शुक्रबार, कार्तिक १६, २०८१

नारायणी किनारको त्यो साँझ

विष्णु एस राई२०८१ कार्तिक १५ गते ९:२१

Photo-Dadi Sapkota

विष्णु एस राई

होटेलबाट नारायणी पुलनजिक पुग्दा झमक्क साँझ परिसकेको छ । पश्चिमाकाशमा रक्तिम आभा अहिले पनि देखिएकोले सूर्यदेव प्रस्थान गर्नुभएको धेरै भएको छैन भन्ने थाहा हुन्छ । म होटेल मनासलुलाई दायाँ पार्दै पुलनजिक मानव निर्मित सिमेन्टका खुड्किलाहरूबाट तल ओर्लिन्छु । शीतल, मन्द, पवन, चञ्चल प्रेमिका झैं ओठभित्रै मुस्काउँदै आउँछ र मेरो अनुहारलाई हल्का स्पर्श गर्दै गईहाल्छ । कस्तो जिस्केको होला ! पात्लो भेस्ट मात्र लाएको मेरो शरीर नारायणीको यो मधुर स्वागतले जिरिङ्ग हुन्छ । यस्तो प्रेमिल स्पर्श त मेरी प्रियाको हुन्छ । हृदयको अन्तरतमबाट धन्यवाद दिन चाहन्छु नारायणीलाई, मलाई मेरी प्रियाको सम्झना गराइदिन्छ ।
म भाग्यमानी छु
यस कारण होइन कि
मैले जीवनमा उनीलाई पाएँ ।
म भाग्यमानी छु
यस कारण कि
उनीमा मैले जीवन पाएँ ।१

नेपालमा समुद छैन । नारायणीले केही हदसम्म यसको क्षतिपूर्ति गर्छ । हुन त पूर्वमा सप्तकोशी नारायणीभन्दा ठूलो छ । भएतापनि उसको किनारलाई यतिको व्यवस्थित गरिएको छैन । यो दुई तीन किलोमीटरको लम्पसार परेको बलौटे बगरले सागर तटको झझल्को दिन्छ । नारायणगढवासीहरूले थोरै भएपनि यसको संरक्षण र विकासको काम गरेका छन् र यो नगरवासीहरूको साँझ बेलाको समय बिताउने रमाइलो स्थल भएको छ ।

किनार मान्छेहरूले भरिएको छ । जोडीहरू पेशेवर फेटोग्राफरहरूसँग फोटो खिचाउँदै छन्, केही आफै सेल्फी खिच्दैछन् । भोजनका विभिन्न परिकारका ठेलावालाहरू व्यस्त छन् । केही जोडीहरू पानीनजिक बसेका छन् टाँस्सिएर, दिन दुनियाँलाई भुलाएर । किनारमा बिजुलीबत्तीले सजिएका रेस्टोरेन्टहरूले आगन्तुकहरूलाई निम्तो गरिरहेका छन्, नदीको छातीमा मोटरबोटहरू कुद्दै छन् । रमाइलो छ। तर छेउ मै झुण्डका झुण्ड मोटरसाईकलहरू पार्क गरिएको छ । एकजना नव धनाढ्यले त आफ्नो मारुती कार नै ल्याएर उभ्याई दिएको छ र त्यही माथि हातले टेकेर फोटो खिंचाउँदै छः कुनै सुन्दर कपडामा टालो हाले जस्तो । मेरो मनले कविता बुन्छः
मैले तिमीलाई आकाश दिएँ
धरती दिएँ
पहाड दिएँ
हरियो–परियो दिएँ
तिमी भन कार्बनपुत्र
तिमीले मलाई के दियौ ? २

Photo-Dadi Sapkota

एक ठाउँमा मान्छेहरूको घुइँचो छ । महाआरती भइरहेको छ । पाँचजना युवकहरू सनातनी हिन्दू परम्पराको पालना गर्दै, वस्त्रको नाममा धोती मात्र धारण गरि, शिखा र यज्ञोपवीत देखिनेगरि उभिएर हातमा विशाल आरती घुमाइरहेका छन् । केही भक्तजनहरू अगाडि बसेर दीप प्रज्वलित गरिरहेका छन्, र बडेमानका लाउडस्पीकरहरूबाट मन्त्रोच्चारणको रिकर्ड बजाइँदै छ । म त बिलिभर (Beliver) होइन तर के यस किसिमका भव्य आडम्बरयुक्त पूजा अर्चनाले ईश्वर प्रसन्न हुन्छ होला ? यतिका धुपधुवाँले उसलाई गाहारो हुँदैन ? र अनि यो कानफोडू मन्त्रोच्चारणले उसको टाउको दुखदैन ? प्रख्यात उर्दू कवि गुलजारले पक्कै पनि म जस्तै महसुस गरेको हुनुपर्छ जो उनको यस कविताले अभिव्यक्त गर्छः
चिपचिपे दूध से नहलाते हैं
आँगन में खडा करके तुम्हें,
शहद भी, तेल भी, हल्दी भी,
न जाने क्या क्या घोलकर
सर पर लुढकाते हैं गिलासियाँ भर के
औरतें गाती हैं जब तीव्र सुरों में मिलकर
पावँ पर पावँ लगाए खडे रहते हो
एक पथराई सी मुस्कान लिये

