी नै थियो कि जस्तो लाग्छ। त्यो नपिएको रातमा पनि मेरो निद्रा पिएको रातमा जस्तै गहिरो अनि सपना त्यहि अनुपातमा छोटो थियो।

यत्तिकैमा पलङको दायाँ किनार फोनको फ्लोरोसेन्ट प्रकाशले अचानक हल्का उज्यालियो। केहिबेरपछि अल्छि मान्दै फोन तानेँ र अनलक गरेँ। फेसबुक म्यासेन्जरमा एउटा नयाँ सन्देश आएको रहेछ। खोलेर हेरेँ। ती पाठकले अलिक लामै सन्देश पठाएका थिए।

प्रसंग मैले लेखेको “पिउने केटो” शिर्षकमा छापिएका दुई वटा श्रृंखला पढेपछि उनको मनमा उठेका तर्कनाहरूको थियो। उनको त्यो लामो सन्देशमा मेरा लागि केही निराशा अनि केही आशाका धर्सा छरपस्टिएका थिए। उनको सन्देशमध्ये मलाई टेस परेको हरफ यस प्रकार छः “तपाईका सप्पै नेपाली लेखहरूमा भाषिक गल्ति दोहोरिएको देखेर म हैरान हुन्छु। कहिलेकाहिँ त रिस पनि उठ्छ। पढिरहेको लेख बन्द गर्छु। ल्यापटपको स्क्रिन (पर्दा) मा एक मुक्का हानेर आफ्नो रिस फेर्न मन लाग्छ।

तर समयमै सम्हालिन्छु। रिस शान्त भएपछि फेरि तपाईको लेख खोल्छु र बाँकी रहेको पढेर सकाउँछु। तपाईका लेखहरूले मधेसको गर्मीमा बिरेनून, उँखु, कागती, चिनी र हल्का सोडा मिसिएको सर्बत पिउन पाउँदा आउने बडो गजव खाले स्वाद दिन्छन्। तपाईका लेख पढ्दा यस्तो लाग्छ, तपाई मेरो अगाडिको कुर्चिमा बसेर रक्सिको तालमा दर्शनका कुरा गरिरहनु भएको छ। अनि रक्सी सकिन लागेको सिसाको गिलास तपाईको दायाँ हातले टेबलमा नचाउँदा एउटा कहिल्यै नसुनेको बेग्लै संगीत मेरो कानमा बजेको ‘फिल (महसुस)’ हुन्छ। मलाई थाहा छैन तपाईले धूम्रपान गर्नुहुन्छ कि गर्नुहुन्न । तर लाग्छ तपाई मेरै अगाडि चुरोटको सर्को लिँदै फुकेको धुवाँमा आफ्नो जीवन खोज्नु हुन्छ। लर्बराउँदो स्वरमा तपाई आफ्ना कुराहरु बडो दह्रो तर इमान्दारिताका साथ राखिरहनुभएको छ। तपाईले उठाउने विषयवस्तु यति पेचिला हुन्छन् कि तपाईको लर्बराहटलाई सहेरै सुन्छु। शुद्ध नेपालीमा लेख्नु भयो भने सुनमा सुगन्ध हुने थियो।”

म हालै मात्र ट्विटरमा जोडिएका यी नयाँ पाठकलाई के भनुँ? तमाम भाषिक गल्तीका बाबजुद स्थायि पाठक भइदिएकोमा दंग छु भनुँ या मेरोलागि आफ्नो समयको तकाजा नगर भनुँ? तर यी पाठकलाई यति सम्म चाहिँ भन्नै पर्ने हुन्छ “सुनमा सुगन्ध हुँदैन। कुनै पनि लेखको खास निर्देशित दर्शन वा सन्देश पनि हुँदैन। पाठकले नै दर्शन खोज्ने हो। सन्देश रोज्ने हो। भेट्ने हो। रम्न सके रम्ने हो । तर लेख मन परेन भनेर आफ्नै ल्याप-टप फोर्ने चाहिँ होइन।”

एक्कैछिन सोच्नुस् त म नेपाली भाषामा पारंगत नहुँदा नहुँदै पनि गल्ती दोहोर्याउँदै किन लेख्छु होला?