बुत नहीं हो तो परेशानी तो होती होगी !

जब धुआँ देता लगातार पुजारी,
घी जलाता है कई तरह के छौंके देकर
इक जरा छींक हीं दो तुम !
ते यकीं आए की सब देख रहे हो !३

Photo-Dadi Sapkota

म अघि बढ्दै जान्छु । अँध्यारो बाक्लो हुँदैछ । विस्तारै मान्छेको संख्या घट्दै जान्छ, एकान्तता बढ्दै जान्छ । एकजना माझी दाइ काँधमा जाल बोकी घर फकिदै गरेको भेट्छु, तलतल उड्दैगरेको एक जोडी चराहरू मलाई भेट्छन् । निकै पर आइपुगेको छु । पछि छुटिसके पसलहरू, ठेलावालाहरू, मान्छेहरू, विभिन्न किसिमका आवाजहरू । फर्केर हेर्छु, पर पुलमाथी जूनकिरीहरू कुदिरहेको देखिन्छ । एकान्त छ, शान्त छ । नारायणीले मन्द स्वरमा गाएको सुन्छु । शीतल मन्द पवन फेरि आईपुग्छ मेरो अनुहार सुमसुम्याउन ।

अनुभूतिका यी क्षणहरू अविस्मरणीय हुनेछन् मेरा स्मृतिपटलमा— चट्टानमा कुँदिएका अक्षरहरू झैं । नदीपारिको दृश्यले मेरो ध्यानाकर्षण गर्छ । अँधेरोमा प्रष्ट नदेखिए पनि कुनै चिता जलिरहेको अनुमान गर्न सकिन्छ । मेरो मनमा अनेकन प्रश्नहरू मडारिन थाल्छन् । के हो मृत्यु ? के हो जीवन ? म को हुँ? मेरो जन्म किन भएको होला ? के म फेरि अर्को मानव जीवन पाउँछु होला । पाएँ भने के मलाई यस जन्मका घटनाहरू सकझना रहला ? म घोरिन्छु । तर कस्ता कस्ता पण्डित, दार्शनिक र वैज्ञानिकहरूले यी प्रश्नहरूका उत्तर थाहा पाउन नसकेका म नाथेले के पाउँथे ।

त्यसै टोल्हाएर बसिरहन्छु । आज म छु । भोली म हुने छैन । सबै कुरा उस्तै रहने छन् मात्र म हुने छैन । यो नारायणी यसैगरि सलल बगिरहने छ । यसका किनारमा मान्छेहरू यसरी नै रमाउने छन् । पुलमा गाडीहरू यसरी नै कुदिरहने छन् । मेरा इष्टमित्रहरू, आफन्तहरू, मेरो परिवार, सबै म सदा सर्वदाका लागि गइसकेको तथ्यलाई आत्मसात गरेर आआफ्ना दैनिकीमा लागिसक्ने छन् । यहाँसम्म कि मेरी जीवनसंगिनी पनि मैले जीवनमा उनको साथ छोडिदिएकोले रोईधोई गरी थाकेर, बोटविरुवाको स्याहार सुसार गर्न थालिसक्ने छिन् । म मात्र एक सम्झना हुने छु। आधुनिक व्यस्त जीवनको दिनमा त होइन शायद रातको चकमन्नतामा फकत एक सम्झना । मेरो साथी एलन मेलीले लेखेको गजल मेरो मनभित्र उदास स्वरमा गाउन थाल्छः

When I die lay me in a swallow grave,

The sun can warm in a swallow grave.

People I loved may pass, and speak of me,

Knowing I lie close in a swallow grave.

Seasons will come and go, but I shall stay,

Covered with dead leaves in a swallow grave.4

नदीपारि चिता अहिले पनि बलिरहेको छ । को होला जसले आज यो सुन्दर संसारबाट विदा लिएको होला । उनका परिजन, परिवारजनहरू कति रोए होलान् । तर हुन सक्छ यस संसारमा उनलाई माया गर्ने कोही यस्तो पनि होला जसलाई उनले यो संसार छोडेकोमा सबैभन्दा बढी पीर परेको होला । तर उसले आफ्नो पीडा रोएर पोख्न पनि सकेन होलाः
नदी किनारे धुआँ उठे मै जानुँ कुछ होय
जिस कारण मै जोगन बनी कहीँ वही न जलता होय ? ५

सलल बग्दै छ नारायणी — शीतल, शान्त, स्निग्ध ! ससाना लहरहरू हाँस्दै, खेल्दै, एकअर्कासँग जिस्किदै छन् । मात्र केही दिन अगाडि यही नारायणीले आफ्नो अर्को विकराल रुप पनि देखाएको थियो । क्रोधोन्मत्त नारायणी ! उत्ताल तरङ्गहरू, गर्जिदैगरेका छालहरू, भाीषण कोलाहल ! आत्तिएका भयभीत मानव ! रिसको झोंकमा उनले गरेका विनासको चिनोहरू अहिले पनि देखिन्छन् । जरोसमेत उखेलिएर उत्तानो परेका रुखहरू, पदयात्रीहरूका लागि निर्मित सिमेन्टको बाटोलाई नाघेर बाढीले धुजा–धुजा पारेको जमीन, र ठाउँ–ठाउँमा बनिएका ससाना पानीका कुण्डहरू, र अलिकति पछाडि ढल्केको तर अहिले पनि ध्यानमग्न बुद्धका विशाल प्रतिमा । बुद्ध बसेको आसन चिरा परेको छ तर प्रतिमा यथावत छ । ध्यानमग्न बुद्धको ध्यान भंग गर्न चहिनन् क्यारे नारायणीले । उनी अहिले पनि धयानमग्न छन् यतिका विनास र दुःख पछि पनि । कस्तै दुःख पीडाले पनि उहाँ ध्यानबाट विचलित हुने होइन । “सर्वम् दुःखम्, सर्र्वम क्षणिकम्” भन्नुभएको थियो उहाँले ।

कुरा ठीक हो । संसारमा केही पनि श्वासत छैन, सबै क्षणभंगुर छन् । जड चेतन सबै एक दिन नष्ट हुन्छन्ः मान्छे, जीवजन्तु, वनस्पति सबै एक दिन मर्छन् यहाँ सम्म कि नदी पनि एक दिन सुक्छ र पहाड पनि धूलो हुन्छ । त्यस्तै संसारमा दुःखको मात्रा सुखभन्दा बढी छ । सुखको अवधि छोटो हुन्छः दुःखको कालरात्रि लामो ! डिकेन्सले पनि भनेका छन्, “Happiness is but occasional episodes in the general drama of pain” (दुःखको नाटकमा सुख भनेको ससाना दृश्य मात्र हुन् ।) मान्छु म पनि यी कुरा । मानव जीवन त झन बढी क्षणिक छ र दुखमय पनि तर मानव पराजय स्वीकार गरेर चुप बसेको छैनः यस क्षणिक र दुखमय जीवनलाई सुखद र सुन्दर मात्रै होइन कि गौरवपूर्ण समेत बनाउन सतत् प्रयास गर्दै आएको छ र गर्दै रहने छ । त्यसकै प्रमाण हो नारायणी नदी तटको आजको यो रमाइलो साँझ । नत्रभने हिजो मात्रै नारायणीले विनासगरि यो सम्पूर्ण क्षेत्रलाई क्षतविक्षत, तहसनहस गरेकै थियो नि । मानवको जिजीविषालाई कसैले परास्त गर्न सक्दैन, स्वयम् ईश्वरले पनि सक्दैन ।
हे ईश्वर !
तिमीले मलाई नन्दन काननबाट
तल मृत्युलोकमा झारिदियौ
म यहीँ बसेँ
मृत्युको बीचमा जीवन रचेँ
र पृथ्वीलाई नै अमररावती बनाएँ ।

तिमीले मेरा हातका रेखाहरूमा
मेरो भाग्य कोर्‍यौ
मैले दिनरात मिहनेत गरेँ
र आफ्नो पुरुषार्थले ती रेखाहरूलाई मेटिदिएँ ।
तिमीले मलाई मरणशील बनायौ
मैले क्षण मै रमाउन सिकेँ
र मरेर पनि अमर हुने कलाको निर्माण गरेँ ।६