भै गो छोडिदिनुस्। जवाफका लागि टाउको दुख्ने र दुखाउने काम नगरौँ। तपाईले मलाई माथिको प्रश्नको जवाफ दिनसक्ने गरि चिन्नु भएको छैन। नचिनेपछि तपाई बबुरोलाई कसरी थाहा होस् कि मैले किन लेख्छु भनेर? अनुमान नै गरे पनि मलाइ लाग्छ तपाईका लगभग सबै तर्कहरु मिल्नेवाला छैनन्। बरु कुरालाई सजिलो बनाऊँ? छोंट्ट्याउँ। मैले किन लेख्छु भनेर म आफै लेखिदिन्छुः

मेरा लेखहरु मैले आफ्नो मनसँग गरेका कुराकानीका लिखित दस्तावेज बाहेक अरू केही होइनन्। साथमा, ‘म स्वयम् को हुँ?’ भनेर आफैलाइ पढ्न नसकि पिरोलिएको मानिसले तपाईलाई कसरी भाषिक शुद्धताका कुरामा न्याय दिन सक्छु होला? मैले अरूलाई पाठ पढाउन वा खुशी पार्न वा दुःखी तुल्याउन लेख्दिनँ। म राम्रोसँग वाकिफ छु, मेरो त्यो हैसियत नै छैन।

हैसियत हुन्थ्यो भने मैले सिधै तपाईले मान्ने ईश्वरको अस्तित्व उपर धावा बोलेर लल्कार्थेँ होलाः एउटा गरिब किसानजस्तै तिमी यति बिघ्न दुःखी किन छौ यार भनेर। विवाहित लोग्नेमान्छे जस्तो यति बिघ्न लाचार किन छौ यार भनेर? विवाहित स्वास्नीमान्छे जस्तो केको दम्भमा स्वयम्लाई प्रेमबाहेक सबैको मल्काइन बनाउन लाचार छौ यार भनेर? झुठै झुठले भरिएको राजनीतिज्ञ जस्तो नक्कली किन छौ यार भनेर? चौराहमा दिन दहाडै न्यायको हत्या भएको देखेर पनि हरेक रात आनन्दसँग सुत्न सक्ने न्यायाधीशजस्तै कसरी बन्न सक्छौ यार भनेर?

हैसियत हुन्थ्यो भने मैले सिधै मलाई जन्मदिने आमा बुबालाई मलाई यस्तो जीवन किन दियौ भनेर सोध्थेँ होला। मलाई माया गरेर कमजोर किन बनायौ भनेर सोध्थेँ होला। मलाई काफ्कालाई जस्तै म अनावश्यक तरीकाले जिद्दी हुँदा पुसको ठिहीमा घरबाहिर किन ठिँग्याइ दिएनौ भनेर सोध्थेँ होला।

हैसियत हुँदो हो त स्वर्गीय प्राध्यापक सिद्धि विक्रम जोशीलाई मैले स्नातकोत्तर नसक्दै काठमाडौं शिक्षा क्याम्पसमा पढाउन किन बोलायौ भनेर सोध्थेँ होला। स्वर्गीय प्राध्यापक बल्लभमणि दाहाललाई मैले जसको नाम लियो उसलाई बोलाएर पढाउनका लागि तुरुन्तै नियुक्ति के आधारमा दिन्थ्यौ भनेर सोध्थेँ होला।

एक दिन प्राध्यापक दाहाललाई पिएको बेला बडो साहस बटुलेर सोधेको थिएँ, “तपाई मानिसहरूलाई निष्फिक्रि रूपमा कसरी विश्वास गर्न सक्नु हुन्छ, सर?” उहाँको जवाफ थियो, “मैले पिउने मानिसहरूलाई नपिउनेहरूलाई भन्दा बढि विश्वास गर्छु। आजसम्म त्यो मेरो कमजोरी होइन भन्ने तागतको रूपमा सावित भएको छ। नपिउनेहरूमाझ मैले आफैलाई बडो जतनले जोखेर मात्र प्रस्तुत गर्छु।”

मेरा अग्रज पत्रकार दाजुहरू किशोर नेपाल र लोकदीप थापा पनि त्यस्तै हुनुहुन्थ्यो। भगवतीबहालको कुनै एक रेस्टुराँमा सन् २००३ मा दि राइजिंग नेपालले आफ्नो वार्षिक दिवस मनाउँदै गर्दा किशोर दाइले भनेको वाक्य मेरो मानसपटलमा आज सम्म बसेको छः “सत्य यहि हो कि लगभग सबैको जीवन सधै वक्ररेखामा चल्छ। म ढुक्क छु सोझा, डरपोक, आफूलाई भुल्न, अर्काले दिएको पीडा बिर्सन पिउने तिमीहरु जस्ताले मलाई सम्हाल्छौ; मलाई नपिउनेहरूबाट बँच्नु छ।”

मलाइ थाहा छैन, दाहाल र नेपाल जस्ता मानिसहरु नपिउने मानिसहरुबाट किन यति बिध्न डराउँछन। मानिस त नपिउँदा सद्दे अनि सभ्य हुन्छ, होइन र?
मः ए… प्रशान्त, कता छौ यार तिमी?
प्रशान्तः म यहिं छु त, तपाईंको छेउमा।
मः तिमीलाइ थाहा छ पिउनेहरु नपिउनेहरुसँग किन डराउँछन?
प्रशान्तः खै दाजु …के भनुँ? मुझे तो अपनोंने लुटा गैरोंमे कहाँ दम था, मेरी किस्ती थि डुबी वहाँ जहाँ दारु कम था।

तपाइँको प्रतिक्रिया