म यस नदी किनारको सुनसान एकान्तमा बसेको निकै भइसके छ । शरीर पनि चिसो भएर आयो । म उठ्छु र जताबाट आएको त्यतै फर्किन्छु विस्तारै । ठेलावालाहरू सबै गईसकेका छन् । महाआरती भएको ठाउँमा कोही छैन अहिले । चकमन्न भइसकेको छ, सुनिन्छ मात्र नदीको छालहरूले किनारलाई विस्तारै थपकी दिएको आमाले सन्तानलाई लोरी गाए जस्तो । सहसा अँध्यारोबाट दुइृजना प्रकट हुन्छन् दुवैका हातमा बोतल छन् । म उनीहरूलाई देखेर जति चकित हुन्छु उनीहरू पनि मलाई देखेर उति नै चकित हुन्छन् । अलि पर गएपछि दुवै भाइ गलल हाँसेको सुन्छु — पक्कै पनि मलाई अँध्यारोमा बरालिने बौलाहा ठानेर होला ।

मोबाइलमा समय हेर्छु, भर्खर आठ बज्दै छ तर चहलपहलले भरिएको नारायणी तट सुनसान छ । यस एकान्तमा मलाई अझै बस्न मन छ तर “अब यहाँ बस्न हुँदैन, सुरक्षित पनि छैन । मान्छेले के भन्लान्, जानु पर्छ”, दिमागले तर्क गर्छ । मान्छेले के भन्ला यही कुराले हाम्रो जीवन निर्देशित भएको हुन्छ, हाम्रो आफ्नो मनले के चाहन्छ गौण हुन जान्छ । यो गर्नु राम्रो, यो गर्नु नराम्रो । यसो गरेँ भने परिवारले के भन्ला, इष्टमित्र छरछिमेकले के भन्ला भन्ने त्रासले हामी आफ्ना इच्छा, चाहना आदिलाई दमन गर्दै जान्छौँ ।

भन्नलाई हामी स्वतन्त्र छौँ तर गहिरिएर हेर्ने हो भने हामी विभिन्न दृश्य अदृश्य बन्धनहरूमा जकडिएका छौँ — हामी चाहेर पनि तीबाट मुक्त हुन सक्दैनौँ । मुक्त हुनलाई कि त बुद्ध हुनु पर्‍यो कि पागल । हामीले मानव र उसको आचरणलाई राम्रो नराम्रो, सुन्दर कुरुप, असल खराब, पाप पुण्य आदिको कसौटीमा कसेर निर्णय गर्छौँ । चोरी गर्नु नराम्रो हो, देह व्यापार नराम्रो हो आदि । के साँच्चै यी र यस्ता नराम्रा भनेका कार्यहरू नराम्रा हुन ? एउटा विपन्न व्यक्तिले चोरी गरेर आफ्नी वृद्धा माताकोलागि औषधि किन्दछ भने के त्यो नराम्रो हो ? एउटी नारीले आफ्नो शरीर बेचेर आफ्नो रुग्ण छोरोको लागि भोजनको व्यवस्था गर्नु के नराम्रो हो, अपराध हो ? जुन कारणले त्यो व्यक्ति र त्यो महिलाले यी तथाकथित अपराध गर्न पुगे त्यो कारण हो गरीबी । तर उनीहरूले गरीबी रोजेका हुन् ? के गरीब हुनु नै अपराध हो ? आखिर यी राम्रा नराम्रा, असल खराब र पापा पुण्यका मापदण्ड तोक्ने पनि त हामी नै हौँ । मलाई लाग्छ यी मापदण्डहरू बदलिनु पर्छ । कुनै पनि चीज, धारणा यहाँसम्म कि सत्य पनि समय सापेक्ष हुन्छ । जो एक समय राम्रो र सत्य मानिन्छ त्यही केही सय वा हजार वर्षपछि गलत र झूठो ठहरिन्छ ।
सूर्य मात्र सत्य होइन
बादल पनि सत्य हो
बादलले सूर्यलाई छोप्न सक्दैन भन्नु सही होइन
किनभने
यदि अनन्त कालदेखि
सूर्य बादलबाट बाहिर निस्केको छ भने
बदलले पनि अन्नत कालदेखि
सूर्यलाई छोप्दैआएको छ
र अनन्त कालसम्म छोपीरहने छ ।७

म मेरो होटल पुग्दा ९ बजिसकेको रहेछ । आजको साँझलाई त लेख्य रुप दिनै पर्छ भनी सोच्दै र मनमनै त्यसको खाका बुन्दै कलम र नोटबुक लिई कोर्न थाल्छु ।

तपाइँको प्रतिक्रिया